काठमाडौँ । नेपाली लघुकथाको उन्नयनमा टेवा पुर्‍याउने उद्देश्यले विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको ‘विलोम’ लघुकथा अभ्यासको आठौँ संस्करण सम्पन्न भएको छ। आख्यानकार तथा कवि महेश प्रसाईसँगको लघुकथा केन्द्रित बहसका साथ यसपटकको अभ्यास समापन भएको हो।

विलोम अभ्यासका संस्थापक त्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलले प्रसाईको नरेफाँटस्थित निवासमा छलफल गर्नुभएको थियो । छलफलमा नेपाली लघुकथाको इतिहास, वर्तमान अवस्था, भविष्यका सम्भावनाहरू, लघुकथा लेखनका नवीन प्रवृत्तिहरू, लघुकथामा समेटिने विषयवस्तु, लघुकथाको गुणस्तर लगायतका विविध पक्षहरूमा गहन छलफल भएको थियो । लघुकथा के हो र कस्तो हुनुपर्छ भन्ने विषयमा पनि छलफल भएको आयोजकले जनाएको छ ।

प्रसाईसँगको यो छलफल विलोम अभ्यासको आयोजनाको प्रमुख उद्देश्य अनुरूप नै भएको बताइएको छ। २०७९ साल फागुनदेखि सुरु भएको यस अभ्यासले यसअघि अशेष मल्ल, कणाद महर्षि, ध्रुव मधिकर्मी, भागिरथी श्रेष्ठ, राजव, विधान आचार्य र पुष्कर लोहनी जस्ता लघुकथाकारहरूसँग लघुकथा सम्बन्धी अन्तरक्रिया गरिसकेको छ।

विलोम अभ्यासले नेपाली लघुकथा क्षेत्रमा नयाँ आयाम थप्ने र यसको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको विश्लेषकहरूको मत छ। यस्ता अभ्यासले लेखकहरूलाई आफ्ना अनुभव आदानप्रदान गर्न र नयाँ सिर्जनाका लागि प्रोत्साहन मिल्ने विश्वास गरिएको छ। आगामी दिनमा पनि विलोमले यसैगरी निरन्तर लघुकथा क्षेत्रको विकासमा योगदान पुर्‍याउने आयोजकहरूले प्रतिबद्धता जनाएउनु भएको छ ।