मृत्युुको कठोर साम्राज्यमा
जीवनको अमरत्व खोजिरहेको मानिस
युगको मूलद्धारमा ठिङ्ग उभिएर
आशाका दीपहरु जलाइरहेको छ।
चेतनाको मान्छेले जब
चिहानबाट पनि उज्यालो फैलन्छ भन्ने चालपायो
ऊ !!
प्रकाशका किरणहरुमा स्नानगर्न – लोभिन थाल्यो।
यात्राको अग्निपथ छिचोल्दैगर्दा
प्लेग, युरोपियन ब्ल्याक डेथ
भोकमरी र युद्धले उठाएको
नरकंकालको पहाड कुल्चदै अगिबढेको बेला
संसार एक्कासी
कोरोनाको क्रूरडसाइको पीडामा अलल्लियो।
मान्छे !!
मृत्युको स्मारकमा घटनाको शिलापत्र कुँदेर
मूर्छापर्दै र बौरदै
सपना र कल्पनाको छालमाथि उभिएर
विजयको गर्जन गर्दैछ।
ममताको विवशता टुलुटुलु हेर्दै
शोकको आँधीमा डुबेको समय ;
गाउँदैछ बाँसुरी – कर्णकटु गीत
युगको राग अलाप्दैछ – सारङ्गीको मधुरधुन।
प्रेम र करुणाको गर्भबाट बगेको
आँसुको महासागर तरेर
महामारीका भँगालाहरु नाँघ्दै
पहिल्याउदैछ – सुदूरभविष्यको विजयपथ।
धर्तीको शोकाकुल दलानमा बसेर
वेदनामय आँसुको मसीले
लासको सनाखतमा हस्ताक्षर गर्दैगर्दा
बुझ्दैछ
महान् प्रकृतिको अपमान सामुहिक मृत्यु हो।
मान्छे !!
दृढइच्छाशक्तिको न्यानोघाम आेढेर
कहालीलाग्दा पीडाका
मर्मान्त चोटहरु सहँदै
शोकलाई शक्तिमा रुपान्तरणगर्न
तल्लीन छ।
शिखरसभ्यताको उदाउँदो प्रभातकिरण चुम्न
साँझपख – आँसुको जलधाराले
सपनामाथि टुसाएका
आशाका अजम्बरी बिजहरु
सिंचन गर्दै
अनन्त अन्तरिक्षमा हेलिदैछ
भव्यडुङ्गामा सवार – अद्भुत ज्याद्रोमान्छे।
दमक,झापा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला