माथि अनन्त आकाशमा
उन्मुक्त
उडिरहेका छन्
बादलका जादुयी थुम्काहरू
यता
आकार हराएको मान्छे
आफ्नै चिहानको डिलमा उभिएर
खण्ड-खण्ड जीवनको
अखण्ड
पूर्ण परिभाषा खोजिरहेको छ

विध्वंसात्मक परमाणु महाविनाश
कुप्रो पिठ्युँमा बोकेर
मानव सिर्जित
घातक प्रलय निम्त्याउने
कुसाइतको प्रतीक्षामा
बाँचेको छ मेरो युग

विज्ञानको चरम दुरुपयोग
मानवसभ्यताको बधशालामा
विश्वविनाश गर्न
मानसिक कुपोषणले ग्रसित
युद्धपिपासु कुपात्रको
एक सनक पर्खिरहेको छ

शान्तिका कोमल आकांक्षाहरू
युद्धको कालो धुँवामा
निसास्सिएका छन्
घात प्रतिघातको अँध्यारो छिँडीमा
निर्दोष फूलहरुको
आफ्नै बगैंचाको साँधमा
बलात्कारपछि घाँटी थिचेर
निर्मम हत्या गरिंदैछ

विश्व सामरिक स्वार्थी प्रभुत्व
हाइपरसोनिक
परमाणु हतियारको होडमा छुपेर
समयको श्रापित गर्भमा
विश्वयुद्धको भ्रूण निसेचित गर्दैछ

मानवताको आलोक
नग्न भिखारी बनेको समय
दम्भ र अहंकारका मालिकहरू
अन्तरिक्षमा समेत
हिंसात्मक साम्राज्य फैलाएर
हतियारको त्रासद छायाँमा
नव दासयुग
जन्माउन तल्लिन छन्

शक्तिका गुलामहरूले
म कमजोर भएको थाहा पाएमा
मेरो छातीमा
बन्दुकको कुन्दा तेर्साएर
स्वतन्त्रताको फूल कुल्चने छन्

तर मलाई थाहा छ
माटोको सुगन्धमा
देशप्रेमको महक जब घुल्छ
चरम स्वार्थको
संकुचित आकाशबाट
घना तुवाँलो पूरै फाट्नेछ

विश्वशक्तिको दबाब झेल्न
म मेरो संवेदनशील
स्वतन्त्र अस्तित्वको लागि
आलो रगतका
थोपाथोपाले सिंचित
गरिमामय सार्वभौमिकता
हृदयमा बोकेर
अखण्ड देशको सिमानामा
सदियौंदेखि उभिएको छु
आऊ !
ढिलो नगरी हातेमालो गरौँ
उता हेर !
पृथ्वीको आकाशमा
हिंस्रक बाजहरू उडिरहेका छन् ।

 

दमक, झापा