कीर्तिपुर । आख्यानकार गणेश वर्तमानको थारु भाषाको कथासंग्रह ‘लौटल मनिया’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरेण्टमा ठुम्रार साहित्यिक बखेरीको १०३औं भाग अन्तर्गत आयोजित उक्त कार्यक्रममा साहित्यकारहरूले पुस्तकको विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

साहित्यकार डा. कृष्णराज सर्वहारीले आख्यानकार वर्तमानका कथाहरूको लेखनी आत्मपरक शैलीमा एकै धर्रामा रहेको उल्लेख गर्दै लेखनशैलीमा विविधता ल्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले कथाको दृश्य र वातावरण बर्दिया, ठाकुरद्वारा, गोब्रैला गाउँको वर्णनमा सीमित रहेको औंल्याउँदै यसको दायरा फराकिलो बनाउनुपर्ने धारणा राख्नुभयो । यद्यपि, उहाँले कथासंग्रहमा बाबुछोराको कथामार्फत द्वन्द्वकाल र थारु समुदायको अन्धविश्वासको चिरफार गर्न सफल भएको पनि बताउनुभयो ।

आख्यानकार मानबहादुर पन्नाले थारु कृतिको समालोचना हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै यस्ता कार्यक्रमले नवप्रतिभालाई हौसला प्रदान गर्ने बताउनुभयो । शत्रुघन चौधरीले कथामा केही नेपाली तथा अंग्रेजी शब्दहरूको प्रयोगलाई औंल्याउँदै मौलिकतामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

कथाकार गणेश वर्तमानले ९औँ थारु साहित्य राष्ट्रिय सम्मेलनमा पुस्तक विमोचन गर्नुपर्ने दबाबका कारण केही कथा हतारमा लेखिएको र आफूलाई चित्त नबुझेको बताउनुभयो । उहाँले आउँदो कृति प्रकाशनमा हतार नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा भूमिका थारु, शत्रुघन चौधरी, मानबहादुर पन्ना, गणेश वर्तमान, रामधनी चौधरी, नन्दुराज चौधरी, इन्द्र चौधरी, जगत वाशिष्ठलगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । द भ्वाइस अफ नेपाल सिजन ६ को उत्कृष्ट ३ मा परेका बर्दियाका दृष्टिविहीन गायक विकास थारुले पनि थारु र नेपाली गीत गाउँदै कार्यक्रमलाई थप रमणीय बनाउनुभएको थियो ।

थारु विद्यार्थी समाजको नवनिर्वाचित अध्यक्ष विमल चौधरीलगायत पदाधिकारीलाई ठुम्रार साहित्यिक बखेरीका संयोजक डा. सर्वहारीले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।