वीरगञ्ज। थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि जोड दिँदै दुई दिने १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको समापनसँगै सातबुँदे घोषणापत्र समेत जारी गरिएको छ।
थारू लेखक संघ नेपाल तथा थारू अतिथि सेवा सदन समितिको आयोजनामा पर्साको पटेर्वा सुगौली गाउँपालिका–२, बेलवामा सम्मेलन सम्पन्न भएको हो।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले सबै भाषा र साहित्यको संरक्षण तथा संवर्द्धन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। सो अवसरमा उहाँले प्रज्ञा प्रतिष्ठानले विभिन्न भाषाका पत्रिका प्रकाशन गर्न थालेको जानकारी पनि दिनुभयो।
थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले थरुहटका पालिकाहरूमा थारू जनप्रतिनिधि भए पनि थारू भाषाको पठन–पाठन प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो। थारू बालबालिकाका लागि पठनीय सामग्रीको अभाव औँल्याउँदै उहाँले स्थानीय तहले पाठ्यक्रम निर्माण गरी सामग्री उत्पादन गर्नुपर्ने र लेखकहरूले बालसाहित्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा थारू लेखक संघद्वारा स्थापित ६० हजार रुपैयाँ राशिको थारू साहित्य पुरस्कार बाराका महाकवि हृदयनारायण चौधरीलाई प्रदान गरिएको थियो भने ३० हजार रुपैयाँ राशिको थारू महिला प्रतिभा पुरस्कार कैलालीकी गायिका समीक्षा चौधरीलाई प्रदान गरिएको थियो।
त्यस्तै, १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलनका अवसरमा आयोजित कविता प्रतियोगितामा सत्यनारायण दहित (कैलाली) प्रथम, भिमेश चौधरी (दाङ–देउखुरी) द्वितीय र प्रकृति पूजा (कञ्चनपुर) तृतीय हुनुभएकाे थियाे । पुरस्कार प्रमुख अतिथि विमल निभाले प्रदान गर्नुभएको थियो। साथै, यसै वर्ष दिल्ली विश्वविद्यालयबाट पीएचडी पूरा गर्नुभएकाे बाराकाे निरज चौधरीलाई सम्मान गरिएको थियो।
सम्मेलनमा विभिन्न साहित्यिक कृतिहरूको संयुक्त विमोचन पनि गरिएको थियो। विमोचित कृतिहरूमा मधुसुदन चौधरीको ‘तितुली’ (थारू–नेपाली बालकविता सङ्ग्रह), चन्द्रमणि महतोको ‘घुघें मामा घुघें’ (थारू बालगीत सङ्ग्रह), हृदयनारायण चौधरीका ‘इतिहाँसो मिथेयास भेइसई मोहन प्रसाद थारू’, ‘सिक्छा सतक’ (कविता सङ्ग्रह), ‘लोर्हल सिरोहल खिस्सा परतोख’ (कथासङ्ग्रह), रीता चौधरी थारूको ‘मत बैठा चुप’ (कविता सङ्ग्रह) तथा मनिस, रोहन र प्रितम चौधरी थारूको ‘तराईमा पाइने १०१ जडिबुटीहरू’ रहेका छन्।
उद्घाटन कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरी, थारू कल्याणकारिणी सभाका बारा सभापति रामप्रसाद चौधरी, पर्सा सभापति भागवत चौधरी, रौतहट सभापति जगन्नाथ चौधरीलगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उद्घाटन सत्र थारू अतिथि सेवा सदन समितिका अध्यक्ष रामचन्द्र दहितको सभापतित्वमा सम्पन्न भएको थियो।
सम्मेलनमा विभिन्न विषयमा छ वटा प्यानल छलफलसमेत गरिएको थियो। थारू भाषा साहित्यको अवस्था, साहित्य र पुरस्कारको महत्व, थारू बालसाहित्य, शिक्षण पेशा र सिर्जनात्मक लेखन, नयाँ पुस्ता र थारू समाज लगायत विषयमा बारा, पर्सा, रौतहटका स्रष्टाहरूले धारणा राख्नुुभएकाे थियाे ।
यसै क्रममा ‘थरुहटके बौवा और बहुरिया’ उपन्यासलाई नेपाल प्रज्ञा प्रतिष्ठानले भोजपुरी भाषाको कृति भनेर प्रकाशित गरेको विषयमा पुनर्विचार गर्नुपर्नेमा जोड दिइएको थियो। थारू र भोजपुरी भाषाबीचको अन्तर्यबारे भएको बहसमा उक्त कृतिलाई थारू भाषाकै कृति भनेर सच्याउनुपर्ने माग उठाइएको थियो।
सम्मेलनमा कविता वाचन तथा थारू गीतमा नृत्य प्रस्तुत गरिएको थियो। आगामी २०८३ फागुनमा ११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनमा आयोजना गरिने जानकारी अध्यक्ष डा. सर्वहारीले दिनुभयो। थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि बजेट विनियोजन गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई दबाब दिने लगायतका विषय समेटिएको सातबुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिएको हो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 








