“संयोगवश म तपाईंको कोखबाट जन्मेको हुँ , त्यसकारण मात्र तपाईं मेरो आमा हुनुभयो । सबै आमाहरूले आफ्नो सन्तानलाई गर्भमा राख्छन्, जन्माउँछन्, हुर्काउँछन्, पढाउँछन् र वयस्क बनाउँछन् । कसैले नगरेको काम त गर्नुभएको होइन नि ! के त्यसको बदलामा मैले तपाईँलाई मानिरहन पर्ने ? तपाईंले मलाई पालेर हुर्काउनु भयो भन्दैमा तपाईंलाई मैले पाल्नै पर्ने ? म सक्दिनँ ।”, आज सुवासले आमालाई भनिदियो ।

कति समयदेखि भनौं भनौं लागिरहेको र भन्न नसकिरहेको कुरा आज भनिदियो । मनको ठूलो बोझ हल्का भयो । रुपिता अर्थात् सुवासकी श्रीमतीले त एक वर्ष अघि नै भनेकी थिइन्, ‘तिम्रो आमाको किच्किच सुन्न सक्दिनँ’ भनेर ।

अफिस पुगेपछि रुपितालाई फोन गरेर आमालाई भनेको कुरा जस्ताको तस्तै सुनायो । रुपिताले बधाई दिइन् र भनिन्, “अब चैं तिमी बोल्ड भएको भान भयो । होइन भने त आमाको अगाडि जहिले पनि बिरालो जस्तो । यस्तो गर्याै भने त आमाले तिमीलाई त हेप्नु हुन्छ नै मलाई पनि बाँच्नै गाह्रो हुन्छ ।”

अबदेखि आमाको कुरा नमान्ने कसम खायो । सुवासले धेरै अघिदेखि नै आमालाई घरबाट निकाल्ने योजना गरिरहेको थियो र सही बाटो पहिल्याउन पाएको थिएन । उसलाई आमालाई सजिलै पाल्न सक्दिनँ वा निकाल्छु भन्न गाह्रो भइरहेको थियो । यो कुरा आमालाई स्पष्ट भन्न नसकेपछि धेरै घुमाउरो पाराले घोचपेच गरेर वा कटु व्यवहारबाट आमाको अवहेलना गरिरहेको थियो ।

स्नेह सायमि

तर आमा न हुन, आमाले सबै कुरा सहनु भयो । कुनै पनि अवहेलना, गाली गलौज, थर्काइ सबै सबै चुपचाप सहनु भयो । लोग्नेको निधनपछि एक्लो छोरा छोडेर कहाँ जानु ? सन्तानको नाममा एक छोरा–बुहारी । लोग्ने र आफू भएर दुःख सुख गरेर बनाएको घर, छोरा बुहारीले हेरचाह गर्ला नि भन्ने आकांक्षा । त्यो आकांक्षा पूरा हुने त कता हो कता , गाली नगरेको दिनका लागि कामना गर्नुपर्ने भयो । कति एकान्तमा रुनु भयो । कस्तो छोरा कस्तो भयो भनेर चुपचाप चिन्तित हुनु भयो । तर आमाले कुनै प्रतिवाद गर्नु भएन ।

छोरा–बुहारी खुसी पनि थिए प्रतिवाद नगरेकोमा । किनभने झन् झन् आमालाई पेल्न पाएका थिए । घरको सबै काम आमालाई गराए पनि भयो । बिहान उठेर लिपपोत गर्नु, खाना बनाउनु, छोरा–बुहारीलाई कोठामै चिया पुर्याउनु, घरको करेसाबारी स्याहार्नु सबै काम त आमाले गरिरहनु भएको थियो । आमाले किन जे पनि सहिरहनु भएको छ ? कहिले कहिले सुवास र रुपितालार्ई शंका लाग्थ्यो । कतै आमा जानुहुने भजनमण्डलका साथीहरूले सिकाए कि ? प्रतिवाद गर्नु भएको भए बरु वारपार हुन्थ्यो । चाँडोभन्दा चाँडो आमालाई निकाल्न पाइन्थ्यो ।
आमाले घरको काम सबै गर्न परेपछि पनि चुपचाप सहिन ।

