पेलुङदेखि दिक्तेलसम्मका अधिकांश बारीहरू बसाइँ सरिसकेछन् । खेतको साम्राज्य चलिरहेको थियो । हिउँदे बालीले ढाकेका खेतहरू रहरलाग्दा देखिन्थे । खोला, खोल्सी र जरुवाहरूले चैते खडेरीको सातो बोलाउँदा रहेछन् । ‘भुलभुले दुधकुण्ड देउधाम’ त्यसको एउटा नमूना रहेछ ।
===
“खुकुरीको सान भोजपुरको पहिचान” भन्ने नारा घोकाइरहेथ्यो देउरालीचोक । त्यहाँबाट पश्चिम लागेपछि बोखिम छुँदै पुगियो दावा ! सौन्दर्यकी खानी दावाले लपक्कै भिजाइन् हाम्रा हृदय । वसन्त छरेर जताततै गुञ्जायमान थिए बगैँचाहरू । लट्टिएछौँ हामी उद्यानका मौरी जसरी नै ।
सिमखेतमा तौलीधानको बीउ काढ्दै गरेका लाठे कान्ला उक्लेर आए छेउमा । एकजनाले सोधे, “दाजुहरू कता जानुहुने ?”
हामीले भन्यौँ, “दिक्तेल !”
फेरि तिनै लाठेलाई सोध्यौँ, “दिक्तेल पुग्न कति समय लाग्छ भाइ ?”
“नबिसाई जानुभयो भने त तपाईँहरू २/३ घण्टामै पुग्न सक्नुहुन्छ । तर डाँडापाखा घुम्दै, रमाइलो गर्दै जानुभयो भने दिनभर पनि लाग्नसक्छ ।”
फेरि उनले सोधे– “अनि चिन्नु त सकिएन नि ?”
“हामी दमक बस्ने बेपारीहरू हौँ भाइ ! चैतमा बेपार नहुँदा यसो डाँडापाखा डुलीखान उक्लेका नि ।”
“अनि किन हतार त ? डाँडापाखा नै डुलिखानुलाई त हाम्रोतिर पनि बेस्कनै छ । दिक्तेल पुग्नुपर्दैन नि त्यतिका लागि । यताहुँदीकै डाँडा घुमे हुन्न र ?”
हामीलाई जिस्क्याएर हाँसे उनीहरू । लक्ष्मण दाइले पनि हाँसेर भन्नुभयो –
“आहा ! कुरा त बसौँबसौँ लाग्ने आयो है विष्णुजी ! पहाडको मेजमानीमै पो परिएलाजस्तो छ आज ।” उनीहरू पनि आफ्ना स–साना आँखा अझै खुम्च्याएर हाँसे ।
अर्का लाठेले भने, “यदि दावा घुम्न भ्याउनुभएन भने पनि माथि गोठेसिङ होमस्टे चाहिँ नछिरी नजानुहोला । यता आइसकेपछि त्यता घुम्नु, बस्नुको बेग्लै मजा हुन्छ ।”
मैले भनेँ– “हैट ! बस्नु, घुम्नु त तपाईंहरूसँगै रमाइलो होलाजस्तो छ । पाहुना लागेपछि मेजमानी पनि पाइने, साथ सहयोग पनि । गोठेसिङले पनि देउता त मान्ला, फूल प्रसाद पनि चढाउला तर गहकिलो भेटी त आफैँले चढाउनुपर्छ उसलाई । देउतालाई भेटी चढाउने संस्कारका मान्छे हामी आफैँ देउता बनिमागेर भक्तजनलाई भेटी चढाउनुपर्ने ठाउँमा जानुहुन्न नि । हाम्रालागि त तपाईँहरूकैमा मज्जा आउलाजस्तो छ ।”
फेरि हाँसे दुवै लाठे ।
रमाइलो संवादपछि उनीहरूले त्यहाँबाट देखिने पर्यटकीयस्थलहरू टेम्केडाँडा, सेल्मेडाँडा र अन्य गाउँहरू चिनाइदिए र बिदा गरे हामीलाई । हुइकियौँ हामी पनि दिक्तेलउन्मुख भएर ।
