चौध वर्षकी सपना परियार र पन्द्र वर्षकी विमला नेपाली एकदिन सल्लाह गरेर सुटुक्क आफ्नो गाउँ थवाङ्बाट भागे । आ–आफ्ना आमाका थैलीबाट उनीहरुले केही रकम चोरेका थिए । गाउँमा कोदो रोप्ने, मकै गोड्ने, माटो खन्ने, घाँस काट्ने, भाँडा माझ्ने, भारी बोक्ने जस्ता अनेकौँ दुःखका काम गर्नु परे तापनि न उनीहरु भरपेट खान पाउँथे, न कहिल्यै कुनै दिन रमाइलो नै गर्न पाउँथे, वन पाखामा एकला एकलै विरहका गीतहरु गाउनु बाहेक उनीहरुसँग कुनै मनोरञ्जनका साधन थिएनन् । पैदल र बसको यात्रा गर्दै उनीहरु काठमाडौंको कोटेश्वर ओर्ले ।
गाउँकै मिना नाउँकी एउटी दिदी पहिलेदेखि नै भक्तपुरको एउटा इँटाभट्टामा काम गर्थिन् । कहिलेकाहीँ उनी गाउँमा आउँदा नयाँ भट्किला पोशाक र चप्पल लगाएर आउँथिन् । उनको हातमा मोबाइल पनि हुन्थ्यो । मिनाको चहलपहल देख्ता उनीहरु पनि कहिले काठमाडौं पुग्नु भनी दृढ प्रतीक्षामा थिए । तिनै मिनाले काम गर्ने ईँटाभट्टाको ठेगाना लिएर उनीहरु काठमाडौं आएका थिए । कोटेश्वरमा बसबाट झर्ने बित्तिकै उनीहरु भक्तपुरतिर लागे । ठेगाना अनुसार उनीहरु इँटाभट्टा पुगे ।
नभन्दै इँदाभट्टामा उनीहरुले काम पनि पाए । उनीहरुलाई इँटाले चारैतिर घेरेको र जस्तापाताको एकखापे ढोका भएको एउटा धुले कोठा दिइएको थियो त्यसैको एका कुनामा भात पकाएर खान्थे र अर्को कुनामा राति सुत्ने गर्थे । केही पर उनीहरुको एउटा सामुहिक शौचालय थियो । खाना खाने छुट्टी बाहेक दिनको दस घन्टा उनीहरुले भट्टामा काम गर्नुपथ्र्यो । उनीहरुले भट्टामा पाकेका इँटा बोकेर अलिक पर चाँग लगाउनु पथ्र्यो । तिनै चाङ् लागेका इँट्टा गन्ती गरेर उनीहरु हरेक हप्ता ज्याला बुझ्थे । दुःख गरे पनि गाउँमा उनीहरु स्वतन्त्र थिए, सफा हावा सास फेर्न त पाउँथे । यहाँ त चोबिसै घण्टा इँटाको धुलो, चौकिदारको नियन्त्रण र खप्की खानुपथ्र्यो । फरक के थियो भने गाउँमा नोट देख्न पाइँदैनथ्यो, तर यहाँ त धेरथोर जे भएता पनि नोट देख्न पाइन्थ्यो । दुबैले एक एकओटा मोबाइल पनि किनेका थिए । राति दुबैजना युट्युबका गीतहरु सुन्थे । आफू पनि गाउँमा गाउने गरेका लोकगीतहरु भिडियोमा रेकर्ड गरी फेसबुकमा हाल्थे । गीत गाउने कलाले गर्दा उनीहरु इँटाभट्टामा चर्चित हुन थालेका थिए ।
एकदिन इँटाभट्टाको स्टोरी तयार पार्न एउटा चर्चित पत्रिकाका पत्रकार भट्टामा आइपुगे । सपना र विपनाका गीतहरु उनीहरुले सुने । पत्रकारले अन्तर्वार्ता लिने क्रममा उनीहरुलाई सोधे, “गाउँमा दुःख कि शहरमा दुःख ?”
उनीहरुले पत्रकारलाई यस्तो जवाफ दिए,
“गाउँमा गाउँकै दुःख, शहरमा शहरकै दुःख ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।