एकदिन छिमेकी दिदी शोभाले सोधिन्, “घरमा छोरा–बुहारी छैनन् ? लुगा धुनेदेखि भान्साको काम, सरसफाई सबै तपाईं आफैंले गरेको देख्छु । ”

आमाले जवाफ दिइन, “छोरा–बुहारी दुवै काम गरिरहेका छन् । हिजोआज सबै कम्प्युटरबाट काम गर्ने । कोठाबाटै गर्नुपर्ने । उनीहरूलाई मलाई भन्दा धेरै समस्या छ । त्यसैले यो सबै म गर्छु नि । अनि बुहारी भनेको पनि छोरी नै त हो । उनीहरू खुसी भए म खुसी । यति काम गरेर म मर्दिनँ क्यारे ! बरु झन् बलियो हुन्छु । चुप लागेर काम नगरिकन बसेको भए बरु म कुंजिन सक्थेँ । मैले मात्रै घरमा काम गरेको भनेर मेरो छोरा–बुहारीका कुरा नकाट्नूस् शोभा दिदी ।”

शोभा दिदीले अर्को छिमेकी दिदी सीमालाई भन्नुभयो, “मैले त भएकै कुरा गरेकी हुँ । यिनको घरमा छोराको बिहेपछि बेहाल देख्छु । सबै काम यिनले गर्छिन् । घर सफा राख्नु, पकाउनु, भाँडा माझ्नु, यिनको काम हो । यिनी त छोरा–बुहारीको नोकर्नी हुन् अहिले । श्रीमान भएको बेला दुवै बूढाबूढी गाडीमा हिँड्थे । कस्तो शानशौकत थियो । छोरालाई कस्तो शोखमा हुर्काएकी थिइन् यिनले । अहिले न छोरा–बुहारीसँग छुट्टिन सक्छिन्, न आँसु नपिएको दिन गुजार्न पाउँछिन् । यस्तो हुँदा पनि यिनलाई इज्जतकै छ डर । छोपछाप गरिहाल्छिन् ।”

सीमा दिदीले भन्नु भयो, “उहाँको पुरै इतिहास थाहा पाउने तपाईंलाई सुवासको आमाको हालत देखेर चित्त दुख्नु स्वभाविकै हो । छोरा–बुहारीले नहेरेको मात्र होइन, पेलेकै हो । त्यो म पनि देखिरहेको छु । तर तपाईंले पनि केही गर्न सक्नु भएको छैन । तपाईंलाई पनि तपाईंका छोरा–बुहारीले कसरी हेप्छन्, मैले देखिरहेकी छु । तर तपाईं पनि त चुपचाप हुनुहुन्छ नि ! आफ्नो दुःख बताउन सक्नु भएको छ ? छैन । तपाईं आफैं भित्रभित्रै पिल्सिरहनु भएको मलाई थाहा छ । अनि सुवासको आमाको बारेमा चैं किन चासो लिइरहनु भएको नि ?”
यत्ति सुनेपछि शोभा दिदीको आँखा भिज्यो र भन्नु भयो, “सही कुरा गर्नु भयो तपाईंले ।”

सीमा दिदीले भन्न रोक्नु भएन, “यो तपाईंको घरको मात्र कथा होइन । घरघरको कथा हो । पहिले जस्तो आमाबालाई पाल्ने त कता कता, सम्मान गर्ने दिन पनि गए । मेरा छोरा–छोरी–बुहारीहरूले मलाई पनि हेप्छन् । म कहाँ भन्न जाऊँ ? कसैलाई भनेर त समाधान हुँदैन नि ! फेरि कतै सित्तै पाल्ने वृद्धाश्रम पनि त जान सकिँदैन । तर यसको पनि समाधान निकाल्नुपर्छ ।”

तीन महिनापछि यी तीन जेष्ठ नागरिक महिलाहरूले आआफ्नो घर बेचे, बैंकमा पैसा राखे अनि तिर्थयात्रामा निस्के । पाठकवृन्द कतै जेष्ठ नागरिक आवासमा घर किनेछन् भने अचम्म नमान्नु होला ।