एम्बुसमा छैन मृत्यु । रिकावीमा छ मृत्यु ।

मृत्युवारि छ । पारि पनि छ मृत्यु ।

वारि अवस्थित मृत्यु अनवरत छ । पलपल भोगिरहनुपर्ने हुन्छ, वारि, वारिको संस्कृति । दुखकष्ट, भावअभाव, रागवितराग, सङ्घर्ष–चुनौती, सबै ती दर्दविरहमा खेप्नुपर्ने मृत्यु वारि रहन्छ, वारिको भौगोलिकतामा रहेको हुन्छ । अनवरत अचेततातर्फ लम्किरहेको मृत्यु पारिको शान्त उद्यमतामा अलङ्कृत हुन पुग्छ त्यसपछि ।

मृत्युको सौभाग्यवरण गर्ने पात्रता जीवन हो ।

वारि र पारिका साँधमा रहेको यो जीवन, अतृप्त आकाङ्क्षा मनोकाङ्क्षाका रफ्तारमा कुनै अभाषित दौड चलाइरहेको हुन्छ । वारिका सबै कर्महरू सम्पादन गरिसकेपछि पारितर्फ आकर्षित यसको अभीष्ट विश्रान्तिका लागि आयोजित भएको मान्न सकिन्न । जीवनबोधको पुनर्योजन, फ्रयोजनका लागि स्विकारिन्छ, यसले हासिल गर्ने मुक्ति, मुक्तिको निष्कर्षता, मुक्तिगामी निर्बन्धता ।

मृत्यु पारिको ‘पर्सपेक्टिभ’ले वारिको गुणगान गर्छ । गरेको अर्थ लाग्छ किनभने मृत्यु सर्वत्र छ । स्वरूप र प्रचेष्टितताहरू मात्र परिचयन नभएको हो । यसको सङ्कथन, ती त्यहाँ दमित भएर बसेको हुन्छ । फरक यत्ति नै छ, वारि र पारिका बीच । एउटा अघोषित साँघुका बीच, परिप्रेक्ष्यित अन्तराल जत्तिकै ती बीच ।

मृत्युपारि, के कुनै गीत गाइन्छ ! गाइन्छ तर कुनै वेदनागीत, करुणागीत, वैदिकगीत ‘ग्लुमी सन्डेगीत’, ‘डिस्पेसिटियागीत’ । समग्रमा जीवनगीत । मृत्यु छ त्यसैले फेरि पनि ।

मृत्यु अँटाउने ब्रह्माण्ड छ । शिवताण्डव गुञ्जित ब्रह्माण्ड । ब्रह्माण्ड करुणामा छ । ममतामा छ । सिर्जा– सिर्जनामा छ । ब्रह्माण्डेतर करुणाले भन्छ । करुणाको उपनिषद्ताले दोहोऱ्याएर भन्छ । जीवन, पुनर्जीवन, सहजीवन, महाजीवन, सबै ती मृत्युका स्रोत हुन् । मृत्युको सौष्ठवशाली नृत्य छ, त्यसैले । सप्तस्वराङ्कित, सङ्गीतमय नृत्य ।

आर्यावर्तीय  ब्रह्माण्डमा, ताण्डवकृत्य ती नृत्य र भृत्यका, एक प्रतिष्ठित गायक जसलाई गीति करुणाले, आख्यानिक संवेदनाले, अभिमञ्चित अभिकथनले, मङ्गलाचरण वाचन गर्ने आधारहरू यथेष्ट छन् । ती गायक, कविर्मनीषी गोपाल पराजुलीका वस्त्रालङ्कारमा सुशोभित तुल्याउने परिपञ्च छ यहाँ ।

. .

