फाँटिलो ठाउँ रहेछ लाङटाङ गाउँ । पूरै दक्षिण फर्केको एकदमै घमाइलो पाटोमा बसेको रहेछ यो ठाउँ । आज राम्ररी घाम नलागेको दिन हो, तैपनि धेरै जाडो हुन पाएको छैन । यतातिर पाइने वनस्पतिहरू अब एकदमै ससाना पोथ्रापोथ्रीहरूमा वामनावतारित भइसकेका छन् । तर लाङटाङ खोलापारि चाहिँ अझै पनि सल्लाको कोणधारी वन देखिदैछ । खोलावारि र खोलापारिको वनस्पति जगतमा किन यति धेरै फरक परेको रहेछ भनेर यसो ध्यान दिएर हेरेको त खोलापारिको डाँडाको शिरमा हिउँ भए पनि त्यो स्थायी हिमाल हो जस्तो लागेन । तर यतापट्टिको पाखो जहाँ हामी हिँडिरहेका छौँ— यो त पूरै लाङटाङ लिरुङको दक्षिणी पाटो पो हो रहेछ । सधैँ हिउँको टोकसो खप्नु पर्ने भएकाले यतापट्टि त बिरुवाले हुर्कने सामथ्र्य नै नराख्दा रहेछन् ।

लाङटाङ लिरुङ आफैँ पनि अलि तल झरेर सुत्छ कि क्या हो राति राति ? तल पहराको बीचमा त डबल बेड साइजको हिउँको ओछ्यान पो देखिदैछ त । हुन पनि प्रकृतिले विचित्र विचित्र लीला गर्छ । यो हिउँको ओछ्यान किन बनाउनु परेको होला यो पहराको मध्य भागमा ? आप्mनो ग्लेसियर अर्कोतिरबाट खसाले पनि यो टर्बाइन मात्र चलाउने पानी किन खसाल्न परेको होला यतातिर ? माथितिर लाङटाङ लिरुङको ७२३४ मिटर अग्लो शिखर भए पनि बीचमा यो कालो चट्टानको डाँडो निकालीकन यो बस्ती बस्ने यस्तो फराकिलो ठाउँ किन निकाल्नु परेको होला ? एक त यस्तो पारिलो ठाउँ छ, फेरि त्यसैलाई किन सिमसारको जस्तो गजगजे पानीले भिजाउनु परेको होला ?

हिमाल सुत्ने हिउँकै ओछ्यान

प्रकृतिको रचना विचित्रको छ— किनकि प्रकृति स्वयं नै विचित्र छ । भिलेजभ्यू होटल एण्ड लजमा भारी बिसाएपछि म फुक्काफाल भएको छु । एड्भान्स माउण्टेनियरिङ तालिमका प्रशिक्षार्थी र गुरुहरू आफ्नै धन्दामा लागिसकेका छन् । उनीहरू डोरी गाँठो पार्छन्, ठाउँ ठाउँमा क्याराविनरहरू झुण्ड्याउँछन्, कम्मरमा विभिन्न औजार र उपकरणहरू भिरेका माला (हार्नेस) बाँधेर नाच्न ठिक्क परेका धामीझैं देखिन्छन्— बेला बेलामा । पूरै जामा पगरी लगाएर ढोल ढ्याङ्ग्रो ठोक्दै, घुङ्रिङ खेलाउँदै हिँडेको धामी जस्तै देखिन्छन्— यिनीहरू पनि कति कति बेला त । म पनि झुक्किन्छु कि जस्तो लाग्छ । कतै– “हेरीऽऽऽ परमेश्वर” भन्दै मा

