पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न छ वटा पुस्तक प्राप्त भएका छन् ।

=============

१. प्रथम नेपाली पर्या निबन्ध सङ्ग्रह – (स.) डा. गोविन्दराज भट्टराई, विजय हितान


डा. गोविन्दराज भट्टराई र विजय हितानले सम्पादन गर्नुभएको पुस्तक हो ‘प्रथम नेपाली पर्या निबन्ध सङ्ग्रह’ । पुस्तकमा ‘प्रथम नेपाली पर्या निबन्ध प्रतियोगिता’मा प्रथम बनेकाे भवानी खतिवडाको निबन्ध ‘प्रलयको आँधीबेहरी’, द्वितीय बनेको हरिबोल काफ्लेको निबन्ध ‘प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन ?’, तृतीय बनेको गोविन्द गोपाल खतिवडाको निबन्ध ‘विकास प्राप्तिको शृङखला र पश्चातापको पुनर्बोध’का साथमा उत्कृष्ट ठहरिएका ३२ निबन्ध सङ्ग्रहित छन् ।

अन्य पर्या निबन्धहरूमा  अनिता न्यौपानेको ‘त्यसपछि चराहरू हराउनेछन्’, अनिता कोइरालाको ‘अँध्यारोको खोजीमा’, ऋतेश गुरुङको ‘बाह्र वर्षपछि पनि खोला फर्किएन भने’, कुमार काफ्लेको ‘वनस्पतय शान्ति, पृथ्वी शान्ति’, कुमुद श्रेष्ठको ‘अब बाग्मती फेरी हाँस्छ’, कुञ्जदेवी उपाध्ययको ‘प्रदुषण वर्तमान र भविष्य’, गोविन्द गोपाल खतिवडाको ‘विकास प्राप्तिको शृङखला र पस्चातापको पुनबाँध’, जे.एन. दाहालको ‘पाले उम्रपालिको लोकमा’, तारानिधि भट्टराईको ‘बालसखाहरू गुमाउँदाको पीडा’, दिलिप बान्तवाको ‘सांखाम चुली–गिद्ध र टेम्के’, दीपिन सिजापतिको ‘माटोको छातीमा आमाको अनुहार’, दीपकप्रसाद ढकालको ‘साझा घरको माया’, दुर्गाकुमारी थापाको ‘मेरो अँधेरी खोला’, नारायाण शर्मा अधिकारीको ‘असमको नेपाली पर्यावरण र चेतनशील प्रवृत्तिको खोजी’, नुमेश घर्ती मगरको ‘सात्ताले’, पुरुषोत्तम उपाध्याय दाहालको ‘अकाल मृत्युबाट बाँचेको वरपिपल’, प्रभा बरालको ‘महिला र प्रकृतिको तादात्म्यता’, बोमबहादुर थापाको ‘वातावरणीय विचलन कि रूपान्तरण’, भेषराज बुढाथोकीको ‘सिमगाडको मुहानतिर’, रमेश भट्टराई ‘सहृदयी’को ‘रातो बत्ती’, राजेन्द्रमान डङ्गोलको ‘जलवायु परिवर्तन र पर्वतीय पर्यटनको भविष्य’, रुपसिङ भण्डारीको ‘प्रकृति र मानिस’, रुपा थापाको ‘माफिनामा’, रोशन आपगाईको ‘हिमानी आलोकको तेजोवध’, लक्ष्मण वियोगीको ‘रहौँला कहाँ, हिमालै नरहे’, विश्वनाथ रिजालको ‘प्रकृतिमा बाँदर र मानिसको सहअस्तित्व’, सरिता घिमिरेको ‘प्रिय जन्मभुमि’ र सोनिया कटवालको ‘स्वच्छ पर्यावरण, समृद्ध जीवन’ रहेका छन् ।

