खास नाम फ्रास्वाँ-म्यारी अरुए (Francois-Marie Aroudet) । फ्रन्सेली साहित्यकार, दार्शनिक, व्यङ्ग्यकार र इतिहासकार भोल्तेअर सन् १६९४ को नोभेम्बर २१ का दिन प्यारिसमा जन्मेका थिए । उनका पिता सरकारी कामकाजका कागजपत्र प्रमाणित गर्ने एक कानुन अधिकृत थिए । भोल्तेअरले क्राइस्ट धर्म गुरुबाट शिक्षा प्राप्त गरेका थिए । उनले कानुनको अध्ययन गरेका थिए ।

सन् १७१८ मा उनको प्रथम दुखान्त नाटक इडिपस (Oedipus) प्रकाशित भएपछि उनी प्रचलित मान्यता विरुद्ध उभिएको देखियो । परिणामस्वरूप उनी कैद गरिए । उनी धार्मिक स्वतन्त्रता, वाक स्वतन्त्रता तथा चर्च र राज्यको पृथ्क अस्तित्व हुनु पर्छ भन्ने मान्यता राख्थे तथा त्यसबारे लेख्थे र बोल्ने गर्थे । उनका कृतिहरूले परम्परावादी कुलीन वर्गका फ्रान्सेली सामन्तलाई च्वास्स खोच्ने हुनाले कैयौँ पटक उनले जेल जीवन बिताउनु पर्यो । त्यतिमात्र होइन, सन् १७२६ देखि १७२९ सम्म उनले बेलाउतमा निर्बासित जीवन बिताउनु पर्यो ।

फ्रान्स फर्केपछि उनले बाह्रौँ चार्ल्स (Charles XII, 1731), लेटर्स सु ले अङ्ग्लेस (Lettres Sur Les Anglais, 1733-34) र अन्य नाटक लेखे । १७४६ मा उनी फ्रान्सेली प्रज्ञा प्रतिष्ठानका सदस्य भए । प्रुसियाका फ्रेडरिक द्वितीयको आमन्त्रणमा १७५१ देखि १७५३ सम्म उनले आफ्नो जीवन बर्लिनमा बिताए । त्यसपछि उनी जेनेभा बसाइँ सरे र प्रसिद्ध उपन्यास क्यान्डिड (Candide) लेख्न थाले । यो उपन्यास सन् १७५९ मा प्रकाशित भयो । उनले धार्मिक अतिवादको विरोधमा सङ्घर्ष गरे । उनी एक साहसी व्यक्ति थिए । उनको सम्पूर्ण समय अन्याय र अत्याचारको विरोध गर्दैमा बित्यो । सबै क्षेत्रमा उनले विशिष्टता प्राप्त गर्न नसकेता पनि उनले हात नहालेको विषय चाहिँ शायद छैन होला । उनी अठारौँ शताब्दीका एक उत्कृष्ट युरोपेली विद्वान् मानिन्छन् ।

क्राइस्टेली सक्बत् १७७८ को मे महिनाको ३० तारिखका दिन फ्रान्सको प्यारिसमै उनको देहान्त भयो ।