बेरोजगारी अवश्यंम्भावी छ। प्रत्येक व्यक्तिको करिअर बेरोजगारी अवस्थाबाट सुरुवात भएको हुन्छ। जीवनको कुनै पनि क्षण बेरोजगार हुने सम्भावना उच्च नै रहन्छ। बेरोजगार हुँदा केही नगरी बस्नु, कुनै सक्रियता नदेखाउनु भनेको उपलब्ध समय, ऊर्जा र अवसर खेर फाल्नु हो। निष्क्रिय बसेर रोजगारीको अवसर मिल्ने होइन। जीवनस्तरमा परिवर्तन आउने त झन् सवाल नै रहँदैन। कुनै पनि बेरोजगार व्यक्तिले बेरोजगारीबाट उन्मुक्त रहन, जीवनस्तर उकास्न के गर्ने? यस्तोमा निम्नानुसारको विधिहरू अवलम्बन गर्न सकिन्छ:
जागिर खोज्ने
लामो समयदेखि बेरोजगार हुनुहुन्छ? कुनै पनि हालतमा जागिर खान चाहनुहुन्छ? अथवा भनौँ कुनै एक काममा आबद्ध हुन चाहनुहुन्छ? यदि त्यसो हो भने सुतेर नबस्नुस्। जागिरको खोजी कार्यमा अग्रसर हुनोस्। घरमै जागिरको प्रस्ताव लिएर कोही आउँदैनन्। तपाईं स्वयंले जागिर खोज्नुपर्ने हुन्छ। जागिर खोज्ने भन्दैमा जथाभावी जागिर खोज्ने होइन। जुन मन लाग्यो त्यही कामका लागि, जुन पायो त्यही संस्थामा निवेदन दर्ता गर्नु बुद्धिमानी होइन। यसको लागि रणनीतिक सोच राख्नुपर्छ। रणनीतिक कदम चाल्न सक्नुपर्छ। यहीबारे छोटो चर्चा गरौँ।
सर्वप्रथम आफ्नो रुचिको क्षेत्र र विशेषज्ञताबारे स्पष्ट रहनोस्। अनि सोहीअनुरुप बायोडाटा (संक्षिप्त विवरण) तयार गर्नोस्। बायोडाटामा तपाईंले अहिलेसम्म के गर्नु भो मात्र होइन, के गर्न सक्नुहुन्छ भन्ने कुराहरू हाइलाइट गर्नोस्। भनाइको मतलब, ती विशेषताहरू प्राथमिकता साथ समावेश गर्नोस्। आवश्यकताअनुसार आवेदन र बायोडाटा लेखनमा विशेषज्ञको सल्लाह, सुझाव तथा सहयोग लिनुहोस्। त्यसपछि खाली पद पूर्तिका लागि आव्हान गर्ने संस्थामा आवेदनसहित बायोडाटा पठाउनुहोस्। कतिपय यस क्रममा दिग्भ्रमित हुन सक्नुहुन्छ। संस्थाले खुलाएको कामको विवरणहरु र आफ्नो योग्यता पूर्ण मिलान नहुँदा तपाईं आफूलाई अनुपयुक्त उम्मेदवार ठान्नुहुन्छ। आवेदन पठाउने वा नपठाउने भन्नेमा निर्णय गर्न सक्नुहुन्न। यस्तोमा जागिरको लागि उम्मेदवारी दिने कुनै पनि व्यक्ति पूर्ण हुन सक्दैनन् भन्ने मानसिकता राख्नोस्। यदि तपाईंको योग्यता र कामको विवरणहरुबीच कम्तीमा ७५ प्रतिशत मिलान हुन्छ भने करिअर निर्माणमा सहयोग गर्छ भने आवेदन पठाउनुहोस्।
त्यसैगरी जागिर खोज्ने क्रममा चाल्नु पर्ने अर्को रणनीतिक कदम हो, सम्बन्धको प्रयोग। अधिकांश संस्थामा सम्बन्धको आधारमा जागिर दिने गरिन्छ। यसको अर्थ यो होइन कि ती संस्थाहरुले सम्बन्ध मात्र हेर्छन् र क्षमता नभएकालाई पनि नियुक्ति दिन्छन्। त्यसैले यदि तपाईं क्षमतावान् हुनुहुन्छ तर बेरोजगार हुनुहुन्छ भने साथीभाइलाई जागिरको लागि च्यानल मिलाउन जोड गर्नोस्। परिवार र आफन्तसँग भनसुनको सुविधा उपलब्ध गराउन अनुरोध गर्नोस्। यसो गर्नु भो भने तपाईं लामो समय बेरोजगार बस्नु पर्दैन।
