साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

तीन लघुकथा श्रृंखला २६

१. पहिलो लघुकथा

(प्रदेश नं. १ क्षेत्रको पहिलो महिला लघुकथा कृति)

उपहार

उमा सिजापती

पवन हाट बजारमा कपडा बेच्ने गर्थ्यो । प्रायः त्यहाँ गाउँघरका मानिसहरु नै ग्राहक थिए । उसले दिनभरिमा थरीथरीका मान्छेहरुसँग सामना गर्नुपर्ने हुन्थ्यो ।
पसल फिजाउन साथ एक महिला आएर सोधिन्, “पेन्टी छ ? छ भने कति, कति पर्ने छ दाजु ?”

“माल अनुसारको दाम पर्ने त हो नि! बहिनी ।”

यसो हेरिन् र भनिन्,” यो मलाई हुन्छ कि हुँदैन ।”

“खै बहिनी मैले नापिदिन मिलेन त,” ठट्टा गर्दै भन्यो ।

उसले ग्राहक अनुसारको बोली बोल्नुपर्छ भनेर जानी सकेको थियो । फेरि अर्को बूढो आएर सोधे , “आलु राख्ने बोरा छ बाबु ?”

उसले बुझेरै होला हाँस्दै पेन्टी निकालिदियो । अनि किनेर लगे ।

केहीबेरपछि माघको जाडोमा पनि पातलो सुती साडी लपेटेर खाली खुट्टा महिला करिब दुई वर्ष जतिको बालक चेपेर आइन् । र, सोधिन्, “दाजु यत्रोलाई अट्ने लुगा छ ?”
उसले लुगा निकालिदियो । एक जोड सुट छानेर भनिन्, “यस्को दाम कति होला ?”

“तीन सय पचास हो बैनी । लानुहुन्छ भने तीन सयसम्ममा दिउँला ।”

बच्चालाई काखबाट झारेर भुईमा उभ्याइन् । बच्चाको सुरुवाल सिलाउँदा सिलाउँदा कपडा मक्किएर तुरी देखिन्थ्यो । बाहुला छोटो भएकोले पाखुरामा काँडा उम्रिएको थियो ।

उनले साडीको टुप्पोमा भएको गाठो खोलिन् त्यहाँ दुई सय पचास मात्र थियो ।

“म सँग पैसा पुगेन दाजु । पछि आउँला । भएको जति सबै पैसा बोकिन रहेछु । घरमा नै छुटेछ ।”

बच्चालाई जुरुक्क उठाएर कम्मरमा बोकिन् । अगाडि बढ्न खोजे पनि उनका आँखा भने त्यही कपडामा अल्झिएका थिए ।

यो दृश्य आफ्नो नजरमा कैद गरेको पसलेले भन्यो, “लानुहोस् बैनी ।”

हतार गरेर पैसा भुईंमा राख्दै कपडा लगाई दिई । मुखबाट फुत्काई “आहा! मेरो कालुलाई कति सुहायो । दाजु बाँकी पचास रुपैयाँ आउँदो हटियाको दिन ल्याइदिन्छु है !”

पसलेले भावुक बन्दै भन्यो, “पर्दैन बहिनी । यो एउटा माइतीले आफ्नो भान्जालाई दिएको उपहार हो । यही सम्झिनु ल !”

मनमनै आफ्नी श्रीमती सम्झेर भन्यो, “माफ गरिदेऊ, तिमीलाई दिने प्रेम दिवसको उपहार भन्दा एउटा बालकलाई जाडो छल्ने लुगा उपहार दिनु उचित थियो ।”

###
(नेपालको प्रदेश नं. १ साहित्यको क्षेत्रमा अग्रणी प्रदेश हो । कथा, नियात्रा, भाषा, व्याकरण र कविताको क्षेत्रमा यो प्रदेश सधैँ अगाडि छ । यसै प्रदेशमा महिला लेखिकाका रूपमा सर्वप्रथम लघुकथा संग्रह प्रकाशन गर्ने लघुकथाकारमा पर्छिन्, उमा सिजापती । उनीले २०७६ सालमा “परी” लघुकथा प्रकाशित गरेकी हुन् ।

उमा सिजापतीको लघुकथा लेखनमा छुट्टै दम छ । उनी भोगाईहरूलाई लघुकथामा सरल तरिकाबाट सजाउँछिन् । यौनका पक्षहरूलाई थाहा नपाउँदो गरी प्रस्तुत गर्छिन् ।

प्रस्तुत लघुकथा “उपहार” दु:ख र अभावको पृष्ठभूमिमा लेखिएको मन छुने कथा हो । कथाको अन्त्यले पाठकलाई भावुक बनाउँदै मनमा च्वास्स घोच्छ, यही नै कथाकार उमा सिजापतीको सफलता हो ।)

