रोमान्टिसिज्म वा रोमान्सवाद वा स्वच्छन्दतावाद अठारौँ शताब्दीको अन्त्यतिर साहित्य, कला र सङ्गीतको क्षेत्रमा शास्त्रीय लेखन प्रवृत्तिको विरोधमा जर्मनीमा प्रारम्भ भएको एउटा आन्दोलन हो । अठारौँ शताब्दीको मध्यतिर युरोपमा भएको औद्योगिक क्रान्तिको जटिलता र यान्त्रिकीकरणले समाजमा पारेको नकारात्मक प्रभावको प्रतिक्रिया स्वरूप यस आन्दोलनको प्रारम्भ भएको थियो । सन् १८५० सम्ममा यो आन्दोलन युरोपभर उचाइमा पुगिसकेको थियो । रोमान्सेली आन्दोलनले स्वच्छन्द र कलात्मक सिर्जनशीलता, एकान्त र प्रकृतिको उन्मुक्त वर्णन तथा अभिव्यक्ति स्वतन्त्रतामा जोड दिन्छ । क्लासिकल साहित्य बढी वैयक्तिक, पूर्व निर्धारित मापदण्ड र भाषाशैलीको प्रयोग गरी औपचारिक रूपमा लेखिने वस्तुपरक अभिव्यक्ति हो भने रोमान्सवादले स्थापित मापदण्डहरूबाट उन्मुक्त बन्दै अनौपचारिक, स्वच्छन्द वैयक्तिक भावप्रवाहलाई महत्त्व दिन्छ ।

योगेन्द्र तिमिल्सिना

सन् १७७० मा २१ वर्षे योहान वल्फगाङ भोन गोएट जर्मनीको स्ट्रास्बुर्ग सहर गई त्यहाँको विश्वविद्यालयमा कानुन र औषधिविज्ञानसम्बन्धी अध्ययन गर्न थाले । त्यसै बेला योहान गटफिट भोन हेर्डर भन्ने जर्मनेली युवकसँग गोएटको भेट भयो । हेर्डर कवि र दार्शनिक थिए । उनी कवितालाई मानवजातिको जातीय भाषा भनेर सम्बोधन गर्थे । हेर्डरले बेलायतमा लोक साहित्य, खास गरी सेक्सपियरबारे विभिन्न लोकगीतहरू सङ्कलन गरे । हेर्डरको यस कार्यबाट गोएट उत्साहित भए । गोएट उनीबाट ज्यादै प्रभावित भए । हेर्डरको विचारमा पुराना कविताहरूले मानवजातिको इतिहास र आध्यात्मिक दृष्टिकोण प्रस्तुत गर्ने हुँदा तिनको अनुवाद गर्नु उचित भए पनि अनुकरण भने गर्नु हुँदैन भन्ने थियो । उनी भन्थे, कविताहरूमा राष्ट्रिय प्रतिभाको उन्मुक्त अभिव्यक्ति र जर्मनेली माटाको सुगन्ध आउनुपर्छ । यस्ता विचारधाराले जर्मनेली शास्त्रीय परम्परामाथि वज्र प्रहार गर्‍यो । त्यसै बेला हेर्डरले सुप्रसिद्ध फ्रान्सेली लेखक तथा दार्शनिक जाँ ज्याक रुसोसँग भेट गरे । सामाजिक सम्झौता (कन्ट्र्याक्ट सोसियल) रुसोको विश्वविख्यात कृति हो । उनी के स्पष्ट गर्न चाहन्छन् भने मानिस स्वतन्त्र जन्मन्छ, एउटा मानिसको स्वरूप अरू कुनै मानिससँग मिल्दैन, तर पनि सामाजिक नियमहरूभित्र उसले बाँधिनुपर्ने हुनाले ऊ स्वतन्त्र बाँच्न सक्दैन । यस कृतिमा रुसो कुनै पनि सामाजिक बन्धनबिना मानिस उन्मुक्त बाँच्न सक्नुपर्छ भनी सामाजिक सम्झौता गर्न चाहन्छन् ।