ग पो तेस्र्याउने हूँ कि जस्तो पनि लाग्छ ।

फेरि अर्को मनले सोच्छु— नेपालका परमेश्वर त यिनै हुन् वास्तवमै । आपा एउटा परमेश्वर । छेवाङ ङिमा अर्को परमेश्वर । आङरिता, सुङ्दरे, काजी, टेण्डी, पेम्बा, लाक्पारिता, ल्हाक्पा, लाक्पागेलु, बाबुछिरी, दा गोम्बु, लाम्बाबु र तेञ्जिङहरू— सबै सबै नै हाम्रा परमेश्वर । अरूले गर्नै नसक्ने दुःसाध्य कर्महरू जसले गर्छ त्यही नै होइन त परमेश्वर ? अनि जसले त्यस्तै कर्महरूको इतिहास रच्छ, त्यही होइन त परमेश्वर ? वास्तवमै हाम्रा हिमाली सन्दर्भको कुरो गर्ने हो भने त यिनै हुन् हाम्रा परमेश्वर । यिनीहरूले जति गरेका छन् त्यति त अरू कसैले गरेकै छैन । गर्ने कल्पना पनि गर्न सक्दैन । मुकं करोति वाचालम् अर्थात् जसले लाटालाई पनि बोल्ने बनाउन सक्छ भनेर मात्र चित्त नबुझेपछि भगवान्को अद्भूत शक्तिको प्रशंसा गर्दै पछिल्लो पंक्ति थपियो— पंगुम् लङ्घयते गिरिम् ……… अर्थात् जसले लंगडालाई पनि पहाड नघाउन सक्छ ।

अब भन्नोस् त, जसका कृपाले एउटा खुट्टै नभएका थोमस ह्विट्याकर सगरमाथाको शिखरमा पुगेर सकुशल फर्कन सके, जसले दृष्टिविहिन एरिक वाइनमेयरलाई सगरमाथाको शिखरमा पुर्याएर सजिलैसँग फर्काए— ती ‘परमानन्द माधवम्’ नभएर को हुन् त ? अनि अब तपाईँ नै भन्नोस्, यस्ता शक्तिशाली मान्छेहरूलाई यत्कृपा तमहम् वन्दे भन्दै नहिँडेर के गर्ने त ?

कतिपयलाई लाग्दो हो, यो पर्तिकेले जहिले पनि शेर्पालाई अनावश्यक रूपमा उचाल्छ, अरू केही कुरो नपाएर यी भोटेलाई भगवान् बनाउँछ । तपाईं आफ्नो विचारमा सत्य नै हुनुहुन्छ होला— त्यो म पनि मान्दछु । तर मेरो एक मात्र प्रार्थना छ— एकपटक सगरमाथाको आधारशिविरसम्म पुग्ने कष्ट गरिहेर्नोस् । यदि तपाईं बिनाअप्ठेरो त्यहाँ पुगेर आउनुभयो भने म आफूले गरेका शेर्पासम्बन्धी यी सबै सम्मानसूचक अभिव्यक्तिहरू फिर्ता लिन्छु । तर तपाईंलाई आधारशिविरसम्म पुग्नै यदि साँच्चीकै अप्ठेरो पर्यो भने अनि बल्ल मान्नु होला— वास्तवमै शेर्पाले कसरी नेपाललाई चिनाएका छन् भन्ने कुरा । कति कठिन कार्यले गर्दा उनीहरू विश्वप्रसिद्घ भएका छन् भन्ने कुरा । विश्वास लाग्दैन भने डा. खेम कोइराला बन्धुद्वारा सम्पादित नेपाली पर्वतीय साहित्य: सृष्टिमाथि दृष्टि नामको किताब पढ्नोस् अनि त हाम्रा गौरव आपा शेर्पाले के भनेका रहेछन् भन्ने कुरो त आफैं थाहा पाइहाल्नु हुनेछ नि !

डा. पिली पियरले कक्षा लिन थालेका छन्— रेस्क्यू टोलीलाई यहीँ चिम्नीकै वरिपरि राखेर । यसो हेरेँ— समय त अझै बाँकी छ । मैले त लाङटाङ सहर घुम्नै बाँकी छ । किन प्रयोग नगर्ने यही समयलाई ?

