रवीन्द्रनाथ ठाकुर
भारतका महाकवि रवीन्द्रनाथ ठाकुरको जन्म ६ मे १८६१ मा कलकत्ता, ठाकुरबाडीको एक सम्पन्न बङ्गाली परिवारमा भएको थियो । उनका पिताको नाउँ देवेन्द्रनाथ ठाकुर र आमाको नाउँ शारदादेवी थियो । आठ वर्षको उमेरदेखि उनले कविता लेख्न थाले र १५ वर्षका भएपछि भारती पत्रिकामा उनका कविता प्रकाशित हुन थाले । भारतीमा प्रकाशित उनको पहिलो रचना कवि-कथा हो | सन्
१८७७ मा सोह्र वर्षको उमेरमा उनको पहिलो लघुकथा प्रकाशित भएको थियो । उनले कलकत्ताको सेण्ट जेभिएर्स कलेजबाट कानुनमा यु सी एल सम्म अध्ययन गरेका थिए । ठाकुरले इतिहास, साहित्य, दर्शन र संस्कृतिको अध्ययन गरेका थिए । भारतीय सांस्कृतिक चेतनामा नयाँ जीवन दिने रवीन्द्रनाथ ठाकुर युग द्रष्टा मानिन्छन् । कविता, कथा, उपन्यास, नाटक, गीत, निबन्ध तथा चित्रकला सबै विधामा उनले सिर्जना गरेका छन् |
उनले बेलायत र अन्य विभिन्न ठाउँको भ्रमण गरेका थिए । सन् १८८३ मा उनको विवाह भएको थियो । उनका अधिकांश कृतिमा आध्यात्मिक ज्ञानको उच्च आदर्श पाइन्छ । उनको शैली काव्यात्मक, सरल र सुमधुर हुन्छ। उनी एक सजग र सफल राष्ट्रवादी साहित्यकार हुन् । उनले सन् १९१३ को नोबेल पुरस्कार प्राप्त गरेका थिए । उनका धेरैजसो कृति अङ्ग्रेजीमा अनूदित छन् | उनी साहित्यकार मात्र नभएर कुशल समाज सुधारक, सुवक्ता र देशभक्त थिए ।
उनको विचारमा मानिस र ईश्वरका बिचमा चिरस्थायी सम्बन्ध छ। ठाकुर र महात्मा गान्धीका बिचमा राष्ट्रियता र मानवतालाई लिएर वैचारिक मतभेद थियो | ठाकुर मानवतालाई राष्ट्रियताभन्दा माथि राख्थे भने गान्धी राष्ट्रियतालाई प्राथमिकतामा राख्थे, तर दुवैले एक अर्कालाई सम्मान गर्थे । रवीन्द्रनाथ ठाकुरले भारतीय राष्ट्रिय गीतको रचना गरेका थिए ।
उनका पिता देवेन्द्रनाथ ठाकुरले स्थापना गरेको शान्ति निकेतन ब्रम्ह समाजको ध्यान र योग गर्ने आश्रम थियो । त्यहाँको प्राकृतिक वातावरणमा पठन पाठन गराउने दृष्टिकोणले रवीन्द्रनाथ ठाकुरले पाठ भवन नाउँको पाठशाला सुरु गरे । सन् १९१३ को नोबेल पुरस्कार प्राप्त गरेपछि उनले त्यस पाठशालाको विस्तार गरी सन् १९२१ मा विश्वविद्यालयसम्म पुर्याए । त्यस विश्वविद्यालयको नाउँ विश्वभारती युनिभर्सिटी हो । सन् १९२४ मा समाजका विपन्न वर्गलाई शिक्षा र तालिम प्रदान गर्ने उद्देश्यले शिक्षा सत्रको स्थापना गरेका थिए । उनका पिता ब्रम्ह समाजमा आवद्ध रहेता पनि उनी भने सनातनी हिन्दु धर्मावलम्बी थिए । भारतीय सांस्कृतिक चेतनामा नयाँ जीवन दिने रवीन्द्रनाथ ठाकुर युगद्रष्टा मानिन्छन् ।
निम्नलिखित उनका प्रसिद्ध कृति हुन् :-
काव्य: १. गीताञ्जली, २, माली, भात संगीत र ५. साधना ।
नाटक: १. बलिदान, २. नलिनी, ३. चित्रा र ४. राजा र रानी।
उपन्यास: १. घर र सन्सार, २. गोरा, ३. विनोदिनी, ४. राजर्षि र ५. डुङ्गा पल्ट्यो।
कथासङ्ग्रह: रवीन्द्र द्वादशी ।
गीताञ्जलीको पहिलो नेपाली अनुवाद धनकुटा निवासी खगेन्द्र प्रधानाङ्गले गर्नु भएको हो । यसको नेपाली अनुवाद डा. तुलसी भट्टराईले पनि गर्नु भएको छ । अहिलेसम्म यस कृतिका अरू पनि नेपालीमा अनुवाद प्रकाशित भैसकेका छन् ।
७ अगस्त १९४१ मा कलकत्तामा रवीन्द्रनाथ ठाकुरको निधन भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।