१८७० जनवरी १ मा जन्मिएका ग्रिगोरी गुरकिन रूसी कलाकार हुन् । उनी आइआइ सिस्किनका चेला थिए तर लामो समयसम्म सिस्किनसँग सिक्न नपाउँदै सिस्किन बितेका थिए ।

ग्रिगोरीले आफ्नो रूचि चाँडै नै ल्यान्डस्केप चित्रमा छ भन्ने भेउ पाए । त्यसैले १९०३ मा कलासम्बन्धी अध्ययन सकिनेबित्तिकै उनी आफ्नो रूचिको व्यवसायमा लागिहाले । उनी प्रतिभाशाली कलाकार मात्र थिएनन्, लोककथाप्रति हुरूक्क हुने व्यक्ति पनि थिए । त्यसैले उनले रूसी जनजीवनका नायकत्व झल्काउने कथा, लोककथा, लोकगीतिकथा, गीतका भाकाहरू टिपेर सङ्कलन गर्ने गर्थे ।

रूसको अल्ताइ भेगमा उनले अधिकांश समय बिताएका थिए । त्यहाँका पहाड, नदी, जङ्गल, झरनालाइ स्थानीयबासीहरू निर्जीव वस्तु होइन, एउटा आत्माका रूपमा मान्थे । तिनलाइ करूणायुक्त आत्मा भएकाले तिनले मानव जातिलाइ तिनले सक्दो सहयोग गरिरहेको विश्वास स्थानीयबासीको थियो । यो भावनाले ग्रिगोरीलाइ जीवनभर गहिरो गरी प्रभावित तुल्यायो ।

राष्ट्रवादी आन्दोलनमा लागेको, जापानका लागि जासुसी गरेकोजस्ता आरोपमा उनलाइ १९३७ नोभेम्बर १० मा गोली हानी हत्या गरिएको थियो । पछि उनीमाथिको आरोपबाट सन् १९५६ मा मुक्त गरिएको थियो ।