”यात्रा आरम्भ गरेको ता एक्लै थियो । आज फर्केर हेर्दा दुई दशक नाघेछन् ।”  प्रा. डा गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”पहिलोपल्ट टेकेका पाइलाहरू मेरा उत्तरआधुनिक ऐना (२०६२) र उत्तरआधुनिक विमर्श (२०६४) थिए । तिनै ग्रन्थमा मैले नेपाली साहित्यमा पहिलो पल्ट परिवृत्तीय, पर्यावरणीय साहित्यको वीजारोपण गरेको थिएँ । त्यहाँ ती तत्त्वको परिचय थियो । त्यसपछि यो विरूवा कुन खडेरीमा पुगेर मर्छ कि भन्ने भयले छोपिरहन्थ्यो । एउटा नवीन चेतनाको वीजारोपण गरेँ भन्ठानेर किञ्चित सन्तुष्टि पनि लिन्थे । एउटा नयाँ चिन्तकको भनाइबाट मनोबल लिन्थें – आज म लहरा जेउला पन्साउँदै काँढाहरू टेक्तै, यो पहाड चढ्ने मार्गका बुटाहरू फाँड्दै यहाँसम्म आइपुग्दा थाकिसकेछु । तर भोलिका तपाईंहरू यहाँसम्म त मेरा खुड्किला टेक्तै सरासर नथाकी आइपुग्नु हुन्छ । त्यसपछि माथिमाथि चढ्ने खु‌ड्किला कप्तै जानुहोला ।”

त्यसैगरी पुस्तकमा विजय हितान लेख्नुहुन्छ, ”पर्या साहित्य केवल प्रकृतिको वर्णन वा सौन्दर्यको प्रशंसा मात्र होइन, यो मानव र प्रकृति बीचको अन्तरसम्बन्धलाई विश्लेषण गर्ने विधा हो । यस विधाभित्र पर्या-नारीवाद, परिवृत्तीय दृष्टिकोण, प्राकृतिक सौन्दर्य, ग्राम्यता र शहरीकरण, जल-जमिन-वायु प्रदूषण, जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरी-शिकारी, वन्यजन्तु-वनस्पति-मानव बीचको अन्तरसम्बन्ध र द्वन्द्व, आदिवासी समुदायको प्रकृतिसँगको सम्बन्ध, धर्मशास्त्रमा निहित पर्यावरण चेतना (पर्याध्यात्म), र विकासको नाममा भइरहेका वातावरणीय क्षयका विविध पहलु समेटिएका छन् ।

पुस्तकलाई शब्द मिडिया प्रा.लि. (साहित्यपोस्ट) ले प्रकाशन गरेको हो । पाँच सय १६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य सात सय ५० रुपियाँ रहेको छ ।

===============

२. बहुरूपी – श्रेयज सुवेदी

‘जोगीले खरानी घसेजस्तै
गेहुँको आँटा घसेर
सेतो देखिएपछि मात्र
नागरिकताको सिफारिसमा तोक लाग्छ भने
म खेतमा धान लगाउँदिनँ मालिक
पूरा साल म गेहुँमात्र उगाउँछु !’

आख्यानकार श्रेयज सुवेदीको कथा संग्रह हो ‘बहुरुपी’ । श्रेयज सुवेदीको लेखनमा व्यक्तिगत अनुभव, स्थानीय परिवेश, र युवाको मनोदशा गहिरो रूपमा झल्किन्छ । कथाहरूमा प्रयोग गरिएको भाषा सरल, जीवन्त र स्थानीय छ, जसले पाठकलाई कथाभित्रै डुब्न बाध्य बनाउँछ ।

बहुरुपी लेखक श्रेयज सुवेदीको पहिलो प्रकाशित कृति हो । चालक, अपरम्परा, शैलुनको सिसा, बगर, इन्द्रेणी, छाला गरी छ खण्डमा विभाजित १५ वटा कथा भएको यो कथाकृतिमा लेखकले मूलतः मधेशको परिवेशमा कथा बुन्ने प्रयास गरेका छन् । मधेशको सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक आयामहरूलाई सशक्त कथावाचन शैलीका मार्फत जीवन्त रूपले चित्रण गरेका छन् । शुरुवाती खण्डका कथाहरू व्यक्ति विशेषका दुस्स्वप्नरदुःखका बारेमा बताउने कथा लागे तापनि उत्तरार्ध खण्डका कथाहरूले बृहत आयामहरूको उत्खनन गरेको छ । पुस्तकमा केवल मधेशमात्र होइन, पुरै देश अटाएको छ । उत्तरार्ध खण्डका कथाहरूले हाम्रो देश र समाजमा भएका बहुरूपको प्रतिविम्ब उजागर गरेको छ ।

पुस्तकलाई बुकहिल पब्लिकेसनले बजारमा ल्याएको हो । १५ ओटा कथा संग्रहित पुस्तकको मूल्य पाँच सय ५५ रुपियाँ रहेको छ ।

=========================

३. किनारीकृत माइली – छवि वैरागी घिमिरे
कवि छवि वैरागी घिमिरेको खण्डकाव्य हो, ‘किनारीकृत माइली’ । वैरागीले पुस्तकमा अन्तरजातीय प्रेम समाजले स्वीकार नगरेपछि एक प्रेमिल जोडीले भोग्नु परेको वियोगलाई चित्रण गर्नुभएको छ ।

