
“हिउँमा नखेलेको धेरै दिन भएछ, मेरो त कस्तो जिउ नै बोधो भएजस्तो लाग्दैछ ।”
“मलाई पनि उस्तै भा’को छ । धेरै दिन ग्याप भएपछि मेरो त जिउ पो चिलाउँछ ।”
“त्यसो भए आजै एकपटक ‘दालाइस्’ पुगौँ न त ।”
“पुगौँ भने पुगौँ न त । यहाँ बसिरहेर के जित्नु छ र ?”
शुक्रबारे चेली पासाङ ल्हामुले सुरु गरेको यो वार्तालापमा बुधबारे लाक्पाले सही थाप्नासाथ लामाले विशेष किसिमले नाम राखेका टेन्डी र लाम्बाबुले पनि सर्मथन जगाए । शेर्पा समुदायको नाम राख्ने प्रणाली बारमा आधारित हुन्छ । लामाले विशेष किसिमले नाम राखिदिएका बाहेक सामान्यतया अरू सबैको आइतबारको जन्म भए निमा, सोमबारको भए दावा, मङ्गलबारको भए मिङमा, बुधबारको भए ल्हाक्पा, बिहीबारको भए फुर्वा, शुक्रबारको भए पासाङ र शनिबारको भए पेम्बा नाम रहेको हुन्छ । महिला र पुरुष दुवैको नाम उस्तै हुन्छन् तर के बाट छुट्याउन सकिन्छ भने अन्य हिन्दू महिलाहरूको नामको बिचमा माया, देवी वा कुमारी आए जस्तै शेर्पा महिलाहरूको नामका बिचमा नुरी, फुटी, ल्हामु, युटेन, फिन्जुम, रेन्जी, याङजी, छुटिन, निमी जस्ता शब्दहरू रहेका हुन्छन् ।
हो, यसरी नै नामकरण भएकी शुक्रबारे पासाङ ल्हामुले यो भोजनपश्चात्को वार्ताको प्रारम्भ गरिन र हिउँ खेल्न नपाएर जिउ बोधो भएको जनाउ दिएपछि केही साथीहरू हिउँमा खेल्न ‘दालाइस्’ तर्फ जाने भए ।
पर्तिकेले यस्तो ‘चानस’ किन छोड्थ्यो र ? त्यहीँमाथि पासाङ ल्हामु शेर्पाले नै “जाने होइन त सर ?” भनेपछि त उसलाई झन् के चाहियो र ? लाग्यो ऊ पनि पछि-पछि— डेप्याक च्यापेर । डेप्याकभित्र यस्ता सामग्रीहरू राखेर जसको प्रयोगबाट तिर्खा, चिसो र अँध्याराका विरुद्ध लडाइँ गर्दै पुनः यही होटलसम्म आइपुग्न सकियोस् ।

प्रतीक ढकाल
होटलबाट निस्क्यौँ र गाउँको फेरो मार्दै पूर्वी किनारातर्फ लाग्दै छौँ । चियाका बुट्टाहरूभन्दा होचा एक किसिमको काँडादार वनस्पतिका थुम्काले पूरै जमिनलाई ढाकेको छ । जमिन न त सम्म छ न त धेरै अग्ला डाँडाकाँडायुक्त नै । एक नासका दम्स्याइला थुम्काहरू छन् र तिनैलाई नाघ्दै हाम्रो समूह अघि बढ्दै छ ।
गह्रुँगो झोला बोकेका टेन्डी शेर्पा सबैभन्दा अगाडि लागेका छन् । टेन्डी शेर्पा अर्थात् तिनै टेन्डी शेर्पा जसले उषा विष्टलाई सगरमाथाको ८५०० मिटरको उचाइबाट उद्धार गरेर तल झारेर ज्यान बचाइदिएका थिए ।
“उषालाई रेस्क्यू गरेको डोरी पनि यही हो सर ।” उनले झोलामा साइड लगाएर राखेको एक मुठो डोरी पनि देखाए ।
म दङ्ग परेँ— किनकि त्यो एक ऐतिहासिक डोरी थियो । विदेशमा भए तुरुन्तै टेन्डीसँग किनेर सङ्ग्रहालयमा राखिन्थ्यो । बेहोस भएर डोरीमा तुर्लुङ्ग झुन्डिएकी उषालाई उनैले उद्धार गरेर ७५०० मिटरसम्म ल्याएपछि क्यानेडियन टोलीसँग भेट भएको थियो र बाँकी उद्धार कार्य क्यानेडियन टोलीकी डा. मिजेन म्याकग्राफले गरेकी थिइन् । टोलीका अन्य शेर्पाहरूले उनलाई दिलोज्यानले सघाएका थिए । पछि नेपाल पर्वतारोहण सङ्घले ती डाक्टरलाई कुमार खड्गविक्रम साहसिक पुरस्कारद्वारा पुरस्कृत पनि गर्यो तर टेन्डीलाई कसैले सम्झेन । उनले चाहिँ आफ्नो कर्तव्य निर्वाह गरेको मात्र सम्झिइयो । हुन पनि हो, शेर्पाहरूले कर्तव्यपालन गरिदिएकै कारणले नेपालको पर्वतारोहणको इतिहास बनेको छ । भूत र वर्तमान मात्र होइन, भविष्य पनि सुरक्षित छ ।

