हिजोआजका सहरहरुमा सबैको घरमा डस्टबिनहरु हुन्छन् । कोठैपिच्छे डस्टबिनहरु । किनभने मानिसहरु फोहोर गरिरहन्छन् । फोहोर गरेर पनि मानिसहरु आफूलाई सुग्घरी देखाउन डस्टबिनको संख्या बढाउँछन् । सहरको बजारमा धेरै बिक्नेमध्ये एक डस्टबिन हो । हो, म पनि एउटा ठूलो सहरको ठूलो घरको ठूलो डस्टबिन हुँ ।
म आँगनको कुनामा बस्छु । म माउँ डस्टबिन भएको हुनाले घरमा भएका छुट्टै फोहोर र कोठा कोठामा भएका साना डस्टबिनहरुको फोहोर दुवै म कहाँ आइपुग्छन् । त्यसैले मलाई कसले के फोहोर फाल्यो भन्ने थाहा हुन्छ । म कहाँ फालेको फोहोरले कसले के किनेर ल्यायो, के लगायो, के खायो, के लुकायो, के फुटायो सबै मलाई अन्दाज हुन्छ । घरका एक सदस्यले अर्को सदस्यसँग लुकाउन खोजेको, लुकाएर गरेको बदमासी सबै थाहा हुन्छ । एक म नै एउटा यस्तो पात्र हुँ यो घरका मानिसहरुका सबै फोहोरहरु व्यवस्थित गरिदिन्छु । फोहोर भन्नाले बुझ्नु भयो होला नि ? खाएर होस् या बान्ता गरेर फालेको, एकअर्कासँग लुकेर खाएपछि निस्केको पाकेटका फोहोर, नैतिक अनैतिक काम गरेको रेकर्डको फोहोर । यी सबै फोहोर संगालेपछि मलाई लागिरहेछ, म नै यो घरको गतिविधि, सम्बन्ध, नियत र समयको सर्वज्ञाता हुँ । घरका सदस्यहरु एकअर्कालाई मैले जस्तो चिन्दै चिन्दैनन्, चिन्नै सक्दैनन् ।
जस्तै, यो घरमा एक जना सत्तरी वर्षको बूढी आमा हुनुहुन्छ, उनको कोठामा दुईवटा ससाना डस्टबिनहरु छन् । एउटा डस्टबिनबाट उहाँले खोकेर निकालेको खकार, कागजमा बेरेर राखेको हुन्छ र हरेक दिन म कहाँ आइपुग्छ । म अन्दाज गर्छु ती बूढी आमालाई खोकी लागेको छ । पन्ध्र दिनदेखि आएको खकारले ती आमा खोकी नै रहेका भन्ने थाहा हुन्छ । तिनले औषधी खाइन् भने औषधी निकालिसेका प्लास्टिकका खोस्टा पनि आइपुग्थे । नआएको हुनाले तिनले औषधी उपचार नपाएको थाहा हुन्छ । तिनले चकलेट खाइन भने चकलेटकै प्लास्टिक मकहाँ आइपुग्थ्यो । तर पन्ध्र दिनदेखि खकार मात्र आइरहेको छ । त्योभन्दा अघि प्लास्टर काटेको फोहोर आइपुगेको थियो । यसको मतलब ती आमाको शरीरमा कतै चोट लागेको हुनुपर्छ भनेर अन्दाज गर्छु ।
त्यस्तै, त्यो घरको अर्को सदस्यको कोठामा पनि छ डस्टबिन । त्यो कोठाको डस्टबिनबाट भने खानेकुराको प्याकेटहरु आउँछ । लुगा पोको पारेका प्लास्टिक आउँछ । म अन्दाज गर्छु, यो कोठाको मान्छे एक्लै कोठामा खान्छ । नयाँ सामान र लुगा किनिरहन्छ । कहिलेकाहीँ त बिस्कुट र चकलेटका नखोलेका पाकेटहरु पनि आइपुग्छन् । सायद डेट एक्सपायर भएर पो हो कि ।
अर्को कोठा छ, यो घरको कामदारको कोठा । त्यहाँ पनि छ एउटा डस्टबिन छ। त्यहाँको डस्टबिनबाट निस्किन्छ सस्तो चकलेट पोको पारेका प्लास्टिकहरु । चुरोटको ठूटा । पुस्तकका पानाहरु । कापीहरु । च्यातिएको प्रेमपत्रहरु । यसरी यो कोठाको मानिस प्रेममा छ, चुरोट पिउँछ । किनमेल गर्ने बेलामा चकलेटहरु लिएर आउँछ र कोठामा बसेर खान्छ । पढ्छ, लेख्छ । केरकार गर्छ, सायद यो कुनै कलेजको विद्यार्थी पनि हुनुपर्छ भनेर अन्दाज गर्छु ।
मेरा धेरै अन्दाजहरु शतप्रतिशत नै मिल्छ । हरेक घरमा झैं यो घरमा पनि भान्साकोठा छ । भान्सा सबैभन्दा फोहोर निस्कने कोठा हो । प्लास्टिकका फोहोर, दूध प्याकेटका फोहोर, अन्न फालेको, तरकारी केलाएर फालेको, नखाइकनै फालेका खानहरु । भान्साको फोहोरले त्यसघरको औकात, प्रवृत्ति, समस्या, वातावरणप्रतिको चेतनास्तर सबै थाहा हुन्छ । चिया बढी खान्छन् कि जुस, हरियो साग खान्छन् कि माछामासु , मसला के हाल्छन् ? सबै त मलाइ थाहा हुन्छ । सबैभन्दा रमाइलो कुरा के छ भने यी मानिसहरु आफ्ना फोहोरहरु प्लास्टिकमा पोको पारेर डस्टबिनमा फालिसकेपछि खेल खत्तम भन्ठान्छन् । तर खेल यहीँबाट सुरु हुन्छ । उनीहरुका थाहा पाउन हुने नहुने सबैजसो कुरा डस्टबिनमा हुन्छन् । म साक्षी हुन्छु । मैले देखे भोगेको यो सानो उदाहरण मात्र हो । सबै कुरा खोलें भने उनीहरुको घरको नै झगडा हुन्छ । त्यसैले बाँकी कुरा पछि सविस्तार राखौंला ।
तर नभनी नहुने कुरा के छ भने, मानिस फोहोर नगरेर सफा हुनुभन्दा पनि कति फोहोर लुकाएर सफा देखिन चाहन्छन् भन्ने व्यवहार, सोच र प्रवृत्तिको एक सशक्त साक्षी हुँ म डस्टबिन । मेरो दाबी छ, मानिसहरु झन् झन् फोहोरी हुँदै छन् र झन् झन् सभ्य हुँदै गएको दाबी उनीहरु गर्दैछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।