कवि गोपाल पराजुली

सानुबन्धले, तीसको दशकका एक चर्चित कवि गोपाल पराजुली । शक्तिशाली नाटककार गोपाल पराजुली । प्रयोगवादी आख्यानकार पनि गोपाल पराजुली । विधाहरूमा, बलियो नियन्त्रण भएका एक छवि । सिद्धहस्त सर्जक । नेपाली साहित्यमा, युगान्तकारी चेतनताका संवाहक ।

गोपाल पराजुलीको बहुदृष्टीय चेतको कुनै सम्पूरकताले ‘मृत्युपारिको गीत’ (जीवन दर्शन)लाई, रागात्मक भाष्यतर्फ परीक्षण गर्न आइपुगेको छ । ती त्यहाँ जीवनलाई अर्थ्याउन । जगत्‌लाई अर्थ्याउन । अझ लौकिक चेतहरूबाट हटेर अलौकिकलाई पनि अर्थहरूका अघिल्तिर –अर्थहरूका पछिल्तिर, ती-ती वस्तुस्थितिहरू अर्थ्याउन, ती-ती वस्तुनिष्ठहरू पहिल्याउन ।

मृत्युपारिको गीत जो कोहीले गाउन सक्तैन । परिप्रेक्ष्यले, गायकी अवबोधता छैन पनि । यो विलापिका (Elegy)  होइन । उद्बोधनता भने हुन्छ, दर्शनशास्त्रीय । गाउनुभएको छ, त्यसैले एक्काइसौँ शताब्दीलाई समेत उछिनेर, बहुआयामिक गोपाल पराजुलीले ।

गोपाल पराजुलीले उद्घोष गरेको गीत, मृत्युपारिका गीत, जीवनसित सन्नद्ध छ, जगत्‌सित सन्नद्ध छ । पञ्चस्कन्धीय सान्निध्यसित सन्नद्ध छ ।

बोध–अवबोधीय प्रयुक्तिहरूले मृत्यु एक उत्सव हो । एक नैरन्तर्य, उत्सव हो–मृत्यु । यसको दर्शनातीत परिणति बोध गर्न नसक्नेहरूले जीवनलाई पनि उत्सवहीन तुल्याइरहेका हुन्छन् । साप्रङ्सगिक युक्तिले ‘मृत्युपारिको गीत’ उत्सवका तयारीमा छ, लीलालाई छलेर, मिथ्यालाई छलेर । ‘इल्युजन’लाई छलेर ।

महेश प्रसाईं

कतिले भनेका छन्, मृत्युगीत प्रिय हुँदैन । मृत्युगीत ‘मेलोडियस’ हुँदैन । यसलाई तर, अस्वीकार गर्न सम्भव छैन । प्रेमोपासनाले, मृत्युपारिको गीत गाउन, ती-ती करुण धुनहरूलाई महाङ्काल समग्र, गुञ्जायमान तुल्याउन, वारिको भाँती काट्छ जसले, ऊ वास्तविक गायक हो–जीवनदर्शी गायक । कथोपासनाले, समहाल्न खोज्दा खोज्दै जीवनलाई, छालहरू काटेर नदीका तरलतालाई, गायकी गरेकै हो, पाठरचनाको आत्मगतताभित्र । थरी-थरी पात्रको अवसान, थरी-थरी नटनटीहरूको प्रारम्भ, थालेर रोला बाथले जस्तै । जेक डेरिडाले जस्तै ।

अलङ्कृत अनेक मृत्युकायाहरू मिलेर, निर्जीवन परीक्षण पनि भएकै हो, एउटा आगन्तुक गीतको बोल । राग प्रदायिकी क्षरहरूको बोल । लय, ताल र सुरहरूका यी उपोद्धातहरूको रहस्य चाल पाउनेहरूले मृत्युलाई नित्य उत्सवका रूपमा ग्रहण गर्दछन् । ती लेखकहरूले जस्तै, ती उद्भट दार्शनिकहरूले जस्तै ।

. .

