डा. तुलसी भट्टराईको प्रमुख आतिथ्य तथा प्रा. डा. गोविन्दराज भट्टराईको संयोजकत्वमा योगेन्द्र तिमिल्सिनाका दुई कृतिको लोकार्पण गरिएकाे छ । कथासङ्ग्रह ‘आश्मा र अरू कथाहरू’ तथा कवितासङ्ग्रह ‘अनन्त आकाशका गीतहरू’को लोकापर्णसहित विमर्श कार्यक्रम ग्रीनलिफ रेष्टिुराँ, पुतलीसडकमा सम्पन्न भएको हो ।

डा. तुलसी भट्टराई, डा. गोविन्दराज भट्टराई, डा. कुमार कोइराला, डा. तुलसी गौतम, प्रा. ध्रुव भट्टराई, डा. अञ्जना वस्ती भट्टराई आदि प्रमुख समीक्षक रहनुभएको सो कार्यक्रममा नारायणप्रसाद शर्मा फुयाल तथा डा. बालकृष्ण मागुहामले पनि बोल्नुभएको थियो ।

कार्यक्रमा कवि विष्णु एस राईले एक सुन्दर कविता वाचन गर्नुभएको थियो । साहित्यकार योगेन्द्र तिमिल्सिनाले आफ्ना दुई साहित्यिक कृति बारे धारणा राख्नु भएको थियो ।

विद्वान वक्ताहरुले लोकार्पित कथा सङ्ग्रहका कथाहरुमा नारीजन्य पारिवारिक पीडा, आफ्नै असहयोगी भावना र असावधानीको कारण्ले धूर्तबाट हुने ठगी, कोमल भावनाबाट बनेको युवतीको स्वप्निल संसार, गरीबि र अभावका बिचमा पनि हुनसक्ने पारिवारिक खुसी, विद्युतीय माध्यमको प्रयोगबाट बाल मनोविज्ञानमा पर्ने गम्भीर असर, ज्येष्ठ नागरिकको पारिवारिक असन्तुलन र अन्योल, सम्मानका नाउँमा हुने अनुत्तरदायी कार्यक्रमप्रतिको व्यङ्ग्य, पति–पत्नीका बीचमा हुने अस्थायी द्वन्द्व, परिवर्तित समाजमा बढ्दै गएको विचलन र विकृतिको प्रतिबिम्ब, बाँदर स्वभावसँग मिल्दो मानविय सम्झौतप्रतिको ब्यङ्ग्य, अन्धो प्रेम र त्यसबाट उत्पन्न हुने विचलन, जीविकाको निम्ति विदेशिनु पर्ने बाध्यता र त्यसबाट उत्पन्न हुने गम्भीर परिणाम तथा जीवनभर मानिस व्यक्तिगत स्वार्थ र द्वन्द्वमा अल्झेता पनि जीवनको अन्तिम सत्य मृत्यु नै भएको जस्ता विविध विषयवस्तु समेटिएको अभिव्यक्ति दिनु भएको थियो ।

कार्यक्रममा शैलेन्द्र साकार, डा. शोभा ढुङ्गाना, अनिता कोइराला, किशोर पहाडी, नारायण तिवारी, ध्रुब मधिकर्मी, महेश प्रसाईं, अनिता पन्थी, दिव्य गिरी, शीतल गिरी, गान्धीराज काफ्ले, हरिविनोद अधिकारी, चन्द्रप्रसाद भट्टराई, खगेश्वर गौतम, सानुराजा अन्जान, समिर नेपाल, अरुण शर्मा, लेखनाथ गौतम लगायत पचासभन्दा बढी साहित्यकारहरुको सहभागिता रहेको थियो ।

डा. तुलसी गौतमले ‘अनन्त आकाशका गीतहरु’ कवितासङ्ग्रहमा समावेश भएका कविताहरुको विस्तृत समिक्षा गर्नु भएको थियो । उहाँले कविताहरु सरल, सुन्दर र सन्देशमुलक रहेको बताउनु भयो । कार्यक्रममा श्री राजेन्द्र शिवाकोटीले पनि बोल्नु भएको थियो । सो कार्यक्रमको उद्घोषण प्रकाशक हरि गौतमले गर्नुभएको थियो ।