ती अपराधीहरू
जो घुमिरहेछन् शहरभित्रका गल्ली गल्लीमा
सार्वजनिक सभाहरूमा
मिटरब्याजीका कीर्ते कागजहरूमा
विरोध -यालीहरूमा र माइतीघर मण्डलामा
रेस्टुरेण्ट र पार्कहरूमा
चौकहरूमा र भाषण गर्ने मञ्चहरूमा
ती अपराधीहरू घुमिरहेछन् उखु र मकैबारीहरूमा
सनपाटका झाडी र काँडाघारीहरूमा
सिरुघारीमा, वन जङ्गलमा
खोल्सा र खोला किनारामा, गाई चरनमा
हरियो चउरको शुटिङमा
ब्वाई फ्रेन्डसँगको घुमफिरमा र
लिभिङ् टुगेदर रुममा
ती अपराधीहरू
जसले मलाई निर्बस्त्र पारे
मेरा हात बाँधे
सम्बेदनशील अङ्गहरूमा कोपरे
तड्पाई तड्पाई मेरो इज्जत लुटे
सुनेन मेरो क्रन्दन कुनै ईश्वर र सुरक्षाकर्मीहरूले
पुछेन मेरो आँशु कुनै कानुन र जनताको रक्षक भनाउँदो सरकारले
घुमिरहेछन् ती अपराधीहरू निस्फिक्री
मेनपावर कम्पनी र अध्यागमन कार्यालयहरूमा
मुलुकका भन्सार र सरकारी कार्यालयहरूमा
सडक, पुल र भवन निर्माणका ठेक्काहरूमा
ठूल्ठूला अँध्यारा गोदामहरूमा
सारा अपराध कर्म मन र मष्तिस्कभित्र लुकाएर
बाढी, पहिरो जस्ता प्राकृतिक विपदमा समेत
अपराधी आउँछ जुको झैँ टाँसिएर
राहतको झोलाभित्र
मातृभूमि भन्छिन्
म त अब कङ्गाल भैसकेँ
म पराधिन भैसकेँ
मेरो अस्मिता लुटिँदैछ
त्यही ललिता निवासको अँध्यारोमा
जहाँ भूत, प्रेत जागा हुँदैछ
मुलुकको स्वाभिमान विक्री हुँदैछ
स्वार्थी समूहको निम्ति
म बेचिँदै छु
अँध्यारो कोठीमा
मेरो देशको सीमा अतिक्रमण भैरहेछ
लिलाममा चढेको छ मेरो राष्ट्रवाद
अपराधी रमाउँदै हिँडिरहेछ उन्मत्त राँगोझैँ
बौलाहा हात्ती झैँ
म भने निस्सहाय छट्पटाइरहेछु
वेदनाको आक्रोश छरेर
भन्छु जय देश, जय राष्ट्रियता, जय देशभक्त नेपाली
लाग्छ निरर्थक भनिरहेछु जय देश, जय राष्ट्रियता !