यस वर्षको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ नेपाली नियात्रासाहित्यको विकासमा निरन्तर समर्पित स्रष्टा घनश्याम राजकर्णिकारलाई प्रदान गरिने भएको छ । अघिल्ला वर्षहरुमा झैँ वसन्तपञ्चमीका दिन एक प्रेस विज्ञप्ति जारी गर्दै ‘पवित्रा ढकाल स्मृति कोष’ले राजकर्णिकारलाई उक्त पुरस्कार समर्पण गरिने जनाएको हो ।

राजकर्णिकारले नेपाली यात्रासाहित्यको विकासको क्षेत्रमा पुर्याको असाधारण योगदानका लागि यो पुरस्कार समर्पण गरिएको कोषले जनाएको छ ।  ५१ हजार नगद राशिको यो पुरस्कार आउँदो वर्षको जेठ १३ गतेका दिन एक कार्यक्रमको आयोजना गरी राजकर्णिकारमा समर्पण गरिने विज्ञप्तिमा उल्लेख छ ।

वि.सं. २०७५ सालको श्रीपञ्चमीमा यो स्मृति कोषको स्थापना गरिएको थियो । पहिलो पटक २०७६ सालमा नेपाली नियात्राका शिखरपुरुष डा. तारानाथ शर्मालाई, दोस्रो पटकको पुरस्कार २०७७ सालमा शताब्दी वाङ्मयपुरुष डा. सत्यमोहन जोशीलाई, तेस्रो पटकको पुरस्कार २०७८ सालमा नेपाली नियात्राका एक मानक देविचन्द्र श्रेष्ठलाई, चौथो पटकको पुरस्कार २०७९ सालमा नेपाली नियात्राका कुशल शिल्पी भुवनहरि सिग्देललाई र २०८० सालमा पाँचौँ पटकको पुरस्कार प्रवासमा रहेर पनि नेपाली नियात्रासाहित्यप्रति समर्पित संगठक स्रष्टा गीता खत्रीलाई समर्पण गरिसकिएको छ ।

यही सिलसिलालाई निरन्तरता दिँदै २०८१ को (छैटौँ संस्करणको) पुरस्कार राजकर्णिकारलाई समर्पण गरिएकाे हो ।

प्रत्येक वर्ष जेठ १३ गतेका दिन सम्मानित हुने स्रष्टाको घरदैलोमै गएर सादर अभिनन्दन गर्ने कोषको प्रचलन रहेको भए तापनि यस वर्षदेखि पुरस्कारको व्यवस्थापन पर्वतीय साहित्य समाज नेपालले गर्ने र पुरस्कार संस्थापक कोषको नाम पनि अबदेखि नेपाल सरकारमा दर्ता भएबमोजिम नै जयन्ता–पवित्रा ढकाल स्मृति कोष प्रचलनमा ल्याउने निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ ।

राकर्णिकारका देश प्रदेशको भ्रमण (२०३४), विदेशको यात्राः स्वदेशको सम्झना (२०३७), बौद्ध तीर्थयात्रा: नालान्दादेखि लुम्बिनीसम्म (२०६०), यात्रा अमेरिकाको माया नेपालको (२०६९), यात्राको लहरीमा हिउँफूलकी रानी (२०७४), घामै प्यारो आमै प्यारो (२०७७) लगायत महत्त्वपूर्ण नियात्राकृतिहरू प्रकाशित छन् ।