मनभरि अनेकौँ धमिला भावनाहरू भरिएर मेरो दिमाग भारी भएको थियो । कपडाहरू कोचिएको एउटा झोला बोकेर म घरबाट निस्केँ, पारिवारिक सम्पर्क विच्छेद गरी एकान्त जीवन बिताउन मैले मोबाइलको सिमकार्ड फेरेँ । काठमाडौँको एउटा होटलमा रात बिताएँ र भोलिपल्ट बिहान एउटा पर्यटक बसको सिटमा बसी निर्दिष्ट गन्तव्यको यात्रा आरम्भ गरेँ ।

साँझपख म आफ्नो गन्तव्यमा पुगेँ । दिनभरको यात्राको थकाइ थियो । त्यहाँ पुग्नेबित्तिकै गेस्ट हाउसको केयर टेकरले मलाई एउटा कोठातर्फ लग्यो । मेरा निम्ति बुक भएको कोठा सफा र सुकिलो थियो । झ्यालमा आसमानी रङ्गको पर्दा थियो । कोठामा एउटा दराज, डबल बेड, सोफा सेट, टेबुल, टेबुलमाथि सुन्दर फूलको गमला र दुइटा कुर्सीबाहेक एउटा टेलिभिजन सेट पनि थियो । झोला एउटा कुनामा राखेर म आराम गर्न बिछ्यौनामा पल्टेँ । केही छिनपछि उठेर कुर्सीमा बसेँ अनि एक कप ब्ल्याक कफी पिएँ । साँझ पर्न लागेको थियो । गेस्ट हाउसको आँगनबाट वरिपरिको वातावरण नियाल्न मन लाग्यो । यत्रतत्र अनेक रङ्गका फूलहरू फुलिरहेका देखिन्थे । घर वरिपरि थरी-थरीका चराचुरुङ्गी विचरण गरिरहेका थिए । साँझको समय घरबाट निस्कन मन लागेन । अनेक मानवीय समस्याहरू पारिवारिक तनाव, द्वन्द्व, ईर्ष्या, लोभ, पाप, लालच, अस्वस्थ प्रतिस्पर्धा, यान्त्रिक जीवनका अनेक गुजुल्टाहरूबाट पार पाउन म सहरी कोलाहलबाट फुत्केको थिएँ । मलाई त्यहाँको सुन्दर प्राकृतिक वातावरणमा केही दिन रमाउने इच्छा थियो ।

योगेन्द्र तिमिल्सिना

भोलिपल्ट बिहान थकानले गर्दा बिछ्याउनाबाट उठ्न मन लागेको थिएन, तर झिसमिसै टाइँ-टाइँ चरो ब्युँझिन्छ र आङ तन्काउँदै ट्अँ…ट्अँ, ट्वाँ…ट्वाँ…ट्वाँ, टिक…टिक…टिक…टिक गरेर सबैलाई ब्युँझाउँछ । त्यसपछि अनेक थरीका चराहरू कल्याङकुलुङ गर्छन् र मलाई जगाउँछन् । भँगेराहरू चिटचिट गर्दै भुर्र भुर्र उड्न थालेपछि थरी-थरीका चराका विभिन्न आवाजहरू बगैँचाभित्र गुन्जिन्छन् । म ब्युँझिन्छु र बिछ्यउनाबाट उठेर बिहानको नित्य कर्मतर्फ लाग्छु । बिहानको एक कप चिया र दुइटा बिस्कुट खाएर बगैँचाभित्र घुम्न म गेस्ट हाउसबाट बाहिर निस्कन्छु ।

एउटा चरो प्रश्न गर्छ, च्वअँः च्वअँः, च्वः च्वः हँ, च्वः च्वः हँ । मैले ‘तँ को हँ ?’ भनेर त्यसले मतिर आँखा तेर्स्याएको बुझ्छु । उसले त्यहाँ पुगेको ‘त्यो नौलो मानिस को हँ’ भनी मबारे साथीहरूसँग सोधेको अनुमान गर्छु । मैले मनमनै जबाफ दिन्छु, ‘म पनि तिमीहरूजस्तै एउटा प्राणी हुँ । मैले आफूसँग मात्र चेतना भएको विश्वास गरेको थिएँ । तिमीहरूलाई पनि एउटा नयाँ मानिस आफ्नो एरियाभित्र छिरेको जानकारी हुँदो रहेछ ।’ बगैँचाको भित्री भागदेखि वरिपरिको सबै दृश्यावलोकन गर्ने विचारले म गेस्ट हाउसबाट निस्केको छु । बाहिरको मूल गेटबाट गेस्ट हाउसको एरियाभित्र छिर्नेबित्तिकै बेगनबेली फूल लहरै ढकमक्क फुलेको देखिन्छ । गेस्ट हाउसतर्फ जाने बाटाको दुवै छेउमा राता, पहेँला, सेता, बैजनी रङ्गका शृङ्गारी फूलहरूले पाहुनालाई निरन्तर स्वागत गरिरहेको हुन्छ । घुम्दै म बगैँचाको पल्लो छेउमा पुग्छु । एउटा कुनामा सुकेका हाँगा र पातहरूको थुप्रोमुनिको प्वालबाट दुइटा न्याउरी मुसा निस्के र नौलो मानिसलाई पुलुक्क हेरी दुवै दुलोभित्र छिरे ।
बगैँचाका भित्री सडकका दुवै छेउमा मझौला कदका सुन्दर अशोक वृक्षहरू हाँगा तलतिर झुन्ड्याएर लहरै ठिङ्ग उभिएका छन् । गेस्ट हाउस पुग्ने वेलामा बगैँचाको पश्चिम भागमा सुन्दर रोज गार्डेन देख्न सकिन्छ । त्यहाँ जात–जातका विभिन्न रङ्गका सुन्दर गुलाबका फूलहरू छन् । अर्कातिर अनेकौँ रङ्गका विदेशी, स्वदेशी फूलहरूले बगैँचा सजिएको छ । आँप, लिची, नरिवल, एभोकाडो, अमला, सजीवन आदि वृक्षहरूले बगैँचालाई शीतलता प्रदान गरेको छ । बगैँचाका कुना, कुनामा केराका बोटहरू छन्, कुनै-कुनैमा पाक्न लागेको केराको घरी पनि झुन्डिरहेको देख्न सकिन्छ । बगैँचाको पूर्वी भागमा एउटा रेक्टेङ्गुलर आकारको माछापोखरी छ । पोखरीमा प्रत्येक दिन ताजा पानीको आपूर्ति हुन्छ । त्यसमा घरिघरि सानाठुला माछा उफ्रेको देख्न सकिन्छ ।

दिउँसो चिट्, चिट् चिट् गर्दै ससाना भँगेराहरू फूलका हाँगा-हाँगामा उफ्री-उफ्री यताउति गरिरहेछन् । नजिकै ढुकुर, कुर, कुर्र…ढुकुर कुर कुर्र….., काग, काग, काग आवाज सुनिन्छ । बगैँचाको भित्री भागमा लुइँचे, परेवा, रूपी र बट्टाईहरू यत्रतत्र देखिन्छन् । मध्याह्नमा चरा चुरुङ्गीहरू भुईँमा चरिरहेको देख्न सकिन्छ ।

एक-दुई ठाउँ समुद्रको किनारतिर बालुवामाथि देखिने हात्तीको सुँढजस्तो सुरिलो बोटको टुप्पामा ठ्याक्कै केराको पातजस्ता फैलिएका पातहरूसहितका वृक्षहरू छन् । यस्तो सो प्लान्टको नाम के होला ! झ्याम्म परेका आँप र लिचीका बोटहरू बाक्लै छन् । बगैँचाको बिच भागमा एउटा खरको सेड तयार गरिएको छ । त्यहाँ दुइटा कुर्सी राखिएका छन् । म त्यहाँ प्रायः पुग्छु र कुर्सीमा बसेर चराचुरुङ्गीहरूसँगै रमाउँछु ।

बिहान झिसमिसै चराहरू कल्याङकुलुङ गर्छन् र सबैलाई जगाउँछन् । भँगेराहरू चिटचिट गर्दै भुर्र भुर्र उड्न थालेपछि चराका विभिन्न आवाजहरू सुन्न सकिन्छ । घाम झुल्केपछि चराहरू चारो टिप्न यत्रतत्र छरिन थाल्छन् । चराहरू चर्दै घर आँगनमा पनि आइपुग्छन् । दिनभरिमा तिनका अनेकौं क्रियाकलाप देखिन्छ । चराहरूका बिच कहिले रमाइलो खेल हुन्छ । कहिलेकाहीँ प्रेममय जोडीहरू आपसमा क्षणिक झगडा पनि गर्छन् । एकदिन भाले पोथीको आपसी कुरा नमिल्दा एउटा पोथी ढुकुरले भालेलाई झन्डै बिस मिटर लखेटेको देखियो ।