लाम्बाबु शेर्पा
टेन्डीका पछि-पछि छन् लाम्बाबु शेर्पा । शालीनताका प्रतिमूर्ति । झट्ट हेर्दा पनि बाहुन क्षेत्री जस्ता देखिने लाम्बाबुले पनि कीर्तिमानी आरोहणहरू गरेका छन् । नेपाल-जापान कुटनीतिक सम्बन्धको ५० औँ वर्षको अवसरमा आयोजित ‘नागपाइगोसुम’ हिमालको संयुक्त आरोहणमा यिनी टोलीका सरदार नै थिए ।
लाम्बाबुभन्दा पनि पछाडि छिन् मलाई असाध्यै मन पर्ने हिमालकी छोरी— पासाङ ल्हामु । एउटी पासाङ ल्हामु त बितिहालिन् । अब यिनै एउटी छन् जसले उनैको पद चिह्हरूलाई अझै विकसित ढङ्गले पछ्याइरहिछन् । ती पासाङ ल्हामु आरोही मात्र थिइन्; आरोहण गरिन् र आरोहणको क्रममै बितिन् तर यी पासाङ ल्हामु सगरमाथा आरोहीका अतिरिक्त नेपालकी एक मात्र व्यावसायिक पर्वतीय प्रशिक्षक पनि हुन् । यिनलाई आरोहणको प्रमाणपत्र दिएको दिनलाई म अझै पनि सम्झन्छु । नेपाल पर्वतारोहण सङ्घका तत्कालीन अध्यक्ष श्री आङछिरिङ शेर्पाले भन्नुभएको थियो— “पासाङ ल्हामु शेर्पा, द जुनियर ।”

पासाङ ल्हामु शेर्पा
अनि मैले भनेको थिएँ— “पासाङ ल्हामु शेर्पा, द सेकेन्ड ।”
अनि खुब हाँसेका थियौँ हामी ।
“समयले देखाउनेछ एकदिन; यी पासाङ ल्हामु ‘जुनियर’ हुनै सक्दिनन् । यिनै ‘सिनियर’ हुनेछिन् आफ्ना कीर्तिमानहरूमा तर जन्मको क्रमलाई बदल्न नसकिने हुनाले यी सधैँ द्वितीय नै रहनेछिन् ।” मेरो तर्क आङछिरिङ सरलाई पनि मन पर्यो ।
तिनै पासाङ ल्हामुको झोला बोकिएको पिठ्युँलाई हेर्दै म उनका पछाडि-पछाडि हिँड्दै छु । यिनको सर्लक्क परेको जिउडाल, आकर्षक र अग्लो शारीरिक बनोट, उच्च ललाट, आत्मविश्वासी अनुहार, दृढताका पर्याय जस्ता आँखाहरू र भद्र व्यवहार हेर्दा के लाग्छ भने— यी धेरै परसम्मको यात्रा तय गर्न जन्मिएकी हुन् । म उनलाई सधैँ प्रेरित गरिरहन्छु । म उनलाई सधैँ हौसाइरहन्छु — भेटेका वेलामा ।

