
बाबुराम न्यौपाने
खेतीकिसानी गर्नेका लागि असार र साउन महिनामा भ्याइ नभ्याइ हुन्छ । आफ्नो धान उब्जने खेत नभए पनि गोमाले सालमा सात मुरी ठेक्का बुझाउने गरी छिमेकी कृष्णको खेत कमाएकी थिइन् । उनले हिजोमात्र धानरोप्ने कामको मैझारो गरिन् ।
जेठी छोरी नौ वर्ष र काखमा तीनवर्षको छोरा थियो । पति जयप्रसाद आफ्नो नाममा रहेको पाँच रोपनी बारी धितो राखेर दुईवर्ष अगि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।
साउनको दिन भए पनि आज आकाश छ्याङ्ङ खुलेको थियो । गोमालाई छिमेकी तुलसाले तीनवटा पर्म तिर्न बाँकी थियो । उनले कोदाको बिउ काढ्न तुलसालाई बोलाइन् । तुलसा बिहानैदेखि गोमाको घरबाट दुई कान्ला मुनिको कोदाको ब्याडमा बिउ काढ्दै थिइन् ।गो मा खाना बनाउदै थिइन् । छोरी स्कुलको गृहकार्यमा व्यस्त थिइन् ।
फुच्चेछोरो लेख्दै गरेकी दिदीसँग चलेर दिक्क लगाइरहेको थियो । घरी आमासँग लुटपुटिँदै बालापनको चञ्चलतामा रमाइरहेको थियो।
बिहानको दश बजिसकेको थियो । छोरी रेशिका साथीहरूसँग घरबाट आधा घण्टा टाढा रहेको स्कुल गइसकेकी थिइन् । तुलसालाई खाना खान बोलाउन लागेकै बेला एक्कासि तुलसा चिच्याएको आवाज आयो । गोमा…..गोमा…।
हतारहतार गोमा बारीतिर दौडिन् । तुलसाले कोदाको बिउ काड्दै गर्दा बिउमा गुजुल्टिएर बसेको गुर्भेसाप च्याप्प समात्न पुगेकी थिइन् । उनलाई साँपदेखि असाध्य डरलाग्थ्यो । दुवै मरीमरी हाँसे । साँप पोकोपरेर छेउमै बसेको थियो।
यतिबेलै गैरीघरे रत्ना गोगनको चिउला र दुधिलाको घाँस लिएर यतैतिरबाट आइन् । दुवैले साँप मारिदिन भने ।
रत्नाले “भो नमारौँ यस्ले हत्तपत्त टोक्तैन बरु घरपछाडिको भिरमा लगेर छाडिदिऊँ । यसलाई पनि बाँच्ने प्राकृतिक अधिकार छ ।” भन्दै बारीको कान्लामा पिठिउँको भारी बिसाइन् ।
तुलसाले साँप मारिदिन जिद्दी गरिन् । छिर्केमिर्के यो साँपलाई गाउँघरमा अन्धोसाँप पनि भन्ने गरिन्छ ।
रत्नाले मन नलागि नलागी छेउको बारबाट एउटा सानो घोचो उखेलिन् र साँपलाई मारिदिइन् ।
गोमाले रत्नालाई बारीको डिलको आरु र नस्पातीको बोटबाट फलहरू टिपेर लान भनिन् । मेरै घरमा पनि फलेका छन् गोमा भन्दै रत्ना घाँसको भारी बोकेर आफ्नो बाटो लागिन् । गोमाले अलिपर भिरमा लगेर साँपलाई मिल्काइदिइन्।
तुलसालाई खानाखान बोलाइन् । छोरो चिच्याउँदै रोयो हतारिँदै घरतिर दौडिन् । फुच्चेले बाख्राखसीलाई खोले पकाएको अगेनाको भुत्भुतेमा खुट्टा हालेको थियो । तुलसा पनि पछिपछि आइन् । गोमाले फूलबारीको डिलमा रोपेको घिउकुमारीको पातको लेप पोलेको ठाउँमा लगाइदिइन् । सानातिना तीनचारवटा फोका त उठिसकेका थिए । धन्न अगेनामा आगाको कोइला पचिसकेको र राप कमथियो । खोलेको तातो कराही पनि छेउमा थिएन ।