ससाना कुरामा यिनीहरू झगडा गर्न तम्सन्छन् । झ्याम्म पात भएका लिचीका हाँगामा बसी रमाइलो गर्न पनि यिनीहरू प्रतिस्पर्धामा उत्रन्छन् । एउटा सानो चरो भुर्र उडेर आउँछ र झुम्म पात भएको एउटा हाँगाको टुप्पामा बस्छ, अर्कालाई पनि त्यहीँ नबसी हुँदैन । ऊ पनि त्यसरी नै त्यहीँ आइपुग्छ । एकपछि अर्को थपिँदै जाँदा आपसमा झगडा सुरु हुन्छ । च्याँ च्याँ र चुँ चुँको आवाजसँगै मारपिट सुरु हुन खोज्छ । अनि कोही भुईँतिर हाम फाल्छन् भने कोही अरू हाँगातर्फ उफ्रँदै सर्न थाल्छन् । दिउँसो यस्तो क्रम चलिरहन्छ । यी सबै झगडाहरू क्षणिक हुन्छन् । मध्याह्नमा चराहरू आराम गर्न हाँगा र पातहरूभित्र छिर्छन् । त्यसपछि धेरै बेरसम्म चकमन्न शान्ति हुन्छ ।

मध्याह्न ढल्केपछि चराहरू फाट्टफुट्ट निस्केर भुईँमा चारो खोज्न थाल्छन् । चारो टिप्ने क्रममा पनि अनेक झगडा हुन्छन् । कहिलेकाहीँ रिसको आवेगमा एउटाले अर्कालाई तीस-चालीस मिटरसम्म लखेट्छ । हाँगाहरूबाट भुईँमा झर्दै, चारो टिप्तै चराहरू पोखरीमा पुग्छन् र पानी पिउँछन् । साँझसम्म उनीहरूको यस्तो क्रम चलिरहन्छ । सुविधा प्राप्तिका लागि प्रतिस्पर्धा, आत्मरक्षाका लागि सामान्य झैझगडा र ईर्ष्या जस्ता अवगुणहरू चराहरूमा पनि हुँदो रहेछ, तर सबै क्षणिक मात्र ।

जीवनमा मैले कहिल्यै कसैको नियन्त्रण वा बन्धन अनुभव गरेको छैन । मेरो बुवा सेनामा कर्णेल हुनुहुन्थ्यो । बाल्यकालदेखि स्कुल जीवन हुँदै आजसम्म मलाई उहाँले कहिल्यै नियन्त्रणमा राख्ने प्रयास गर्नु भएन । कलेजमा पढ्ने र अध्ययनका विषय छनोट गर्नेदेखि खेल खेल्ने, भ्रमण गर्ने र मनोरञ्जन गर्ने कुरामा पनि उहाँले कुनै हस्तक्षेप गर्नु भएन । अझ जागिर खाने वा व्यवसाय गर्नेजस्ता कुरामा पनि मलाई स्वनिर्णय गर्न प्रोत्साहन दिनुभयो । मेरी आमाको मप्रतिको मायाँ अगाध थियो, उहाँले मलाई कुनै कुरामा निषेध गर्नु भएन, प्रोत्साहन मात्र दिइरहनुभयो ।

मेरी श्रीमती बैङ्क म्यानेजर हुन् । उनका जीवनका प्रत्येक पाइला रुटिनअनुसार अर्थात् पूर्वयोजनाअनुसार चल्छन् । उनको जीवनमा योजनाबाहेकका आकस्मिक भन्ने काम एक प्रतिशतभन्दा कम हुने गर्छ । उनान्सय प्रतिशतभन्दा बढी उनका नियमित कामहरू नै हुन्छन् । बिहान उठ्ने, नुहाइ, धुवाइ गर्ने, सामान्य पूजापाठ गरी चिया पिउने अनि केही समयपछि कार्यालयका निम्ति तयार हुने । भान्सामा खाना बनाउनेदेखि सरसफाइका काम गर्न घरमा बाहिरी मानिसहरू पर्याप्त छन् । हाम्रा दुइटा छोराछोरी छन् । छोराले यसपटक बाह्र कक्षाको परीक्षा दिँदै छ । त्यसपछिकी छोरी छ, ऊ स्कूलमा सात कक्षामा पढ्छे । श्रीमतीको नियमिततामा म कुनै व्यवधान खडा गर्दिनँ । मलाई पनि उनको नियमितताको राम्रो जानकारी भएकाले म पनि उनको खोजी गर्दिनँ ।

