
बाबुराम न्यौपाने “उत्स”
सिर्जनाको रहस्यमय कन्दरामा
फक्रँदै गरेको
रजोन्मुख
कुमारी गुलाफको कोपिला
शहरको तिलस्मी मोहमा लोभियो।
मनमोहक एकान्त कन्दराको
निर्मल परिधि नाघेपछि
निर्वस्त्र शहरको
कृत्रिम प्रकाशको रङ्गीन धुँवामा
गुलाफको
प्राकृतिक आकृति छोपियो
तिर्खालु
निर्मम आँखाहरूले डसेका
दागको संख्या
स्वयं गुलाफलाई नै थाहा छैन।
शहरको भव्य डबलीमा
कामुक आँखाको
रक्ताम्य चिरहरण भोगेर
सुवास गुमाएको
अर्धमूर्छित – बलात्कृत गुलाफ
न त सकुशल
कन्दरामा फर्कन सक्यो
नत शहरको दलदलमा
कमलमा रुपान्तरित भएर
फक्रन नै सक्यो ।
सुनसान रातको दोसल्ला आेडेर
नीरव आकाशमुनि
असीम रहरहरुको चितामाथि
भर्खरै आफ्नै हातले
सपनाको दाहसंस्कार गरेर
मुर्झाएको गुलाफ
किन हो
चोटका स्मारक उठाउन
अझै
शीतको कुमारी स्पर्शमा
प्रेमको सार्थकता खोजिरहेको छ।
दमक, झापा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 