विपठन नगरी जीवनलाई, मृत्यु थाहा हुँदैन । भाग लाग्दैन मृत्यु, मृत्युगीत । पुनःपठन नगरी अनुभवेयलाई ‘चीरता’ हात लाग्दैन । बात लाग्दैन मृत्यु, मृत्युगीत ।

स्वनामधन्य सन्त–महन्त, ती दार्शनिकहरूले निकालेको निष्कर्ष हो, यो ।

सन्दर्भहरूले, मृत्युगीतलाई कुनै आकार दिने उपक्रममा अन्तर्विद्यात्मक विश्लेषण (Interdisciplinary analysis) गर्न सकिन्छ, मृत्यु सन्निकट जीवनभित्र, जीवनतङ्रगित दोछायाभित्र । गीतले बनेका वेदनाहरूमा अजरताहरू छन्, अमरताहरू छन्, अनवरतताहरू छन् । नष्ट भएर नष्ट हुन नसक्ने, निरन्तरीय शून्यताजस्तै । भनिन्छ शून्य तौलरहित हुँदैन । गह्रुङ्गो हुन्छ, शून्यताकै आयतनमा । त्यसैले ‘मृत्यु र जीवन’ दुवै आकृति–प्रकृति ‘भवसोत’ हुन् कवि गोपाल पराजुलीका ‘शक्ति र प्रस्ताव’ पृथक्करणीय सैद्धान्तिकीबाट । चिरन्तन चिन्तन यी, गीतका अवशेषहरू, परस्पर सङ्घटित (Integrated) छन्, विचार, विषय र प्रस्तुतिहरूले । अहिले गोपाल पराजुलीको चिन्तक कुनै खास प्रस्तावना (मानवशास्त्रीय) घोषणा गर्ने उद्यममा रहेको हो कि, अनुभूति हुन्छ । मृत्युसित मृत्यु जित्न कहिल्यै कुनै सङ्घर्ष भएन, घर्षण भएन । जीवनको नाद भनेकै पृथक् आकारको शून्यसरह देखिन्छ । कतिले स्पर्श गरेका छन् । कतिले स्विकारेका छन्, आत्मगत ।

‘सिर्जनाको अपमान’ र ‘मानवताको सनातन आदर्श’ विचलन भएका घटनाक्रमहरूले कवि द्रवित हुनु अस्वाभाविक होइन । कुन आयतन र आकारमा, परिदृश्यहरू घटिरहेका छन् । कुन अदृश्य सत्ताले स्खलन भइरहेको छ यो सृष्टि कौशल, कारकतत्त्वहरू के-के हुन् ।

कविको अभिज्ञानमा बसेको छ, एउटा दीर्घोत्तर पीडा ।

यसलाई सुल्झाउने साधन आणविक हतियार हो कि, प्रेम र करुणा ।

निराकरण तुल्याउने विधि र प्रविधि, अवसानको थालनी हो कि, प्रारम्भको पुनर्जागरण ।

बहस सुरु भएको छ, एउटा पृथक् गायनले ।

मृत्युपारिको वेदना मापनले ।

मृत्युलाई कुनै अवबोधित प्रतीक तुल्याएर चौतर्फी विमति राख्ने काव्यगुणको विशेष कुनै परिधानता राजनीतिसित असन्तुष्ट छ । समाजका आसामाजिकीहरूसित असन्तुष्ट छ । संस्कृतिका असांस्कृतिकताहरूसित असन्तुष्ट छ । युद्ध, अशान्ति र हिंसाका कारणताहरूसित असन्तुष्ट छ । जहाँ-जहाँ वैचारिकी क्रूरता र कुरूपताहरू छन्, ती-ती प्रेक्ष्यतामा सग्लो उपस्थितिले विमतिप्रयुक्त असन्तुष्ट छ ऊ ।

सिर्जना मन पर्छ कविलाई । लोकलय मनपर्छ कविलाई । प्रेम र शान्ति मनपर्छ, यस्तो एउटा कुलीन कविलाई । प्रकारान्तरले, जीवन मन पर्छ । मानवता मन पर्छ । सुन्दर विचार मन पर्छ । भवसोतीय धरातल मन पर्छ । सारांशमा, उज्यालो आकाशगङ्गाको अलिखित कविता मन पर्छ, कविलाई । कवि हुनुको बोधित गोपाल पराजुलीलाई ।

