हामीले भर्खरैमात्र २०७८ लाई बिदा गर्यौँ । यो वर्षमा देशको अर्थतन्त्र र बजारले मात्र होइन, साहित्य बजारले पनि मन्दी बेहोर्नु पर्यो । “पुस्तकको बिक्री अत्यन्तै सुस्ताएको” भन्ने वाक्य वर्षभरि नै कायम रह्यो । तर यसबिचमा पनि पुस्तकहरू प्रकाशन हुने क्रम रोकिएन । केही पुस्तकहरूले राम्रो चर्चा र पाठक पाए । कतिले चर्चा पाए, तर पाठक पाएनन् । र, केही भने जसरी प्रकाशनमा आए उसै गरी गुमनाम पनि रहे । वर्ष २०७९ मा आइपुग्दा भने पुस्तक बजार केही चलयमान देखिएको छ । केही पुस्तकहरूले चर्चाका साथै पाठकको प्रेम पनि पाइरहेका छौँ । कामना गरौँ, नयाँ सालले पुस्तकको बजारलाई सम्पन्नतातिर अग्रसर गराउने छ ।
हामी यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा योपटक ७ पुस्तक । ‘रैतीको इतिहास’देखि ‘नयाँ नेपालको आधुनिक इतिहास’सम्म ; पुस्तककाे छाेटाे परिचयसहित ।
१. रैतीको इतिहास – गणेशप्रसाद पोखरेल
स्व. गणेशप्रसाद पोखरेलको ऐतिहासिक कृति हो, “रैतीको इतिहास” । पुस्तक राजा पृथ्वीनारायण शाहलाई वि.स. १८२९ मा चौदण्डी राज्यसहित पूर्व विजय गर्न आग्रह गर्ने मात्रै होइन विजयपछि सैनिकहरुलाई तलब बाँड्न १० हजार ५१ रुपियाँ सापटी दिने खर्पाली ब्राह्मण हरिनन्दन पोखरेलको इतिहास र तिनका वंशजको सङ्घर्ष-गाथा हो ।
पुस्तक रक्तकुण्ड, करियाजस्ता सफल उपन्यासका लेखक कृष्ण अविरलको लेखन तथा सम्पादनमा प्रकाशनमा आएको हो । पुस्तकका बारेमा अविरल लेख्छन्, “पुस्तकमा एउटा रैतीका परिवारले भोगेको कहरका कुरासँगै तत्कालीन समाज र संस्कृतिबारेका थुप्रै रोचक प्रशङ्ग छन् । झापाको सुरुङ्गाजस्तो राजनीतिक रुपमा सचेत ठाउँबाट लगातार चारपटक प्रधानपञ्च निर्वाचित गणेशप्रसाद पोखरेलको यो पुस्तकमा त्यो कालखण्डको साग्लो तस्बिर पनि छ ।”
पुस्तकलाई अजम्बरी प्रकाशन गृहले बजारमा ल्याएको हो । ३ सय १५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।
२. जनयुद्धका संस्मरण – सीता विक “सम्झना”
१६ वर्षको उमेरमै जनयुद्धमा होमिएकी जनमुक्ति सेनाकी कमाण्डर सीता विकको सिंहदरबारसम्मको डायरी हो – जनयुद्धका संस्मरण । ०५६ सालदेखि ०६३ सम्म जनमुक्ति सेनामा रहेर सेक्सन कमान्डर, पीएल कमान्डरहुँदै बटालियन कमान्डरसम्मको जिम्मेवारीमा दर्जनौँ लडाइँमा सहभागी भएकी सीता विक “सम्झना” ०६३ सालको जनआन्दोलनपछि निर्माण भएको अन्तरिम व्यवस्थापिका संसद्को विधायक सदस्य बनिन् । पुस्तकमा यसैबिचका संस्मरणहरुलाई समावेश गरिएको छ ।
यो संस्मरण विचारको शब्दमा बुनिएको कथ्य वा भाष्यमात्र होइन, सीता विकका सङ्घर्षका अनेकौ क्षण र मोडहरु यही दर्शनबाट प्रेरित छन् । पुस्तकमा प्रा.डा. अभि सुवेदी लेख्छन्, “अर्को यस संस्मरणमा आइरहने रुपक इतिहास हो । उनले इतिहास कसरी रचिन्छ भन्ने विषयलाई सङ्घर्षका अनेकौँ ठाउँमा प्रयोग गरेकी छिन् ।”
पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । १ सय ६८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ९५ रुपियाँ रहेको छ ।
३. नकोरिएका सन्दर्भहरु – अनीता ढुङ्गेल
