
ममता मृदुल
दश कक्षामा सरिता पढ्दै थिइन् । जागिरे केटो राम्रो परिवार भनेर बिहे गरिदिए । अधिकारीबाट पौडेल भइन् ।
सरिताको नागरिकता बन्यो पहिचान खुलाउने आधार त्यही थियो ।
आज बिहे भएको पच्चिसौँ वर्ष पुग्यो । छोराछोरीले बेलुका केक ल्याए । नजिकका आफन्तलाई बोलाए । राति नौँ बजेसम्म रुद्र आएनन् ।
सबै जना खाना खाएर गए ।
त्यो रात रुद्र आएनन् । भोलिपल्ट बेलुका आए । हिजो एनिभर्सरी थियो कता जानुभएको थियो । सोधेको मेरो मतलब नगर भनेर झगडा गरेको छोराछोरीले हरिरहे ।
सरिता केही नबोली चुपचाप बसिन् ।
तीन वर्ष झगडा गरेर बित्यो । आज छोराछोरीको साथमा अदालतको आँगनमा उभिएकी छिन् । अठ्ठाइस वर्षपहिले आजदेखि त अधिकारी हैनस् पौडेल भइस्
आमाले भन्नुभएको थियो । उनले सम्झिइन् ।
सम्बन्धविच्छेद भयो ।
सरिताले अदालतको आँगनमा उभिएर चारैतिर हेरिन् । मनभित्रको अबिरल बग्ने पीडालाई बेस्सरी दबाउने कोसिस गर्दै आफैँले आफूलाई प्रश्न गरिन् ।
म बद्री अधिकारीकी छोरी, राहुल र रिया पौडेलकी आमा तर आज मेरो पहिचान खै ?
विराटनगर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