यही हो दालाइस्
“तर हामी आइमाईलाई धेरै गाह्रो छ सर, यो क्षेत्रमा टिक्न ।” कहिलेकाहीँ उनी पनि संशय गर्छिन् । नत्र उही मृदु मुस्कान र अल्पबोली परिचयपत्रझैँ बनेर झुन्डिरहन्छ उनको अनुहारमा— सधैँजसो ।
क्यान्जिनरीलाई बायाँतिर पारेर हामी निरन्तर अलिकति मात्र पूर्व मिसिएको उत्तरतिर हिँडिरहेका छौँ । हामीले चढ्न चाहेको च्यार्खुरी सिधै अगाडि उभिएर हामीलाई बोलाइरहेछ । गाङछेम्पो र लाङसिसाखर्क अझै पनि दाहिने हाततिरै छन् । पाङगोङडोक्पा, नयाँखाङ र उर्केमा चुलीहरू अब हाम्रा पिठ्युँतिर परिसकेका छन् ।
यो नागीमा ठाउँ-ठाउँमा चौँरीहरू बसेर उघ्राइरहेका छन् ।

आरोहण गुरु टेण्डी शेर्पा
“नाक त सोझै हुन्छ, त्यत्ति बिगार पनि गर्दैन तर याक त खतरनाक हुन्छ । यसबाट त सधैँ जोगिएर हिँड्नुपर्छ है सर ।” मभन्दा पनि पछाडि हिँडिरहेका लाम्बाबु मलाई सुझाउँछन् र उनकै सुझाउ अनुरूप म अगाडि बसेको भयानक खप्परे याकलाई पूरै बाटो छोडिदिएर अर्कातिरबाट तर्किन्छु । लाम्बाबुले पनि मैलाई पछ्याउँछन् ।
“एकपटक हाम्रै एक जना साथीलाई एउटा यस्तै याकले ठहरै पारिदियो नि, ठाउँको ठावैँ । भुँडी पूरै छेडेर सिङ नै डँडाल्नातिरबाट निकालिदियो ।” लाम्बाबु कथा सुनाउँदै छन्— “हामी तर्केर हिँड्यौँ, ऊ चैँ बड जान्ने भएर शेर्पाको छोरो पनि याकसँग तर्केर हिँड्ने ? यो त भएन नि भन्दै छेउमै गयो । याकले ड्याम्मै हान्यो र सिङमै उनेर दगुर्न थाल्यो । हामी त के गर्नु न के गर्नु भयौँ । पशुसँग पनि जिस्केर हुन्छ र सर ? भन्दै थियो— हामी त गोठभरि याक पालेका मान्छे, केको डर ? याकको आनीबानी थाहा पाएपछि डराउनु पर्दैन तर आफ्नो कुरो सिध्याउन पनि नपाउँदै याकले उसैलाई सिध्याइदियो । ठाउँको ठावैँ बित्यो बिचरा । दशा नि ! दशा लागेरै त आ’को होला नि यस्तो उपध्रो ।”

माथि चढ्दै अघि बढ्दै टेण्डी
निकै बेर हिँडेपछि ‘छुबिछु’ आइपुगियो । सोच्दै नसोचेको ठाउँमा कडा हिउँको यो विशाल थुप्रो कसरी आयो होला ? अघिदेखि ‘दालाइस्’ भनेको यही हिउँलाई पो हो रहेछ । प्रशिक्षणका लागि नजिकै र उपयुक्त हिउँको खोजी गर्न हिँडेका यहीँका होटल व्यवसायी दावा र अहिले पनि हामीसँगै आइरहेका लाक्पाले यो हिउँ पत्तो लगाई गुणस्तर जाँचेर काम सुरु गरेको हुनाले दावा र लाक्पाकै नाममा यो हिउँको थुप्रालाई अरूले ‘दावा-लाक्पा आइस्’ भनिदिन थालेका रहेछन् ।
मैले लाक्पालाई बधाइ दिएँ ।
“शेर्पाको छोराले हिउँ पत्तो लगायो । अरू त के गर्न सक्छ र ?” लाक्पा पनि मनमनै खुसी नै भए । “आखिर यो नामले पनि अब बल्ल व्यापकता पाउने भयो— तपाईँको यो यात्राको किताब छापिएपछि ।”
‘दावा-लाक्पा आइस्’ भन्दा नाम लामो भयो । अब म यसलाई ‘दालाइस्’ भनेर प्रचारमा ल्याइदिन्छु । हुँदैन ?

