सर्वोच्च अदालतले प्रज्ञा प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्र र त्रिभुवन विश्वविद्यालयलाई व्याकरणको नियम परिवर्तन गर्ने क्षेत्राधिकार नरहेको ठहर गरिसकेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले नेपाली भाषा वर्णविन्याससम्बन्धी विषयमा २०६९ अगाडिकै लागू हुने गरी फैसला गरिसकेपश्चात् नेपाली साहित्यिक हावापानी निकै रमणीय बन्न पुगेको थियो/छ, जुन उल्लेखनीय कुरा हो । सोही हावापानी रमण गर्दै यस स्तम्भकार भाषाविद्, लेखक, साहित्यकार, पत्रकार, शिक्षकहरू समक्ष केही प्रश्नसहित पुगेको थियो । जसलाई उसले ‘उक्ति-प्रत्युक्ति: नेपाली भाषा र वर्णविन्याससम्बन्धी सर्वोच्चको आदेश भाषाप्रेमीहरूको मत सँगालो’ नाम दिइएको छ ।

स्तम्भकारको विश्वास थियो, यस ‘उक्ति-प्रत्युक्ति’ स्तम्भमा भाषाविद्, लेखक, साहित्यकार, पत्रकार, शिक्षक आदिको मनग्ये सहभागिता रहनेछ । तर प्रायः (९८ प्रतिशत) ले ‘अदालतको फैसाला स्वागतयोग्य रहेको’ बताएर यी प्रश्नहरूको उत्तरका लागि आफू उपयुक्त पात्र नरहेको बताए । भाषाका विषयमा सर्वोच्च अदालत बोलिसक्दा पनि भाषाविद्, लेखक, साहित्यकार, पत्रकार, शिक्षक आदिले बोल्ने इच्छा नगर्नु (आँट पनि) आफैंमा एक रोचक कुरा लागेकाले यसलाई यहाँ उल्लेख गरिएको हो ।

भनिहालौं, यस एक महिनाको समयावधीमा तीन दर्जन भाषाविद्, लेखक, साहित्यकार, पत्रकार, शिक्षकहरूमध्ये जम्मा दुई जना स्रष्टाको मात्र जवाफ प्राप्त गर्न सकियो । यसलाई आगामी दिनमा थप अगाडि बढाउने कुरामा वचनबद्ध हुँदै जवाफ दिएका नेपाली साहित्यका सुपरिचित स्रष्टाद्वय प्रतीक ढकाल र समकालीन पुस्ताका कवि दौतारी तारानाथ पराजुलीका प्रतिक्रिया हुबहु यहाँ राखिएको छ ।

१. प्रतीक ढकालसँग उक्ति-प्रत्युक्ति:

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २२ साउन ०६९ मा गरेको टिप्पणी आदेश बदर भएको छ । शिक्षा मन्त्रालयका तत्कालीन सचिव किशोर थापाले मन्त्री शर्मासमक्ष १७ साउन ०६९ मा सम्पादन तथा प्रकाशन शैली पुस्तिकाको वर्णविन्याससम्बन्धी टिप्पणी पेश गरेका थिए । त्यसलाई शर्माले पाँच दिनपछि सदर गरेका थिए । त्यसविरुद्ध ‘सो टिप्पणी आदेश नेपालको संविधानको धारा १३३ (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरिपाऊँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै अधिवक्ता स्वागत नेपाल, पत्रकार टपेन्द्रबहादुर कार्की, बलदेव शर्मा अधिकारी, लालानाथ सुवेदी, महेश्वर न्यौपानेलगायतले छुट्टाछुट्टै चारवटा रिट निवेदन दर्ता गरेका थिए । सम्मानित सर्वोच्च अदालतले शब्दको वर्णविन्यास परिवर्तन गर्न नहुनेसहितको फैसला गरिसकेको छ, तथापि यसको पूर्णपाठ आउन बाँकी नै छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले गरेको यो फैसलालाई तपाईंले कसरी लिनुभएको छ ? सर्वोच्चको यस फैसालापश्चात् नेपाली भाषाको भविष्य कस्तो देख्नुभएको छ ?

