सन् २०१७ को सेप्टेम्बरतिर मित्र प्रकाश सायमिलाई फोन गरें, “म केही दिनमा मुम्बई जाँदैछुँ, तपाईं त लामो समय त्यहाँ बसेर आउनु भयो । एउटा नगई नहुने ठाउँ बताइदिनूस् न ।”

उहाँले लामो बयानसहित भन्नुभयो, “पृथ्वी थिएटर ।”

म र छोरी अस्मिता घुमघामकै उद्देश्यसहित मुम्बई गइयो । उसो त नेपालीहरुको लागि भारतीय सहरहरु नौलो होइन । तीर्थ यात्रा, अध्ययन, राजनीति, कला, साहित्य, सबै कुरामा भारत नजिक नै छ । अर्को नजिकपन त खुल्ला प्रवेश । जतिसुकै दुःख व्यहोरेर पनि काम गर्नदेखि घुम्नसम्म नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा आउने जाने भइरहेकै छ ।

जाने टुंगो भएपछि नेपाल एअरलाइन्सको टिकट बुक गरियो मित्र रामहरि शर्माजीमार्फत् । हुन त उहाँ त्यतिन्जेल रिटायर्ड भइसक्नु भएको थियो । उच्च व्यवस्थापनमा लामो समय काम गर्नु भएको हुनाले उहाँको मार्फत् टिकट लिँदा सजिलो भयो । बा र छोरी मुम्बई त उडियो, तर कहाँ बस्ने ? सुरक्षित ठाउँ पाइएला कि नपाइएला ? चिन्ता थियो ।

धेरैअघि गएको थिएँ मुुम्बई । तर त्यतिखेरको जानकारी र सम्बन्ध काम नलाग्ने भइसकेको थियो । अशेष मल्लजीको छोरी सम्पदा मुम्बइमै कार्यरत भएकीले अशेषजीको परिवारै बेला बेलामा मुम्बई गइरहेको कुरा गर्नुहुन्थ्यो । त्यसैले अशेषजीलाई त्यहाँको बसाइ कस्तो हुन्छ, कहाँ बस्नु सुरक्षित हुन्छ भन्ने विषयमा सोधें । उहाँले होटल नभएर पेइङ गेष्टका रुपमा बस्न सुझाउनु भयो । त्यसपछि प्रयोग गरियो बुकिंगडटकम । त्यसैबाट रेलवे स्टेशनदेखि जुहु बिचसम्म नजिक भएको एउटा होटल अनलाइनमै खोजेर बुक गरियो ।

नेपाल एअरलाइन्सको दिउँसोको उडानबाट मुम्बई पुग्दा साँझ परिसकेको थियो । एअरपोर्टमा भीडभाड उस्तै । पहिलोपटक पुग्नेहरुका लागि त जानकारी लिन नै मुश्किल । एअरपोर्ट पुग्नासाथ पहिलो काम गर्नुपर्ने भनेको त्यहाँको सीमकार्ड लिनु, जुन नलिएर गल्ती गरिसकेको थियौं । संयोगवश छ जना छोरीकै उमेरका केटीहरु लाइनमा बस्दाबस्दै कुरा भयो । उहाँहरु कुनै नाटक प्रदर्शन टोली हुनुहुँदोरहेछ, दक्षिण भारतको सहरहरुमा नाटक प्रदर्शन गरेर फर्कनु भएको । उहाँहरुले हामीलाई, हामी बस्ने होटलको दूरी बताइदिनुभयो । आफ्नो फोन प्रयोग गरेर होटलमा फोन गर्नुभयो । अनि उहाँहरुले नै एउटा थ्री व्हिलर चढाएर, सम्भावित भाडा बताएर पठाउनु भयो । यसरी हामी होटल पुग्यौं । हामीले बुक गरेको होटल राम्रै रहेछ । कोठा पनि सफा नै रहेछ । होटलमा पुगेर केही समय आराम गरेपछि गुगल म्यापबाट पृथ्वी थिएटर सर्च गर्यौं । करिब तीन किलोमिटरको दूरीमा रहेछ ।

स्नेह सायमि

मुम्बईमा साँझतिर यति धेरै ट्राफिक कि, न ट्याक्सी न थ्री व्हिलरले रोक्छ । यातयातको साधन रोक्न खोज्दाखोज्दै हिँड्दै पनि गर्दागर्दै पैदल नै पुगियो पृथ्वी थिएटर । छोरी अस्मिता पनि खुसी भइन् । एकछिन अवलोकन गरियो । नाटक महोत्सव चलिरहेको रहेछ, महोत्सबको नाम हो पृथ्वी फेस्टिभल । जताततै सजाइएको । नाटक हेर्न आउनेहरु गफगाफ गरिरहेका युवादेखि पाका उमेरका मानिसहरुको भीड देखेर मज्जा लियौं । त्यहाँको खुल्ला रेष्टुराँमा कफी पियौं ।

