साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नेपाल आदर्श हाइस्कुल

जीवनको रङ ६

Chovar Blues Mobile Size
स्नेह सायमि

नेपाल आदर्श हाइस्कुल- स्कुलको नाम यस्तो थियो, अहिले पनि यही नै छ। काठमाडौं सहरको व्यापारिक केन्द्र नयाँ सडक र खिचापोखरी, त्यसैको नजिक त गणबहाल । त्यहाँको एउटा सार्वजनिक विद्यालयको नाम हो, नेपाल आदर्श हाइस्कुल । काठमाडौं शहरमा ठाउँठाउँमा हाइस्कुल खोलिएको थियो । जस्तै डिल्लीबजारमा विजय मेमोरियल हाइस्कुल, रामशाहपथमा पद्मोदय हाइस्कुल, भिन्द्यो पाःचाको परोपकार हाइस्कुल, क्षेत्रपाटीमा जुद्दोदय हाइस्कुल, मरुटोलभन्दा तल भगवतीबारीमा शान्ति निकुन्ज हाइस्कुल, आदि । त्यस्तै मिडिल स्कुल र प्राइमरी स्कुलहरु पनि थिए । कसरी नेपाल आदर्श हाइस्कुल बन्न गयो । कसरी त्यहाँ सार्वजनिक सम्पत्ति निर्माण भयो, कसले त्यो स्कुलको शुरुवात गर्यो त्यसका अति सार्वजनिक महत्त्वका रोचक कथाहरु छन्। हरेक स्कुल सजिलै स्थापना भएका थिएनन्। कुनै न कुनै शिक्षक अर्थात् गुरुको जीवन उत्सर्गपछि स्कुल बनेका छन्। समयक्रममा ती स्कुलहरुले हजारौं हजार विद्यार्थीहरु उत्पादन गरेका छन्। काठमाडौं शहरको सानो भूगोलभित्र विशेषतः त्यो बेलाका रैथानेहरुको महत्त्वपूर्ण योगदान थियो।

म कक्षा आठमा भर्ना भएँ, नेपाल आदर्श हाइस्कुलमा। नैकापदेखि गणबहालसम्म पुगेर किन नेपाल आदर्श हाइस्कुलमै भर्ना गरियो? जबकि त्यतिखेर कालिमाटीमा जनप्रभात हाइस्कुल थियो। नेपाल आदर्श भन्दा मेरो लागि परोपकार हाइस्कुल नजिक थियो। त्यसको जवाफ हो, मेरा काका। मेरा काका नेपाल आदर्श हाइस्कुलबाटै एसएलसी उत्तीर्ण हुनुभएको थियो । त्यहाँ अध्यापन गर्ने शिक्षकहरुसँग काकाको परिचय थियो, त्यसैले त्यहीं भर्ना भइयो। म नैकापबाट कीर्तिपुरसम्म त हिँडेर जान सक्थेँ तर आफू एक्लै त कालिमाटीसम्म पनि आएको थिइनँ । मेरा लागि गणबहाल धेरै टाढा त थियो नै सँगसँगै, त्यहाँसम्म पुग्ने बाटो सम्झन नै गाह्रो पनि थियो।
मेरो पढाइको निर्णयकर्ता नै काका हुनुहुन्थ्यो अनि काकाले जहाँ भन्नुहुन्थ्यो त्यहीँ भर्ना भइयो।

भर्ना भएपछिको भोलिपल्ट शायद, पहिलो पटक कक्षाकोठामा प्रवेश गरियो । मलाई सर्वप्रथम त नेपाल आदर्श हाइस्कुल पुग्न नै करिब एक घण्टा तीस मिनेटदेखि दुई घण्टासम्म लाग्यो होला । त्यो उमेरमा त्यत्तिको हिँडेपछि थकाई पनि पक्कै लाग्यो होला । तर पनि ढिलो भने खासै पुगिएन । कक्षा शुरु हुनु आधा घण्टाअघि नै पुग्थेँ म। कक्षाकोठामा पुगेपछि थाहा भयो उता भेगतिरबाट आउने र त्यही कक्षामा पढ्ने अरु पनि रहेछन्। जस्तैः एकजना मभन्दा करिब पाँच सात वर्षले जेठो बैकुण्ठ महर्जन, मेरो घरछेउकै छिमेकी दिदी लक्ष्मी श्रेष्ठ। नेपाल आदर्श हाइस्कुलमै छ कक्षामा पढ्ने अरु साथीहरु पनि भेटिए। नैकापबाट गणबहालसम्म जाने रुट यस्तो थियो- नैकापको मूलबाटो हुँदै कालिमाटी, टेकु अनि लगन हुँदै गल्लीको बाटो गणबहाल। यसरी यत्ति टाढाबाट पढ्न आउने थोरै थिए। अधिकांश नयाँ सडक, खिचापोखरी, पाको, लगन, गणबहाल, टेबहाल वरिपरिका पढ्न आउँथे। टाढामा मरु, झोछें, चिकंमुगःका हुन्थे। विद्यार्थीहरु धेरैजसो नेवाः, मारवाडी, बाहुन, क्षेत्री थिए। सबैजसो रैथाने थिए।

स्कुलको वरिपरि स-साना पसलहरु थिए। मेरो आँखा त्यता गइरहन्थ्यो। ती पसलहरुमा भुटेका चना र केराउ बिक्रीका लागि राखिएको हुन्थ्यो। पीठो धेरै भएको नाम मात्रको खुवा बरफ हुन्थ्यो। त्यहाँ आउने अधिकांश विद्यार्थीहरुको खल्तीमा पैसा हुँदैनथ्यो। पैसा भएको दिन यस्तै खाएर सकिन्थ्यो।