अघि अघि लेखिएका ‘विषय र प्रस्ताव’ भन्दा भिन्न यी शब्दमण्डलहरू, भावमण्डलहरू, काव्यमण्डलहरू कहीँ कसैसित सम्झौता गर्ने तरखरमा छैनन् । गोपाल पराजुली समकालिन सन्दर्भहरूमा, भिन्न दार्शनिक व्यूहचेतले खुल्नुभएको प्रतीत हुन्छ । उहाँको असन्तोष जीवनसित छैन, मृत्युसित छैन । जगत्‌भित्र अशान्त गतिमा उत्पन्न मनुष्यनिर्मित ‘उपलब्धि र उत्कर्ष’बाट देखा परेका भयानक द्वन्द्वप्रति लक्ष्यित छ, ती असन्तोषहरू पनि ।

दार्शनिक चेतले विनिर्मित कुनै दृष्टि, भिन्न प्रविष्टिले भ्रमभित्र सङ्लिन्छ, कष्टताभित्र सङ्लिँदै जान्छ । सङ्लो प्रकाश यो, लेखाउँदै आउँछ,  रक्तिम प्राचीलाई । कति विसङ्गतताहरू छन्, विषमताहरू छन् कति । त्यहाँ प्रकाश पार्नु हो व्यूहकारिताले । सोहीबमोजिम जीवनका समग्र पहरहरूलाई औँल्याउँदै, कहीँ उपचारकबोधले निर्मल तुल्याउँदै संरचना रूपान्तरण गर्ने सिलसिला जारी छ । कविको सर्वोच्चता पनि यसै विन्दुबाट प्रारम्भ हुन्छ । कविर्मनीषी गोपाल पराजुलीले जुन अग्निशमन गर्नुभएको छ, कविता भोगेर, ती-ती सौन्दर्यहरू जीवन बाँच्ने प्रयत्नमा समूर्त प्रकट भएका हुन् । करुणा र उत्सर्गले पुनर्योजित मृत्युगीतको साइपाटा औचित्य र उपलब्धिहेतू स्विकारिन्छ पनि ।

गायनका पूर्ण विधानमा आइपुगेर, कुलिन ती विम्बहरू, प्रतीकहरू ब्युँझिरहन्छन्, सबै योगहरूका कथाबीज फुकाउन । कथाले मागेको सत्य गीतका आलोकमा छ । वेदना प्रकाशनमा छ । आलोकहरू, प्रत्येक रहस्यको गर्भमा आश्रित । निष्काम –निष्णात ।

मृत्युलाई जीवनको इनाम स्वीकार गर्नुपर्ने आधारहरू पनि छन् । पात्रले धारण गर्दै आएको भूमिका पूरा गरिसकेका अवस्थामा, सम्बोधन गरिन्छ, उसलाई । गति नियमका सबै प्रयोजनहरूले जो खलास भइसकेका त्यो अवस्था कुनै परिणति हो, रिमार्क्सको ।

मृत्युको मादकतालाई नचिनेर मिथकहरूले फेरि त्यो ‘गाइने गीत’ प्रारम्भ भएको छ, जैविक स्कन्ध निर्भरित । सनातनी गीत मुखरित । यस्तो अमिथक स्थिति, अकाल्पनिक पूरोवाक्, र तेजतापयुक्त आरोह-अवरोहका अमूक वस्तुपात्र र जीवनचेतनाहरूले उत्तरार्द्धलाई मात्र स्मरण गर्दैनन्, पूर्वार्द्ध सँगै छन्, लिएर हिँडेका, हिँडिरहेका । गतिशीलताका लयहरूले, समयलाई हवन गर्दै, उच्चारण गर्दै समकालीनतालाई, सम्बोधन गर्ने परिपाटि गीतको सनातनीय संस्कृति हो ।

गीतले निर्देशित यी सांस्कृतिक पगध्वनिहरूका प्रक्षेपिततातर्फ आमा छिन् साक्षी, अघिदेखि –ती मातृभूमि ।

प्रपौत्रहरूले गरेका सबै ती अकीर्तिमानी–कीर्तिमानी पर्यवेक्षण गर्न चल जीवनका चरीपक्षी, गोचरअगोचर ती, मध्यस्थता स्थापना गर्न आइपुगेका हुन् कि यी प्रकृतिनिधिहरू, ! गम्भीरता यसैमा छ ।

