
माघी आँगनमै आइसक्यो । मादलको ताल गुञ्जिन थालिसकेको छ । तर एक थारू गाउँका बरघर (अगुवा) एकदमै टेनशनमा छन् । किनकी माघीमा खानको लागि पालिएको उनको सुँगुर हराएको छ । मंसिर महिना नसिद्धिदैँ किनेका थिए सुंगुर । पुसभरी धेरै खान्की पाए त सुँगुर कुन्टलभन्दा पनि बढी हुने थियो भन्ने उनको अनुमान थियो । त्यसो त बरघर आफै पनि सुँगुर पाल्ने मान्छे हुन् । तर खै यसपाली कस्तो रोग आएको थियो, खोरका सबै सुँगुर भटाभट मरेका थिए । त्यसैले, माघीको लागि किन्नु परेको थियो उनलाई सुंगुर ।
बरघरले सुँगुर राप्ती नदी पारीको गाउँबाट किनेर ल्याएका थिए । देख्ने बित्तिकै एक गाउँलेको मुखबाट अनायास फुस्किएको थियो– ओहो यसको
मासु त एकदमै स्वादिलो होला । यसपाली बरघरको घरमा माघी राम्ररी मनाउन पाइने भो, मासु टन्न खान पाइने भो ।
गाउँको चौकीदारले त्यो गाउँलेलाई भन्यो– अरे भख्भेल्वा, बरघरले माघीमा मासु नखुवाए कसले खुवाउँछ त ? कि तैँले खुवाउँछस् ?
भख्भेलवा उर्फ गंगारामले भन्यो– यार बडो मुश्किलले एक किलो मासु ल्याउँछु । त्यो त बच्चाहरूले पोलपाल पारी एकैछिनमा भ्याइहाल्छन् । हाम्रो जस्तो मान्छेले कहाँ गाउँभरिको मान्छेलाई खुवाउन सक्छौ र ?
चौकीदारले थप सूचना चुहायो– एउटा चोक्टो नि बैच्दैनन् । पूरा गाउँ भरिको मान्छेलाई पखाला लगाउने गरी खुवाउँदै छन् रे !

डा. कृष्णराज सर्वहारी
त्यही बीचमा घरको भित्रबाट लठ्ठी ट्याक ट्याक पार्दै बरघर देखा परे । चौकीदार र गंगाराम दुवैले अदबका साथ झुकेर राम राम (नमस्कार) भने ।
‘के छ रे गंगु ? आजकाल त तेरो नाक नक्शा यहाँ देखिनै छाड्यो त ?– बरघरले सोधे । अनि खाएको आधा चुरोट गंगुलाई थमाइदिए । गंगु कपास लागेको चुरोट पाएर मख्ख प¥यो । भन्यो– आउँदै गर्छु, म त यता । तपाई ब्यस्त मान्छे भेटै हुँदैन । त्यही बीचमा बरघरकी श्रीमति महटिन्या सुँगरलाई खानेकुरा दिन बाहिर निस्किइन् । गंगुलाई देखेर भनिन्– लौ त गंगु यो मुढा चिरिदेऊ ।
गंगु क्यै नभनी मुढा चिर्न लाग्यो । मुढोमा बन्चरो चलाउँदै मनमनै भन्यो– ओहो यो मुला जुठो चुरोट एकदमै महंगो पर्न गयो । बरघरको आँगनमा त उभिनै हुँदैन । केही न केही काम अह्राइहाल्छन् भन्या ।
एकछिनमा बरघरकी श्रीमती आफै सुँगुरजस्तो कुद्दै स्वाँ स्वाँ फ्वाँ फ्वाँ गर्दै आइन् । र, एकै साँसमा भनिन्– हेर्नु न, खोरमा त सुँगुर नै छैन, कहाँ हराएछ भन्या ।
बरघर पनि उत्ति नै खेर बेतोडले खोरमा पुगे । साँच्चै खोर सुनसान थियो । चौकीदारलाई अह्राए– ए जा त, सारा सिमाना छान मार । कतै अरुको बाली पो खाँदैछ कि ?