प्रतीक ढकाल

प्रतीक ढकाल

यो कुनै सामान्य अंशबण्डा, घरझगडा, फौजदारी अपराध वा सामान्य लेनदेनवाला देवानी मुद्दाको जस्तो केही व्यक्तिलाई मात्र छुने फैसला होइन । यो त सिङ्गो नेपाल, यसको गौरवमय संस्कृति, देशबाहिरसमेत बोलिने आञ्चलिकतासहितको सिङ्गो नेपाली भाषा, यसको निरन्तरको फैलावट, हाम्रो भाषिक सम्पदाको मौलिक पहिचान र हाम्रा देवतातुल्य ऋषिमुनिको तपस्याको प्राप्तिलाई समेत छुने गम्भीर विषय हो । यो त “ध्वनिक्रमप्रवर्तित प्रचण्डताण्डवः शिवः” सम्म पुग्ने विषय हो । यो त वर्णविन्यासको कुरो मात्र होइन, ‘ॐ’ र ‘श्री’ को सीमाहीन महत्तालाई समेत नगिजोल्नू भनेर गरिएको युगान्तकारी फैसला पनि हो ।

नेपाली भाषाको भविष्य जहिले पनि उज्ज्वल नै थियो र छ पनि । केही धमिराहरूले अरू कसैको इशारामा नाचेर यसलाई खोक्रो पार्न केही बल गरेका थिए, त्यो दुर्नियतलाई सम्मानित अदालतले बदर गरिदिएको छ । अब नेपाली भाषा पहिलेकै स्तरीकृत रूपमै फर्किनेछ । मुलुकका लागि ज्यान दिएका शहीदलाई अब सम्मान गरिनेछ, कहिले शहिद, कहिले सहीद र कहिले सहिद लेखेर उनीहरूको शहादतको अपमान गरिने छैन । खुशी पहिलेझैं फैलिने छ, खुम्चेर ‘खुसी’ हुने छैन । मेचीपारिको नेपाली भाषामा खुशी नै यथावत छ, खुम्च्याएर खुसी बनाउने धृष्टता त हाम्रैतिरका केहीले गरेको दुष्टता मात्रै हो ।

‘पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा मन्त्रिस्तरीय निर्णयबाट नेपाली भाषाको वर्णविन्यासको नियम परिवर्तन भएको अवस्था देखिन आएको’ सर्वोच्चले बताएको हुँदा पाठ्यक्रम विकास केन्द्रप्रति तपाईंको टिप्पणी ? अझ शिक्षामन्त्री, शिक्षा मन्त्रालय, प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रप्रति तपाईंलाई केही भन्नुछ ?

पाठ्यक्रम विकास केन्द्रले त एउटा २५ पाने निर्देशन नै जारी गरेर सबै शिक्षकहरूलाई अनिवार्य रूपमा यसरी नै पढाउनू भनेर आदेश नै दिएको थियो । अनि शिक्षकको कार्य सम्पादनको मूल्याङ्कन पनि यस्तै वर्णविन्यास सिकाएको आधारमा गरिने व्यवस्था मिलाएर स्वाभिमानी र भाषाप्रेमी सबै शिक्षकहरूको मानमर्दन गरिएको थियो । तत्कालीन शिक्षामन्त्री, शिक्षा मन्त्रालय, प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्र सबैको मिलेमतोमा नेपाली भाषाको धज्जी उडाउने काम भएको थियो । जो भाषाको रक्षक हुनुपर्ने हो, उनीहरू नै भाषाको भक्षक भएर निस्किएका थिए । पाठ्यक्रम विकास केन्द्रमा रहेका व्यक्तिहरूको बौद्धिक दरिद्रताको त झन् कुरै नगरौँ । यो देशलाई संसारभरि चिनाएको नै हिमाल र बुद्धले हो तर यिनीहरूले बनाएको पाठ्यक्रममा यी दुवै विषयको पढाइ नै हुँदैन । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय गौरव, हाम्रो सामाजिक बनावट, हामीबीचको विविधता, हाम्रो सम्पति, हाम्रो बहुलता केही पनि पढाइँदैन यिनीहरूले बनाएको पाठ्यक्रममा । यिनीहरू कुन धरातलमा उभिएका छन्, यिनीहरूको विवेक कति छ र कहाँबाट निर्देशित छन् भन्ने कुुरो यसैबाट थाहा हुँदैन र ?