माथि चढ्दै अघि बढ्दै टेण्डी
अब कसरी हुँदैन भन्लान् त लाक्पाले ?
लाक्पा दङ्ग परेको पर्यै छन् । बिचरा कर्मीमौरी !
वारि हामी छौँ । बिचमा गहिरो खोल्सो छ र पारिपट्टिको भित्तामा हिउँ जमेको छ । तल खोल्साको पानी आधा जमेको र आधा बगेको स्थितिमा छ वारिबाट हेर्दा खोल्सो खतरनाक छ । यदि कोही त्यहाँ खस्नु हो भने निस्केर आउन सक्ने कुनै ठाउँ नै देखिँदैन ।
अनि खतराको खेल सुरु भयो ।
टेन्डीले एउटा ठुलो ढुङ्गामा डोरी बाँधे । अनि मलाई भने— “सर अब यो एङ्करमाथि बस्नोस् । हल्लियो भने पनि नडराउनुहोला । एउटा मान्छेको वजन धान्न एउटा सानै काँटी पर्याप्त हुन्छ ।”
फेरि लाम्बाबुले थपे— “सरलाई रमिता हेर्न दिऊँ । अहिले म ढुङ्गामा बस्छु, तिमी तल जाऊ । पछि लास्टाँ सरलाई बसाउँला ।”

काँटी ठोकेर/नाक छेडेर तह लगाइएको हिउँ
लाम्बाबु शेर्पा ढुङ्गामा बस्नासाथ टेन्डी त डोरी समातेर माकुराझैँ सजिलै तल खोँचमा पुगे । मैले त फोटो खिच्न समेत नपाउँदै उनी त तलै पुग्न पो भ्याइहाले । म त अचम्ममा परेँ । त्यसपछि तलको खोल्सी तरे । झोलाबाट ‘आइस-एक्स’ झिकेर हिउँमा चुच्चो गाडेर राखेँ । त्यसैमा डोरीको मुठो झुन्ड्याए । झोलाबाट क्राम्पुन झिकेर दुवै खुट्टामा लगाए । हातमा सामान्य पन्जा लगाए र उहिले नै हामीले डाले घाँस काट्न रुखमा चढ्न टेको काटेझैँ हिउँमा साधारण टेको काटे र त्यसैमा क्राम्पुनको चुच्चो घुसाएर उभिए । क्राम्पुनको चुच्चोतिर समेत दुइटा दाँत हुने रहेछन्— त्यो त मैले आजसम्म विचारै गरेको रहेनछु ।
त्यसपछि त यो ठाडो भिरमा उनी यति सजिलै र यति छिटो-छिटो चढे कि म त हेरेको हेर्यै भएँ ।
टेन्डी शेर्पाले ५/७ वटा टेकोको प्रयोग गरेर अलि माथि पुग्नासाथै माथिबाट फेरि उही डोरीमा सुल्किँदै पासाङ ल्हामु तल खोल्सामा पुगिन् । पासाङ ल्हामुले पन्जा, हेल्मेट र क्राम्पुन लगाएर तयार भइन्जेलसम्ममा माथि टेन्डीले हिउँमा प्वाल पारीकन एउटा स्क्रु घुसाएर डोरी पनि बाँधिसकेका थिए ।

तयार भयो डोरीको जंक्सन
“म आऊँ टेन्डी दाइ ?” उनले सोधिन् ।
“एउटा स्क्रु थप्न देऊ— एकछिन पर्ख ।” टेन्डीले भिरबाटै भने ।
हामीले देख्दादेख्दै टेन्डीले हार्नेसबाट फेरि अर्को स्क्रु झिके । बर्माले काठमा प्वाल पारेझैँ खिरिरिरी पार्दै हिउँमा प्वाल पारे । हार्नेसबाट दुइटा क्याराबिनरहरू झिकेर आपसमा जोल्ठ्याए अनि त्यसैमा डोरी टाँगे ।
“पासाङ, अब आऊ ।” उनले तल हेर्दै नहेरी भने ।
पासाङसँग त अब झन डोरी थियो । उनले किन ढिलो गर्थिन् र ? त्यही डोरीको सहारा र टेन्डीले काटेका टेकाहरूमा हात र खुट्टाहरू अड्याउँदै उनी पनि माथि पुगिन् ।
म अचम्म मानिरहेको छु— क्राम्पुनको अगाडि उछिट्टिएका १ इन्च जति लामा दुइटा दाँत हिउँभित्र घुस्न पाए भने मान्छेलाई मजाले थाम्ने रहेछन् ।
अनि दुवै जना माथि भेट भएपछि ठाडो चढाइ पनि गरे, तेर्सो हिँडाइ पनि गरे । धेरै वरसम्म आए— डोरीकै पुल बनाएर खाल्डो तर्ने अभ्यास पनि गरे । लाक्पा पनि तल ओर्ले र उनले अर्कै ठाउँबाट फेरि अभ्यास सुरु गरे । म ढुङ्गामा बसेपछि लाम्बाबु पनि तल ओर्ले र त्यही भिरमा गएर खेल देखाउन थाले ।