“नकोरिएका सन्दर्भहरु – प्रा.डा. अञ्जनीकुमार शर्माको जीवनचरित” अङ्ग्रेजी साहित्यकी प्राध्यापक अनीता ढुङ्गेलद्वारा लेखिएको पहिलो पुस्तक हो । जीवनी विधाको यो पुस्तकमा ढुङ्गेलले आफ्ना बुबा प्रा.डा. अञ्जनीकुमार शर्माको आदर्श जीवनको इतिवृत्तान्तलाई औपचारिक र अनौपचारिक शैलीको मिश्रणमा पस्केकी छिन् ।
डा. अञ्जनीले नेपाली समाजलाई स्वास्थ्य क्षेत्रमा जानकार बनाउन अनेक सेवामूलक कार्यहरु गरे । उनीले आफ्नो जीवनकालमा स्तन क्यान्सरदेखि लिएर अन्य विभिन्न किसिमका क्यान्सरहरुका कारक, जस्तो चुरोच पिउने, खैनी-सुर्ती चपाउनेजस्ता कुलतले के-कति खरबी गर्छ भन्ने कुरा, लायन्स क्लब र नेपाल क्यान्सर सोसाइटीबाट जानकारी गराउने ठूलो प्रयास गरे । पुस्तकको भूमिकामा हेमाङ्ग दीक्षित लेख्छन्, “डा. अञ्जनीले शिक्षण अस्पतालमा पढाउँदाखेरि मेरो उहाँसँगको सम्पर्क नजिकियो । उहाँले त्रिवि शिक्षण अस्पतालको प्रोफेसर र हेड अफ सर्जरी भएर काम गर्नुभयो । त्यसबाहेक उहाँ नेपाल मेडिकल कलेज, जोरपाटीको संस्थापक सदस्य हुनुहुन्थ्यो । चिकित्सा शिक्षामा उहाँको ठूलो देन छ ।”
पुस्तकलाई डा. अनिलकुमार शर्मा र प्रा.डा. सुनिलकुमार शर्मा ढकालले प्रकाशनमा ल्याएका हुन् । १ सय ९० पृष्ठमा फैलिएको, साथै विभिन्न तस्बिरहरुसमेत सङ्कलन गरिएको पुस्तकको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।
४. माक्र्सवादी दर्शन – मोहन वैद्य “किरण”
कम्युनिस्ट चिन्तक तथा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको गैरआख्यान विधाको राजनीतिक कृति हो – माक्र्सवादी दर्शन । पुस्तकलाई “दर्शनशास्त्रः प्रारम्भिक अध्ययन”, “द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त”, “द्वन्द्वात्मक भौतिकवादको पद्धति”, “द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिद्धान्त”, “ऐतिहासिक भौतिकवाद”, “साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शन” र “माक्र्सवादी दर्शनः एक निष्कर्ष” गरी सात भागमा प्रस्तुत गरिएको छ ।
दश वर्षअघि नै प्रकाशनमा आएको यो पुस्तकको दोस्रो संस्करणलाई भुँडीपुराण प्रकाशन गृहले हालै बजारमा ल्याएको हो । दोस्रो संस्करणका बारेमा मोहन वैद्यले लेखेका छन्, “प्रस्तुत संस्करणमा पहिले रहन गएका कतिपय कमिकमजोरी तथा सीमाहरुलाई सकेसम्म सच्याउन प्रयत्न गरिएको छ । यसमा केही थपघट र आवश्यक परिमार्जन पनि गरिएको छ । साथै, यहाँ प्रथम संस्मरणमा राखिएको मन्तव्यलाई बदलिएको सन्दर्भमा अनावश्यक ठानी हटाइएको छ र तदअनुसार लेखकीय पनि मिलाइएको छ । पुस्तकको अन्तिमतिर पारिभाषिक पदावलीलाई समावेश गरी राखिएको छ ।”
पुस्तक माक्र्सवादको अध्ययन गर्न चाहनेहरुमा लागे महत्त्वपूणर् बनेको छ । ५ सय २२ पृष्ठमा फैलिएको कृतिको मूल्य ७ सय रुपियाँ रहेको छ ।
५. कलियुगकी राधा – सरस्वती शर्मा (सुवेदी)
सरस्वती शर्मा (सुवेदी) को प्रेममय उपन्यास हो – कलियुगकी राधा । पहिलो कोरोना कहरले देश चियाइरहेका बेला तयार भएको यस उपन्यासमा शर्माले प्रेमलाई अध्यात्मिक चिन्तनबाट चियाउने प्रयास गरेकी छिन् । प्रेमको चिन्तनबाट शर्माले वर्तमानको समय तथा अटनाक्रमलाई उपन्यासमा सचित्र उतार्ने प्रयास गरेकी छिन् ।