फुच्चे हिँक्कहिक्क गर्दै आमाको स्तनको मुन्टोमा ओठ जोतेर दूध चुस्ताचुस्तै काखमै निदायो ।
दलानको खाटमा गुन्द्रीमाथि बाक्ले बिछ्याएर छोरालाई सुताइदिइन् ।
तुलसा खाना खाएर मेलातिरै लागिन् । गोमा पनि छोरो उठेपछि खानाख्वाउँन आउँने सोच्दै चुल्हाचौकाको धन्दासकेर मेलातिरै लाग्ने विचार गर्दै थिइन् तर फुच्चे ठसठस कन्दै छिट्टै ब्युँझियो । गोमाले फकाउँदै खाना खुवाइन् । धन्दा सकेर छोरालाई पिठ्युँमा बोकेर मेलातिरै लागिन् ।
गोमा र तुलासा सुखदुःखका कुरा गर्दै काममा व्यस्त रहे । घाम छँदै कोदाको बिउ काढी सिध्याए ।
कुर्ताको गोजीमा राखेको तुलसाको मोबाइलको घण्टी बज्यो ।
“हेलो…..हेलो…।”
फोन तुलसाको केटोसाथी कमलको थियो । ऊ पनि छ महिनाअगाडि मात्र कतार गएको थियो । गोमाको नजिकबाट तुलसा अलिपर गइन् । तुलसा र कमलको फोनमा मीठामीठा कुराकानी भए । गोमाले तुलसालाई जिस्क्याइन् । यौवनले धपक्क बलेको उमेर; लाजले तुलसाका गाला लाललाल बनेका थिए ।
घर गएर गोमाले आलु उसिनिन् । तुलसाले घरवरिपरिको झार उखेलिदिइन् । स्कुलबाट छोरी रेशिका पनि आइपुगिन् । गोमाले अकबरे खोर्सानी र टिमुरसँग नुन पिसेर ल्याइन् । सबैले सँगै बसेर खाजा खाए ।
फेरि गोमाले तुलसालाई मल्कटलो बारमा झुन्डिएका हरिया काँक्रामध्ये अलि कलिलो काँक्रो टिपेर ल्याउँन भनिन् । तुलसाले थाङ्ग्राको कापेमा अड्याइएको काँक्रो टिपिन् । हँसियाको टुप्पाले चिराचिरा पारेर चिरिन् । नुनखोर्सानीसँग चोब्दै सबैले स्वाद लिई खाए । तुलसा साँझपख आफ्नो घरतिर लागिन् ।
“भोलि पनि कोदो रोप्न आऊ है तुलसा, झन्डै भन्न बिर्सिएछु ।” गोमाको कुरामा तुलसाले सहमति जनाइन्।
आकाश डम्म धुम्मिएको थियो । पानी पर्ने सम्भावना बढेको थियो । गोमाले कोदो रोप्ने कामको पनि मैझारो गर्ने गरी नौ दसजना खेताला बोलाएकी थिइन् । तीनजना केटाहरू पनि थिए । त्यसमध्ये बिर्ख गफाडी र रसिक थियो । शीतल दिन भयो वर्षा पनि भएन ।
घिउमा बनाएको चाम्रे ,आलुको भुटवा र साँधेको गुन्द्रुकको अचारसँग दिउँसोको खाजा खाए । बिचबिचमा रमाइला रमाइला कुराकानी र गीतका भाकाहरू उराल्दै समयमै मेलो सिद्ध्याए।गोमाले यसवर्षको कोदो रोप्ने काम पनि सकिन् ।
गोमा आज समयमै खानपिन र भान्साको धन्दा सकेर आछ्यानमा पल्टिइन् । नानीहरू छिट्टै निदाए । मलेसियामा रहेका पतिलाई सम्झिन् । मनले धेरै कुराहरू कल्पियो । गहमा विरह वेदनाका आँसुहरू टिल्पलाए । निदाउने प्रयास गरिन् तर निदाउन सकिनन् ।
गाउँ भए पनि बिजुलीबत्ती पुगेको थियो । निद्रा नलाग्दा प्रायः जसो उनी किताबका केही पानाहरू पढ्थिन् । आज पनि देवकोटाको मुनामदनका केही पानाहरू मनमनै गुनगुनाउँदै छिचोलिन् ।