यस्ता हुन्छन् हिउँमा ठोक्ने पेचकिला
मलाई के लाग्यो भने जसरी कुस्तीबाजहरूले अखाडामा अभ्यास गर्न पाएनन् भने उनीहरूको ज्यान दुख्न थाल्छ; आरोही शेर्पाहरूका हकमा पनि त्यही लागु हुने रहेछ ।
धेरै बेर खेले यी चार जनाले त्यो पल्लोपट्टिको हिउँ भिरमा । अनि क्रमशः फर्कन थाले । लाक्पा आए, लाम्बाबु आए, टेन्डी आए । पासाङ ल्हामु अहिले अन्तिममा छिन् । अन्तिममा रहेको मान्छेले सबै सामानहरू उठाउँदै आउनुपर्ने रहेछ ।
म हेरिरहेको छु— अघि टेन्डीले दाहिनेतिर घुमाएर कसेका स्क्रुहरूलाई उनी बायाँतर्फ घुमाएर धमाधम फुकाल्दै छिन् । फुकालेका स्क्रुहरूलाई मुखले फू फू गरेर फुकेर त्यसभित्रको हिउँ झार्दैछिन् र फूकालेका स्क्रु र क्याराबिनरहरूलाई आफ्नो हार्नेसको ठिक-ठिक ठाउँमा घुसार्दै पनि छिन् ।

डोरी अल्झाउने क्याराविनरहरु
यस्ता हुन्छन् हिउँमा ठोक्ने पेचकिला र डोरी अल्झाउने क्याराविनरहरू कति छिटो, कति व्यवस्थित अनि कति सफा ढङ्गले काम गर्दिरहिछन् पासाङ मिसले । म त हेरेरै दङ्ग परेँ । ठाडो भिरमा झुन्डिएकी छन् र उल्टै डोरी फुकाउँदै आएकी छिन्— तैपनि उनको अनुहारमा डरको कुनै झलक पनि छैन ।
सबै जना वारि आएपछि मैले भनेँ— “म पनि एकपटक तल जाऊँ ?”
“जानुहुन्छ ? नडराउनुहोला है त !” लाक्पाले मलाई प्रोत्साहित गरे । मैले अरू ओर्लेको शैलीलाई हेरिसकेको हुनाले त्यसै गर्दै-गर्दै तल खोल्सासम्म पुगेँ म पनि । खोल्सामा उत्रिने ठाउँ निकै नै अप्ठेरो रहेछ । त्यहाँबाट हेर्दा त्यो हिउँको ठाडो भिर अझ ठाडो र पूरै ९० डिग्रीकै देखियो ।

हिमाल चढाउने डोरीहरू
माथिबाट साथीहरूले निकैपटक बोलाएछन् । निकै गहिरो खोँचमा हुनाले मैले सुनिनछु । अनि त फेरि लाम्बाबु हत्तपत्त तल आएका रहेछन्— के भएछ भनेर हेर्न ।
“केमा अलमलिनुभयो सर ?” तल आएर सोधे उनले ।
“म यी हिउँका चिराहरूलाई हेर्दै छु । फेरि मौका पर्दैन नि त मलाई त !”
“जाऊँ सर फेरि ढिलो हुन्छ ।” लाम्बाबुले मलाई पहिले पठाउने भए । मैले बुझेँ— उनी मलाई पछाडि छोड्न चाहँदैनन् । मैले डोरी चढ्न सुरु गरेँ । ओर्लनभन्दा उक्लन अलि गाह्रो र डरलाग्दो हुँदो रहेछ ।

सेताम्मे गराहरू र बालुवा मात्र बोक्ने हिमनदी
‘प्याक-अप’ सकेपछि हामी फर्क्यौँ । उही बाटो फर्कँदै छौँ । पर खोलापारि देखिँदै छ एक समतल भूभाग— विमानस्थल हो रे यो ठाउँको तर चालु रहेनछ । डुब्दो घामका कारणले चुलीहरू पहेँला देखिँदै गएका छन् । धेरै पर पानीले टिल्पिल टिल्पिल भरिएका गराहरूजस्ता देखिएका छन्— हिउँका । यो क्षेत्रको बगरमा पनि बालुवाको विशाल रास देखियो । अचम्म ! हिमनदीमा त यस्तो नहुनुपर्ने । हिमनदीले त सकेसम्मको उपध्रो मच्चाएको हुनुपर्ने तर यहाँको हिमनदीले त बालुवा चाल्दो रहेछ कि जस्तो लाग्यो— ङजुम्बाखाङको हिमनदीले बालुवा चालेजस्तै ।

बालुवा मात्र बोक्ने हिमनदी
धेरै वर आइसकेपछि ढुङ्गामा एउटा पाइतालाको छाप भेटियो । भगवान् पद्मसम्भवको पाइलो हो रे यो । कैलाशतिरबाट यता झर्दा एउटा पाइलो यहाँ र अर्को पाइलो चैँ नयाँ खाङको फेदीमा टेकेका रे । यतैबाट गोसाईँकुण्ड, हलेसी र फर्पिङ पुगेको कथा रहेछ— पद्मसम्भवको । हलेसी नामको तीर्थकाव्य नै लेखेका अग्रज साहित्यकार राधेश्याम भट्टराईले बर्सौँ अगाडि सुनाएको उही कथा आज फेरि लाक्पाले सुनाइरहेछन् ।
त्यो चमत्कारी पाइलालाई भूमिसात् भएर दण्डवत् गरेँ । मैले त्यसो गरेको देखेपछि पासाङले पनि ढोगिन् तर अरूले ढोगेजस्तो लागेन । कि वा म लम्पसार परेकै वेला पो अरूले पनि नमस्कार गरेका थिए कि ? मैले नदेखेको पो हो कि ?
अलि वर आएपछि एउटा ढुङ्गामा ‘वे टु याला’ लेखेको देखियो । हामीले पछ्याउनुपर्ने नै यसैलाई हो भोलिपर्सि पनि ।
तर अघि कसो हुनाले हो देखिएनछ ।

पाइतालाको छाप : गुरु पद्मसंभवको
त्यसपछि लाक्पाले मलाई धेरै बेरसम्म यताउता घुमाइरहे— पद्मसम्भवले तपस्या गर्न बस्दा उनका ढाडले खियाएको ढुङ्गो देखाउन तर निकै बेर खोजी गर्दा पनि त्यो ढुङ्गो कतै भेटिएन । ठाउँ पनि अलमलियो होला; अँध्यारो पनि गाढा हुँदै आएकाले पनि हुन सक्छ— त्यो ढाडपीडित ढुङ्गो देख्नै पाइएन ।
पछि होटलमा आइपुगेपछि पो होटलका मालिक सुब्बा तामाङले भने— “त्यो त त्याँ होइना नि, आलि पारै पो छा त ।”
“नाबाको ठौँमा खोजेरा कासरी बेट्छ त ?” सुब्बाकी सुब्बिनी श्रीमती काराचोम तामाङले लाक्पामाथि नै कटाक्ष गर्दै भनिन्— “नाबाको ठौँमा सर्लाई गुमाएछा, लाजै मार्नु ।”
मलाई काराचोमको बोल्ने शैली मन पर्यो तर लाक्पालाई भने यो हस्तक्षेप पटक्कै मन परेनछ । उनले अर्कै जवाफ दिँदै भने— “यो मोबाइललाई चार्जमा राखिदेऊ त साउनी । बड जान्ने हुनुपर्ने ।”
डाइनिङ टेबल सजाइसकेका छन् मुलाल गुरुङजीका किचन स्टाफहरूले । अब हामीले त आफैँलाई रिचार्ज गर्ने हो । आफ्नै पेटलाई फुलचार्ज गर्ने हो र ओछ्यानमा पुगेर पनि रातिको सम्भावित माइनस १५ लाई छेक्न सक्ने गरी स्लिपिङ ब्यागभित्र ‘इनरसिट’ रिचार्ज गर्ने हो ।
कोही छ रातभरि घाम चार्ज गर्न सक्ने ? यदि त्यसो हो भने हामी पनि केही रिचार्ज नगरी बस्न सक्छौँ । नत्र त मर्नु भएन क्यारे, अनि क्यार्नु त ? नघुस्रेर भो त न्याना धोक्राँ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