त्यसैगरी अर्को रणनीतिक कदम हो, निरन्तर प्रयास। विभिन्न संस्थाहरुमा निरन्तर आवेदन पठाउनुहोस्। ती संस्थाहरुबाट तत्काल प्रतिक्रिया नआए पनि हरेश नखानुहोस्। तपाईंलाई निकट भविष्यमा अन्तरवार्ताको लागि बोलाउने सम्भावना रहन्छ नै। सो अन्तरवार्तापश्चात तपाईंलाई जागिरको प्रस्ताव आए राम्रो। तर प्रस्ताव नआए पनि तपाईंको केही बिग्रिएको हुँदैन। कमसेकम तपाईंलाई अन्तरवार्ताको अनुभव त प्राप्त हुन्छ ! यही अनुभव तपाईं अर्को नयाँ अन्तरवार्तामा प्रयोग गरेर आफूले चाहेको जागिर सुनिश्चित गर्न सक्नुहुन्छ।
व्यक्तिगत विकास गर्ने
जागिर खानु भनेको के? निश्चित पारिश्रमिक लिएर अरुको काम गरिदिनु न हो ! जागिर खाएर अझ भनौँ अरुको काम गरेर आफूलाई विकास गर्ने समय नै बाँकी रहँदैन। बेरोजगार हुनु भनेको चाहिँ के? आफूमा क्षमता रहेनछ। आफूलाई विकास गर्नुपर्छ भन्ने संकेत न हो ! बेरोजगार हुँदा मात्र सो काम गर्न पाइन्छ। आफूलाई विकास गर्ने काम। त्यसैले बेरोजगार हुनु समस्या होइन, आफूलाई पूर्ण रुपमा विकास गर्ने समयावधि हो। यो समयावधि सदुपयोग गर्न तपाईं कत्तिको तयार हुनुहुन्छ? यसैले तपाईंको भविष्य निर्धारण गर्छ। यदि तपाईं बेरोजगार हुनुहुन्छ भने आफूलाई विकास गर्ने लक्ष्य तय गर्नोस्। यसको लागि केही कार्यहरु गर्न सकिन्छ:
पहिलो कार्य, पुस्तक अध्ययन। व्यक्तित्व विकास, मनोविज्ञान, दर्शनशास्त्र, ज्ञान मीमांसा, अध्यात्म लगायतका पुस्तकहरूको गहन अध्ययन गर्नोस्। ती पुस्तकहरु मार्फत प्राप्त ज्ञान र अभ्यास आफ्नो जीवनमा लागू गर्नोस्। तर त्यसलाई व्यक्तिगत आदर्शको रुपमा विकास गर्ने, अभिमान बढाउने नगर्नोस्। यतिमात्र होइन, पुस्तकहरु तुलना गर्ने गल्ती पनि नगर्नोस्।
दोस्रो कार्य, गुणवत्ता तालिमहरुमा सहभागी हुने। विशेषज्ञताद्वारा प्रदान गरिने विविध किसिमका तालिमहरुमा सहभागी हुनोस्। उदाहरणार्थ व्याक्तित्व विकास, नेतृत्वकला, संवाद कौशल, समूह व्यवस्थापन आदि। एउटा तालिम मार्फत कयौँ पुस्तकबाट पाइने ज्ञान एकैपटक प्राप्त हुन्छ।
त्यसैले पुस्तक अध्ययन र तालिमको लागि अत्याधिक समय, उर्जा र पैसा लगानी गर्नोस्। वर्षभरिमा ५० वटा पुस्तक पढ्ने र १२ वटा तालिममा सहभागी हुन प्रतिबद्ध हुनोस्। तपाईं पाँच वर्ष बेरोजगार भएपनि निरन्तर पुस्तक अध्ययन र तालिम लिने गर्नुहुन्छ भने तपाईंको विकास जागिरेको भन्दा कयौँ गुणा हुन्छ। तपाईं एक असल छोरा वा छोरी, प्रेमी वा प्रेमिका, श्रीमान् वा श्रीमती, आमा वा बुवा बन्न सक्नुहुन्छ। अध्ययन र तालिम कारण समग्रमा तपाईं एक असल व्यक्ति बन्न सक्नुहुन्छ। यी सम्पूर्ण कुराहरूको लागि जागिर खाने व्यक्ति सक्षम हुन सक्दैनन्। त्यसैले तपाईं र जागिरेबीच कुनै तुलना हुनै सक्दैन। व्यक्तिगतरूपमा पूर्ण विकसित तपाईंलाई नै बढी विश्वास गरिन्छ र महत्वपूर्ण जिम्मेवारी दिइन्छ। फलस्वरुप तपाईं कहिल्यै बेरोजगार बस्नु पर्दैन।
सिर्जनशील कार्य गर्ने