महान् विचारक रुसोले यस आन्दोलनको बिउ रोपे तापनि उनको मृत्यु भएपछि सन् १७७८ मा मात्र रोमान्सेली युगको प्रारम्भ भयो । प्रसिद्ध सोभियत साहित्यकार तल्सतोईले पनि आफू रुसोको शिक्षा र उदाहरणबाट प्रोत्साहित भएको भनेका छन् । रुसोलाई रोमान्सेली युगका प्रणेता भन्नुअघि शास्त्रीय र रोमान्सेली साहित्यको तुलना गर्नु आवश्यक हुन्छ । शास्त्रीयता वा क्लासिकल साहित्य सोच विचार गरी स्थापित मान्यताभित्र लेखिने औपचारिक र बौद्धिक मस्तिष्कको उपज हो । यसले रोमान्सेली साहित्यलाई असन्तुलित, केटौले र उच्छृङ्खल भनी तिरस्कार गर्छ । रोमान्सवद वा स्वच्छन्दतावाद सर्जकको उन्मुक्त धाराप्रवाह भावनात्मक अभिव्यक्ति हो । यसमा अनौपचारिक व्यक्तिगत धारणा हुन्छ । शास्त्रीयता पट्टाइलाग्दो, औपचारिक, रुखो र पाठकलाई प्रभाव पार्न नसक्ने हुन्छ तर रोमान्सवादले वास्तविकतासँग कुनै सम्बन्ध नराखी कल्पनामा डुबेर पाठकलाई रोमाञ्जित पारिदिन्छ ।

रुसोले पुरानो तार्किक युग र सचेतताको अधिमूल्याङ्कन गर्ने पारालाई विरोध गर्दै रोमान्सेली युगलाई आफ्ना विचारहरू दिइसकेका थिए । उनको दृष्टिकोण र मतले रोमान्सेली आन्दोलनलाई राम्रोसँग प्रभाव पार्‍यो बिविस्तारै साहित्यमा तार्किक युगको ठाउँ स्वच्छन्दतावादी (रोमान्सेली) युगले लियो । उनी यस्तो रोमान्सवादमा बाँचे जुन उनले आउने युगलाई समर्पित गर्नु थियो ।

उच्च मूल्यको साहित्यिक सिर्जनाका निम्ति प्रतिभा र भावनामा इमानदारीताको सर्वोच्च महत्त्व हुन्छ  भन्ने हेर्डरको सिद्धान्तले सन् १७७० तिर जहीँतहीँ, खास गरेर जर्मनेली विद्यार्थीहरूलाई ठुलो प्रभाव पार्‍यो । त्यसै बेला जर्मनीमा ‘आँधी र जोड’ (स्टर्म उन्ड ड्राङ्) नाउँको रोमान्सेली साहित्यिक आन्दोलन सुरु भयो । प्रतिभाशाली गोएट (१७४९–१८३२) यस आन्दोलनका अग्रणी हुन पुगे । यी दुई प्रतिभाशाली साहित्यकारका अतिरिक्त यस आन्दोलनका सक्रिय साहित्यकारहरू सिलर, क्लिङ्गर, लेन्ज, मुल्लर, वाग्नर आदि थिए । उनीहरूले परम्परावादी शास्त्रीय प्रणालीको विरोध गरे र साहित्यमा मानवीय भावनाहरूको स्वतन्त्र अभिव्यक्ति गर्ने आन्दोलन चलाए । यिनीहरू मध्ये योहान गोएट र फ्रिडरिक सिलर (१७५९–१८०५) को प्रसिद्धि चम्केर गयो । शिलरको नाटक ‘लुटाहाहरू’ ले रोमान्सेली आन्दोलनको निष्कर्ष प्रस्तुत गरेको छ । सन् १७७३ र १७०४ मा गोएटका दुई कृति नाटक ‘गोज भोन बर्लिचिङ्गे’ र उपन्यास ‘वेर्दर’ प्रकाशित भएपछि उनी युरोपभर प्रसिद्ध भए ।

तिनताक बर्लिन पुनर्निमाणको अवस्थामा थियो र जर्मनेली साहित्यकारहरूलाई जमघट हुन प्यारिस र लन्डन जस्ता आकर्षक र भव्य नगरहरू उपलब्ध थिएनन् । त्यसैले स्ट्रास्बुर्ग, जेना र हेडेलबर्ग जस्ता विश्वविद्यालय भएका नगरहरूमा जर्मनेली साहित्यकारहरूले रोमान्सेली आन्दोलनलाई अघि बढाए । वेइमरका राजा कार्ल अगस्ट गोएटका कृतिदेखि प्रभावित भई उनलाई आफूकहाँ डाके ।

