बिहानको ३ बज्यो । हंसराजको दैनिक ब्युँझिनै पर्ने समय । उठेर मैदान गयो । फक्र्यो । अनि गयो गोठमा । गाईभैंसीलाई सुम्सुम्यायो, फुकाएर आँगनमा बाँध्यो र गोबर सोहोर्यो । गोबरलाई मल बनाउने खाडलमा जम्मा गर्यो । दूध दोयो । घरको लागि छुट्यायो । बाँकी दूध बोकेर बजार पुर्यायो । फर्कँदा त्यही दूध लिएर गएकै भाँडोमा पीना किनेर ल्यायो ।
घरमा पुग्दा परिवारका अरू सदस्यहरू आँगनमा निस्किसकेका थिए । महिलाहरू दूध तताएर परिवारमा बाँडिरहेका, हजूरबा खटियामा बसेर कामको खटनपटन गरिरहेका, केटाकेटीहरू पराल ओसारिरहेका, कोही गुइँठा बनाइरहेका । कोही धानको बीउ केलाइरहेका । यस्सो हेर्ने हो भने गार्ईभैंसीसँग हंसराज र उसको परिवारको जीवन छुट्टिनै नसक्ने गरी जोडिएको थियो । गार्ईभैंसीले हंसराजको परिवारलाई पालेका थिए भने हंसराजको परिवारले गाईभंैसीलाई ।
गोबरको मल खेतमा राख्यो, अन्न सप्रियो । गहुँत समेतको मल लाग्छ । खेतको उब्जनी भकारीमा जम्मा गर्यो । पराल जति गाईभैंसीकै लागि छुट्यायो । दूध बेचेर आएको रकमले घरखर्च चलायो । खेत जोत्यो । खायो । खुवायो । चाँडै सुत्यो, चाँडै उठ्यो । दिनभर कि खेतबारीमा कि घरआँगनमा, कि खनजोतमा कि लिपपोतमा । यो हंसराजको जीवन थियो ।
गाउँमा स्कूल खुल्यो । केटाकेटीहरू स्कूल पढ्न गए । स्कूलमा गुरुले भनेकै भाषा केटाकेटीले बुझेनन् । उनीहरूले घरमा बोली आएको भाषा र स्कूलमा पढ्ने भाषा नै फरक भयो । भाषासँगै आउने लवज पनि फरक थियो । स्कूलमा गुरुले जहिले पनि कुखुरा बनाएर हुन्छ कि, उठबस गराएर हुन्छ कि वा हातमा लट्ठी हानेर हुन्छ कि जहिले पनि सजाय दिन्थे । कारण थियो हंसराज र ऊ बसेको गाउँका सबै विद्यार्थी पढ्नमा अति कमजोर भए । पूरै गाउँका केटाकेटी किन कमजोर भए ? यो बारेमा हंसराज चिन्तित भयो ।
हंसराजले कुरा बुझ्यो । गाउँका केटाकेटीहरूलाई भाषा सिक्न नै कठिन भएको रहेछ । तर पनि सिक्नैपर्ने थियो । स्कूलका गुरुसँग एक बैठक नै राखे । हंसराजले स्कूलका अध्यापकहरूलाई भने, “जुन भाषा सिकेर तपाईं हामीलाई सिकाउन आउनुभएको छ, त्यही नै फरक छ । हाम्रो आफ्नो मातृभाषा छ । त्यही भाषामा सबै कारोबार चलेको छ । तपाईंहरूले सिकाउनुभएको भाषा हाम्रो लागि नयाँ नै हो । त्यसैले कुनै ज्ञानको कुरा हो भने तपाईँले सके हाम्रै भाषामा सिकाउनूस् । सकिँदैन भने प्रत्येक दिन भाषा नबुझेकै कारण सजाय नदिनूस् । केही समय त लाग्छ तर हाम्रा केटाकेटीहरू कमजोर छैनन् । न शारिरीक रूपमा, न बौद्धिक रूपमा । तपाईंहरू अध्यापक हुनुहुन्छ त अलि धैर्य राख्नुहोस् । भाषा नै सिकाउँदै हुनुहन्छ भने विद्यार्थीहरूले सिक्न रहर लाग्ने गरी सिकाउनूस् ।”
त्यसपछि स्कूलका अध्यापकहरूले केही लचिलो नीति लिए । तर पनि केन्द्रीय रूपमा सबैका लागि तयार भएको पाठ्यक्रममा रहेको जे विषय छ त्यसमा त्यो गाउँभरीका विद्यार्थी कमजोर देखिए । कोही संस्कृतमा कोही अंग्रेजीमा, कोही गणितमा अनुत्तिर्ण भए । गाउँमा स्कूलको स्थापना हुनु, नयाँ कुरा सिक्नु राम्रै थियो । तर सँगसँगै जे विषय पढाइएको थियो , जसरी पढाइएको थियो, जून मूल्य र मान्यता त्यो पढाइले निर्माण गर्दै लगेको थियो, त्यो भने गाउँको एकताबद्ध सामाजिक जीवनका लागि चुनौति बन्दै गएको थियो ।
हंसराजलाई थाहा छ– त्यो पाठ्यक्रमको निर्माणगर्दा हंसराजको गाउँको विद्यार्थी कस्ता होलान् ? तिनीहरूले नयाँ कुरा कसरी सिक्लान् ?, भनेर सूक्ष्मरूपमा अध्ययन गरिएको थिएन नै । होलसेलमा एउटा नीति र परम्परा बनेको थियो र त्यही नीति र परम्परा पाठ्यक्रम बनेर देशभरका गाउँ र सहरहरूमा पसेको थियो, विद्यालयहरूमार्फत् ।
विद्यालयको अध्ययनपछि विद्यार्थीहरूले परम्परागत ज्ञान बिर्संदै गएका थिए । पहिलेदेखि लाउँदै आएको पहिरनप्रति घृणा गर्न थालेका थिए । घरगाउँमै पाइने जडीबुटीप्रति अविश्वास गर्न थालेका थिए । अग्रजहरूप्रति गरिने सम्मान त कता हो कता बरु प्रत्येक कुरामा आक्रमक हुन थालेका थिए ।
हंसराजले सोच्यो– यो विद्यालयमा शिक्षा कति सिकाइन्छ र अशिक्षा कति ?
जीवन चलेकै थियो । यो गाउँका मानिस मिहेनती, सिधा, बलिया, गाउँमा खेतीपातीदेखि औषधी खाने आफ्नै तरिका र ज्ञान थियो । जो परम्परादेखि परिवारकै अग्रजहरूबाट सिक्दै आइरहेका थिए । भएको कमीकमजोरीलाई सुधार्ने, आधुनिकीकरण गर्ने, जीवनयापनको बाटो सहज बनाउने तर समाजको ऐक्यद्धता नटुटाउने शिक्षा किन हुन सकेन ? किन गाउँमैत्री शिक्षा बन्न सकेन ? किन पढेलेखेका सहर जति सहर लाग्छन् ?
हंसराज सोचिरहेछ …….
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।