साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पेगासस काण्ड पछाडिका देखिने खेलाडी

Chovar Blues Mobile Size

हरेक जासुस आफूलाई सम्भवतः जेम्स बोन्ड ठान्छ, सधैँ नभए पनि कहिलेकाहीँ त पक्कै ठान्छ ।

तर ३९ वर्षे सलेव हुलियो जासुस होइनन् न त ००७ प्रति उनको कुनै हुरुक्कको भाव नै हुने गर्छ । उनी त प्रविधिप्रति चाख राख्ने नर्ड हुन् तर अचानक उनी जासुसीको ठूलो रहस्य र ठूलै पैसासँग लडिबुडी खेल्ने व्यक्ति बन्न पुगे ।

केही वर्षअघिदेखि उनले साइबर हतियार पेगाससलाई प्रभावशाली कम्पनीलाई बेच्न थालेका थिए । उनको कम्पनी क्यु सुइटले पेगासस बेचिरहेको थियो ।

एक दशकअघि पेगासस बनाउनुका पछाडि इजराइली सैन्य संस्था (एनएसओ ग्रुप)ले हुलियोलाई लगानी गरेको थियो । र, क्यु सुइट कुनै जासुसी संस्था जस्तो भने थिएन । एउटा सामान्य ग्यारेजजस्तो ठाउँमा यो सबै काम हुने गर्थ्यो ।

पेगासस यति शक्तिशाली थियो कि एउटा सानो सफ्टवेयरले टाढाको फोन ह्याक गरेर यसका सबै एपको जासुसी मात्र गर्दैनथ्यो, प्रयोगकर्तालाई थाहै नभई क्यामेरा र माइक्रोफोन खोलिदिन्थ्यो । अनि, त जसबाट जे चिज पनि सुन्न र हेर्न सकिन्थ्यो । प्रयोगकर्तालाई रत्तिभर थाहा नभई सारा गोप्यता भंग हुने गर्थ्यो ।

sagarmani mobile size

एक हिसाबले यो इजरायली सैन्य जासुसी संस्था (एनएसओ ग्रुप)को एउटा अंग थियो शुरुमा । त्यो अदृश्य थियो । त्यस अंगको अर्को सहंस्थापकका रुपमा हुलियो थिए उनी बाहिर देखाउने अनुहार थिए । उनैले क्यु सुइटमार्फत संसारलाई पेगासस बेच्ने गर्थे । पेगासस त्यो बेला इजरायलका मित्र राष्ट्रहरुलाई मात्र बेच्ने गरिन्थ्यो ।

कहिलेकाहीँ त स्वयं इजरायली सेनाका गोप्य कुराहरु पनि बाहिर आउँथे । कहिले सेल कम्पनी (कर छलीका लागि बनाइने नक्कली कम्पनी)का गोप्य सम्झौता पनि बजारमा छताछुल्ल हुन्थे ।

गएको साता भने संसारभरिका १७ वटा प्रभावशाली अखबारहरुले एमनेस्टी इन्टरनेसनल कन्सोर्टियमसँग मिलेर पेगासस प्रोजेक्टअन्तर्गत यस्तो रहस्य बाहिर ल्याए, जसले संसारभर नै तहल्का मच्चायो । अखबारहरूको अनुसन्धानले ५० हजारभन्दा बढी शक्तिशाली मानिसका फोनहरू ट्याप गरिएको रहस्य बाहिरियो । तीमध्ये प्रधानमन्त्री, राष्ट्रपति, राजा तथा तिनका रखेलहरू मात्र होइन, पत्रकार र भविष्यका राजनीतिक नेताहरू समेत पेगाससको दायरामा देखिए ।

हुन त यो जासुसी एप राम्रोका लागि बनाइएको थियो, कतै खराब नहोस् भन्ने सचेतनाका साथ निर्माण गरिएको थियो तर यतिबेला यो सफ्टवेयर चाहिँ खराब कम्पनी, खराब मानिस तथा खराब कामका लागि बढी उपयोगी बन्न पुगेको छ ।

संसारभरिका शक्तिशाली राजनीतिक व्यक्तिहरूसमेत यो जासुसी एपको चपेटामा परेपछि कम्पनीलाई अनुहार जोगाउन यति गाह्रो भयो कि उसले खराब व्यक्ति तथा संस्थाले यसलाई प्रयोग गरेको प्रमाण पाइए, सिस्टम नै बन्द गर्ने विज्ञप्ति जारी गर्नु परेको थियो । मुख्य माउ कम्पनी एनएसओ (इजरायली सैन्य जासुसी विभाग)ले उसमाथि लगाइएको आरोपमाथि स्पष्टीकरणसमेत दिनुपरेको थियो ।

हुलियोलाई चिन्नेहरू भने एनएसओले अझै पनि यो कम्पनीमाथि यति नियन्त्रण राख्दोरहेछ भन्ने थाहा पाउँदा आश्चर्य व्यक्त गरिरहेका छन् । छाडा बोल्न र मनमा कुरा लुकाउन नसक्ने हुलियोसँग एनएसओ यति लामो समयसम्म सहकार्यमा होलान् भन्ने उनीहरूको कल्पना बाहिरको कुरा थियो ।