करिब २ घण्टा सबैतिर खोजखोज गरेपछि चौकीदार आयो र सुनायो– कहीँ पाइएन हजुर तपाईको सुँगुर । त्यही बीचमा एउटा मान्छे रिपोर्ट गर्न आयो– हजुर मेरो सबै काउली कुन चाहिँको पशुले खाइदेको छ । पत्ता लगाउनु पर्यो हजुर ।
बरघर गर्जे– चुप लाग् पाजी । यहाँ आफ्नो सुँगुर हराएर दिमाग तातेको छ । तेरो चाहीँ जाबो बारीको काउलीको चिन्ता ।
दुई दिनसम्म पनि सुँगुरको अत्तो पत्तो लागेन । बरघरले तेस्रो दिन बैठक बोलाए । गाउँका कसैले पनि सुँगुर नदेखेको बताए । बरघरको भान्साबाट तामाको गाग्री ल्याइयो । आँगनमा तुलसीको मठनिर राखियो । सबै गाउँलेलाई तुलसी, तामा छुन लगाइयो ।
गाउँका दुईजना गनगन गर्दै थिए– यो साला बरघरले बिहान बिहानै तुलसी, तामा छुन लगायो । मेरो सारा काउली त्यसैको हराएको सुँगुरले त खायो होला नि । त्यसको सुँगुर फेला पारें भने त सिंगै नखाइकन छोड्दिन ।
अर्को मान्छेले भन्यो– चुप लाग् साले । भित्ताको पनि कान हुन्छ । बरघरले यस्तो कुरा थाहा पायो भने उठीबास लगाइदिन्छ । २०÷२० हजार खर्च गरेर सुँगुर ल्याएको छ रे । हाम्रो गोजीमा २० रुपियाँ पनि हुँदैन । चिन्ता त हुने नै भयो नि बिचरालाई ।
चिन्तामा परेको बरघरलाई एक बिहान चौकीदारले सुझाव दियो– हजुर, सुँगुर हराएको सूचना पत्रिकामा दिने हो कि ? सुँगुर आसपासको गाउँमा नभइ, टाढै अर्को गाउँमा पुगेको हुन सक्छ ।
बरघरकी श्रीमतीले भनिन्– किनेर ल्याउँदा गाउँको सिमानामा पूजा गर्नु पर्ने । त्यै पूजा नगरेर त सुँगुर हरायो ।
यसरी सुँगुर हराएकोमा महटिन्या झन परेशान थिइन् । बरघरले आफ्नी श्रीमतीको कुरा सुन्नुभन्दा चौकीदारको कुरालाई ध्यान दियो । ऊसले तुरुन्त स्थानीय पत्रिकामा विज्ञापन छपाउने सोँच बनायो । तर पत्रिकामा छपाउनलाई त सुँगुरको फोटो नै छैन । आजकाल त घरिभरिको सबैसँग मोबाइलमा क्यामेरा छ, किन कसैले सुँगुरको फोटो खिचेन ? बरघरले आफ्नो घरको मान्छेहरूप्रति रिस पोखे ।
विज्ञापनको नमूना बनाइयो । कालो धराने जातको एक कुण्टलभन्दा बढी भएको सँुगुर, घाँटीमा रातो फित्ता बाँधिएको, फलानो गाउँको बरघरको ठूलो सुँगुर एक हप्तादेखि हराएको छ । फेला पार्ने महानुभावले सम्पर्क गर्नु होला, उचित पुरस्कार दिइनेछ ।
पत्रिकामा विज्ञापन छापिएको भोलिपल्ट अर्को पत्रिकाको पत्रकार आएर भन्न थाल्यो– हजुर बरघरजी, तपाई पनि कस्तो मान्छे भन्या, त्यो साप्ताहिक पत्रिकामा विज्ञापन दिनुभयो । हाम्रो दैनिक पत्रिकामा विज्ञापन दिनु न । तब न मान्छेहरूको दिनहुँ ध्यानाकर्षण हुन्छ ।
बरघरले त्यो पत्रिकामा पनि विज्ञापन छाप्ने सहमति जनाए । तेस्रो दिन एउटा एफएमवाला आयो– हजुर बरघरजी, अहिलेको जमानामा कसले पो पत्रिकामा नजर घुमाउँछ र । सबैको हातमा मोबाइल, मोबाइलभित्र रेडियो छ । एफएममा विज्ञापन दिनु न । तब न सुँगुर हराएको मानिसले खबर पाउँछन् । बरघरबाट एफएमवालाले पनि विज्ञापन लग्यो । चौथो दिन अर्को एफएमवाला आयो र भन्यो तपाई पनि बरघरजी । त्यो एफएम देउखुरी उपत्यकाबाट टाढा सुनिँदैन । नामै ट रेडियो देउखुरी छ । हाम्रो हाइवे एफएम सारा दाङ देउखुरी सुनिन्छ । के थाहा तपाईँको सुँगुर देउखुरी उपत्यका काटेर पहाड चढेर दाङ उपत्यका पुगिसक्यो कि !