आँखा झिमिक्क नगरी मिर्मिरे उज्यालो भयो । चराहरूको चिर्बिराहट सुरु भयो । कुखुराका भालेहरू पखेटा फट्फटाउँदै बासेर बिहानी भएको सूचना गर्न थाले । उनी झिसमिसेमै उठेर दैनिकीमा लागिन् ।
गोमालाई केही महिनादेखि मासिक चक्रको समयमा धेरै रगत बग्नाले कमजोरी महसुस हुँदै गएको थियो । जडिबुटी सेवनले ठिक भएन । एक्लै अस्पताल जान मन लागेन । तुलसालाई साथी बोलाइन् । छोरो च्यापेर दुईघण्टा टाढा सदरमुकामको हस्पिटलमा जँचाउन गइन् । गाडीको बाटो गाउँसम्म पुगेको थिएन । पैदल यात्रा एउटै विकल्प थियो । पूरै असक्त भएमा अझै ढाकर र डोलीकै सहारा लिनुपर्थ्यो ।
सदरमुकाम पुगेर डाक्टरलाई जँचाइन् । डाक्टरले भिडियो एक्स्रे र ब्लड चेक गराए । एकहप्ताको औषधि सेवनपछि फेरि आउँन भने । शरीर कमजोर छ । तागतिलो खानाखान सुझाव दिए ।
उता औषधिको बिल आयो पैसा पुगेन । तुलसासँग एकहजार सापटी मागिन्।
दुई छाक टार्न सङ्घर्ष गर्नुपर्ने मान्छेलाई महँगो औषधि भिटामिन किनेर खान कहाँ सजिलो थियो र ! साँझ घर पुगिन् । छोरी रेशिका मकैको चामल केलाउँदै आमा र भाइको बाटो हेरेर बसिरहेकी थिइन् ।
“असाध्यै थाकेँ तुलसा ! खाना यतै खाऊ ल ! उता बट्टामा धानको चामल छ , आज त्यही पकाऊ । मकैको च्याँख्ला पछि खाउँला ।”
यति भनेर गोमा आोछ्यनमा पल्टिन् । मलेसियाबाट जयप्रसादको फोन आयो । दुवैबिच सुखदुःखका कुराकानी भए । पिर गर्लान् भनेर आफू बिरामी भएको कुरा सुनाइनन् । आआफ्ना सपना र कल्पनाका कुरा साटासाट गर्दै रमाए।
पतिको गुनासो पुरानै थियो ; “कम्पनीले सम्झौता बमोजिमको तलब सुविधा नदिएर बिचल्ली पाऱ्यो । पैसा पठाउन नसक्ने भएँ गोमा कसरी व्यवहार धान्दैछौ ?”
गोमासँग यसको सटिक उत्तर थिएन ।
कुराकानी सकियो । खाना पनि तयार भयो । सबैले सँगसँगै बसेर खाए । गोमाको आग्रहमा तुलसा त्यहीँ बस्ने भइन् । गोमालाई किन हो केही दिनदेखि एक्लोपन महसुस भइरहेको थियो तर आज भने गोमा एक झप्को राम्ररी निदाइन् । झिसमिसेमै उठेर तुलसा आफ्नो घरतिर लागिन् ।
बर्खायामको आकाशमा बादलका थुम्काहरू हावाको इसारामा यताउता नाचिरहेका थिए ।
“राति सुत्ने र बिहान उठ्ने दैनिकीसँगै जीवन मरिरहेको हुन्छ ; समयले नयाँनयाँ डोब खनिरहेको हुन्छ । जीवनको आकृतिहीन तरलरूप थोरै आनन्द र बढी पीडाको संयोग हो । सुखखुसी आआफ्नै सोचअनुसार अनुभूत गर्ने चिज हुन् ।” गोमालाई यस्तैयस्तै लाग्न थालेको थियो ।
यत्तिकैमा एकाबिहानै गोमाका सौतेनी भाइ तीर्थलाई मलेसियाबाट जयप्रसादका साथी हरिले फोन गरे । जुनफोनको खबर सुनेर तीर्थ स्तब्ध भए । गोमालाई घटना सुनाउन सजिलो थिएन । कसरी सहलिन् !