“प्रेमसम्बन्धी धारणा प्रष्ट भइसक्दा प्रेममय आख्यानको किताब आधा भइसकेको थियो ।”, पुस्तकमा उपन्यासकार लेख्छिन्, “यी सबै कुरा पहिलो कोरोनाको कहरमा भएका थिए । मानव जीवनमा उचालिने, पछारिने र बसालिने क्रम हुन्छ । यहाँ पनि त्यस्तै छ कि ! तिनै विषयवस्तु पस्किन खोजेकी छु । सबै पात्रहरु काल्पिनिक हुँदाहुँदै पनि घटनाक्रम भने यथार्थ नै होइनन् भन्न नमिल्ला । कतिपय घटनाक्रम काल्पनिक भए तापनि कतिपय देखे-भोगेका घटनाहरु समावेश गरिएका छन् ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय ८२ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।
६. याकजी – युवराज नयाँघरे
मदन पुरस्कार विजेता स्रष्टा युवराज नयाँघरेको नवीनतम् नियात्रा कृति हो – याकजी । नियात्राकृतिमा “दोमन-दोमन आकासैमा”, “जुफालः पहिलो ढोका”, “त्रिपुराकोटका पुतली महारानी”, “डाँगीबाडाका स्वाँखे”लगायत २८ शीर्षकमा नियात्राहरु सङ्ग्रहित छन् । नयाँघरेले हिमाली तथा विकट जिल्ला डोल्पाको चुनौतीपूणर् भूगोल, साहसिक यात्रा, उकुसमुकुस भावना र अकल्पनीय जनजीवनलाई “याकजी”मा प्रस्तुत गरेका छन् ।
डोल्पा नेपालीको भूगोलमा ठूलो, विकट र कठिन हिमाली क्षेत्र हो । बोन्पो धर्ममात्रै नभएर भौगोलिक रहस्यका रुपमा परिचित यो जिल्ला तल्लो-माथ्लो भिन्नभिन्न समाज, संस्कृति र सहभागिता छ राज्यको संरचनामा । धेरैका लागि कष्टकर, दुःसाध्य र जोखिमपूणर् भ्रमण र पुगाइमा पर्छ डोल्पा । वनस्पति, जीवनशैली र सांस्कृतिक सम्पदाको अत्यन्तै चखिलो दृश्यसँग डोल्पाको महत्त्व र मूल्य स्थापित छँदैछ । प्रकाशकीयमा भनिएको छ, “यही रहस्य, रोमाञ्चकता र रहरिँदो भूगोलसँग याकजीको नाता, सम्बन्ध र अन्तरङ्ग भावना मुखरित भएको छ ।”
पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । ३ सय २१ पृष्ठमा फैलिएको नियात्रा कृतिको मूल्य ५ सय ९५ रुपियाँ रहेको छ ।
७. नयाँ नेपालको आधुनिक इतिहास – प्रा.डा. श्रीरामप्रसाद उपाध्याय
इतिहासकार प्रा.डा. श्रीरामप्रसाद उपाध्यायको गैरआख्यान विधाको अनुसन्धानमूलक कृति हो – नयाँ नेपालको आधुनिक इतिहास । प्रस्तुत कृतिमा नेपालको इतिहासलाई विगतदेखि वर्तमानसम्म सङ्क्षिप्त रुपमा केलाउँदै देशमा विद्यमान व्यवस्थाको स्थापनाक्रममा घटेका घटना-विवरण र ती घटनासम्बद्ध व्यक्तिगत योगदान, जातिगत योगदान, क्षेत्रगत योगदानलाई समेट्ने प्रयास गरिएको छ ।
“इतिहास केवल पुराना शक्तिकेन्द्रका दस्ताबेज हुन् भन्ने कुरामा परिवर्तन आएको छ । नेपाल लोकतान्त्रिक गणतन्त्र घोषणा भएको छ । यस्तो अवस्थामा मानिसका मूल्य र मान्यतामा परिवर्तन आएका छन् ।” पुस्तकको भूमिकामा लेखकले लेखेका छन्, “सबै जातजातिले आफ्ना पहिचान खोजेका छन् । आफ्ना कला, संस्कृति र सभ्यताको जगेर्ना चाहेका छन् । यसै भावनालाई पूरा गर्न नयाँ नेपालको आधुनिक इतिहास लेखिएको छ । आफ्ना धेरै प्राध्यापक साथी तथा प्यारा विद्यार्थीका सल्लाह र देशवासीका त्याग र बलिदानलाई सम्झेर यो पुस्तक तयार गरिएको छ ।”
पुस्तकलाई साझा प्रकाशनले बजारमा ल्याएको हो । २ सय ११ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।