शिलरलाई फौजी स्कुलमा अध्ययन गर्न बाध्य गराइएता पनि उनले त्यसको अवज्ञा गरे । डाक्टर भएकाले उनलाई औषधिविज्ञानसम्बन्धी लेखहरू मात्र प्रकाशित गर्न छुट दिइयो । सन् १७८९ देखि उनी वेइमरको जेना विश्वविद्यालयमा इतिहासका प्राध्यापक भए । कान्टको दर्शनको अध्ययन गरी उनले दर्शनशास्त्रसम्बन्धी अनेकौँ लेखहरू प्रकाशित गरे । सन् १७९४ देखि गोएटसँग उनको प्रगाढ मित्रता कायम भयो । डिसेम्बर १३, १७९७ मा जन्मेका रोमान्सेली आन्दोलनका अन्तिम जर्मन कवि हेइन्द्रिक हेइने सन् १८३१ मा प्यारिसतिर लागे र उतै उनी प्रसिद्ध भए । गीति कवितामा चर्चित हेइनेले २५ वर्ष प्यारिसमा बिताए र ५८ वर्षको उमेरमा  १७ फेब्रुअरी १८५६ का दिन प्यारिसमै उनको देहान्त भयो ।

अङ्ग्रेजी साहित्यमा सबैभन्दा पहिले स्कटेली कवि रोबर्ट बर्नस (१७५९–९६)ले रोमान्सवादको प्रयोग गरेका थिए । रोमान्सेली आन्दोलनमा उनले भाग नलिए तापनि उनका कृतिहरूमा रोमान्सवादका आधारभूत तत्त्वहरू देखा परे । अर्का अङ्ग्रेजी कवि विलियम ब्लेक (१७५७–१८२७) लाई पनि यही पङ्क्तिमा उभ्याउन सकिन्छ । जर्मनेली साहित्यकारहरूझैँ अङ्ग्रेजी साहित्यकारहरूले सङ्गठित रूपमा अभियान चलाएनन् । अङ्ग्रेजी रोमान्सवादीहरू व्यक्तिवादी भए । उनीहरू कुनै नयाँ साहित्यिक धारणाप्रति न विरोध दर्साउँथे न त उत्साह नै देखाउँथे, उनीहरू तटस्थ थिए । यसरी अङ्ग्रेजी साहित्यमा रोमान्सवादको स्वाभाविक विकास भएको पाइन्छ । बेलायतमा हाज्लिट, लेइ हन्ट, वर्डस्वर्थ, कलरिज, बाएरन, स्कट, सेली आदि प्रमुख रोमान्सेली कविहरू जन्मे । यस युगमा बेलायतमा पद्यको तुलनामा गद्यको त्यति विकास भएको देखिँदैन । सन् १७९८ मा वर्डस्वर्थ र कलरिजको ‘गीति काव्य’ प्रकाशित भएपछि अङ्ग्रेजी साहित्य रोमान्सेली आन्दोलनको नगिच पुग्यो । प्रकृतिलाई प्रतीक मानेर लेख्ने विलियम वर्डस्वर्थ, रोबर्ट साउदी र स्यामुएल टेलर कलरिजलाई लेक पोएट अर्थात् तलाउ कवि भनिन्थ्यो । यिनीहरूमध्ये वर्डस्वर्थ सबैभन्दा मौलिक र प्राकृतिक सौन्दर्यको वर्णनमा सर्वोत्कृष्ट कवि थिए । कल्पना र कलात्मक सिर्जनशीलताको उपयोग गरी एकान्तपन र प्राकृतिक सुन्दरताको वर्णन गर्न भावनामा बग्नु यस वर्गका कविहरूको विशेषता थियो । यस युगका अरू रोमान्सेली कविहरूमा किट्स, बाइरन, कलरिज, सेली प्रमुख हुन् । प्रतिभाशाली कवि जोन किट्सले २६ वर्षको युवावस्थामा सन् १८२१ मै मृत्युवरण गरे । युरोपेली प्रतिष्ठा कमाउने यस युगका अमेरिकी लेखकहरूमा वासिङ्गटन इर्भिङ्, फेनिमोर कुपर र एडगर एलान पो हुन् ।