यसरी अर्को एफएमबाट विज्ञापन घन्किन थाल्यो । एउटा सँुगुर के हराएको थियो । बरघरको छोरी पोइल गए बराबरको चर्चा हुन थाल्यो । अरु गाउँका चिनेजानेका मान्छे बरघरको घरमा आएर भन्न थाले– हजुर तपाईंको सुँगुर हराएको सुनेर एकदमै चिन्ता लाग्यो ।
बरघर त्यस्तो चिन्ता व्यक्त गर्न आउने व्यक्तिलाई खाजा खुवाई, मान मनितोका साथ पठाउँथे । भालेभन्दा मसलाको दाम बढी भनेझैँ सुँगुर खरिद गर्दा जति रुपियाँ बरघरले खर्च गरेका थिए । शायद त्यो भन्दा बढी रेडियो, पत्रिकामा विज्ञापन, सुँगुर हराएकोमा चिन्ता व्यक्त गर्ने मानिसको स्वागत, सत्कारमा खर्च गरिसकेका थिए ।
एकदिन गजब भयो । हराएको सुँगुर बरघरको आँगनमा जस्ताको तस्तै देखापर्यो । मानौँ भन्दैछ– मालिक्नी म त आएँ है ।
सुँगुर पहिलाको भन्दा मोटो पनि देखिन्थ्यो । बरघरकी श्रीमतीले खाना देखाउँदै खोरतिर लगिन् । सुँगुर ज्ञानीजस्तै खोरमा छि¥यो । यसपाली खोरको ढोकामा ठूलो भोटे ताल्चा पनि लगाइयो ।
खास के भाको थियो भने बरघरको ठूलो ठाँठी (दुईतल्ले ठूलो बैठक घर) सेवा नपाएर ढलेको थियो । जुन गाउँलेहरूको शौच गर्ने ठाउँ बन्न पुगेको थियो । सुँगुर रातभरि त्यहीँ हुन्थ्यो र एकाबिहानै बाहिरिन्थ्यो । गाउँलेले शौच गरेर जान्थे, सुँगुर बाहिरबाट आउँथ्यो र गुहु खाएर दिनभर आराम गर्थ्यो । रातोदिन खोरमा भुस मात्रै खानुभन्दा बरु यही गुहु खाएर बस्नु सँुगरलाई प्यारो थियो । एकदिन एउटा मान्छेले सँुगुर नदेखेको होइन तर फेरि शौच गर्ने ठाउँ बिग्रिन्छ भनेर चुप लाग्यो । यता सुरुमा सुँगुर किनेर ल्याउँदा नगरेको पूजा पछि पूजा गरेर सँुगुर भेटाइयो भनेर बरघरकी श्रीमती एकदमै दंग थिइन् ।
बरघरजी सुँगुर फेरि पनि हराउन नपाओस् भनेर माघी आउनुभन्दा पहिले नै काट्ने विचार गरे । बरघरकी श्रीमती चाहिँ त्यो निर्णयले खुसी थिइनन् । भनिन्– शहरबाट क्याम्पस पढ्ने केटाकेटी आए के खान्छन् नि ? बरघरले भने– तँ चिन्ता नगर । त्यसै पनि आजकालका सहरमा बस्ने केटाकेटी ब्रोइलर हुन् । उनीहरूलाई ब्रोइलर मन पर्छ । त्यसको व्यवस्था गरिदिउँला ।
महटिन्याले भनिन्– तर माघीभन्दा पहिले नै सुँगुर मारेर….।
महटिन्याको कुरा पुरा नहुँदै बरघरले मुस्कानका साथ भने– तँ कुरै बुझदैनेस् जोख्नीकी आमा । माघीभन्दा पहिला नै गाउँलेहरूलाई सँुगुर खुवाएँ भने मलाई नै बरघर चुन्ने छन्, अनि यी सोझा गाउँलेहरूलाई जति पनि कामको लागि बेगारी लिन पाइन्छ ।
बरघरको श्रीमती पनि खिसिक्क हाँस्दै भनिन्– आखिर श्रीमान् कसको ?
यसरी बरघरले माघीभन्दा पहिला नै सुँगुर र जाँडरक्सीको भोज खुवाए । बरघरको सँुगुरले ज–जसको बिगार गरेको थियो, उसलाई थपी थपी मासु खुवाइयो । तिनीहरू पनि जरीबाना असुल उपर भयो भनेर खुसी थिए । गंगुले दाँत कोट्याउँदै भन्यो– यसरी माघीभन्दा पहिला नै भोज खुवाउने चलन कुन चाहिँ बरघरले चलाएका थिए ? आउने वर्ष पनि यिनैलाई गाउँको बरघर चुन्नु पर्छ ।
(थारू भाषाबाट अनुवाद कथाकार स्वयम् )



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 








