साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई कवि तथा पत्रकार प्रकाश गुरगाईंको कृति ‘जङ्क्सन पिपलबोट’ प्राप्त भएको छ ।

“जङ्क्सन पिपलबोट : नयाँ सडकको कथा” गुरगाईंको गैरआख्यान विधाको पुस्तक हो । यस पुस्तकमा ‘नयुरोड एडिक्सन’, ‘मदिरा र मित्रता’, ‘रक्सीले बदनाम एउटा कवि’, ‘नयाँ सडकको पुराना घर’लगायत १६ थान शीर्षकबाट नायँ सडकको पीपलबोटसँग जोडिएको सामाजिक, सांस्कृतिक, राजनीतिक र साहित्यिक इतिहास पाइन्छ ।

“प्रकाश गुरगाईं खुट्टामा श्रीपेच कवितासङ्ग्रह लेखेर हाम्रो समयका एक मेधावी जनपक्षीय कविको चिनारी दिइसकेका छन् । त्यो चर्चिन काव्य रचनापछि अर्को अन्तरालमा प्रकट भएको छ नवीन गद्य कृति जङ्क्सन पीपलबोट । यो आविष्कार उनीभित्रको उही काव्य साधना र सामर्थ्यको अर्को कडी मात्र होइन, इतिहास बोधको आवेगमय एक प्रमेय पनि हो । यस अर्थमा यो कति उनको नयाँ अवतारको ज्वलन्त प्रमाण हो ।” पुस्तकको पछिल्लो पृष्ठमा नारायण ढकाल लेख्छन्, “नयाँ सडकको कथा भनेर उनले एकै पटक साहित्य, राजनीति र नेपाली संस्कृतिको प्रमाणिक तथ्य उत्खनन गर्ने जमर्को गरेका छन् । यहाँ हामी छौँ र हामीसित जोडिएको एक युगको संलिष्ट आत्मवृत्तान्त छ । यहँ हामी छौँ र न्याय, समानता र मानवीय मूल्यहरूका निम्ति समर्पित हाम्रो सङ्घर्ष र स्वप्निल कामनाहरूको आरोह र अवरोह छ । यसकारण म भन्छु — सरल, सरस र बोधगम्य भाषाशैलीमा बुनिएको यो गाथा हाम्रो इतिहास र साहित्यको एक अनुपम दृष्टान्त हो ।”

फिनिक्स बुक्सद्वारा प्रकाशित ३ सय १५ पृष्ठको पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।