मन्त्रिपरिषद्, शिक्षा मन्त्रालय, प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयको नेपाली शिक्षण विभाग, पाठ्यक्रम विकास केन्द्रले आफ्नो क्षेत्राधिकार बढाएर ‘वर्णविन्यास नै परिवर्तन गर्नसक्ने एवं भाषाका व्याकरणका नियमहरू नै परिवर्तन गर्ने सम्बन्धमा निर्णय गर्ने अधिकार’ लिएकोलाई तपाईंले कसरी हेर्नुभएको छ ? काम, कर्तव्य र अधिकार थाहा नभएको कि बिर्सिएको ? कि जे गरे नि हुन्छ भन्ने सोचेका थिए ?

यिनले आफूलाई सर्वेसर्वा ठानेका थिए । यी मठाधीशहरूलाई के लाग्थ्यो भने हामीले आदेश दिएपछि जे पनि हुन्छ, हामी शासक हौं र हामीले औंलो ठड्याएपछि ‘प्रजा’ थुरुरु हुन्छन् र लुरुक्क परेर मान्छन् । भाषाको प्राकृतिक प्रवाह पनि हुन्छ भन्ने आधारभूत कुरालाईसमेत बिर्सिएका यिनीहरूको कुतर्क नै के थियो भने – नेपाली भाषा धेरै नै अप्ठेरो भयो, धेरै विद्यार्थी नेपालीमै अनुत्तीर्ण हुन थाले, त्यसैले यसलाई सरलीकरण गरेका हौं । तर सुरुदेखि नै हाम्रो कुरो थियो- अङ्ग्रेजी र गणितमा झन् धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका छन्, त्यसलाई सरल बनाउन यहाँहरूले हालसम्म के के गर्नुभयो ? हामीलाई नेपाली भाषा अप्ठेरो भयो, सरल बनाइपाऊँ भनेर कसको र कहाँ निवेदन पर्यो ? कसले तपाईंहरूलाई वारेस दियो ? भाषाको वर्णविन्यास चलाउने तपाईं को हो ? यसलाई छुने अधिकार तपाईंलाई कसरी प्राप्त भयो ?

हामीले मृगौला चोरी भएको त बारम्बार सुनेका छौं नि ! तर के कुनै सर्वसाधारण किसान वा मजदुरले मृगौला चोर्न सक्छ र ? यस्तो चोर त विशेषज्ञ चिकित्सक नै हुन्छ नि ! यहाँ पनि भएको त्यस्तै हो । उहाँहरूले नेपाली भाषा–साहित्यमै एमए वा पिएचडी गर्नुभयो । भाषाका सबै संवेदनशील पक्षहरूलाई चिन्नुभयो । अनि विदेशीबाट ज्याला लिएर आफ्नै आमामाथि छुरी चलाउन थाल्नुभयो । मेरो अधिकारको क्षेत्र यो होइन भन्ने पनि उहाँहरूलाई थाहा थियो, अरूबाट प्रोत्साहित भएर यस्तो मातृघाती अपराध गर्नु हुँदैन भन्ने पनि उहाँहरूलाई थाहा थियो । तर यो काम फत्ते गर्न ज्याला लिइसकेको हुनाले क्रमैसँग यस्तो भाषिक–भ्रष्टाचार हुन पुग्यो ।

भाषाको उत्पत्ति, विकासक्रम, भाषाको व्याकरणलगायत विषयमा नेपालमा तथा विश्वमा भइरहेका अध्ययनप्रति तपाईंको कत्तिको चासो छ ? तपाईंका लागि भाषा के हो ? भाषिक शुद्धता सम्बन्धमा तपाईंको टिप्पणी ?

