
काेरोना कहर प्रभाव पुस्तक बजारमा मात्र नभएर प्रकाशनमा पनि देखिदै आएको छ । व्यवसायिक प्रकाशक तथा स्थापित लेखकहरू पनि पुस्तक प्रकाशन गर्न डराइरहेकाे अवस्था छ । तर विषम परिस्थतिका बाबजुद पनि केन्द्र तथा माेफसलबाट दैनिकजसाे कृतिहरू विमोचित भइरहेका छन् । हामी यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा योपटक पाँच पुस्तक । युवा कथाकारको ताल्चादेखि पुराना सम्पादकको आत्मसंस्मरणसम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
१. ताल्चा – दिलिप बान्तवा
रोजगारीको सिलसिलामा युवा कथाकार दिलिप बान्तवाको पहिलो तथा नवीनतम् कथासङ्ग्रह हो “ताल्चा” । फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको यस कथासङ्ग्रहमा सातौँ इमोजी, कैदी नम्बर ३५४, हल्लावा, नागरिक, श्रद्धा, रामप्रसाद, आमूल, चिनो, स्कुल र ताल्चा गरी मध्यम आयतनका १० कथाहरु सङ्ग्रहित छन् ।
बान्तावाले यस सङ्ग्रहमा दूरदराजका कथा–व्यथा सालिन ढङ्गले प्रस्तुत गरेका छन् । “नेपाली समाजको सीमान्तमा सालिन मानिसहरु धेर छन् ।”, पुस्तकमा प्रकाशकले भनेका छन्, “राज्यविहीन अवस्थाबाट गुज्रिएकाहरु अथवा राज्यबाट पाउनुपर्ने सबै प्रकारका न्यायबाट बेखबर उनीहरु विगतमा राज्यकै रक्तपातपूर्ण दमन भोगेका मानिसहरु हुन् । उनीहरुमा पराजित मनोविज्ञान हावी छ । तब उनीहरु प्रतिशोध साँध्दैनन्, शान्त जीवन रुचाउँछन् । … ताल्चा तिनै सालिन मानिसहरुको कथासङ्ग्रह हो ।”
२०२ पृष्ठमा फैलिएको कथासङ्ग्रहको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
२. समय संवेग – डा. अञ्जना वस्ती भट्टराई
त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी विषयको प्राध्यापकबाट अवकाश लिनुभएकी डा. अञ्जना वस्ती भट्टराईको नवीनतम् निबन्धसङ्ग्रह हो “समय संवेग” । सङ्ग्रहमा विभिन्न समयमा लेखिएका छोटा आयतनका २१ शीर्षकमा निबन्धहरु सङ्ग्रहित छन् ।
“विषयवस्तु, उदेश्य, भाषाशैली अन्तर्गतका शृङ्खलाबद्धता र संक्षिप्तता जस्ता निबन्धका तत्वहरुका आधारमा यस सङ्ग्रहका निबन्धलाई हेर्दा ती निबन्धहरु सैद्धान्तिक हिसाबले पनि सफल देखिएका छन् ।” पुस्तकको भूमिकामा डा. साधना प्रतीक्षा लेख्छिन्, “जगत्का स्थूलदेखि सैद्धान्तिक हिसाबले पनि सफल देखिएका छन् । जीवन जगत्का स्थूलदेखि सूक्ष्म पक्षहरुका साथै आफ्नै अनुभव अनुभूतिको हार्दिक अभिव्यक्तिलाई निबन्धकारले आफ्नो निबन्धको विषय बनाउनुभएको छ । हरेक निबन्धले निश्चित वैचारिक सम्प्रेषणको उदेश्य राखेका छन् । प्रत्येक निबन्धको अन्त्यमा यसको मूलभाव छर्लङ्ग भएको पाइन्छ ।”
ओरिएन्टल प्रकाशन गृहले प्रकाशनमा ल्याएको निबन्धसङ्ग्रहको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
३. अप्रिय – ध्रुवचन्द्र गौतम
ध्रुवचन्द्र गौतम आख्यानमा नयाँ–नयाँ प्रयोग गर्ने आख्यानकारका रुपमा चिनिन्छन् । त्यस्तै, विविध नवीन शक्तिले बुनिएको उपन्यास हो अप्रिय ।
डा. गोविन्दराज भट्टराईका शब्दमा यो एक केन्द्रीय पात्रता भएको केशवको जीवनवृत्त हो, घुर्मीको प्रतिध्वनि, लेखकको उमेर, पारिकारिक वृत्त र समाजको अनुगुञ्जन, लेखकको शब्दमा उसको दैनिकीको एनाटोमी । यहाँको प्रयोग उल्लेख्य छ । सिर्जनात्मक उचाई छुने अनेक तत्त्वमा छ प्रयोग ।
२०६९ सालमा साझा प्रकाशनले दोस्रोपटक प्रकाशनमा ल्याएकाे उपन्यास अप्रियको तेस्रो संस्करण रत्न पुस्तक भण्डारले प्रकाशमा ल्याएको हो । उपन्यास रत्न पुस्तक भण्डारमा साथै देशमा प्रमुख पुस्तक पसल तथा अनलाइन पुस्तक पसलहरुमा पनि उपलब्ध छ ।
४. जीवनका वक्ररेखा – विजय चालिसे
वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको नवीनतम् कृति हो ‘जीवनका वक्ररेखा’ । आत्मसंस्मरणको रूपमा आएको यस कृतिमा चालिसेले आफू बाँचेको समाज, ती कालखण्डका संस्कृति, राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरूलाई उधिन्ने प्रयास गरेका छन् ।
सुरभि साहित्य प्रतिष्ठान प्रकाशक रहेको यस कृतिमा रहेका ९ नौ अलग—अलग खण्ड मार्फत् कृतिकारले आफ्नो बाल्यकालदेखि कोरोना कहरसम्मको अवधिका कालखण्डलाई मिहिन रूपमा विश्लेषण पनि गरेका छन् ।
उपन्यास, कथासङ्ग्रह, बालसाहित्य, यात्रा निबन्ध सहित आमसञ्चार तथा पत्रकारिताका कृतिकार चालिसे गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा दुई कार्यकाल गोरखापत्र दैनिकका प्रधानसम्पादक समेत रहिसकेका छन् । हाल अवकाशको जीवनमा भने उनी विशुद्ध रुपमा साहित्य र समाजसेवामा आबद्ध छन् ।
५. झुमा – अर्जुन दुङमेन
साहित्यकार अर्जुन दुङमेनले नयाँ कथासङ्ग्रह हो ‘झुमा’ । कथासङ्ग्रहमा एभिएसन, कुरुक्षेत्र, नाकाबन्दी, दुखीलालको कथा, वृद्धप्रेमलगागयत १२ कथा समावेश छन् ।
दुङमेनले कथासङ्ग्रहमा प्रेम, वैवाहिक जीवनपछिको पारिवारिक दायित्व, सन्तानप्रति माया, राजनीति प्रतिको गुनासो, सामाजिक यथार्थ, प्रेम पछिको वियोग, कोरोना सन्त्रास र यसको नकारात्मक प्रभाव लगायतका विषयलाई समेटेका छन् ।
झुमामा वरिष्ठ साहित्यकार डा.ध्रुवचन्द्र गौतमका शुभकामना पनि छापिएको छ । साहित्यकार गौतमले झुमाले दुङमेनको सम्भावनाको ढोकालाई फराकिलो बनाएको उल्लेख गरेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