महान् फ्रान्सेली साहित्यकार, दार्शनिक र शिक्षा प्रचारक जाँ ज्याक रुसो (१७१२–१७७८)को प्रभावबाट जर्मनीमा चलेको रोमान्सेली आन्दोलन आधा शताब्दीपछि मात्र फ्रान्समा पुनः आयात गरियो । जर्मनी र बेलायतमा रोमान्सेली आन्दोलनको अन्त्य हुन लागेपछि यो फ्रान्समा सुरु भयो । रुसोका धारणाहरूलाई अब मात्र व्यवहारमा ल्याउन सुरु गरियो । सन् १८३० देखि फ्रान्सको राजधानी प्यारिसमा यो आन्दोलन व्यवस्थित ढङ्गले सुरु भयो । फ्रान्समा साहित्यकारहरूभन्दा पहिले डेलाक्रोइक्सजस्ता रोमान्सेली चित्रकारहरू जन्मे । फ्रान्सेली रोमान्सेली आन्दोलनमा रेने द चात्युब्रियन्ड (१७६८–१८४८)को नाउँ उल्लेखनीय छ । यो आन्दोलन सुरु हुनुभन्दा अघिदेखि नै उनी एक रोमान्सेली चिन्तक थिए र उनको प्रभावबाट यो मुक्त थिएन । फ्रान्सेली आन्दोलनलाई प्रभाव पार्नेहरूमध्ये मादम द स्टिल भन्ने अर्की महाशय थिइन् । उनले सर्वप्रथम रुसोको अध्ययनसम्बन्धी पुस्तक प्रकाशित गरिन् र जर्मनेली रोमान्सेली विद्वान्‌हरूलाई फ्रान्सेली पाठकसमक्ष परिचित गराइन् । सम्राट् नेपोलियनसँगको असहमतिले गर्दा धेरै वर्षसम्म उनले प्यारिस छोड्नुपर्‍यो । त्यसपछिका साहित्यकारहरूमा स्टेन्दाल भन्ने फूल नाउँले लेख्ने हेनरी बिले (१७८३–१८४२) प्रमुख हुन् । त्यसपछि फ्रान्सेली रोमान्सेली आन्दोलनलाई अगाडि बढाउने बाल्जाक (१७९९–१८५०), अलेक्जान्डर डुमास )१८०२–१८७०), प्रोस्पर मेरिमी, गेरार्ड द नर्भल, भिक्टर ह्युगो (१८०२–१८८५), चोपिन आदि भए । फ्रान्समा यस आन्दोलनका अन्तिम व्यक्ति अल्फ्रेड द मुसेट थिए ।

जर्मनी, बेलायत र फ्रान्सको रोमान्सवाद रसियामा अध्ययन गर्न थालियो । निकोलस प्रथमको निर्दयी शासनकालमा रसियाली साहित्यकारहरूलाई बाँच्न कठिन थियो । सरकारी सेन्सरबिना रचना प्रकाशित गर्न निषेध थियो । यस नियमको पालना नगर्ने लेखकले साइबेरियाको निर्वासन भोग्नुपर्थ्यो । त्यसैले रसियाली साहित्यको विकास ढिलो मात्र भएको होइन, यसले केही अप्ठ्यारा परिस्थितिहरू पनि भोगेर आएको छ । रसियाली रोमान्सेली साहित्यकारहरूमा पुस्किन (१७९९–१८३७), लेर्मोन्टोभ(१८१४–१८४१) र गोगोल(१८०९–१८५२) प्रमुख हुन् ।

इटालेली साहित्यकार लियोपार्डो (१७९८–१८३७) र मनजोनी(१७८५–१८७३), डेनमार्केली किएर्केगार (१८१३–१८५५) र हन्स एन्डरसन(१८०५–१८७५) पनि रोमान्सेली साहित्यिक आन्दोलनका अभियन्ताहरू हुन् । जर्मनेली माटामा जन्मेको यस आन्दोलनले विश्वका विभिन्न साहित्यकारहरूलाई प्रभावित पारेको छ । नेपाली साहित्य पनि रोमान्सवादको प्रभावबाट मुक्त छैन । लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माघवप्रसाद धिमिरे रोमान्सवादबाट प्रभावित छन् ।