यो तामाङहरूको बस्ती हो— कानुनी रूपमा । तर यी तामाङहरू प्रायः शेर्पा भाषा बोल्छन् । हिजोका दिनमा तिब्बतबाट छिर्दा मुस्ताङतिरबाट छिर्नेहरूले गुरुङ लेखाए, पूर्वतिरबाट छिर्नेहरूले शेर्पा लेखाए, तर केरुङतिरबाट छिरेकाहरूले आफूलाई तामाङ लेखाए र त्यही व्यहोराबाट नागरिकता लिए । त्यसैले कानुनी रूपमा तामाङ र व्यवहारिक रूपमा शेर्पा यहाँका बासिन्दाहरू घोडा पालनका पनि शौखिन देखिन्छन् । प्रत्येक होटल, लज, बार, रेष्टुरेण्टहरूमा घोडचढीको सुविधा उपलब्ध छ भनेर सूचना राखेका छन्— अंग्रेजीमा ।

अलि अग्लो ठाउँमा आइपुगेको छु । पच्चीस/तीसवटा घरहरूको सहरलाई यहाँबाट बडो मग्न भएर नियालिरहेको छु म । साथीहरूको भनाइ अनुसार पुरानो लाङटाङ गाउँ अलि परतिर छ रे जसलाई भोलि बिहानको बाटोले देखाउँनेछ । उनीहरूको भनाइ छ— सबैतिरका गरेर २०० जति घरहरू हुन सक्छन् ।

लाङटाङ गाउँको रूप

घरहरूमा एक किसिमको काष्ठकला पनि देखिदैछ । यो कला काठमाडौँ, ललितपुर वा भक्तपुरको जस्तो उत्कृष्ट त नहोला— तर ठाउँ अनुसार घनघोरै राम्रो छ । प्रयोग गरिएको काठको गुणस्तर, ‘औजार र उपकरणहरू’ तथा शिल्पीले कतै गएर तालीम पाएको कि नपाएको भन्ने आधारमा मूल्यांकन गर्ने हो भने— यहाँको कलालाई तल देखाउनै मिल्दैन ।

 

 

लाङटाङको काष्ठकला

निकै धेरै घरहरूमा यस्तै कला देखें । पर्दा सहितको झ्यालमा देखिएको यो कलाले मेलवादेवीको अजम्मरी गलालाई संझायो— “आऊ न बसौं पियारी मिर्मिरे झ्यालैमा ।”

पानीले माने घुमाइरहेका दृश्यहरू त नेपालको हिमाली भेगको यात्रामा जतासुकै पनि देख्न सकिन्छ । पहिलो पटक ‘शे गुम्बा’ क्षेत्रमा यस्तो देख्दा म अवाक् भएको थिएँ । त्यो धार्मिक भावनालाई पोख्न निकै शब्द खेलाएको थिएँ— हिमालपारि पुगेपछिमा । पछि त खुम्बुतिर, मनाङतिर जता गए पनि यस्तै दृश्यहरू देखिन थाले र म पनि सहज हुँदै गएँ । तर ती सबै ठाउँमा एउटा कुटीभित्र एउटा मात्र माने राखिएको हुन्थ्यो— तर यहाँ त एउटै कुटीभित्र ६ वटा माने घुम्दै गरेको पवित्र दृश्य देखियो । कुटीमा पनि पवित्र तोरण टाँगेको पाइयो । कसो कसो ‘पेनफुल्ली’ रमाइलो लाग्यो । मेरालागि यो नयाँ दृश्य थियो । र, किन किन यसले मनको छेउमा लडाएको पहिरोको घाउ पनि नयाँ नै थियो ।

एउटै कुटीभित्र ६ वटा माने घुम्दै गरेको

ग्लेशियर डकुमुण्टेसन सेन्टर रे । बोर्ड देखेर हेर्न गएँ । यो सानो बन्द घर रहेछ । यो पश्चिमा जगतकै कुनै खेल हुनुपर्छ ।

होटलकै ठीक पछाडिपट्टि छ एउटा सानो माने जस्तो ठाउँ र टाँगिएका छन् केही लुङता र छोत्तरहरू । अवश्य पनि कुनै सम्मानित स्थल हुनुपर्छ यो— जस्तो कि कसैको समाधिस्थल वा पूजा गर्ने सार्वजनिक ठाउँ । श्रद्धापूर्वक एक फन्को घुमेर फेरि बाटो लागेको छु । बाटो पनि के भन्ने— चारैतिर गज्गजी हिलो छ । पानी होइन; हिउँ जमेको छ सबैतिर । फड्किनका लागि ठाउँ ठाउँमा टेकाइएका ढुंगाहरूमा टेक्दै बाटो लाग्दैछु । वास्तवमै पूरै सिमसार क्षेत्र जस्तै रहेछ— यो लाङटाङ गाउँ त । माथि हिमालतिरबाट झरेका अनेकौं सोता र खोल्सीहरूले पूरै गाउँलाई नै हिलाम्य बनाएको देखिन्छ । एक घरबाट अर्को घरतिर जानु पर्दा पनि ढुंगा ओछ्याएर बनाएको बाटोबाट हिँड्नु पर्ने रहेछ । अझ ठाउँ ठाउँमा त त्यत्तिले पनि नपुगेर सिमेण्टेड स्ल्याबहरू नै हालिएका छन्— बाटो तर्न ।

सिमसार क्षेत्र

हेर्दैछु र देख्दैछु लाङटाङ भ्याली क्लिनिकको चम्किलो साइनबोर्ड । साथमै चम्केको छ लाङटाङ स्वास्थ्य चौकीको फ्लेक्स बोर्ड पनि । खुसी लाग्यो दु–दुइटा स्वास्थ्य संस्थाहरू एकसाथ कार्यरत देखेर । यति भएपछि सिटामोलसम्म त पक्कै पनि पाइएला । जे भए पनि बागमती अञ्चल हो— अझै धेरै सुविधा पो पाइन्छ कि मलाई के थाहा ? मनमा लाग्यो— यहाँ मैले अनुमान गरेको कुरा एउटा पनि नमिलोस् र जनताले धेरै धेरै स्वास्थ्य सुविधा पाइरहेको स्थिति होस् । त्यस्तो भयो भने मलाई सबभन्दा धेरै खुसी लाग्नेछ ।

प्रहरी चौकी र यसले ओगटेका दुइटा बन्द ढोकाहरूलाई पनि देखें । यो राज्यको उपस्थितिको प्रतीक मात्रै हो । राज्य यहाँसम्म आउन सक्ने भएछ— अहिलेको सन्दर्भमा यही नै ठूलो कुरो हो । यी शान्त गाउँहरूमा सकेसम्म प्रहरीको काम नपरेकै राम्रो । प्रहरी त आखिर ‘नेसेसरी इभिल’ न हो ।

अनि प्रहरीचाहिँ खोई त ?

नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन रे— यो सुन्दर संरचना । पर टाँगिएको बोर्डले यसै भन्दैछ । ‘कम्युनिटी एक्सन नेपाल’ले बनाएको रे यसलाई । यो पनि त्यही बोर्डले नै भन्दैछ । एउटा सानो तर राम्रो पुस्तकालय समेत भएको यो सुन्दर विद्यालयभित्रको एउटा करुण कथा चाहिँ यो बोर्डले भन्दै छैन । त्यो चाहिँ आफ्ना प्रिय पाठकहरूका लागि अब म भन्दैछु । त्यो करुण कथा हो— यस्तो सुन्दर विद्यालयमा पनि विद्यार्थी चाहिँ जम्मा १५ जना मात्रै छन् । १ देखि ५ कक्षासम्मको कुल विद्यार्थी संख्या यही हो । शिक्षकहरू जम्मा दुई जना छन् रे । अब भन्नोस् त यो विद्यालयको निर्माण र संचालन लागतलाई १५ जनामा भाग लगाउँदा प्रति विद्यार्थी कति रकम पर्न आउला ? तिनीहरूले पनि पढे त हुन्थ्यो नि ! तर पढ्दैनन् र बीचैमा पढाइ छोडिदिन्छन् । अनि कसरी घट्छ नेपालको ‘ड्रप आउट’ रेसियो ?

