
अमेरिकाको युटाह राज्यस्थित एक लेखिकालाई उनको पति हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
तीन सन्तानकी आमा कुरी रिचिन्सले गत वर्षको मार्च महिनामा सुतेकै ठाउँमा आफ्ना पतिको निधन भएको बताएकी थिइन् ।
उनले आफ्ना दिवंगत पतिको शोकमा एउटा पुस्तक लेखेकी थिइन् । उनले पुस्तक निकालेको दुई महिना मात्र भएको थियो ।
मार्च २०२२ को एक रात सुतिरहेका पति एरिक छाम्दा चिसो भएको भन्दै प्रहरीलाई फोन गरेकी थिइन्। एम्बुलेन्स र प्रहरीले एरिकलाई अस्पताल लगेका थिए तर त्यसअघि नै उनका पति एरिकको निधन भएको बताइएको थियो ।
प्रहरीले गरेको अनुसन्धानमा एरिकले अघिल्लो रात पिएको भोडकामा फेन्टानिल नामक लागुऔषधको ओभरडोजका कारण मृत्यु भएको देखिएको थियो ।
एक व्यक्तिलाई मार्नेभन्दा पाँच गुणा बढी फेन्टानिल उनको शरीरमा भेटिएको प्रहरीले रिपोर्टमा लेखेको थियो।
त्यसअघि कुरीले लागुऔषध कारोबरको आरोपमा पहिले नै पक्राउ परिसकेका व्यक्तिसँग दुई पटक सो लागुऔषध किनेकी थिइन्। पहिलो पटक उनले लागुऔषध किनेको तीन दिनपछि भ्यालेन्टाइन डेको रात्रिभोजपछि पनि एरिक बिरामी परेका थिए।
एरिकले आफूलाई पत्नीले विष दिएको पनि साथीहरूसँग बताएका थिए। दुई सातापछि कुरीले थप लागुऔषध किनिन्। जसको केही दिनपछि नै पति मृत भेटिए। उनले प्रहरीलाई भोड्का तयार गरेर बेडमा दिएको र आफू सुतेको तर राति ब्युँझिँदा पति चिसो भेटिएको बताएकी थिइन्।
हालै उनले प्रियजनको मृत्युको शोकसँग जुध्न बच्चाहरूलाई सघाउने उद्देश्यले ‘आर यु विद मि?’ नामक पुस्तक पनि लेखेकी थिइन्। सो पुस्तकले आफू र आफ्ना तीन छोरालाई शान्ति दिलाउने उनको भनाइ थियो।
सो पुस्तक उनले मृत पतिलाई नै समर्पण गरेकी थिइन् तर पुस्तक बजारमा पुगेको दुई महिनापछि उनी पक्राउ परिन्। उनलाई यही शुक्रबार अदालतमा पेश गरिँदैछ ।
१०, ९ र ६ वर्षका तीन जना छोराहरू हुर्काइरहेकी उनले आफ्ना सन्तानलाई प्रिय पिता गुमाएकामा ढाढस दिने कुनै पुस्तक नपाएकाले आफूले पुस्तक लेख्नु परेको प्रतिक्रिया दिने गरेकी उनलाई अब कस्तो सजाय हुने हो भन्ने चाहिँ शुक्रबारको अदालती पक्रियापछि मात्र थाहा हुने डेली मेल अखबारले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