सिस्नु रहेछ
तिम्रो र मेरो सम्बन्ध,
हातले छुन नहुने
चिम्टाले लुछ्न पाइने ।
माइली !
पवित्र प्रेम गरेको छोराले
जरो गाड्न नपाउँदै
अन्तरजातीय विवाह गरेको निहुँमा
बाबु सेते दमाईको हत्या गर्ने
कर्णालीको देश हो यो
यहाँ धान खाने मुसो
चोट पाउने भ्यागुतो
पनि बन्न सक्नु पर्छ ।
कहाँ सिस्नु लुकेर
उच्च जातका
भान्सा पसे जस्तो सजिलो छ र !

”आजसम्म जति पनि जातीय विभेद विरुद्धका पुस्तकहरु आएका छन्, ती पुस्तकहरुले समस्यालाई मात्र उजागर गरेको पाइन्छ ।” पुस्तकमा छवि वैरागी लेख्नुहुन्छ, ”हिजोको अवस्था र देश समाजमा चेतनाको कमी भएका कारण समाज पनि त्यही अनुरुप चल्ने चलाउने गरिन्थ्यो । तर आज विश्व प्रविधिमय भएको छ । हरेक मानव मस्तिष्कमा चेतनाको स्तर उच्च छ । तरपनि हाम्रो देशमा जातीय विभेद अन्त्य भएको छैन । यसका ज्वलन्त उदाहरणहरु हामीले समाजमा देख्तै आएका छौँ । दलितका नामले सीमान्तकृत गरिएका नेपाली दाजुभाइ, दिदिबहिनीहरु समानता खोज्दै लडिरहेका छन् तर आजसम्म समानता पाएका छैनन् । विभेद अन्त्य गर्न उहाँहरुको एकल लडाइँले कहिले पनि समाधान प्राप्त गर्न सकेको छैन । त्यसैले यस खण्डकाव्यको मूल उदेश्य भनेको दलितहरुले खोजेको समानता प्राप्त गर्ने लडाइँमा गैरदलितले जबसम्म साथ दिँदैनन् र चेतनशील हुँदैनन् तबसम्म यो विभेद यथावत रहन्छ ।”

पुस्तकलाई सुख शान्ति मिडियाले बजारमा ल्याएको हो । एक सय ३६ पृष्ठमा समेटिएको पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।

=================

४. सानु साथी – ईश्वरमणि अधिकारी


कवि ईश्वरमणि अधिकारीको कवितासंग्रह हो ‘सानु साथी’ । अधिकारीको कवितामा बौद्धिकता अन्तर्गर्भित छ, मानवीय संवेदनाको सुक्ष्म अभिव्यक्ति र सरल भाषामा गहन भाव व्यक्त भएको पाइन्छ ।

”समकालीन नेपाली कविताको विराट् आयतनमा कहाँनेर छन् ईश्वरमणि अधिकारी ? उनका कविता पढ्दा लाग्छ उनी कविताकलामा जीवन, समाज, मान्छे र समयलाई केही पृथक् रुपमा चिनाउने कवि हुन् ।” पुस्तकमा प्रा.डा लक्ष्मणप्रसाद गौतम लेख्नुहुन्छ, ”आजका कविहरु को ठुलो भीडमा टाढैबाट चिनिने कवि हुन् । उनका अघिल्ला कविताकृतिहरुलाई दुई कदम उछिनेर आएको प्रस्तुत ‘सानु साथी’ कवितासंग्रहका कविता यिनै कुराका दसी हुन्, प्रमाण हुन् र उनी आफ्नो समयका पृथक चेतनाका कवि हुन् । उनी कवितामा कुनै न कुनै दर्शन भन्छन्, समयको, जीवनको, समाजको र आजका मान्छेको त्रासदीयुक्त वर्तमानको । तर, भविष्यप्रतिको आशावादी चेतना उनीभित्रको कविको सत्व हो र सत्य हो । सङ्गतिहीनता र नकारात्मक वर्तमानका त्रासदी र कुरुप यर्थाथलाई पनि सत्यको उन्मेष र चेतनाको अनुद्घाटित सत्यको खोजीका माध्यमबाट आफ्नै संवेदनाको गहिराईभित्र पसेर आफैलाई र जीवनजगत्लाई नियाल्नु उनका कविताको विशेषता हो ।”

