भारतको गुप्तचर निकाय इन्टेलिजेन्स ब्यूरो (आईबी) मा उच्च अधिकृत र रिसर्च यान्ड एनालाइसिस विङ (रअ) को प्रमुखका हैसियतमा काम गरेका अमरजीत सिंह (एएस) दुलतको पुस्तक ‘ए लाइफ इन द श्याडोज’ मा नेपालसम्बन्धी एउटा रोचक अध्याय छ ।

उक्त अध्यायमा दुलतले सन् १९७६ मा नेपालमा पोस्टिङ भएपछि आफूले नियालेका घटनाक्रमको वर्णन गरेका छन् । विदेशमा आफ्नो पहिलो पोस्टिङका रूपमा नेपाल आउनुअघि उनले यहाँको परराष्ट्रनीतिदेखि लिएर मौसमसम्मको जानकारी बटुलेका रहेछन् । पहिलो विदेशी पोस्टिङका रूपमा नेपाल आउँदा उत्साहित भएको दुलतको परिवार तत्कालिन काठमाडौं शहरभन्दा पनि गाउँ जस्तो देखिने भएकाले हिस्स परेका रहेछन् । ‘यो त विदेश हैन, गाउँ हो,’ दुलतका छोराछोरीले भनेछन् । तर दुलतका लागि यो अत्यन्त सुन्दर गाउँ थियो ।

दुलतको पोस्टिङ प्रशासनतर्फको वरिष्ठ सचिवका रूपमा भएको थियो । सुन्दाखेरी यो उच्च पद जस्तो लागे पनि खासमा उनको काम भारतीय दूतावासको सुरक्षा प्रबन्ध मिलाउने र नेपाल प्रहरीसँग सम्पर्क गर्नेमा सीमित रहेछ ।

सन् १९७६ देखि १९८० सम्म साढे तीन वर्षसम्म नेपालमा कार्यरत रहेका दुलतलाई भारतमा लगाइएको संकटकालको जस्टिफिकेशन गर्न गाह्रो पर्ने गरेको थियो । अझ, इन्दिरा गान्धीले सन् १९७५ मा सिक्किमलाई भारतमा विलय गराएको अवस्थामा भारतलाई नेपालीहरूले शंकाको दृष्टिले हेर्ने गर्थे । त्यस्तो प्रतिकूल परिस्थितिमा नेपालमा बसेर काम गर्न कठिनाइ आउने हो कि भनी दुलतले आशंका गरेका थिए ।

काठमाडौंमा छँदा भारतमा विकसित राजनीतिक घटनाक्रमलाई नियाल्ने र क्रिकेट खेलेर समय बिताउने दुलतको दैनिकी थियो । इन्दिरा गान्धीको शासनकाल यो अवधिमा देखिएका कमीकमजोरीलाई उधिन्दै दुलतले त्यसको आलोचना गरेका छन् । पछि सन् १९७७ मा भएको आमनिर्वाचनमा कांग्रेस पार्टीको लज्जास्पद पराजय भएपछि काठमाडौंमा रहेका उनीसहितका कर्मचारीहरूले खुशियाली मनाएका थिए ।

काठमाडौंबासीहरू पनि इन्दिरा गान्धीको पराजयबाट हर्षित भएको र अब नेपाल–भारत सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढ्ने आशा गरेको दुलत लेख्छन् । राजसंस्थाप्रति भारतको वक्रदृष्टिका कारण नेपालीहरूमा यस्तो भाव आएको उनको भनाइ छ । राजदरबार मिति गुज्रिसकेको संस्था भएको दिल्लीको सोच थियो । तत्कालीन राजा वीरेन्द्रले महत्त्वपूर्ण नीतिगत निर्णय लिन खोजेको भए पनि भारतको राजनीतिले उनको योजनामा अवरोध ल्याउन सक्ने सम्भावना रहेको दुलत लेख्छन् ।
यहाँनिर इन्दिरा गान्धीको आक्रामक विदेशनीति र राजा वीरेन्द्रको रणनीतिक स्वायत्तताको अभिलाषाबीचको टक्कर देखिएको दुलतको आशय देखिन्छ । बंगलादेश र सिक्किममा आफ्नो रणनीतिक विजयका कारण अभिमानी बनेकी इन्दिराले नेपाल राज्यको अस्तित्वमा पनि गिद्धेदृष्टि लगाउन सक्ने आशंका राजा वीरेन्द्रले गरेका थिए । हुन पनि पछि रअकै अधिकारी आर.के. यादवले आफ्नो पुस्तक ‘मिशन रअ’ मा यसको चर्चा गरेकै हुन् ।

त्यसैले सन् १९७६ को अगस्ट महिनामा श्रीलंकाको राजधानी कोलम्बोमा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा सम्बोधन गर्ने क्रममा राजा वीरेन्द्रले ‘कुनै पनि राष्ट्रको समृद्धि वा सुरक्षा अर्को शक्तिशाली राष्ट्रको छातामुनि रहेर पूरा नहुने’ भनेका थिए । वास्तवमा शान्तिक्षेत्रको प्रस्ताव ल्याएर पनि राजा वीरेन्द्रले नेपालको रणनीतिक स्वायत्तताको आकांक्षाको उद्घोष गरेका थिए । त्यो कुरा बुझेको भारतले राजाको प्रस्तावलाई विफल बनाउन अनेकौं षड्यन्त्र गरेको कुरा इतिहासले देखेको छ ।
दुलतलाई राजा वीरेन्द्रले कोलम्बोमा गरेको सम्बोधन चित्त बुझेको रहेछ तर उनले यसलाई गलत व्याख्या गरेका छन् । ‘भारतले नेपाललाई भुटानजस्तै गरी विशेष संरक्षित राज्यका रूपमा व्यवहार गर्नुपर्थ्यो,’ उनी लेख्छन् । तर उनले के बुझेनन् भने, त्यो भनेको नेपालको परराष्ट्र र रक्षा नीति भारतको अधीनमा रहने काम हो । नेपालीहरूलाई त्यो कदापि स्वीकार्य थिएन र छैन । नेपालको यही राष्ट्रिय अडानप्रति भारतको चित्तदुखाइ रहेकाले उसले नेपालमा नियन्त्रित अस्थिरता कायम गराइरहेको हो ।

हुन त नेपाललाई भारतले आफ्नो दृष्टिकोण लाद्ने हिसाबमा पेलेको कुरालाई नेपालीहरूले चित्त नबुझाएको कुरालाई दुलतले पुस्तकमा इमान्दारिताका साथ वर्णन गरेका छन् । यसमा इन्दिरा गान्धीले भारतका राजारजौटालाई दिइँदै आएको सेवासुविधा खोस्ने नीतिको चर्चा गर्दै दुलतले नेपालको राजसंस्थालाई पनि इन्दिराले त्यही दृष्टिकोणले हेर्ने गरेको भनी विश्लेषण गरेका छन् ।

भारतीय संस्थापन पक्षले राजसंस्था मन नपराउनुको अर्को कारण पनि पुस्तकमा दुलतले खुलाएका छन् । राजदरबारमा भारतीयहरूले पहुँच पाउन नसकेकाले पनि उनीहरू राजसंस्थासँग चिढिएका रहेछन् । राजतन्त्र ढाल्नका लागि पनि दरबारका महत्त्वपूर्ण खेलाडीहरूमा पहुँच हुनु जरूरी हुन्छ, दुलत लेख्छन् । २०४६ सालमा राजतन्त्र ढालेपछि प्रजातान्त्रिक नेताहरूलाई आफूअनुकूल भारतले नचाएको इतिहास देख्दा देशको स्वाभिमान र गरिमा राजसंस्थाले कति राम्रोसँग जोगाएको रहेछ भन्ने स्पष्ट हुन्छ ।

दुलतले पुस्तकमा अर्को महत्त्वपूर्ण कुरा गरेका छन् । उनका अनुसार, भारतले जहिले पनि नेपालीहरूले देश कसरी चलाउने भनी पाठ पढाउन खोजिरहँदा राजदरबारले चित्त बुझाउने गरेको थिएन । दुलतको पुस्तकबाट के निष्कर्ष सजिलै निकाल्न सकिन्छ भने नेपालमा भारतविरोधी भावना सिर्जना हुनुमा भारत स्वयंकै हात छ ।

नेपाललाई आफ्नो नियन्त्रणमा राखिरहन भारतले गरेका प्रयासहरूको वर्णन पनि दुलतले गरेका छन् । उनको कार्यकालमै भारतले मधेशीहरूलाई पहाडविरुद्ध उचाल्ने कोशिश गरेको थियो । दुलतले आफूलाई त्यो कदम चित्त नबुझेको भनी इमान्दारीपूवर्क लेखेका छन् । खुलमखुला यसरी मधेशीहरूलाई उचालेर भारतले महाभूल गरेको र यो अक्षम्य कार्य भएको उनी लेख्छन् ।

हुन पनि २०६२–६३ को आन्दोलनपछि उठेको मधेश आन्दोलन र २०७२ सालमा संविधान जारी भएपछि उठेको मधेश आन्दोलन भारतको त्यही पुरानो प्रयासको चरमविन्दुका रूपमा रहेका घटना थिए । मधेशीहरूलाई नेपालको संस्थापनका विरुद्ध उपयोग गर्न खोजे पनि अन्ततोगत्वा भारतले उनीहरूलाई परित्याग गरी नेपाली संस्थापनसँग सम्झौता गर्न पुगेको इतिहास हामीसामु छ । यसबाट पनि भारतले नेपालका विषयमा अल्पदृष्टि राख्ने गरेको स्पष्ट हुन्छ ।

भारतले नेपालीहरूको मन जित्ने अर्को एउटा ठूलो अवसर गुमाएको दुलत लेख्छन् । उनको कार्यकालमा नेपालमा गतिला सडक समेत थिएनन् । मन्त्रीलाई सडक किन नबनाएको भनी सोध्दा ‘तपाईंहरूले बनाइदिनुस् न’ भन्थे । तर भारतले यसमा चासो नदेखाएपछि चीनले काठमाडौंमा चक्रपथ बनाइदियो । अरू राजमार्गहरू पनि चीनले धमाधम बनाइदियो । त्यसले चीनप्रति नेपालीहरूको सम्मान र लगाव ह्वात्तै बढेर गयो । चीनले अहिलेसम्म पनि त्यस सद्भावको ब्याज खाइरहेको छ र उसले केही अर्घेल्याइँ गरेछ भने पनि नेपालीहरूले उसको खासै आलोचना गर्दैनन् ।

त्यतिखेर नेपाललाई विकासका लागि पैसाको खाँचो परेको थियो र भारतले त्यो पैसा उपलब्ध गराएर फटाफट भौतिक संरचनाहरू निर्माण गरिदिएको भए नेपालमा भारतविरोधी भाव रोकिन धेरै ठूलो सहयोग पुग्थ्यो ।

नेपालमा पाकिस्तानीहरूलाई भारतले रिस गरेको पनि दुलतले चित्त नबुझाएको पुस्तकमा उल्लेख छ । भारतीयहरूको तुलनामा पाकिस्तानी कर्मचारीको संख्या थोरै भए पनि भारतले ‘यो पाकिस्तानी यहाँ के गरिरहेछ’ भनी आशंका र डाढ गर्ने रहेछन् ।

उता पाकिस्तानीहरूमा पनि भारतीयप्रति आशंकाको वातावरण थियो । दुलतले नेपालका लागि पाकिस्तानी राजदूतावासका तृतीय सचिव नैयर जमानसँग सम्बन्ध बढाउन खोज्दा भारतीय राजदूत एन.बी. मेननले प्रोत्साहन गरेको तर पाकिस्तानी राजदूतले त्यसलाई चित्त नबुझाएको दुलत उल्लेख गर्छन् ।