गोमा सातवर्षकी हुँदा आमा परलोक भइन् । बाबुले दोस्रो बिबाह गरे तर सौतेनी आमा मायालु नै थिइन् । उनीबाट एउटा भाइ जन्मियो । एकमहिनाको भाइ उपहार छाडेर उनको पनि देहावसान भयो । बाबुले अर्को विवाह गरेनन् । सौतेनी आमा बितेको पाँचवर्षपछि बाबुले पनि टुहुरो बनाएर गए । ज्यानत्यान गुजारा गरेर भाइ तीर्थलाई हुर्काइन् । बुहारी भित्र्याएपछि ऊ पनि छुट्टिएर गएको थियो । दसौँ कक्षामा पढ्दापढ्दै सत्र वर्षकै उमेरमा जयप्रसादसँग गोमाको प्रेम विवाह भएको थियो।
गोमाले सुखदुःख सहँदै आएकी थिइन्।
फोनको खबर गोमालाई नसुनाएर पनि धरै थिएन।
जयप्रसादको मृत शरीर बाक्सामा बन्द भएर आउँदै थियो।
उनलाई जयप्रसादको मृत्युको खबर सुनाइयो।
उनी केहीबेर जडवत् भावशून्य बनिन् । फेरि आँसुको नुनिलो पोखरीमा डुबिन्।
जयप्रसादको लास गाउँ नल्याई काठमाडौँको पशुपति आर्यघाटमै दाहसंस्कार गर्ने निर्णय गरियो । गोमा राजधानी तिर लागिन्।
आखिर उनले सहनै थियो । उनको जीवनमा मर्मान्तक पीडा थपियो । सुन्दर सपनाहरू धुजाधुजा भएर च्यातिए । कल्पनाको कोमल पालुवामा डढेलो सल्कियो ।
बागमती किनार जयप्रसादको चितामा गोमाले दागबत्ती दिइन् । चिताको धुवाँसँगै सपनाहरू उडेर क्षितिजमा विलुप्त हुँदै थिए ।
एकतिस वर्षीय नारीलाई भिडका सामुन्ने नङ्ग्याउन थालियो । गोमालाई नङ्ग्याउने भिडमा नारीहरूकै हालिमुहाली र बाहुल्यता थियो ।
चुरा फुटाइए । सिन्दूर पुछियो । जिउँदै सेतोकात्रोमा सजिन बाध्य बनाइयो ।
उता चिताको खरानी पखालिँदै थियो । यता विधवा बनेकी गोमाभित्रको सहनशीलताको बाँध भत्कँदै थियो।
युगनायक पतिहरूकै सामु चिरहरण हुँदाको द्रौपदीको कारुणिक अवस्था उनको आँखामा नाँच्न थाल्यो ।
मानसपटलमा सीताको अग्निपरीक्षाको दृश्य उदायो । सतीहरूको मर्मान्तक चीत्कारले मन विदीर्ण बन्यो । सामाजिक कुसंस्कार र कुप्रथा विरुद्धको योगमायाको सङ्घर्ष , हिम्मत र बलिदान सम्झन पुगिन् ।
अब गोमाले रणचण्डीको रूप धारण गरिन् । उनको चेतनामा सामाजिक विसङ्गति र कुप्रथाप्रति घृणा जागेर आयो । छातीभित्र विद्रोहको राँको सल्कियो । अदम्य साहस जुटाइन् । स्वर्ग र नरकको नौलो व्याख्या गर्न भनिन्।
धर्मको पुनर्लेखन गर्न आह्वान गरिन् । विद्रोहप्रति अदालतमा मुद्दा हाल्न चुनौती दिइन् । साना बालबच्चाको भविष्य सम्झदै घरतिर हिँडिन्।
समय ! वेदनाको पानामा आँसुको मसीले मार्मिक कहानी रच्तै थियो।
किङ्कर्तव्यविमूढ मलामीको भिड मुखामुख गर्दै गोमाको पछिपछि लाग्यो।
— समाप्त —



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