त्यसैगरी पुस्तकमा ईश्वरमणि अधिकारी लेख्नुहुन्छ, ”प्रारम्भमा आफूलाई अभिव्यक्त गर्ने रहरबाट सुरू भएको लेखनयात्रा आजकल आदत बनेको छ । अब यो आदतबाट उन्मुक्ति सम्भव छैन । गणितको अध्ययन अध्यापनलाई जीवनको एउटा पाटाका रुपमा जिन्दगीको किनारै किनार हिँडाएर अर्को किनारबाट दौडिरहेछु म कवितायात्रामा । मेरा लागि यी दुई किनारा आफ्नै जिन्दगीका किनारा जस्तै लाग्छन् । म यिनीहरूसित समानान्तर चलिरहेछु । लाग्दै छ, एउटाले मेरो जीवन चलाइरहेछ, अर्काले मलाई नै चलाइरहेको छ । कविता मेरा लागि सहज प्रतीत हुने कष्टकर यात्रा पनि हो, आफूले आफ्ना खुशीका लागि तय गरिएको यात्रा । आनन्द-यात्रा । कविताको सम्मोहन-यात्रा । एउटा प्रेममय यात्रा ।”

पुस्तकलाई पोखरेली युवा सांस्कृतिक परिवारले बजारमा ल्याएको हो । एकहत्तर ओटा कविता संग्रहित पुस्तकको मूल्य तीन सय ३३ रुपियाँ रहेको छ ।

==================

५. मनोभाव – विष्णुप्रसाद पन्त


कवि विष्णुप्रसाद पन्तको काव्य हो ‘मनोभाव’ । पन्तले काव्यमा पुराना कुसंस्कार, कुप्रवृति र नकारात्मक सोचलाई त्यागेर परिवर्तनले उज्यालो संसार निर्माण गर्नुपर्ने सन्देश दिनुभएको छ ।

”कवि विष्णुप्रसाद पन्तले पहिलो कृति ‘सम्झनाका भुल्का’मा रहेका मूल्य, मान्यता, परम्परा र प्रवृत्तिलाई यस काव्यमा पनि अझ विकसित अवस्थामा पुऱ्याउनुभएको छ।” पुस्तकमा युवराज मैनाली लेख्नुहुन्छ, ”कृतिमा देश दुखेको छ, देशमा भएका विकृति र विसङ्गतिप्रति चिन्ता व्यक्त भएका छन् । देशप्रेम, प्रकृक्तिप्रेम, मानवीय प्रेमका भावनाहरू अभिव्यक्त भएका छन् । कवितामा उत्साह, निराशा, प्रेम, घृणा, दया, माया, करुणा आदि मानवीय गुणका कुराहरू देखिएका छन् । कविताका प्रत्येक पङ्क्तिले जीवनोपयोगी सन्देश प्रवाह गरेका छन् ।”

त्यसैगरी पुस्तकमा विष्णुप्रसाद पन्त लेख्नुहुन्छ,”जीवनलाई कुनै कुनै लयमा ढाल्न सबैले प्रयास गरेकै हुन्छन् । जब जीवन लयबद्ध हुन्छ, उसले सबै कुरा त्यहीँ पाउन थाल्दछ। लामो अभ्यास र चिन्तनले मात्र यो कुरा सम्भव हुन्छ। जीवन लयमा चल्नु भनेको निश्चित मार्गमा चल्नु हो। जीवनका सङ्घर्षले धेरै कुरा सिकाउँदै गर्दा थाहै नपाई ऊ कतै जोडिन पुग्दछ। उसले छुट्टै संसारको निर्माण गरिसकेको छ। अब ऊ त्यसैमा रमाउन थाल्दछ । दिनहरू बित्दै गएको उसलाई थाहा नै हुँदैन। उसमा एक प्रकारको नशा नै लागिसकेको हुन्छ । सायद मलाई पनि जीवनको पछिल्लो समय आएर लेख्ने, पढ्ने, केही रचनाहरूको सृजना गर्ने नशा लागेको हो कि जस्तो लाग्दछ । नयाँ पुस्तक पाउने बित्तिकै पढ्न मन लाग्ने, कुनै घटना देख्ने वा सुन्नेबित्तिकै केही लेख्ने मन लाग्ने हुन थालेको छ। मेरो कलम खास गरी कविता लेखनमा अघि बढेको हुन्छ, जति सक्छु, लेख्ने गर्दछु। यसै क्रममा यो ‘मनोभाव’ शीर्षकको काव्य तयारीको अवस्थामा आइपुगेको छ। यो कृति कति सान्दर्भिक हुन सकेको छ त्यो म भन्न सक्दिनँ तर आफ्नो बुद्धि-विवेकले भ्याएसम्म प्रयास गरेको छु जस्तो लाग्दछ ।”

