साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि रमेश क्षितिजकाे कविता सङ्ग्रह “पर्वत पर्वतमा बटुवा घाम” प्राप्त भएको छ ।

पुस्तकमा ‘आकाशगङ्गा’, ‘अग्निउत्सव’, ‘जलतरङ्ग’, ‘वायुनृत्य’ र ‘भू-यात्रा’ ५ वटा उपशीर्षमा ५२ थान कविता सङ्ग्रहित छन् ।

“कोमल भाव, गहन संवेदना, परिष्कृत विम्ब, दृश्यात्मक प्रतीक, सरल-सौम्य सामाजिक कथ्यप्रति पद्धतिबद्ध बनेर रचनाशीलतालाई अगाडि बढाइरहेका प्रखर कवि हुन् – रमेश क्षितिज । सामान्य र साधारणजस्ता लाग्ने कथ्यबाट असाधारण निष्कर्षसम्म पुर्याउने कलामा खप्पिस क्षितिजका प्रायः कवितामा अुनभूतिका साहस्र स्वरहरू, स्वरूपहरू, संवेगहरू उद्भाषित हुँदै गइरहेझैँ लाग्छन्, शब्द-शब्दबाट । कविता लेखनका प्रचलित धारहरूबिचबाटै आफ्नो सम्प्रेषण पद्धतिको सुकोमल मार्ग पहिल्याउन सक्नु उनको निजी वैशिष्ट्य हो ।” पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “उनका कविता नेपाली पहाड, खोला, वन-जङ्गल, गाउँ-गोरेटाे, उकाली-ओराली, बेसी-देउरालीहरू अनि नेपाली जनजीवनले जीवन्त बनेर आफ्नो भूमिका निर्वाह गर्छन् – कुनै आख्यानका चरित्रहरूले झैँ । पूर्वीय दर्शनका गहन भाष्यहरू अत्यन्त सरलीकृत बनेर उनका कविताका पद-पदावली र हरफहरूमा हिँडिरहेका भेटिन्छन् भने कतै फेरि सुफी सन्तहरूका धीर प्रशान्त, कल्याणकाम्य वाणीका अन्तरङ्ग अनुनाद पनि उनका कवितामा सुन्न सकिन्छ । अतीत-जीविता, उदात्तता, शालीनता, सद्भाव, सह-अस्तित्व र सौन्दर्यका अनन्य आराधनाको कुञ्ज हो – पर्वत पर्वतमा बटुवा घाम ।”

पुस्तकलाई बुकहिल पब्लिकेसन प्रा. लि. ले बजारमा ल्याएको हो । १ सय २३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५५ रुपियाँ रहेको छ ।