सिर्जनशील कार्य वा रचनात्मक कार्य खाली समयमा गरिन्छ। खाली समय रोजगारीमा होइन बेरोजगारीमा मात्र बढी उपलब्ध हुन्छ। रोजगारीमा रहँदा तोकिएको समय तालिका अनुसार चल्नुपर्ने हुन्छ। नियमित कार्यमा व्यस्त भइन्छ। आफ्नो जुनून पत्ता लगाउने र रचनात्मक सोच राख्ने फुर्सद हुँदैन। इच्छाशक्ति पनि हुँदैन। यसको ठीक विपरीत बेरोजगारीमा भने आफ्नो जुनून पत्ता लगाउने देखि रचनात्मक सोच विकास गर्न सकिन्छ। स्वतन्त्रता साथ चाहेको चीज सिर्जना गर्न सकिन्छ। त्यसकारण रचनात्मक व्यक्तिका लागि बेरोजगारी समस्या होइन, आफूलाई चिन्ने र थप नयाँ सिर्जना गर्ने ठूलो अवसर हो। केही उदाहरणहरूबारे चर्चा गरौँ:
उदाहरण एक, चित्रकला। मानौँ तपाईं बेरोजगार हुनुहुन्छ। मानौँ तपाईंले गहन मन्थन गरेपछि आफ्नो जुनून अर्थात् आफूलाई मनपर्ने काम चित्रकला रहेको पत्ता लगाउनु भयो। मानौँ तपाईंले खाली समयमा चित्रकला सिक्नु भयो। र, नयाँ नयाँ चित्रकला पनि बनाउँदै जानु भयो। यसले तपाईंको विशेषज्ञता विकास हुँदै जान्छ। तपाईंको सिर्जनाले उचित मूल्य पाउन समय लाग्दैन। जसले गर्दा तपाईं आफ्नो जुनूनलाई (चित्र बनाउने काम) पेसामा परिणत गर्न सक्नुहुन्छ। एउटा सामान्य जागिरेले भन्दा धेरै नाम, दाम र इज्जत कमाउन सक्नुहुन्छ।
उदाहरण दुई, भिडियो बनाउने कार्य। मानौँ तपाईंले आफ्नो जुनून मनमा उत्पन्न विचारलाई भिडियो बनाएर व्यक्त गर्ने रहेको पाउनु भयो। मानौँ तपाईंले भिडियो बनाउने र संपादन गर्ने कौशल पनि सिक्नु भयो। मानौँ तपाईंले नियमित रुपमा युट्युबमा नयाँ भिडियो अपलोड गर्नु भयो। यस्तोमा तपाईंले सिर्जना गरेको कुनै एक भिडियो भाइरल हुन सक्छ, चर्चाको शिखरमा पुग्न सक्छ। यसले तपाईंलाई असंख्य अवसरहरूको ढोका खोल्ने काम गर्छ। जसकारण तपाईं बेरोजगार बस्नु पर्दैन।
लिङ्क बृहत् बनाउने
सानो घेराभित्र बसेर रोजगारीको अवसर प्राप्त हुँदैन। घेराभन्दा बाहिर जान नसक्नेहरु सधैँ अवसर बिमुख हुन्छन्। बेकामे हुन पुग्छन्। रोजगारीको लागि लिङ्क, संचार बृहत् बनाउनै पर्छ। भनाइको तात्पर्य, नयाँ नयाँ व्यक्ति र संघ संस्थासँग लिङ्क बढाउने, संचार गर्ने वा सम्बन्ध जोड्ने कोसिस गर्नै पर्छ। अनिमात्र रोजगारीको सम्भाव्यता बढाउन सकिन्छ। भन्न त अधिकांश संस्थाहरुद्वारा खुलाइएका आवेदनमा सिधा संपर्क नराख्न भनिन्छ। सम्बन्ध वा लिङ्क प्रयोग गरे स्वतः उम्मेदवारी रद्द गरिने भनिन्छ। यसमा शतप्रतिशत सत्यता छैन। प्रायः ठाउँमा अन्तरवार्ता सामना गर्नै पनि सिधा संपर्क र लिङ्कले ठूलो भूमिका खेल्छ। यदि तपाईं अन्तरवार्ता नै सामना गर्ने चरणमा पुग्न सक्नुहुन्न भने कसरी नयाँ संस्थामा कार्यरत हुन सक्नुहुन्छ? त्यसैले तपाईं आवद्ध हुन चाहेको संस्था कुन हो, त्यो निर्धारण गर्नोस्। अनि त्यस संस्थामा तपाईंलाई परिचय गराउन सक्ने व्यक्तिसँग संवाद गर्नोस्। तपाईंमा संस्थाले खोजेको क्षमता, कौशल र मनोवृत्ति छन् भने तपाईंको नियुक्ति नहुने भन्ने हुँदैन।