२. सक्रियकालीन लघुकथा

सम्बन्धित पोस्टहरु

भोको मान्छे

नवराज रिजाल

लास रूखमा थियो, त्यसैले हत्याको अड्कल गरियो । पोष्टमार्टमको रिपोर्ट आइसकेको थिएन । प्रहरीको सहयोगमा ‘क’ समूहका सदस्यहरूले कब्जामा लिई सामुदायिक झन्डा ओढाएर गाउँ घुमाए ।

यो कुरा ‘ख’ समूहलाई सैह्य भएन, उसले लास भोलिपल्ट आफ्नो अधिनमा पार्यो र समुदायको सदस्य भएको उद्घोष गर्दै गाउँ परिक्रमा गरायो ।

यसरी समुदायहरू बीच लासको राजनीति भैरहेको थियो । प्रहरी निरुपाय थिए तर अर्को दिन सदरमुकामबाट आएको एक डफ्फा प्रहरीहरूले लास आफ्नो नियन्त्रणमा लिए । पछि पनि मृतक आफ्नो धार्मिक समुदायको सदस्य भएको बताउँदै माग्न आउने समूहहरू आधा दर्जन भए । सबै उसले आफ्नो धर्म ग्रहण गरेको कुरा बताइरहेका थिए ।

प्रहरीले लास कसैलाई दिएन । तथापि प्रमुख धार्मिक समुदायहरू उसलाई आ–आफ्नो समुदायको दह्रो सदस्य भएको जिकिर गरिरहेका थिए ।

चौथो दिन प्रहरीको रोहबरमा परिवारका सदस्यहरूले सद्गत् गरे । यसलाई प्रहरीको ज्यादती भन्दै धर्मगुरुहरूले पनि कटु आलोचना गरे ।

त्यसको पर्सिपल्ट पोष्टमार्टमको रिपोर्ट आयो । रिपोर्टसँगै भएको लामो कागजले सबैको ध्यान आकृष्ट गरायो । त्यहाँ उसले ग्रहण गरेका धार्मिक मतहरूको सङ्ख्या उल्लेख थियो । ती सबैलाई समान दूरीमा राख्दै आफ्नो लास उनीहरूले छुन नपाऊन् भन्ने आशयको पत्र पनि छोडेको थियो ।

”भोको मान्छेले प्रवचन बुझ्दैन, उसलाई खाना चाहिन्छ,” पत्रको अन्त्यमा लेखिएको थियो ।

###
(नेपाली लघुकथाको विकासक्रममा ५० को दशकलाई सक्रियकाल मानिन्छ । यही समयदेखि लघुकथाकार नवराज रिजाल लघुकथामा सक्रिय भएर लाग्नु भएको छ ।

नवराज रिजाल मूलत: साहित्यिक सम्पादक हुन् । उनीले “प्रज्ञापन” हवाई पत्रिका हुँदै “नवप्रज्ञापन” साहित्यिक पत्रिका निरन्तर सम्पादकको भूमिका निर्वाह गरिरहेका छन् । त्यसो त “नवप्रज्ञापन” साहित्यिक पत्रिकाले २०७३ सालमा लघुकथा प्रकाशन पनि गरेको छ । लघुकथाकार नवराज रिजालको दुईवटा लघुकथा संग्रह प्रकाशनमा छन् ।

प्रस्तुत लघुकथा “भोको मान्छे” ले मान्छेको महत्त्व स्वार्थवस मृत्युपर्यन्त पनि रहिरहने कुरालाई समसामयिक पाराबाट उनेको छ । लघुकथाको बिज वाक्यले भोको मान्छेलाई प्रवचनले छुँदैन भन्ने कुरो श्वास्वत वाक्य बोलेको छ ।)

३. मलाई मन परेको लघुकथा

भोज

कात्यायन

“भोज खायौ?”
“खाएँ।”

“के के खायौ?” ।
“नैतिकताको शिर!”

“अनि?”
“इमानदारिताको कलेजो!”

“अनि? अनि?”
“लज्जाको वस्त्र!”

“अघायौ त?”
“अझै भोकै छु!”

“ल हिँड ! भतेर त लाग्दैछ! केहीको इज्जत तिमी लुछ! केही म उधार्नेछु!”

###

(लघुकथामा “कात्यायन” को आफ्नो विशिष्ट पहिचान छ । धन्वन्तरी मिश्रको नामबाट पनि उनी बेलाबेला साहित्यिक सृजना गरिरहन्छन् । उनी थोरै लेख्छन् तर लेखनमा स्वैरकल्पनाको प्रयोग बढो मज्जाले गर्छन् । शब्दहरूलाई लेखनीमा तौलिएर प्रयोग गर्छन् ।

प्रस्तुत लघुकथा “भोज” ले वर्तमान समयको नैतिकता, इमानदारिता, लज्जा र इज्जत पतन हुँदै गइरहेको कुरो दर्साएको छ । लघुकथाले सबेको मन छुनु पर्छ ।)

प्रतिक्रिया
Loading...