कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो बीसाैँ श्रृड्खला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृड्खलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना र नयाँ कविका लुकेका कवितालाई यसले बढी महत्त्व दिइने डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् । यसपटक डा. विप्लव ढकालले नेपालका मानक कविहरुको कविता प्रस्तुत गरेका छन्ः
१. डर
(कालीप्रसाद रिजाल)
देशमा पूर्ण शान्ति छ,
त्यसैले डर लागिरहेछ !
२. अचेल
(एस्पी कोइराला)
अचेल—
पहिले हुने पनि हुन्छ
कहिले नहुने झनै हुन्छ !
जे चाहेको, त्यो पनि हुन्छ
नचाहेको झनै हुन्छ !
सम्झँदा मनै रुन्छ !!
३. घडीफूलमा समय
(अभय श्रेष्ठ)
कुनै रङ छैन
कुनै सङ्गीत छैन
कुनै आवाज छैन
कुनै मौसम छैन
छन् केवल—
सुन्दर घडीफूलहरू !
मेटिँदै मेटिँदै गएको समयलाई पनि
मिलाइएको छ भरखरै घडीफूलमा ।
बेहिसाब जिन्दगी जस्तै
राखेर समयलाई बन्धकी
हेरिरहेछु आज—
घडीफूलमा समय !
४. याद
(हेमन्त विवश)
परेन कहिल्यै कुनै दिवसको पर्खाइमा बस्न
दुनियाँले केके दिवस मनाए कुन्नी
हरेक दिन मनाइरहेँ मैले— सम्झना दिवस !
रोपाइँ सकेर खोलाछेउमा पुर्याइएका गोरुलाई
पानी छ्याप्दै पखालेझैँ
दैवले खुब पखाल्यो आँखाका परेली !
तर पनि पखालिएन मनको कुना
जसरी छोडिनौ तिमीले रातभर सपनीमा आउन,
अनि दिनभर यादका पल्लाभित्र बेरिन !
सम्राटै सम्राटले भरिएको मुलुकको एक कुनामा बसेर
चोया मिलाउँदै गर्दा
लाग्छ अचेल—
अब त डोकोभरि तिम्रो याद बोकेर
पश्चिमको घामझैँ सुटुक्क हिँड्न पाए हुन्थ्यो !!
५. दोभानमा भेट भएपछि
(विप्लव ढकाल)
यहाँ पनि
म जस्तै अर्को नदी रहेछ !
दोभानमा भेट भएपछि
दुई फरक बाटोबाट आएका नदीहरू
आफूजस्तै अर्को नदी देखेर छक्क परे !
दुवैको यात्रा उस्तै थियो
सङ्घर्षले भरिएको बाटो उस्तै थियो !
हृदयको सङ्गीत उस्तै थियो
प्रेमको सपना उस्तै थियो !
कसलाई जित्नु छ र अब ?
दोभानमा भेट भएपछि
बाँकी यात्रा पूरा गर्न
उनीहरू सँगसँगै मिलेर बग्न थाले !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।