म भाषा–साहित्यको विद्यार्थी होइन, एक अध्येता मात्र हुँ तर पनि यो मामिलामा धेरै नै चासो राखिरहेको हुन्छु । मेरो विचारमा भाषाको वर्णविन्यास दिनदिनै फेरिंदैन । हजुरबाका पालामा किनेको भए पनि अङ्ग्रेजी शब्दकोश सधैं काम लाग्छ, तर नेपाली शब्दकोश भने प्रत्येक संस्करणैपिच्छे फेरिन्छ, किन ? मैले बुझेको प्रस्ट कुरो के हो भने, भाषा भनेको युवा अवस्थासम्म सिक्ने र जिन्दगीभरि प्रयोग गरिरहन पाइने एक अविनाशी सम्पदा हो । शब्दको हिज्जे भनेको विदेशी मुद्राको परिवत्र्य दरजस्तो हो र दिनदिनै फेरिनलाई ? कतिपय अङ्ग्रेजी शब्दकोशमा समेत प्रविष्टि पाइसकेको हाम्रो ‘दशैं’ लाई मजाक गरेझैं ‘दसैं’ बनाउने अधिकार कसले दियो यिनीहरूलाई ? अन्तर्राष्ट्रिय जगतमा समेत नेपाली भाषाको विश्वसनीयता गुमाइदिने काम किन गर्दैछन् यिनीहरू ? स्पष्ट छ, भाषामाथि प्रहार गरेर यिनीहरू अन्ततोगत्वा यो मुलुकलाई नै सिध्याउन चाहन्छन् । आफूलाई व्यक्तिगत लाभ नहुने भए भइरहेको स्तरीय भाषा बिगार्न यी भाइरसहरू किन सक्रिय रातदिन भइरहन्छन् त ?

नेपाली भाषा भनेको हामी सारा नेपालीको अभिव्यक्तिको साझा माध्यम मात्र होइन, यो त हाम्रो पहिचान, स्वत्व, गरिमा, महत्ता र जीवनपद्धति नै हो । कथ्यभाषामा जसरी बोलिए भए पनि लेख्यभाषा भनेको ड्युटीमा रहेको सैनिकजस्तो हो । भाषाको अनुशासन हो – व्याकरण र वर्णविन्यास भनेको । यसलाई कसैले पनि जानीजानी बिगार्न वा थोपर्न पाइँदैन । भाषाको पनि एउटा परम्परा हुन्छ, यादृच्छिकता हुन्छ, त्यसलाई समयको प्रवाहबाहेक अरू कसैले पनि बिथोल्न पाइँदैन । नउडे पनि त्यो ‘उडुस’ नै हो र नबले पनि त्यो ‘बाल्टिन’ नै हो । त्यही भएर भाषाको स्वरूपमा हात हाल्नुलाई अक्षम्य अपराध मानिन्छ । अमेरिकामा पनि एकपटक राष्ट्रपति रुजबेल्टले भाषा गिजोल्न खोजेका थिए यस्तै गरेर । तर त्यहाँ त यहाँको जस्तो स्थिति थिएन, कुरो बुझ्ने खालका सांसद थिए । राष्ट्रपतिलाई संसदभवनमा ठिङ्ग्याएर कहिल्यै नभुलिने गरी शिक्षा दिएर पठाए – “तपाईंलाई हामीले अमेरिकाका लागि शासक छानेका हौं, अङ्ग्रेजी भाषाका लागि होइन । भाषा तपाईंको क्षेत्राधिकारभित्र पर्ने विषय होइन भनेर हेक्का राख्नुहोला । र, आइन्दा आफ्नो सीमाभित्रै बसेर शासन गर्नुहोला ।”

तर भाषामा जबर्जस्ती यति ठूलो विचलन ल्याउने दुस्प्रयास गरिंदा पनि नेपालमा जम्मा दुईजना सांसद मात्र यो विषयमा बोलेको सुनियो । सङ्घमा डा. भीम रावल र बागमती प्रदेशमा मा. मीना ज्ञवाली ।

सर्वोच्चको यस आदेशले नेपाली भाषालाई पातलो ‘स’ एवम् ह्रस्वमुखी उन्मादबाट मुक्त गराएर भाषालाई सशक्त बनाउन मानक उच्चारण सिकाउने परिपाटी प्रारम्भ गर्नुपर्ने जिकिर समेत गरेको देखिन्छ । जिब्रो फट्कार्न बिर्सेका वा अल्छी गर्ने नेपालीप्रति तपाईंको टिप्पणी ?