विद्यार्थी बिनाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय

यसो हुनुका पछाडि पनि कारण रहेछ । खास कारण के रहेछ भने यहाँका हुनेखाने र सक्नेहरूले आफ्ना छोराछोरीहरूलाई सकेसम्म काठमाण्डौं वा भारततिर लगेर पढाउँदा रहेछन् । तीभन्दा कम सक्षमले पनि साधारण स्कूलको पढाइ राम्रो हुँदैन भनेर धुन्चेतिर बोर्डसर् राखेर पढाउँदा रहेछन् । अझ धेरै जसोका नानीहरूलाई त विदेशीहरूको ‘स्पोन्सरसीप’मा पढाउन अन्यत्रै लगिने रहेछ । त्यसैले यहाँ पढ्ने नानीहरू भनेका त ‘स्पोन्सर’ भेटिन बाँकी रहेका ‘हुँदा खाने’हरूका सन्तान मात्र रहेछन् ।

अनि किन नहोस् त स्कूल खाली र सुनसान ?

पर एउटा अनौठो घर देख्दैछु । घर अत्याधुनिक छ । छानामा डिस्क एन्टेना देखिदैछ । तर बनाइएको छ— सिधै पहरो कोपेर त्यो मुनि निकालिएको खाल्डो ठाउँमा । पूरै पहरोकै आड, भरोसा र सुरक्षामा निर्मित घर ।

पहरामै घुसेको त्यो घर

फेरि देखें— लाङटाङ मध्यवर्ती उपभोक्ता समितिको कार्यालय । अनि छेउमै त्यही समितिद्वारा गठित ‘लाङटाङ हिउँ चितुवा संरक्षण समूह’को कार्यालय पनि । एउटै घरमा रहेका यी कार्यालयहरूको आँगनबाट नयाँ लाङटाङ गाउँको झण्डै झण्डै पूरै रूप देखिंदैछ । झण्डै झण्डै ७० प्रतिशत जति अटाउँदैछ क्यामेराको लेन्समा । घाम नलागेको साँझमा पनि दृश्य बडो स्पष्ट छ । घाम लागेको भए त झन के के पो हुन्थ्यो होला ?

निकै माथिबाट पाइपमा पानी ल्याएर चलाइएको रहेछ एउटा माइक्रो हाइड्रो । पेनस्टक पाइप र पावर हाउस दुवैलाई नजिकै गएर हेरें । तर नचलेको बेला हुनाले त्यसमा जीवनको अनुभूति हुनै पाएन ।

लाङटाङको उज्यालोः यो सानो माइक्रो हाइड्रो

माथि पहरामाथि बाक्लो हिउँको एउटा छहरा देखिंदैछ । आकार यस्तो छ— मानौं कि त्यसलाई भर्खरै मात्र कसैले सभापतिको उच्च आसन ग्रहण गराएको होस् । गाउँको पूर्वी किनाराबाट धेरै पर देखिने क्षितिजमा गाङछेम्पो (६३८७ मि.) हिमाल धमिलो गरी  मुस्कुराइरहेछ— त्यो तुँवालोमय हिम काँधभन्दा माथि उठेर । त्योभन्दा अलि सानो च्यार्खुरी अझ धमिलो देखिएको छ अहिले । च्यार्खुरी अर्थात् खोङ्मा पाइने हिमाल रे यो ।  अहिले त खोङ्मालाई पनि सायद जाडै भएको होला । यी दुईका बीचमा लाङसिसाखर्कको एरिया छ । तर अहिले धमिलो देखिएकोछ— हलुका तुँवालोले गर्दा ।

कागहरू अझै पनि सानै छन् । चुच्चो पनि कालै छ । तर, ‘गोरोक् गोरोक्’ गरेर कराइरहेका छन् ।