त्यसैगरी लिङ्क बृहत् बनाउने क्रममा विभिन्न सभा र सम्मेलनमा सहभागी हुनोस्। त्यहाँ उपस्थित विशेषज्ञ, व्यावसायी तथा उद्यमीहरुसँग अन्तरक्रिया गर्नोस्। एक अर्थमा भन्नुपर्दा, आफ्नो प्रचार गर्नोस्। यदि तपाईं आफ्नो बारेमा केही भन्नुहुन्न भने उनीहरुलाई कसरी तपाईंबारे थाहा हुन्छ? यसर्थ आफ्ना सम्पूर्ण कुराहरू राख्नोस्। आफू नयाँ अवसर र जिम्मेवारीको खोजीमा रहेको कुरा खुला रुपमा बताउनुस्। तीनै व्यक्तिहरु निकट भविष्यमा तपाईंको रोजगारदाता हुन सक्छन्। सहयात्री बन्न सक्छन्।
स्वरोजगार बन्ने
कुनै एक संस्थाको कर्मचारी हुनैपर्छ नत्र जीवन चल्दैन भन्ने साँघुरो सोच आज होइन अहिल्यैदेखि त्याग्ने प्रण गर्नोस्। यसैमा तपाईंको भलाइ हुन्छ। सबैले जागिर खानै पर्छ भन्ने छैन। तपाईं स्वरोजगार पनि त बन्न सक्नुहुन्छ। यो हैसियतमा पुग्न तपाईंमा विशेषज्ञता, साहस र इच्छाशक्ति हुनु अत्यावश्यक छ र साथसाथै केही कार्यहरु गर्न सक्नुपर्छ:
एक, स्वयं रोजगारदाता बन्ने। यदि तपाईं एउटा जागिर खान सक्नुहुन्न भने सय जनालाई रोजगार दिलाउने बन्नुस्। यसको अर्थ हो, उद्यमी बन्नुस्। व्यावसायी बन्नुस्। आफूलाई उपयुक्त लाग्ने, समय र परिस्थिति हेरेर कुनै एक नयाँ विजनेस आइडियामा काम गर्नोस्। नयाँ संस्था दर्ता गर्नोस्। कार्यलाई तिव्रता दिनुस्। केही वर्ष गाह्रो होला तर समय सधैँ प्रतिकूल रहँदैन। सुरुमा टिक्ने कोसिस गर्नोस् पछि अवस्य बिक्नु हुन्छ। केही वर्षपछि संस्था सञ्चालनमा तपाईं अनुभवी हुँदै जानुहुन्छ। तपाईंको विशेषज्ञता थप विकास हुँदै जान्छ। अन्ततः तपाईं स्वरोजगार बन्न सफल हुनुहुन्छ।
दुई, फ्रिल्यानसिङ (स्वतन्त्र रुपमा काम गर्ने) गर्ने। जस्तै तपाईं विभिन्न पत्रपत्रिकामा लेख रचना छपाउन सक्नुहुन्छ। तपाईंलाई उपयुक्त पारिश्रमिक दिइन्छ। तपाईंले जागिरको अभाव कत्तिपनि महसुस गर्नु पर्दैन। पत्रपत्रिकामा लेखेर उपयुक्त पारिश्रमिक नआएपनि तपाईंलाई घाटा भने हुँदैन। तपाईंको प्रोफाइल बनेको हुन्छ। त्यही प्रोफाइलको सहायताले तपाईंलाई अर्को आकर्षक अवसर प्राप्त हुन्छ। त्यसैगरी स्वतन्त्र रुपमा काम गर्ने क्रममा तपाईं आफूलाई प्रेरक वक्ता एवं व्यक्तित्व विकास विशेषज्ञका रुपमा अगाडि बढाउन सक्नुहुन्छ। जुनसुकै संस्थामा एक प्रखर एवं प्रेरक वक्ता, सहजकर्ताको आवश्यकता उच्च रहेको छ र सधैँ रहन्छ। त्यसैले संस्थाको माग र आवश्यकता अनुसार व्यक्तित्व विकास सम्बन्धी तालिमहरु सञ्चालन गरिदिनुस्। हरेक स्थापित संस्था गुणवत्ता तालिमको लागि आकर्षक पारिश्रमिक तिर्न तयार छन्। यस्तोमा तालिमहरु नियमित सञ्चालन गर्नोस्। प्रभावकारीता र गुणस्तरीयतामा सम्झौता नगर्नोस्। परिणामस्वरूप तपाईं बेरोजगार भएर भौँतारिने अवस्था कहिल्यै सिर्जना हुँदैन।
(लेखक प्रेरक वक्ता, व्यक्तित्व विकास विशेषज्ञ एवं युट्युब कन्टेन्ट क्रिएटर हुन्। उनका विभिन्न म्यागेजिन तथा पत्रिकामा आलेख प्रकाशित छन्।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।