जिब्रो फट्कार्न बिर्सेर पनि खासै फरक त पर्दैन । लेख्य रूप शुद्ध हुनेबित्तिकै धेरै अनुशासन कायम भइहाल्छ । भाषिक एकरूपता कायम हुनासाथ भाषाको इज्जत र विश्वसनीयता पनि स्वतः कायम भइहाल्छ । कुनै समय ‘सुस्केरा’ भन्ने एउटा साहित्यिक पत्रिका निस्किन्थ्यो । त्यसले तपाईंले यो प्रश्नमा भनेजस्तै पातलो ‘स’ र ह्रस्वीकरणको अभियान नै चलाएको थियो । तर कसैले पनि पत्याएन । एकदिन जब मैले त्यहाँ श्रीमतीलाई ‘स्रिमति’ लेखेको देखेँ, त्यो दिनदेखि मैले कहिल्यै पनि त्यो नामको पत्रिकालाई छुँदा पनि छोइनँ ।

तपाईंले आफ्ना साहित्यिक रचना, पुस्तक, विचार सङ्कलन, प्रकाशन वा पुनर्मुद्रण गराउन लाग्दा त्यसको हिज्जे बदल्नुपर्ने ‘प्रकाशकीय जिद्दी’ बेहोर्नुपर्यो ? त्यस्ता केही घटना छन् भने सम्झनुहोस् न !

आफ्ना किताबको भाषा म आफैं हेर्छु । मेरा सबै किताबहरू व्यावसायिक प्रकाशकहरूबाट छापिएका हुँदा म सुरुमै “मेरो पाण्डुलिपि चलाउन पाइन्न है” भन्छु । “म पछिल्लो कालखण्डको विचलित वर्णविन्यासमा विश्वास गर्दिनँ, यिनीहरूले बिथोल्नुअघिको प्रचलित र मानक शब्दको मात्र प्रयोग गर्छु” भनेर शुरुमै भनिदिन्छु । कुनै शब्दको हिज्जेमा अलमल भयो भने म सामान्यतया प्रज्ञा प्रतिष्ठानको शब्दकोश पनि हेर्दिनँ, बरु आफूले मानेको कुनै भाषाप्रेमी प्रयोक्तालाई फोन गरेर सोध्छु । तपाईंले मेरा कुनै पनि किताबमा यो पछिल्लो समयमा लादिएका र भाषा सिध्याउने नियतका साथ सतहमा ल्याइएका शब्दहरू भेट्टाउनुहुन्न । कुनै प्रकाशकले मलाई त्यसो नगरौं भन्ने हिम्मत पनि गरेनन् । भाषा बचाउने आन्दोलनमा लागेका भनिएकै कतिपय विद्वानहरूले समेत दस, बार, तेर, सोर, अनुसरण, दसैंजस्तो अमानक हिज्जे लेखेको पनि देखियो । तर मैले कहिल्यै यस्तो प्रवृत्तिलाई पछ्याइनँ । आवरणमै दस, सहिद, खुसीजस्ता लज्जाजनक शब्द लेखिएका किताब त मैले पढ्दा पनि पढिनँ । ठट्टा कुरो हो, ‘ई’ मा भएको रेफले कहिल्यै अघिल्लो वर्णको उच्चारणलाई प्रभावित पार्दैन, तर त्यही रेफ अरू अक्षरमा आउनासाथ अघिल्लो वर्णको उच्चारण प्रभावित हुन्छ । कति सय वर्षको अनुसन्धानपछि यो तथ्य पत्तो लाग्यो होला ? कति सय वर्ष वा कति पुस्ता व्यतीत भयो होला एउटा औषधि चिन्न । अनि यस्ता पुख्र्यौली उपलब्धिलाई आत्मसात् गर्न छोडेर यस्ताका पछि को लाग्छ जो केही पैसा पाइने लोभमा आफ्नो गौरवमय सनातनी परम्परा, धर्म, भाषा, संस्कृति सबै बेच्न तयार छन् ?

अझै पनि ‘सयपत्रीलाई ह्रस्व फुल लेख्तैमा त्यसको अमलेट बन्दैन’ भन्नेहरूप्रति तपाइँको टिप्पणी ? अझ भनौँ, ‘किसोर, जगदिस, प्रकास, पसुपति, संखधर, प्रसान्त, सुर्य, सम्भु, सास्त्र, सरिर, भासा, दर्सन, सब्दकोस’ जस्ता शब्दहरू देख्दा तपाईंलाई कस्तो महसुस हुन्थ्यो वा हुने गर्दछ ?