आमाका वक्षनिसृत कल्पित अनुभूतिहरू स्वान्त सुख–सुन्दरता जारी गर्न आइपुगेका छन्, वरिपरि । श्रवणीय अनुभव भएको छ धर्तीको गीत वैभवसरह, मातृभूमिको गीत । भिन्नताबाट हेर्न मिल्दैन । समान छन्, सबै साङ्गीतिकता ।

अधीतिले भिन्न बसेका होइनन् पनि ।

गीत र मातृभूमिका बीच सामञ्जस्यता कायम भएन भने राष्ट्रजीवन परस्पर दुख्छ । कविवर गोपाल पराजुलीको वेदना पनि यो दुखाइप्रति लक्ष्यित छ । जीववैज्ञानिक सारहरू ‘कल्याण र मुक्ति’ मा आधारित छन् । कल्याण पनि चाहिन्छ, जीवनलाई र मुक्ति पनि । कविमा वैराग्य छैन, आस्था र प्रतिबद्धता छ । कविमा कुण्ठा र निस्सङ्गतता छैन, जीवनवोधी गीत र साङ्गीतिकता छ ।

मृत्युपारिको गीत जो कोहीले आफ्नो गायकीमा मिलाउन सक्तैन । कल्पना गर्न सक्तैन कसैले । गायनको भूमिमा यो जति उर्वरा छ, गायकी सामर्थ्यताले ध्वनिव्यञ्जक तुल्याउन सकेको छ कि छैन, कसैले त्यहाँ । प्रयुक्त काव्यिक ऋचाले सप्रसङ्ग तय गरेका छन्, यी वैधव्यहरू । गीत सबै श्रवणातीत हुन्छन् । अनुभव हुँदैनन् । अनुभव गर्न जन्मन्छन् केही कविहरू । ती भेदहरूमा सामेल गोपाल पराजुली, युक्तिले पर्नुभएको छ । वेदपुराण, त्रिपिटक, कुरान, ग्रन्थसाव वा बाइबलहरू शारदेय वेदनाबाट प्रतिपादन भएका शास्त्रगीत हुन् । ती सबे साङ्ख्य सारहरूले मानवतावादका गीत भाकेका छन् । तीभित्र प्रवेश भएर गोपाल पराजुलीले पहिल्याउनुपरेको गीतचाहिँ गोचर अगोचरमा रहेका स्पन्दनसुख विशेष हुन् । त्यसैले मृत्युपारिको गीत धरापमा नपरेको तथ्य किस्तीमा सजाइएको सन्दर्भहरूले जोडिन गएको हो । ‘व्यूहकविता’का लावण्यले सुसज्जित काव्य यो, कुनै घटना, परिस्थिति, सन्दर्भ र विषयीचेतले मात्र निर्माण भएको होइन, । त्यहाँ समग्र विश्वदर्शनका परिदृश्यताहरू छन् । काव्यिक लक्षणाका अभिधाहरूमा वर्वर हिंसा, दुःख, अशान्ति, विनाश, अकल्याण र अकल्पनीय चोटहरूका कथाले ती अयोनिज तुल्याइएका हुन् । प्रतीकीय  विम्बका बादलहरूमा लुटपुटिएका, चाँदीका उष्णघेरा छन्, कतिपय । न  संवाद गर्न मिल्छ, न साक्षात्कारित भएर मेटाउन सकिन्छ, जिज्ञासाको तिर्खा । तिनलाई समूल निराकरण गर्न सकिने उद्योगहरू पनि छन्, यस काव्यकृतिभित्र । यो घाउको पीडा भोग्नुपर्ने हो जुन जुनले, ती कठिनतासित जुझ्न उपचारक स्वयं सम्प्रेषित कृत्यहरू भएका हुन् । यतिले नपुगेर ती वृत्तहरूमा करुणावतार आमाले सिर्जना दिएकी छिन् । प्राण दिएकी छिन् । ममता दिएकी छिन् । कल्याण र उत्सर्ग दिएकी छिन् । ग्रहणशीलता उपयोग गर्ने पहिचानको खोजी छ, कविले सहऱ्याएका अलङ्कार र व्यञ्जनाका उपकरणभित्र ।

