“जेठो छोरो क्यानडा गएको धेरै वर्ष भयो । क्यालगरीमा बुहारी र दुई सन्तानसहित बस्दै छ । ऊ त्यहाँ अलकापुरीको सुख भोग्दै छ ।” आमा स्याँस्याँ गर्दै बोलिरहन्थिन् ।

“माहिला, मेरो माइला त हीराको टुक्रा हो नि!  अस्ट्रेलियामा रेस्टुरेन्ट चलाएर बसेको छ । उसले नचाखेको संसारमा कुनै परिकार नै छैन !”  बाबुको स्वाभिमान बेसरी गर्जन्थ्यो।

“मेरो कान्छो भाइको नकुरा गरौँ । अमेरिकामा गाडी नै गाडी, बङ्गला नै बङ्गला । सबै नेपालीलाई छहारी दिएर बाँचेको छ ।” विवाहित दिदीको आवाजमा दम्भ झल्किन्थ्यो ।

आफ्नै संसार, आफ्नै परिवेश, आफ्नै धुन तर प्रविधिले साँघुरो बनाएको यो डिजिटल दुनियाँमा

विष्णुप्रसाद आचार्य

भिडियो कुराकानी भने मामुलीजस्तै थियो उनीहरूका लागि । परिवारका सदस्यहरूबिच बातचित भइ नै रहन्थ्यो ।

जेठाले बारम्बार कपडाहरू पठाइरहन्थ्यो, रङरङका लुगा भैगो!
माहिलाले आइ.एम. इ गरिरहन्थ्यो, मनग्य पैसा भैगो!
कान्छाले गोडैमा ढोगुँलाझैँ गरी फोन गर्थ्यो, संस्कार भैगो, सद्भाव भैगो!

चुलो बलेकै थियो, जीवन चलेकै थियो । अभावको असिना अन्यत्र त बर्सिएको देख्थे तर त्यो उनीहरूको छाना ठटाउन कहिल्यै आएको थिएन ।

उनीहरूलाई बुढ्यौलीले बिस्तारै गाँज्दै थियो । दम र सुगरको औषधि किन्न मेडिकल पुग्ने ताकत पनि  हराउँदै गएको थियो । कहिलेकाहीँ त पानी तताउन खोज्दा पनि सिलिन्डरको रेगुलेटर बटार्न नसकेर हैरान हुन्थे बुढाबुढी ।

दसैँका बेला, टीकाको दिन । डिजिटल टिकोटालो लगाउने तयारी हुँदै थियो ।

कान्छाले लयालु स्वरमा सोध्यो -“कस्तो छ बाआमा हजुरहरूलाई ?”

बाबु टीकाको अक्षता मुछ्नका लागि फ्रिजबाट दही र केरा निकाल्दै थिए ।

फ्रिजतिर औँल्याउँदै बाबुले भने-” हेर् कान्छा ! यी सागपात फलफूलहरू पनि त फ्रिजको मायाँ पाएर कुहिन पाएका छैनन्  नि !”
-“चिsssssसो माया!”
बुढा आफ्नो जबाफले आफैँ तर्सिए।
बुकुल्टो अक्षतामा अनायास एउटा बुँद चुहियो, तप्प!

विदुर- ५, नुवाकोट