त्यो पन्याइलो पाटो, सिमसार, हरियाली क्षेत्र नियाल्दै, खोला खोल्सी नाघ्दै पुग्यौँ पारिपट्टिको पहाडमा । बाटो उक्लिँदै गयो उँभोउँभो । बस्तीहरू छिचोल्दै, डाँडापाखा नाघ्दै, जङ्गल र घुम्तीहरू पार गर्दै निकै अग्लो उचाइ बोकेको नाघीमा पुग्यौँ । खुला पाटनका बिचैबिच दौडिएको कालोपत्रे छोडेर दायाँ लागेको गोरेटोतर्फ बाङ्गियौँ । मुखमा तगारो ठोक्तोरहेछ गोरेटोले । खोल्यौँ र पुग्यौँ ‘गोठेसिङ होमस्टे’ । आनन्दित भयो मन । चिउरीका पातमा पथारेको कोदोको रोटी, भुङ्ग्रोमा पोलेको रुखटमाटर र सिमे धनियाँ सिलौटामा पिसेर बनाएको चटनी, पहाडे खसीको कबाफ र खुट्टाको तातोतातो झोल तयारी गरिदिन अनुरोध गरेर वरिपरिका सुन्दर दृश्यहरू नियाल्न उक्लियौँ माथिल्लो पाटनतिर । वारिपारिका फाँटहरूमा आँखा डुलाउँदै हरियो नाघीमा लडिबडी खेल्यौँ निकैबेर । आँत भरिनेगरी चिसो हावा निल्यौँ स्वारस्वार्ती र झर्यौँ होमस्टेतिरै ।
बीचमा पुरातन शैलीको तर रङ्गरोगन गरी चिटिक्क सजाइएको राईसंस्कृति झल्काउने मूलघर र वरिपरि स–साना घरहरू थिए । भान्साघर निकै फराकिलो थियो । एकैपटकमा तीस–चालिस जनासम्म बसाएर आरामले खुवाइपियाइ गराउन मिल्ने कुर्सी टेवलहरू राखिएका थिए । स्थानीय उत्पादनका परिकारसहित विदेशी छापावाल पेयपदार्थ, हुक्का, तोङ्वा आदि राखिएका थिए । माछामासु भने अनुरोध टिपाएअनुसार व्यवस्था मिलाइँदोरहेछ ।
घरमुनि झन्डै काँक्राको बियाँ आकारमा खनिएको पोखरी र त्यसको चिस्यानले छाएको हरियालीले मोहित नै बनायो हामीलाई । त्यही दृश्यपान गर्दागर्दै हाम्रो खाजा तयार भयो । बहुत स्वादिलो गरी खाजा खायौँ र तल लोकमार्गमा झर्यौं । होमस्टेले दिलाएको सन्तुष्टि मनभित्र सजाएर लाग्यौँ चखेवाभन्ज्याङतिर ।
एउटा घुम्ती र सानो जङ्गल छिचोल्नेबित्तिकै फुत्त निस्कियो भेडाका बथान चरिरहेको उछ्याइलो नाघी । फरफर चलिरहेको चिसो हावाको वेगमा देखिएको अनुपम दृश्यले शरीर यति चङ्गा बनायो कि भटभटे एकातिर उभ्याएर नाच्न थालिहाल्यौँ हामी २ भाइ । मुखबाट स्वतस्फुर्त निस्केका गीत गाउँदै धितमरुन्जेल नाचेपछि मात्रै फोटो, भिडियो खिच्न थाल्यौँ । यति आनन्द आयो कि जीवनभर नमेटिने खुसीको छाप त्यहीँ कुँदिएको अनुभूत भयो ।
मन केही शान्त हुँदै गएपछि वरिपरिका दृश्य नियाल्न थाल्यौँ । ट्याम्केमैयुम गाउँपालिकाभित्र पर्ने यो भूभाग मेरो जन्मस्थान धनकुटा चुङमाङबाट सधैँ देखिने ट्याम्के डाँडाको थाप्लोमुनि पर्दोरहेछ । केहीथान च्याङ्ग्रा र धेरैथान भेडा चराइरहेका राई थरका गोठालाहरूसँग गफियौँ । उनीहरू भन्थे– “ठुल्ठुलो भेडीगोठहरू त माथि ट्याम्के डाँडातिर सरिसको नि । हामी १०/१५ वटा भेडा हुने, माथि जानु नसक्नेहरू मात्रै पो छौँ यतातिर आइले ।”
बाटो आएसँगै मानिसको आवतजावत पनि बाक्लिन थालेपछि एकान्त मनपराउने गोठहरू बसाईँ सर्न बाध्य भएछन् माथिल्लो भेगतिर ।