खल्तीमा त्यो बेला तीस पैसा हुनु भनेको धनी नै हुनु थियो। त्यतिपैसा हुनेलाई साथीहरुले विष्मयका साथ हेर्थे। कोही पछि पनि लाग्थे।

sagarmani mobile size

पहिलो दिन जाँदा म कमीज सुरुवाल लगाएर गएको थिएँ। कमीज सुरुवाल राम्रै थियो तर सुरुवाल लगाएर आउनेहरु निकै थोरै थिए र उनीहरुलाई पाइन्ट लगाउनेले गिज्याउँथे। सुरुवाल लगाउँदा चटक्क देखिंदैन रे ! त्यत्तिबेला पनि फेसनको त्यत्रो प्रभाव ! सुरुवाल लगाउनेहरुको पछाडिको मुजा समातेर कायल गर्थे। त्यसपछि मैले पनि पाइन्ट सिलाएँ स्कुल जान । मैले पाइन्ट पहिले पनि नलगाएको होइन, सानैमा पाइन्ट, सुरुवाल, पाइजामा सिइदिनुहन्थ्यो आमाले। मेरा लागि सुरुवाल र पाइन्टमा केही अन्तर थिएन तर आठ कक्षामा पढ्न गएदेखि सुरुवाल भनेको लाउने चिज नै होइन भनेजस्तो बनाइदिए। पछि स्कुल जानलाई नै लुगा सिलाइयो पाइन्ट सर्ट।

त्यतिखेर सबैभन्दा बढी समय लाग्ने भनेको स्कुल जानु र आउनुमा थियो। जाँदा बिहानको खाना खाएर जाने हुँदा करिब पाउने दुई घण्टा जतिमा पुगिन्थ्यो र थकाई पनि लाग्दैनथ्यो तर फर्कंदा भने भोक र थकाइले जिउ गलिसकेको हुन्थ्यो र अर्को दुई घण्टाको पैदल यात्रा मुस्किलै हुन्थ्यो तैपनि कुनै विकल्प थिएन। हिंड्न नपर्ने एउटा झिनो विकल्प भनेको कालिमाटीमा बाइरोड भएर जाने ट्रकहरु कुर्ने र ड्राइभरहरुलाई अनुनय विनय गरेर सित्तैमा नैकाप ओराल्न भन्ने तर यो काम बडो जोखिमपूर्ण थियो । एक त ट्रक कहिले आइपुग्छ थाहा हुँदैनथ्यो। आए पनि जान्छ-जाँदैन निश्चित हुँदैनथ्यो। जाने भए पनि ड्राइभरले लाने-नलाने ठेगान हुँदैनथ्यो। लगिहाले पनि नैकाप ओराल्छ-ओराल्दैन थाहा हुँदैनथ्यो। अझ त कसैकसैले पैसा माग्थे। ट्रक कुर्दाकुर्दा कालिमाटीमै साँझ पर्ने सम्भावना पनि थियो। साँझ परेर पनि ट्रक चढ्न नपाएपछि त भोक र घरमा पिटाइको डरले सताउँथ्यो।

तर त्यो बेलाको काठमाडौं भनेको अहिलेको लकडाउनको काठमाडौं भन्दा शान्त थियो। बाइरोडको बाटोभरि दायाँबायाँ अग्ला रुखहरु हुन्थे र हिंड्न सजिलो थियो, बाटोको ठाउँ-ठाउँमा निःशुल्क पानी खुवाउने व्यवस्था थियो। कलंकी मन्दिर नजिक सानो खाजा पसल थियो। त्यहाँ एक जना आमाले आफ्नै घरमा खाजा पसल थाप्नु भएको थियो। पाँच पैसामा पनि यति धेरै चना वा केराउ आउँथ्यो कि मेरो त आधा पेट भरिन्थ्यो। मलाई त्यहाँ खानलाई एउटा समस्या थियो मसँग त पैसा हुन्थ्यो तर साथीहरूसँग हुन्थेन र एकदुई पटक त आफूले पैसा तिरेर खुवाइयो, दिनदिनै खुवाउन सकिएन र एक्लै खान पनि सकिएन। फलस्वरुप नखाइकन नै भोकै घर पुगिन्थ्यो।

त्यतिखेर नगदको अभाव थियो, रुपैयँ पैसाको महत्त्व धेरै थियो।

धनी हुन् या गरिब, सबैले पढ्ने स्कुल एउटै खाले थिए। पाठ्यक्रम पनि एउटै थियो। धेरैजसो कण्ठाग्र गराउने चलन थियो। अहिले जस्तो धन अनुसारको स्कुल थिएन । लवाइ हेरेर धनी र गरिब छुट्याउन पनि गाह्रो थियो। नेपाल आदर्श हाइस्कुलका गुरुहरुलाई दाइ भन्ने चलन थियो जस्तै रामदाइ, श्यामदाइ आदि। केही गुरुहरु पनि आफ्नै सन्तानलाई नै पढाउन आएकोझैँ पढाउन प्रयत्न गर्थे। सम्बन्ध अलि पारिवारिक पनि हुन्थ्यो। पढेन भने अभिभावककोमा कुरा पुगिहाल्थ्यो।

नेपाल आदर्श हाइस्कुलमा धेरैले विद्यार्थी जीवन बिताए । विनोद चौधरी लगायत उहाँका भाइहरु पनि नेपाल आदर्श हाइस्कुलकै उत्पादन हुन्।

प्रतिक्रिया
Loading...