नाटक चलिरहेको रहेछ । बेलुकी नौ बजेदेखि एघार बजेसम्मको शोको टिकट पनि किन्यौं । हामीसँग करिब दुई घण्टाको समय बाँकी थियो । पृथ्वी थिएटरको परिकल्पना, स्थापना र व्यवस्थापन देखेर दंग भयौं । मानिसहरु के के गरेर खुसी हुन्छन् ? यहाँ साहित्यको एक महत्वपूर्ण विधा नाटकमा रमाउनेहरु पनि छन्, कविता लेख्ने सुन्न आउनेहरु पनि छन् । हिन्द महासागरको समुद्र किनार जुही बिच नजिकै रहेको अत्यन्तै महंगो ठाउँमा अवस्थित पृथ्वी थिएटर हेरिसकेपछि फर्केर नेपालकै नाटकघरहरुकाे सम्झना गरें । नेपालमा पनि धेरै नाटककार मित्रहरूले अाफ्नाे ठाउँमा संघर्ष गररहेका छन् ।

हामी गएको करिब एक महिनापछि शशी कपुरको देहावसान भयो । उनी पृथ्वी थिएटरका संस्थापक थिए । शशी कपुरको पृथ्वी थिएटरमै श्रद्धान्जली सभा राखिएको थाहा भयो । उहाँको छोराछोरीहरुले शशी कपुरले जसरी चाहेका थिए त्यसरी नै पृथ्वी थिएटर चलिरहने कुरा सार्वजनिक गरेका थिए ।

शशी कपुर र उनका धर्मपत्नी जेनिफरले आफ्नो पिताजी पृथ्वी कपुर, सन् १९७२ मा देहान्त भएपछि उनको सम्झनामा उनको इच्छा अनुसार पृथ्वीराज कपुर मेमोरियल ट्रष्ट एण्ड रिसर्च फाउण्डेशन स्थापना गरी पृथ्वी थिएटरको संचालन गर्दै आएका थिए । सन् ३ नोभेम्बर १९०६ मा जन्मेका पृथ्वीराज कपुर एक घुमन्ते नाटक कम्पनी चलाउँथे । १५० जना कलाकार, लेखक, भान्से लिएर भारतका सहरहरुमा नाटक देखाउँथे । उनलाई नाटकको एक स्थायी ठाउँ बनाउने रहर थियो । सन् १९६२ उनले जमिनको व्यवस्था गरे तर भवन बनाउन नपाई सन् १९७२ मा उनको देहान्त भयो । त्यही साल जमिनको लिज समय सकियो । पछि शशी कपुर र जेनिफरले पृथ्वी कपुरको सपना थिएटर बनाएर साकार पारे । त्यो पृथ्वी थिएटरमार्फत् धेरै कलाकार, प्राविधिक, लेखक, नाटककारहरुले आफ्ना सपना साकार पारिसके । मुम्बईमा संघर्षकालीन समयमा यही थिएटरमार्फत् परिचय बनाएर धेरै कलाकारहरु नाटक र चलचित्रमा स्थापित भएका छन् र यो निरन्तरता जारी छ ।

हामी मुम्बई रहुन्जेल हरेक साँझ पृथ्वी थियटर गयौं । त्यहाँ नयाँ मानिसहरुसँग परिचय र भेट गर्यौं । नाटक हेर्यौं । त्यतिबेला इन्डियन आइडलका गायक मायांग च्यांग पनि त्यहीँ गफिरहेका थिए । अस्मिताले परिचय गरेरै एकछिन कुराकानी गरिन् र एउटा फोटो पनि लियौं । यसरी कलाकारहरुको यो सम्पर्क र साधना केन्द्र बनेको छ । यो थिएटरको कामले अहिले पनि अलग पहिचान राखेको छ । सबैभन्दा सुन्दर कुरा त शशी कपुरको देहान्तपछि उनको सन्तानहरुले पृथ्वी थिएटर अहिले पनि संचालन गरिरहेकै छन्, त्यही रफ्तरमा ।
म र कवि लक्ष्मी माली सन् २०१८ नोभेम्बरताका भारतका अन्य सहरहरुसँगै मुम्बई घुम्न गएका थियौं । लक्ष्मीलाई लिएर पृथ्वी थिएटर गइयो नोभेम्बर ३०, २०१८ मा । त्यतिबेला पृथ्वी थिएटरको चमक र चहलपहलमा कुनै कमि थिएन । पृथ्वी कपुरको सपनालाई शशी कपुर र जेनिफरले साकार पारे । त्यसलाई निरन्तरता दिए शशी कपुरका छोराछोरीले । जसको कारण मुम्बईमा आउने धेरै कलाकार, साहित्यकारको सपनाको केन्द्र बनेको छ । यो निरन्तरत चलिरहोस् ।

अस्तु ।

dav