प्रकाश एउटा गाउँमा जन्मेका थिए । उनको घरमा बाआमा र दिदी हुनुहुन्थ्यो । घरका तीन जनाबाट उनले धेरै मायाँ पाउँथे । दस कक्षा पूरा हुन नपाउँदै दिदीको विवाह भएको थियो । दिदीको विवाह भएकै वर्षमा नदी तर्ने क्रममा बालाई बगाएर बेपत्ता पारेको थियो । त्यसकारण प्रकाशको घरमा दुःखका दिनहरू सुरु भएका थिए ।

डा. मुकुन्द पथिक

विवाह भएको चारवर्षमा दिदीले छोरा जन्माउनुभएको थियो । भान्जा जन्मिएको खबर थाहा पाउनासाथ प्रकाश कहिले दिदीको घर गएर भान्जालाई काखमा लिएर रमाउने होला भन्ने उत्सुकताले छटपटिए तर नियतिले प्रकाशलाई भान्जासँग भेट गराउन दिएन किनभने भान्जा अप्रत्यासित र चमत्कारपूर्ण तरिकाले संसारबाट सधैँका लागि बिदा भए । घरमा सन्नाटा छायो ।

प्रकाशले विदेशी विश्वविद्यालयमा छात्रवृत्ति पाएर पढ्न गए । उनले पढाइमा प्रगति गरे । विदेशमा पढ्न सुरु गरेको एक वर्ष पनि पूरा हुन नपाउँदै घरमा आमा सिकिस्त बिरामी भएको खबर पुग्छ । आमालाई नेपालको अस्पतालमा भेट्न जान्छु भन्ने योजना बनाउँदाबनाउँदै भनेको समयमा आमालाई भेट्न प्रकाश असमर्थ हुन्छन् । अफसोसको कुरा आमाले मृत्युशय्याबाट प्रकाश-प्रकाश भनेर नाम लिँदालिँदै संसारबाट बिदा हुनुहुन्छ । प्रकाश र प्रकाशकी दिदी टुहुरा हुन्छन् ।
खेतीपातीमा जीवन निर्वाह गरेकी दिदीले कहिल्यै सन्तोषको सास फेर्न पाइनन् । उनको शरीरमा नयाँ लुगा देख्न रहर थियो । घरका जहानलाई खाना खुवाएर अन्तिममा खाना खानुपर्दा कहिलेकाहीँ उनको पेट भोकै हुन्थ्यो ।

प्रकाशले विश्वविद्यालयको दीक्षान्त समारोहमा तक्मा लगाए । उनले राम्रो कार्यालयमा काम पाए । उनले नेपाल फर्केर दिदीलाई भेट्ने इच्छा गरे । उनले दिदीका लागि गहना र राम्रा उपहारहरू किने । नेपाल पुगेपछि दिदीलाई भेट्न दिदीको घर पुगे । दिदी घरमा सिकिस्त बिरामी भएर बसेकी रहिछन् । प्रकाशले “दिदी दिदी” भनेर बोलाए । दिदीले पुलुक्क हेरेर आँसु झारिन् । भाइले हतार-हतार गर्दै गहना लगाइदिए । उनले उपहारको झोला र पैसा राखेको खाम दिदीको हातमा छुवाइदिए । दिदीले भाइलाई एकोहोरो हेर्दाहेर्दै प्राण त्यागिन् । प्रकाशले दिदीलाई समातेर घुँक्क-घुँक्क गर्दै रुन थाले ।