एकदिन अचानक उनी मप्रति अराजक भइन् । ‘तिमीलाई कहिल्यै परिवारको जिम्मेवारीको बोध भएन । छोराछोरी कसरी हुर्के, अहिले उनीहरूको अवस्था कस्तो छ, त्यो पनि तिमीलाई अर्थ भएन । घरमा खाना खान पनि तिमी नियमित छैनौ, धेरैजसो बाहिरै खान थालेका छौ । आफ्नै श्रीमान् यसरी गैरजिम्मेवार भएपछि हाम्रो भविष्य कस्तो होला ! तिमी कति निर्दयी छौ । तिमी अविवेकी र परपीडक हौ, तिमीले आफ्नी श्रीमतीको भावना कहिल्यै बुझेनौ । मैले तिमीजस्तै व्यवहार गरेँ भने समाज र परिवारले मलाई माफ गरी देला !’

अचानक आफ्नो सबैभन्दा नजिकको मानिस, आफ्नै श्रीमतीले यसरी आक्रमण गरेपछि मैले आफूलाई अपमानित गरेको महसुस गरेँ । मलाई असाध्यै पीडा र अवहेलना भएको महसुस भयो र कतिखेर त्यो घर छोड्नु र एकान्तमा प्रकृतिसँग रमाउनु जस्तो भइरह्यो । मलाई आवेग र विद्रोही भावनाले गाँज्यो । मैले तुरुन्तै घर छोडेँ र त्यो रात होटलमा बिताएँ अनि एकान्तमा प्रकृतिसँग रमाउन बाहिर कतै जाने योजना बनाए ।

कति छिटै आज एक महिना बितेछ । आफूमा केही कुरा अभाव भएको मैले महसुस गर्न थालेँ । पत्नीको कुनै वेलाको प्रेमको अँगालो मलाई सम्झना भयो, पारिवारिक स्नेहको अभाव पनि महसुस हुन थाल्यो । मलाई कति छिटै घर फर्कने तीव्र इच्छा हुन थाल्यो । समाज, आफन्त र परिवार कति महत्त्वपूर्ण हुँदो रहेछ । आखिर मैले निर्णय लिइछाडेँ, ‘भोलि म काठमाडौँ फर्कन्छु ।’ बिहान घर फर्कन जब म गेस्ट हाउसबाट निस्कँदै थिएँ, सबै चराहरू निःस्तब्ध थिए तर एउटा चरो भने आज पनि मलाई नचिनेझैँ च्वअँः च्वअँः, च्वः च्वः हँ, च्वः च्वः हँ, तँ को हँ ? भनी प्रश्न गर्छ । सायद पारिवारिक उत्तरदायित्वबाट पन्छिन् विद्रोही बनेर घर छोडेर हिँड्ने मानिसलाई उसले नचिनेको हुन सक्छ । अब म अर्कोपटक आउँदा उसले मलाई अवश्य चिन्नेछ । चराहरूले सिकाएजस्तै पति र पत्नीको झगडालाई क्षणिक आवेगको रूपमा लिई घर फर्केर मैले श्रीमतीको सल्लाहमा पारिवारिक जिम्मेवारी लिने अठोट गरेको छु । चराहरूजस्तै ईर्ष्या र झैझगडालाई तुरुन्त बिर्सी घरमा श्रीमती र परिवारसँग रमाइलो जीवन बिताउने निर्णय गरेको छु । परिवारमा रमाइलो भयो भने मात्र मलाई पनि रमाइलो र स्थायी शान्ति हुनेछ ।
म उनलाई भेट्न आतुर थिएँ । काठमाडौँ फर्कनेबित्तिकै मैलै मेरी उनीलाई फोन गरेँ, “तिम्रो मायाले मलाई सतायो, मलाई एकलै बस्न मन लागेन, म आउँदै छु ।”

“तिमी छिटै आऊ, म तिम्रो दृढ प्रतीक्षामा छु, तिम्रो स्नेहको अभावमा मलाई मेरो सबैभन्दा प्रिय वस्तु हराएजस्तो लागेको छ ।”
उनी मेरो प्रतीक्षामा थिइन् । म घर पुग्नेबित्तिकै हामी दुवै फेरि कहिल्यै नछुट्टिने गरी अङ्कमालमा आबद्ध भई एक अर्काको न्यानो स्पर्श अनुभूत गऱ्यौँ ।