लाङटाङकै पाखामा डुल्दै गाउँको पूर्वी किनारातिर आउँदैछु । ठाउँठाउँमा खानेपानीका पाइपहरू फुटेका छन् वा पाइपको जोर्नी परेका ठाउँहरूबाट पानीका सिर्काहरू निस्केर जमिनमा परेका छन् । पाइपबाट बाहिर निस्केका पानीका यी मसिना मसिना सिर्काहरूले भुँइभरि नै विचित्रको जादुगरी देखाउन  भ्याएका छन् । कँही हिउँको मोती भएर झुलेका छन् त कँही अचम्मका हिउँफूल भएर फुलेका छन् । सिसाका गोला गोला ग्रानुअल जस्ता लाग्ने यी पारदर्शी बुट्टाहरूबाट छिरेको पातलो उज्यालोका  धर्साहरूले ठाउँ ठाउँमा इन्द्रेनीहरूको रचना गरेका छन् । सुकेको घाँसको एउटा त्यान्द्रो मात्र भेट्टाए पनि छोडेको छैन प्रकृतिले— त्यसैमा हिउँको फूल फुलाएको छ । झट्ट हेर्दा काँचको रंगीन पेपरवेट वा गुच्चा जस्ता देखिने यी बुट्टाहरू वर्णनातीत छन् । घाँसको त्यही त्यान्द्रो जसको आधारमा यो सिंगै फूलको रचना भएको छ, हेर्दा लाग्छ— यो सृष्टिमा कुनै पनि चिज कम महत्वको छैन । त्यही त्यान्द्राका आधारमा यति सुन्दर फूलहरू फुलाएको छ यो चिसो प्रकृतिले; अनि यही प्राणकै आधारमा यति सुन्दर जीवनको रचना गरेको छ परमेश्वरले । मैले त यिनै फूलहरूभित्रै मृण्मयदेखि चिन्मयसम्मको यात्रा देखें । खै किन किन बुद्ध, शिव र महावीर मात्र होइन, यहीँभित्र मैले त लाहिडी महाशय, स्वामी विवेकानन्द, तैलंग स्वामी, नानक, कबीर, मीराबाई र ओशोलाई समेत देखें । मैले टल्किरहेका यी हिमकणका पुष्पाकृतिहरूमा जीवनको निःसारता र शंकराचार्यलाई मात्र होइन जीवनको सौन्दर्य र रजनीशलाई पनि भेटें । ‘आर्ट अफ लिभिङ’ त थियो थियो— मैले त यी सानै फूलहरूमा ‘आर्ट अफ लभिङ’ र ‘आर्ट अफ डाइङ’ पनि देखें ।

प्रकृति, तिम्रो जादुगरीलाई यो अकिञ्चनको नमस्कार छ !

हिउँका फूलहरू

साँझ पर्दैछ । म घुम्दै घुम्दै यो गाउँको पूर्वी किनारतिर आइपुगेको छु । यो पनि आखिर ढुंगाकै सहर रहेछ एउटा । एकातिर लाङटाङ लिरुङको तल्लोपट्टिको खण्डको विशाल चट्टान अनि अर्कोतर्फ यी ढुंगाकै गल्ली, बाटा, घर र पर्खालहरू । आखिर यो पनि ढुंगाकै साम्राज्य रहेछ । तर राजधानी होइन । यदि यसैलाई ढुंगाको राजधानी मानियो भने फेरि ‘मनाङ’लाई के दर्जा दिने नि ? हाम्रो शब्द भण्डार नै सकिन्छ । त्यसैले यो गाउँलाई ढुंगाको सहर मात्र भनेर छोडौं । यसो गर्दा सबैको इज्जत रहन्छ ।

फर्केर आउँदैछु । एउटा घरमा झ्याम्टा र ढ्याङ्ग्रो बजेको आवाज सुन्दैछु । ती बीचमा मानिसले थपडी बजाएको आवाज पनि मिसिदैछ त्यहाँ । के रहेछ मलाई उत्सुकता लाग्यो र आँगनमा पुगेर उभिएँ । झट्ट ढोका खोलेर भित्र चियाउने दुस्साहस गर्न सकिनँ र अरगच्च परेर आँगनमै उभिन पुगें । एक जना व्यक्तिले देखे र मलाई भित्र लिएर गए । याञ्जीर गुम्बाको राष्ट्रपूजा देखेदेखि यस्तो उत्सवमा जान म आकर्षित हुने गरेको छु ।