पाकिस्तानीहरूसँग सुमधुर सम्बन्ध कायम गरेको भए र बढी चनाखो बनेको भए निकै पछि सन् १९९९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाकिस्तानी आतंकवादीहरूले विमान अपहरण गरी अफगानिस्तान पु-याउने थिएनन् होला भनी दुलत अनुमान गर्छन् । त्यतिखेर काठमाडौंको विमानस्थलमा पाकिस्तानी दूतावासका एक अधिकारी समेत उपस्थित थिए र पाकिस्तानी दूतावास आईएसआईको अड्डा बनेको थियो ।

यिनै कारणहरूले गर्दा भारत र तत्कालीन राजदरबारबीच सौहार्द्रपूर्ण सम्बन्ध कायम हुन पाएन । दुलतको कार्यकालमा राजा वीरेन्द्र जम्मा एकपटक मात्र भारतीय दूतावास गएका थिए र दूतावासले अनेकौंपटक निमन्त्रण गरे पनि बेवास्ता गर्ने गरेका थिए । आफ्ना छोराछोरीलाई छात्रवृत्ति दिलाउनका लागि र दूतावासको मासुभात खानका लागि मरिहत्ते गर्ने नेताहरूभन्दा राजा वीरेन्द्र निकै माथिल्लो कोटिका राजनेता थिए भन्ने कुरा पनि यसबाट पुष्टि हुन्छ ।

दुलतका अनुसार, राजतन्त्रविरुद्ध देशमा कताकति फाट्टफुट्ट विरोधका स्वरहरू सुनिन्थे तर राजाको शासन दह्रै थियो । भारतले राजाविरुद्ध चर्को जनआक्रोश छ भन्ने भाष्य किन निर्माण गर्न खोजेको होला भनी दुलत प्रश्न गर्छन् । दुलतले पुस्तकमा चर्चा नगरेको भए पनि पछि माओवादी द्वन्द्व आरम्भ गर्ने नेताहरूलाई आफूकहाँ आश्रय दिएर अनि उनीहरूलाई दिल्लीमा १२ बुँदे सम्झौता गराएर मूलधारमा ल्याई राजतन्त्र फाल्न लगाएर राजासँग बदला लिएको देखिन्छ ।

भारतका तत्कालीन प्रधानमन्त्री मोरारजी देसाई र विदेशमन्त्री अटलविहारी वाजपेयीले गरेको नेपाल भ्रमण र २०३६ सालमा भएको जनमतसंग्रहको पृष्ठभूमिको बारेमा पनि दुलतले पुस्तकमा चर्चा गरेका छन् । आफूले नेपाल छोडेर गएको निकै समयपछि भएको दरबार हत्याकाण्डको बारेमा पनि दुलतले वर्णन गरेका छन् ।

राजा वीरेन्द्रप्रति सकारात्मक सोच राख्ने दुलतले राजा ज्ञानेन्द्रको चाहिँ कठोर आलोचना गरेका छन् । राजा बन्नुअघि ज्ञानेन्द्र चोरका रूपमा कुख्यात थिए भनी उनले ठाडै लेखेका छन् । आफ्नो सात वर्षे शासनकालमा उनलाई कसैले मन पनि पराउँदैनथियो र विश्वास पनि गर्दैनथियो भनी दुलतले ठोकुवा गरेका छन् । पछि राजतन्त्र अन्त्य भयो र ज्ञानेन्द्र आफ्नो परिवारका साथ दरबारबाट बाहिरिए अनि इतिहासको पात्र बन्न पुगे ।

दरबार हत्याकाण्डका कारण नेपाल चीनसँग बढी नजिकिएको निष्कर्ष दुलतले निकालेका छन् । के त्यसोभए दरबार हत्याकाण्डमा भारतको भूमिका थियो ? यस प्रश्नको उत्तर दुलतको पुस्तकमा पाइँदैन । भारतका लागि नेपाल कश्मीरभन्दा बढी जटिल विषय भएको दुलतको भनाइ छ । यी दुवैले जीवनका जटिलताहरूको पाठ पढाएको भन्दै उनले नेपालसम्बन्धी अध्याय टुंग्याएका छन् । इतिहासको एक कालखण्डमा नेपाल र भारतको सम्बन्धलाई नियाल्नका लागि दुलतको यो पुस्तक राम्रो माध्यम बनेको छ ।