नेपाली भाषालाई सिध्याएर यो मुलुकलाई कसैको सांस्कृतिक उपनिवेश बनाउन आफ्नो दर्जा, हस्ताक्षर, राज्यको स्रोत–साधन, कुर्सीको शक्ति र पहुँच सबै प्रयोग गरेर पनि सम्मानित अदालतको यही फैसलाकै कारणले आफ्नो लक्ष्यमा पुग्न नपाएर विक्षिप्त बनेका यस्ता धुन्धुकारीलाई मेरो भन्नु नै केही छैन । जे भन्नु थियो, त्यो सम्मानित अदालतले नै भनिसक्यो । मेरो भन्नु के मात्रै छ भने, तिमीले जिउनी हत्याउनका लागि आफ्नै जन्मदिने आमालाई लछार–पछार गर्दै नाङ्गै बनाएर सडकमा घिसार्न थालेछौ भने पनि एउटी आमाको अस्मिताको रक्षार्थ हामी सडकमा आउनेछौं । तिमीलाई त सम्पतिले अन्धो बनाएको हुन्छ होला त्यो समयमा, तर एउटी आमालाई नाङ्गै सडकमा घिसार्दा अरू बटुवाले पनि सहने छैनन् । भाषा बेचुवा ठेकेदारहरूले यति कुरोचाहिं याद राख्नुु जरुरी छ ।

शरच्चन्द्र वस्तीले ‘जिन्दगीभर शब्दसँग खेल्ने लेखक, पत्रकार, साहित्यकार भाषाका सारथि हुन्’ भन्नुभएको छ । यसर्थ मैले सोध्न छुटाएको र तपाईंलाई भन्न मन लागेको केही कुरा छन् कि ?

शरच्चन्द्र वस्ती सरले भन्नुभएको कुरो ठीक हो । तर उहाँहरू पनि आफ्नो मर्यादामा त बस्नुपर्यो नि ! यहाँ त कतिपय लेखक, पत्रकार, साहित्यकार नै भाषा भाँड्ने काममा समेत संलग्न भएको पाइएको छ । तपाईंको भाषिक रहर आफ्नो लेखनमा देखाउन पाइन्छ जस्तो कि झर्रोवादी आन्दोलनले देखायो । शुरु शुरुमा त डा. तारानाथ शर्माले आफ्नो नामै तानासर्मा पनि लेखेकै हो । मुकुन्दशरण उपाध्याय अहिले पनि विभक्ति छुट्याएर लेख्नु ठीक हो भनिरहनु भएकै छ । उहाँहरू सबैले आफ्नो धारणा राखेको हो । यसरी विमर्शका लागि आह्वान गर्न पाइन्छ । तर आफ्नो निजी स्वार्थ पूरा गर्नका लागि सरकारी स्रोत, साधन र शक्तिको दुरुपयोग गर्न पाइँदैन । नेपाली भाषामा जुन शब्द जसरी लेखिन्छ, शब्दकोशमा पनि ठीक त्यसरी नै लेखिनुपर्छ । शब्दकोशमा शब्द थपिंदै जाने हो, पछिल्लो संस्करण मोटाउँदै जाने हो । तर यहाँ त आफ्नो निजी कुरो पनि शब्दकोशमै हाल्ने प्रवृत्ति मौलाएको छ । बीस रुपियाँको नोटमा ‘बिस’ लेखाउनेको घर–घरानाबाट त्यो नोट छाप्दाको पूरै लागत उठाइने दिन पनि आउन सक्छ । भोलि कसैले त्यही नोटमा ‘विष’ लेख्ने धृष्टता नगरोस् भन्नका लागि पनि यो खबरदारी जरुरी छ । भाषा आन्दोलनभित्रै घुसेर काम गरिरहेका कतिपयले कस्तो हिज्जे लेखेका छन् भनेर पनि अरूले हेरिरहनु पर्छ । सबैले चनाखो भएर याद गरिरहनु पर्ने कुरो के छ भने, ती जो भाषाघाती लेखक, सम्पादक, पत्रकार छन् नि, तिनको पनि भाषा नेपाली नै हो भने ती रत्नाकरहरू अब वाल्मीकिमा रूपान्तरित हुनैपर्छ ।