काव्य अर्थ्याइका केही सातत्यमा गह्रुङ्गा अक्षरहरूले गीतको गुरुत्वाकर्षण बल्झिएको छ । स्विकार्न सके, उत्तम मानिन्छ, शाक्त यो तान्त्रिकता । भारले नपुगेर शब्दका साहचर्यमा, मृत्युपारि विशेष यौगिक, कुनै योग छ । वारिस्थित समशीतोष्ण जलवायुले निर्मित ।

सबै संवेदनाहरू मिलेर, संवेदनाको हिंसा कसले गऱ्यो भन्ने कथा छ, कथावाचनमा । तिलस्मी परिपञ्चहरू मिलेर, पूरा कथाको ‘सर्जरी’ कसले गऱ्यो भन्ने स्वस्थानीयता छ अपौराणिकीमा ।

देखिएका र वर्णन गरिएका भ्रूणसत्यहरू मात्र गीत होइनन् । मूल्यहरू, अर्थबोधहरू, शनैःशनैः अस्मिताबोधहरू कति अविच्छेद्य छन्, व्यवहारतः जीवनसित, जीवनेतरसित, धर्मदर्शनहरूबाट, राजनीतिशास्त्रबाट, साहित्य–संस्कृति र कलाहरूबाट, सामान्य जीवनचिन्तनहरूबाट स्थापित भइदिने यथार्थ होइनन् ।

‘मृत्यु पारिको गीत, भावगीत पनि हो र विचारगीत पनि । भावको प्रधानता र दर्शनतत्त्वको प्राधान्य स्थितिले सम्प्रेषित यी काव्यांशहरू ‘प्रवाहमय शैली’बाट मुखरित भएका हुन् । तीव्र मनोवेगबाट उत्पन्न यी अनुभूतिहरू अन्तर्बाह्य स्वरूपमा परिवर्तित हुँदै ‘रागात्मक अन्विति’ले झङ्कृत भएका छन् । जहाँ आत्मदर्शन पनि छ र वैश्विक चिन्तन पनि । यो विषयप्रधान मात्र नभई स्वानुभूतिक स्वच्छन्दता निर्धारित छ । यति हुँदाहुँदै पनि अस्तित्व र सङ्कटहरू, सापेक्ष र निरपेक्षहरू, समग्रीय जीवन र निर्जीवनहरू परस्पर उम्दा गतिमा स्थापित छन् । त्यसैले मृत्युको अस्तित्वलाई जीवनबोधित शाश्वतताहरूले सम्बोधन गरेका हुन् । कुनै पदार्थ र वस्तुताका अनुपस्थितिमा अपदार्थ र अवस्तुताहरू पनि घनीभूत रूपमा प्रतिविम्बित हुन्छन् भन्ने प्रामाणिकता जीवन संवेद्य मृत्युपारिका गीतहरूले पुष्टि गरेका छन् । भागवतीय कथास्थाका छरपस्ट ध्वनिहरू छन्, विश्वदर्शन योजित, गीत गुञ्जित । सनातन बाजागाजाहरू छन्, आत्मदर्शन संयोजित, करुणारञ्जित ।

मौनताहरू छन्, लीलामयी ।

अनुत्तरित पहेलीहरू छन् बयानमा । मृत्युले सा रे ग म गर्छ किन, गीतको घोषणासभाले भन्छ निर्क्यौल गर्दै, जारी लय विशिष्ट छ । पुनीत छ ।

गीतका, दोभाषेलाई परिणय ज्ञात छ सबै, सुर सङ्गीतीय केमिस्ट्रीहरू मिलेर । भन्छ अतिलस्मीय परिपञ्चहरू मिलेर । महानिर्वाण पूर्व, महानिर्वोणेत्तरतक ।

महानिर्वाणको परिव्राजक होइन, गीत, तर ।