ती व्यक्तिले मलाई प्लाष्टिकको कुर्सीमा बसाले र अथ्र्याए— मूल लामाले यी तीनजना तन्नेरीहरूलाई कर्मकाण्ड विधिको अभ्यास गराउँदै हुनुहुन्छ । मैले यसो हेरें बूढालामा स्वयं चाहिँ भुइँमा बसेका थिए र आफ्ना चेलाहरूलाई त्यहींबाटै नबुझ्ने भाषामा के के निर्देशित गरिरहेका थिए ।

मैले आदरपूर्वक उठेर भनेँ— “टाशिदेले ।”

सबै खुसी भए । मलाई पुनः बस्नका लागि भने र पुनः उनको निर्देशन चालु रह्यो ।

 

नयाँ पुस्तामा जिम्मेवारी सार्दै बूढा लामा

तीनजना चेलाहरूले छुट्टाछुट्टै पाना भएको एउटा किताब एउटै स्वरमा भट्याउँथे । एउटा अत्याधुनिक मोकवाला कपालले त्यसैको तालमा ढ्याङ्ग्रो र अर्को साधारण कपालले झ्याम्टा बजाउथे । एउटालाई चाहिँ हातमा के के घुमाउदै किताबको पाना पल्टाउनमै भ्याई नभ्याई थियो । बीच बीचमा ती तालवाद्यहरू रोकिन्थे पनि । कति कति बेला बीच बीचमा थपडी पनि थपिन्थे । एकछिन त परिस्थिति हेरेर मैले पनि थपडी बजाएँ ।

 

पुरातन विद्याको अभ्यास गर्दै आधुनिक विद्यार्थी

यी लामाले आफ्ना चेलाहरूलाई के सिकाउदै छन् भन्ने विषयमा मैले केही पनि अनुमान गर्न सकिनँ । मैले बुझ्न सक्ने कुरो पनि आएन । तर यो विश्वास, यो समर्पण र आस्थाको यो तहले हाम्रो समुन्नत संस्कृतिको मूल जरोतर्फ संकेत गर्दथ्यो । र, यिनै ठाउँहरूमा जस्तापाताको उपलब्धतासँगै सौदाबाजी गरिएको धर्मले हामीलाई नै गिज्याउँथ्यो र मनको भित्तामा एक किसिमको अनौठो घाउ लगाउँथ्यो । मनले नभनेका कुराहरू प्नि म सुन्दै थिएँ । ऊ भन्न चाहन्थ्यो— तिम्रो पहिचान भनेको यही समुन्नत संस्कृति नै हो— कुनै जस्तापाताको बण्डल होइन ।

मेरा मनका बुद्घ मनमै ध्यानस्थ थिए । शान्त, करुणामय र निर्विकार !

मेरा कृष्ण अझै पनि ‘परधर्मो भयावहः’ भित्रै थिए ।

मेरा मनमा बाइवलका दुइटा वचन तरंगिए— एक, “जसले तरवार उठाउँछ त्यसको नास तरवारबाटै हुनेछ ।” र दुई, “शत्रुलाई जित्नेभन्दा आफ्नो मनलाई जित्ने शक्तिशाली हुन्छ ।”

मेरो मनले कहिल्यै नहारोस् । सबै ईश्वरहरूसँग मैले माँगेको ‘वर’ एउटै थियो । जतिसुकै आगो लगाउन खोजे पनि नसल्किने मेरो हिमाली ‘घर’ एउटै थियो । र, सामाजिक सद्भाव नामको एउटा अभेद्य पर्खाल— मेरो ‘भर’ पनि एउटै थियो ।

लेखकीय टिप्पणी:

माथि वर्णित यही लाङटाङ गाउँ चाहिँ नेपालको नक्सामा अब कहिल्यै पनि भेटिने छैन । २०७२ बैशाख १२ को विनाशकारी भूकम्पले त्यही पहरोमा घुसेको एउटा घरबाहेक यो सिंगै गाउँलाई बढारिसकेको छ । अब लाङटाङ फेरि उठ्नेछ, उठ्दैछ पनि, तैपनि यिनै कुराहरू त्यहाँ हुने छैनन् । मैले लेखेको यो लाङटाङको कथा मेरै लागि पनि अन्तिम चित्र बन्यो ।