२. तारानाथ पराजुलीसँग उक्ति-प्रत्युक्ति:

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २२ साउन ०६९ मा गरेको टिप्पणी आदेश बदर भएको छ । शिक्षा मन्त्रालयका तत्कालीन सचिव किशोर थापाले मन्त्री शर्मासमक्ष १७ साउन ०६९ मा सम्पादन तथा प्रकाशन शैली पुस्तिकाको वर्णविन्याससम्बन्धी टिप्पणी पेश गरेका थिए । त्यसलाई शर्माले पाँच दिनपछि सदर गरेका थिए । त्यसविरुद्ध ‘सो टिप्पणी आदेश नेपालको संविधानको धारा १३३ (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरिपाऊँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै अधिवक्ता स्वागत नेपाल, पत्रकार टपेन्द्रबहादुर कार्की, बलदेव शर्मा अधिकारी, लालानाथ सुवेदी, महेश्वर न्यौपानेलगायतले छुट्टाछुट्टै चारवटा रिट निवेदन दर्ता गरेका थिए । सम्मानित सर्वोच्च अदालतले शब्दको वर्णविन्यास परिवर्तन गर्न नहुनेसहितको फैसला गरिसकेको छ, तथापि यसको पूर्णपाठ आउन बाँकी नै छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले गरेको यो फैसलालाई तपाईंले कसरी लिनुभएको छ ? सर्वोच्चको यस फैसालापश्चात् नेपाली भाषाको भविष्य कस्तो देख्नुभएको छ ?

तारानाथ पराजुली

तारानाथ पराजुली

यो निर्णयले भाषाको व्यवस्थिततामा सकारात्मक परिवर्तन आउने आशा राखेको छु ।

पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा मन्त्रिस्तरीय निर्णयबाट नेपाली भाषाको वर्णविन्यासको नियम परिवर्तन भएको अवस्था देखिन आएको सर्वोच्चले बताएको हुँदा पाठ्यक्रम विकास केन्द्रप्रति तपाईंको टिप्पणी ? अझ, शिक्षामन्त्री, शिक्षामन्त्रालय, प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रप्रति तपाईंलाई केही भन्नु छ ?

विभिन्न भाषा विशेषज्ञहरूले आफ्नो अध्ययन र विश्वासका आधारमा कुनै मान्यता स्थापित गराउन खोज्नु स्वाभाविक नै हो तर राष्ट्रिय स्तरका संस्थाहरूले यसको संवेदनशीलतालाई ख्याल गर्न नसकेर गरेका निर्णयले भने आश्चर्य र आपत्ति जन्माएका छन् ।

मन्त्रिपरिषद्, शिक्षा मन्त्रालय, प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयको नेपाली शिक्षण विभाग, पाठ्यक्रम विकास केन्द्रले आफ्नो क्षेत्राधिकार बढाएर ‘वर्णविन्यास नै परिवर्तन गर्नसक्ने एवं भाषाका व्याकरणका नियमहरू नै परिवर्तन गर्ने सम्बन्धमा निर्णय गर्ने अधिकार’ लिएकोलाई तपाईंले कसरी हेर्नुभएको छ ? काम, कर्तव्य र अधिकार थाहा नभएको कि बिर्सिएको ? कि जे गरे नि हुन्छ भन्ने सोचेका थिए ?

विषयगत ज्ञानको अल्पता, अनावश्यक आडम्बर र जे गरे पनि हुन्छ भन्ने सोचले नै काम गरेको जस्तो लाग्छ ।

भाषाको उत्पत्ति, विकासक्रम, भाषाको व्याकरणलगायत विषयमा नेपालमा तथा विश्वमा भइरहेका अध्ययनप्रति तपाईंको कत्तिको चासो छ ? तपाईंका लागि भाषा के हो ? भाषिक शुद्धता सम्बन्धमा तपाईंको टिप्पणी ?