यो एप यति खतरनाक छ कि एप्पलले समेत आफ्नो आइओएसमा पेगाससलाई अहिलेसम्म निकाल्न सकेको छैन । तर ढिलो चाँडो उसले आफ्नो सिस्टम अपडेट अवश्य गर्नेछ र पेगाससलाई किकआउट गर्नेछ । फेरि पनि नयाँ अपडेटमा देखिने सानो छिद्र पेगाससका लागि काफी हुनेछ ।

विज्ञका अनुसार, यो एक किसिमको मुसो र बिरालोको खेलजस्तै हो । कहिले बिरालोलाई मुसोले न्याक्ने त कहिले मुसोले बिरालोलाई फँसाइदिने !

यो सफ्टवेयरको माग र सफलता कति रहेछ भन्ने कुराको उदाहरण हुलियोको कम्पनी क्यु सुइटको बजार मूल्यबाट थाहा हुन्छ । यसको बजार भाउ डेढ अर्ब डलरको छ । र, उनी यसको १० प्रतिशतको मालिक हुन् ।

क्यु सुइटका अर्का सहसंस्थापक ओम्री लेभीले वर्षौंअघि कम्पनी छाडिसकेका थिए । सन् २०१३ ताका नै उनी यस कम्पनीका बारेमा केही बोल्न चाहेका थिएनन्, भन्थे, ‘मलाई मेरो टाउको कटाउनु छैन ।’ बरु उनी आफ्ना नयाँ नयाँ कम्पनीका बारेमा कुरा गर्न पत्रकारहरूसँग उत्सुक थिए ।

हुलियोको निजी प्लेन त्यस्ता देशहरुमा जान्थ्यो, जहाँ कुनै पनि सर्वसाधारण इजरायलीहरू पुग्न डराउँथे । साउदी अरेबिया, अजरबैजान, मोरक्को तथा युनाइटेड अरब इमिरेटमा समेत उनले यो एप बेचेर कुस्त पैसा कमाए ।

यो एप बेच्न भूमिका खेल्ने केही दलालहरूले नाम नखुलाउने शर्तमा फाइनान्सियल टाइम्ससँग भने, ‘हुन त यसलाई आतंकवाद नियन्त्रणका लागि प्रयोग गर्ने भनियो होला, एकादुई अपराधी र आतंकी पक्राउ पनि परे होलान् तर यो एपको उद्देश्य चाहिँ राजनीतिक नै थियो र रहिरहनेछ ।’

पेगाससका कारण अहिले एप्पल र फेसबुकजस्ता संस्थासमेत अप्ठेरामा परेका छन् । पेगासस यस्ता मानिसको हातमा पुगेको छ, जो स्वयं एप्पल र फेसबुक बन्द गराउन उद्दत छन् ।

जासुसी योजनामा सधैँ भाग्ने बाटो (इस्केप प्लान) हुन्छ तर यस घटनामा भने हुलियो आफूले राम्रो काम गरेँ कि नराम्रो यो दुविधाबाट भाग्ने ठाउँ भने राख्न सकेका छैनन् ।

पेगासस काण्ड के हो ?
पेगासस स्पाइवेयर या ह्याकिङ सफ्टवेयर फोनमा इन्स्टल गराई अरुका गोप्य कुरा पत्ता लगाउने सफ्टवेयर हो । एसएमएस, ह्वाट्एप, आइम्यासेज तथा मिस्ड कलबाट प्रयोगकर्ताको मोबाइलमा पेगासस स्वतः इन्स्टल हुने गर्छ ।

यो जिरो क्लिक स्पाइवेयर सफ्टवेयर भएकाले प्रयोगकर्ताले कुनै लिंक तथा म्यासेज नखोलीकनै यो सफ्टवेयर प्रयोगकर्ताको मोबाइलमा इन्स्टल हुने गर्छ । तयसैले पनि यसलाई विश्वकै खतरनाक जासुसी सफ्टवेयर मानिन्छ ।

यो इन्स्टल भएलगत्तै यो फोनमा भएका फोटो, भिडियो, एसएमएस, कल रेकर्डिङ, इमेल, कन्ट्याक्ट नम्बर, ठेगाना, क्यालेन्डर वा मोबाइलका सम्पूर्ण डेटाहरु एनओएस कम्पनीकहाँ पुग्छ । जसले यसको सुविधा प्राप्त गरेका छन्, एनओएसले ती कम्पनी वा व्यक्तिलाई तिनले चाहेको सूचना एनओएसले उपलब्ध गराउने गर्छ ।

यो सूचना पत्रकारहरुले खुलासा गरेपछि अहिले एनओएस अप्ठेरोमा परेको हो ।

स्रोतः फाइनान्सियल टाइम्स

प्रतिक्रिया
Loading...