सन् २०१८ मा लोग्ने हत्यामा पक्राउ परेकी अमेरिकी रोमान्स उपन्यास लेखिका नान्सी क्राम्प्टन ब्रोफीलाई अदालतमा हाजिर गराइएको छ ।
अदालतमा सरकारी वकिल र लेखिका नान्सी पक्षीय वकिलको बयान शुरू भएको छ ।
सन् २०१६ मा ‘हाउ टु मर्डर योर हस्बेन्ड’ निबन्ध लेखेर अनलाइन पोस्ट गरेकी थिइन् । उनको सो निबन्धमा कसरी लोग्नेलाई मार्न सकिन्छ र मारेको आरोप आफूले खेप्नु पर्दैन भन्ने विषयमा रोचक तरिकाले ८०० शब्दमा बयान गरेकी थिइन् ।
यतिबेला उनलाई उनकै लोग्ने मारेको आरोपमा प्रहरीले मुद्दा चलाएको छ । प्रमाणका रूपमा प्रहरीले त्यही निबन्धलाई अघि सारेको भए पनि त्यसलाई प्रमाण मान्न अदालतले भने अस्वीकार गरेको छ ।
उनका सात वटा रोमान्टिक उपन्यास प्रकाशित छन् । कुनै समय उनी इन्सुरेन्स कम्पनीको एजेन्ट थिइन् । पैसाको लालचका कारण र खासगरी उनको लोग्नेको मृत्युपछि आउने १५ लाख डलर बराबरको इन्सुरेन्स हात पर्ने भएपछि लोग्नेलाई मार्ने अनेकन् प्रपञ्च रचेको प्रहरीले उनीमाथि आरोप लगाउँदै पक्राउ गरेको थियो ।
लेखिका नान्सीका पति ड्यानियल ब्रोफी भान्से (सेफ) थिए । उनले कलेजमा भान्साविज्ञान पढाउँथे । यसैगरी अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डको शान्तपूर्ण ठाउँमा उनीहरूको सुन्दर घर थियो । दुई दशकभन्दा लामो वैवाहिक जीवन बिताएको यो जोडी खुसी नभएकाले पत्नीले पतिको हत्या गरेको आरोप सरकारी वकिलको थियो ।
ओरेगन कलिनरी इन्स्टिच्युटको भान्सामा नै उनको हत्या भएको थियो । तीन महिना लामो अनुसन्धानपछि प्रहरीले ड्यानियलको हत्या उनकै पत्नीद्वारा भएको निष्कर्षसहित पक्राउ गरेको थियो ।
पैसामुखी जीवन भएकी नान्सीले थप पैसा कमाउनका लागि लेखनीमा भाग्य चम्काउने प्रयास गरेको आरोप प्रहरीको छ । प्रहरीले ‘१० वेज टु कभर अप अ मर्डर’ शीर्षकको आलेख पनि लेखिकाको कम्प्युटरमा बुकमार्क गरेको पाइएको भन्दै प्रमाणका रूपमा पेश गरेको थियो ।
सन् २०१८ जुन २ को बिहानी गोली हानी ड्यानियलको हत्या गरिएको थियो । ७१ वर्षीया लेखिकाले ६३ वर्षीय पतिको हत्या गरेको आशंकामा सेप्टेम्बरमा पक्राउ गरिएको थियो ।
अदालती प्रक्रियाका क्रममा सरकारी वकिलले लोग्ने हत्यामा प्रयोग गरिएको ‘गोस्ट’ बन्दुक इबे वेबसाइटबाट किनिएको र त्यो नक्कली बन्दुकलाई पछि केही उपकरण परिवर्तन गरी सक्कली बनाई लोग्ने हत्यामा प्रयोग गरिएको प्रमाण पेश गरेका छन् ।
तर लेखिकाकी वकिलले भने त्यो बन्दुक लोग्ने हत्याका लागि प्रयोग गर्न नभई उनले उपन्यास लेखनीमा शोध अनुसन्धानका लागि खरिद गरेको बताएकी छन् ।
यसका साथै, पछिल्लो समय भएका गोलीकाण्डका कारण आफू बन्दुक किन्ने योजनामा भएको र त्यसका बारेमा लोग्नेलाई जानकारी दिएको समेत लेखिका नान्सीले बताएको वकिलले जनाएकी छन् ।
नान्सीले ड्यानियलको हत्या गर्नुका पछाडिको मूल कारण ड्यानियलको जीवन बिमा विभिन्न कम्पनीमार्फत गरिएको र कुनै समय उनी स्वयं जीवन बिमाको अभिकर्तासमेत भएकाले उनी यसको जानकार रहेको समेत सरकारी वकिलले तर्क गरेका छन् ।
यी सारा तर्कसँगै अन्तिममा नान्सीले आफ्नो भनाइ दुई महिनाभित्र राख्न सक्ने समाचारहरूमा जनाइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।