भाषा भावना व्यक्त गर्ने मौखिक वा अमौखिक माध्यम हो । भाषा परिवर्तनशील हुन्छ । यसको परिवर्तनशीलतालाई स्वीकार गर्नुपर्छ । औच्चार्य भाषाका तुलनामा लेख्य भाषाको परिवर्तन ढिलो हुन्छ । सरल सहज अवस्थामा रहेको भाषालाई स्वरूपगत परिवर्तन गरेर महान् बन्ने धारणा त्याग्नुपर्छ । सकेसम्म भाषाका मौलिकता संरक्षण गरेकै राम्रो हो ।

सर्वोच्चको यस आदेशले नेपाली भाषालाई पातलो ‘स’ एवम् ह्रस्वमुखी उन्मादबाट मुक्त गराएर भाषालाई सशक्त बनाउन मानक उच्चारण सिकाउने परिपाटी प्रारम्भ गर्नुपर्ने जिकिर समेत गरेको देखिन्छ । जिब्रो फट्कार्न बिर्सेका वा अल्छी गर्ने नेपालीप्रति तपाईंको टिप्पणी ?

यो अनावश्यक कुरामा भुलाइएको हो । हरेक भाषामा यस्ता उच्चारणगत अवस्थाहरू रहन्छन् । परम्परागत रूपमा उच्चारण भएका अक्षरहरू हुन्, यिनलाई थोरै उच्चारण स्थानका आधारमा प्रयास गर्ने हो भने उच्चारण गर्न सकिन्छ । जनताले बिर्सेका भन्दा पनि बिस्तारै बिर्साइएको पो हो कि जस्तोसमेत लाग्छ ।

तपाईंले आफ्ना साहित्यिक रचना, पुस्तक, विचार संकलन, प्रकाशन वा पुनर्मुद्रण गराउन लाग्दा त्यसको हिज्जे बदल्नुपर्ने प्रकाशकीय जिद्दी बेहोर्नुपर्यो ? त्यस्तो केही घटना छन् भने सम्झनुहोस् न !

म यो झमेलामा परेको छैन ।

अझै पनि ‘सयपत्रीलाई ह्रस्व फुल लेख्तैमा त्यसको अमलेट बन्दैन’ भन्नेहरूप्रति तपाईंको टिप्पणी ? अझ भनौं, ‘किसोर, जगदिस, प्रकास, पसुपति, संखधर, प्रसान्त, सुर्य, सम्भु, सास्त्र, सरिर, भासा, दर्सन, सब्दकोस’ जस्ता शब्दहरू देख्दा तपाईंलाई कस्तो महसुस हुन्थ्यो वा हुने गर्दछ ?

यस्तो भन्ने महानुभावहरूलाई आफ्ना मात्र नभएर अन्य विचारलाई पनि गहिरिएर अध्ययन गर्न अनुरोध गर्दछु । वास्तवमै यस्ता शब्द देख्दा भाषामाथि अत्याचार भएजस्तो लाग्छ । कमजोर अथवा आडम्बरयुक्त लेखकले लेखेको होला जस्तो लाग्छ । चित्त पटक्कै बुझ्दैन ।

शरच्चन्द्र वस्तीले ‘जिन्दगीभर शब्दसँग खेल्ने लेखक, पत्रकार, साहित्यकार भाषाका सारथि हुन्’ भन्नुभएको छ । यसर्थ मैले सोध्न छुटाएको र तपाईंलाई भन्न मन लागेको केही कुरा छन् कि ?

भाषालाई आफ्नै प्रवाहमा बग्न दिइयोस् । कालक्रमिक परिवर्तनलाई आत्मसात् गर्दै भाषिक मौलिकताको रक्षा पनि गरियोस् । नयाँ विद्यार्थी पुस्तालाई भाषिक शुद्धताका विषयमा अनावश्यक अन्योल एवं व्यवधानहरू खडा नगरियोस् । मैले यो विषयमा खासै ज्ञान नहुँदा नहुँदै पनि आफ्ना विचार राखेको मात्र हुँ, यसलाई एउटा सामान्य व्यक्तिको धारणाका रूपमा मात्र लिनुहुन अनुरोध छ । हाम्रो भाषा विवादरहित होओस् । बन्दे मातरम् ।