पुस्तकलाई लेखक स्वयंले प्रकाशन गर्नुभएको छ । ९६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य एक सय ५० रुपियाँ रहेको छ ।

==================

६. उपद्रष्टा हर्कमान तामाङ – केशु विरही


लेखक केशु विरहीले राजनीतिज्ञ एवम् साहित्यकार हर्कमान तामाङको बारेमा लेख्नुभएको पुस्तक हो ‘उपद्रष्टा हर्कमान तामाङ’ । विरहीले पुस्तकमा हर्कमान तामाङको बाल्यकालदेखि राजनीति एवम् साहित्यिक यात्राको आरोह अवरोहपुर्ण फेहरिस्त समेट्नुभएको छ ।

”केशु विरहीद्वारा लिखित उपद्रष्टा हर्कमान तामाङ पुस्तकको पाण्डुलिपि पढ्दा शीर्षनायकका जीवनी, व्यक्तित्व र कृतित्वको पूर्णतः वर्णन र विश्लेषण गरिएको पाएँ।” पुस्तकमा प्रा. डा टङ्कप्रसाद न्यौपाने लेख्नुहुन्छ, ”विरही अध्ययन र अनुसन्धानमा क्रियाशील व्यक्ति हुन् । विद्यार्थी जीवनदेखि नै अध्ययन र अनुसन्धानमा रुचि राख्दै त्यस कार्यमा समर्पित विरहीले यसअघि नै बेलवारी र तेह्रथुमको साहित्यिक इतिहास प्रकाशित गरिसकेका छन् भने यसअघि नै उनका उपन्यास, गजल, अनुसन्धान, कथा तथा बालसहित्यका कृति पनि प्रकाशित भइसकेका छन् । निरन्तर साधनामा आफूलाई समर्पण गर्ने व्यक्ति कमै हुन्छन् । परिवेश र जीवनको अनुकूलता सबैलाई हुन्न । विरहीलाई यस्ता अनुकूलता भएर पनि लेखनका लागि सङ्कल्प गरिरहेकामा साधुवाद भन्दछु ।”

त्यसैगरी, पुस्तकमा लेखक केशु विरही लेख्नुहुन्छ, ”साहित्यिक इतिहास लेखनका क्रममा मैले बेलबारीका लेखक, स्रष्टा तथा कलाकारलाई राम्ररी अध्ययन गर्ने अवसर पाएँ। यही क्रममा मेरो एच।एम। सर अर्थात् हर्कमान तामाङसँग लामो सङ्गत हुन पुग्यो । हामीबिच वर्तमान राजनीति, नेपाली साहित्य तथा विविध विषयसँग जोडिएर घन्टौँ घण्टासम्म भलाकुसारी हुन्थ्यो । बुवाआमासँगै कोक्रामा बोकिएर भारत पुगेको, कलकत्तामा बितेको बाल्यकाल, छोराले नेपाली भाषा पढोस् भनेर बुवाले दार्जिलिङमा बसाईं सारेको, बाल्यकालमै आमाको मृत्यु भएको, कम्युनको बसाइ, साहित्यिक प्रेरणा, स्नातकसम्मको शिक्षा हासिल गरेपछि नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गरेर उहाँले गरेका साहित्यिक तथा राजनीतिक यात्रा र त्यसमा आएका उतारचढावका घटना निकै मर्मस्पर्शी लागे । वामपन्थी राजनीतिका साथै नेपाली साहित्यका धरोहरका रूपमा रहेका उहाँलाई मैले बारम्बार एउटा आत्मकथाको पुस्तक लेख्न आग्रह गरिरहँ तर, उहाँ आफ्ना बारेमा आफै लेख्न नचाहने व्यक्ति हुनुहुँदो रहेछ। उहाँले आफ्ना बारेमा लेख्न रुचि राख्नुभएन। पटक पटक पन्छिने काम गरेको थाहा पाएपछि म आफैले उहाँका बारेमा लेख्न रुचि बढाएँ। हो, आज त्यही पुस्तक तपाईंहरूका हातमा छ।”

पुस्तकलाई बेलबारी साहित्य विकास समितिले बजारमा ल्याएको हो । एक सय ४२ पृष्ठमा समेटिएको पुस्तकको मूल्य पाँच सय रुपियाँ रहेको छ ।