नाचेको ठाउँ छोडेर हामी सय फड्कामाथि पुग्यौँ । खोटाङ र भोजपुर जोड्ने भन्ज्याङको पानीढलो काटेर गल्छी बनाएछ मोटरबाटोले । त्यही गल्छिँडोको दायाँतर्फ सडकपेटीमा होटेल सुरु गर्दैथिए दुई नवीन घरहरूले । तिनीहरूको ठिक विपरित धारबाट सुरु हुँदोरहेछ मुन्धुम पदमार्ग । एउटा काठको टुक्रामा खोपिएर काठकै तोक्चेमा झुण्डिएका अक्षरहरू बोल्दैथिए “मुन्धुम ट्रेल शुभारम्भस्थल” । अक्षर पढ्नेबित्तिकै रोकियौँ हामी उत्साहित बनेर । मुन्धुम ट्रेल बितेका केहीवर्ष यतादेखि पर्यटकहरूको गन्तव्यस्थल बन्दै आइरहेछ भन्नेकुरा मेरो मस्तिष्कले ख्याल गरिरहेथ्यो । त्यहाँबाट हाँसपोखरी, ह्याकुले, रावाधाप, साल्पाभन्ज्याङहुँदै साल्पापोखरी पुगिने रहेछ । गुराँस फुल्दैगरेको त्यो समय पदयात्राका लागि उपयुक्त समय पनि रहेछ । तर हामी योजनाविहीन यायावर थियौँ । एउटा ज्याकेटसम्म नबोकी लहडमा निक्लेका लहडीहरूभित्र साल्पापोखरी घुम्ने सोच पलाउनै भ्याएन ।
होटेलमा भेटिएका युवक हेमन्त राईका अनुसार हामीले हेर्नुपर्ने ठाउँ त धेरै रहेछन् । पाँचधारे चौकीका पाँच धाराहरू, दिदीबहिनीका नामले चिनिने ट्याम्के र साल्मेडाँडाका साथमा साल्पाभन्ज्याङ र तावाभन्ज्झाङ पनि । तर हामी त्यसो गर्न सक्दैनथ्यौँ र सकेनौँ पनि । त्यही चखेवाभन्ज्याङ पनि खातैखात पहाडहरू छिचोलेर जीवनमा पहिलोपटक पुगेका थियौँ । त्यो नै हाम्रा लागि ठुलो उपलब्धी थियो ।
मुन्धुम पदमार्गमा केही कदम हिँडेर उत्तरी हिमशृङ्खलाहरू नियाल्दै थियौँ, तुरुन्तै बद्लियो आकाशको रङ्ग । बटार्रिएर आयो मान्छे उडाउने आँधी । त्यही वेगमा कुँडुलो परेर आयो आँखाछोप्ने कुहिरो । अँध्यारो यति द्रूतगतिमा छायो कि अगाडि दौडिँदैगरेका लक्ष्मणदाइलाई देख्न नै मुस्किल पर्यो मलाई । दौडिदादौडिदै होटेलमा छिर्नै नपाई दर्कियो असिनापानी । घरहरूले हतारहतार ढिक झारिहाले । हामी आत्तिदै ढिक तानेर छिर्यौ भित्र । धन्न रेनकोट रहेछन् शरीरमै र कपडा सुरक्षित रहे । हेलमेट रहेछन् शिरमै र असिनाको चुटाइबाट बँचाए ।
होटलको तातो चियाले चिसो सेक्यौँ । १५ मिनेटपछि सामसुम भयो बाहिर र ढिक खोलेर निक्लियौँ सडकमा । हेर्दा त सडकको भित्तापट्टि वारपार लागेछ असिनाको रास । होटलवाला भाइले भने– “यो भित्तामा थुप्रेको असिना १५ दिनमा पनि पग्लिसक्तैन ।”
मैले सोधेँ– “अनि यस्तोविधि असिना आज मात्रै परेको हो कि अरुबेला पनि परिरहन्छ भाइ ?”
उनले भने– “सधैँ त होइन तर हिउँदोमा चाइँ यस्तै एक्कासी खसिबस्छ दाजु ! अन्तभन्दा धेरै नै खस्छ यो ठाउँमा ।”
हाम्रो भटभटे पनि धोएर टलक्कै टल्काएछ पानीले । निक्कै असिना छेकेछ उसले पनि । प्लास्टिकले मोरेका झोला सुरक्षित नै थिए । छिनभरमा बद्लिने लेक, लुगलुग कमाउने जाडो र सिङ्गो भोजपुरसँग बिदा मागेर प्रवेश गर्यौँ खोटाङको भूमिमा ।
प्रवेशद्वारदेखि नै कालो बस्त्र खोलेर बेसरम नाङ्गो भैदियो सडक । लाज लागेछ बरु कुहिरोलाई र छोपिदियो अन्धमुष्टी बनेर त्यै बेला । तर छिनभरमै शर्मायो कुहिरो पनि र हुल्यो बाटोलाई घनघोर बाक्लो कटुसे पातालभित्र । मज्जा आएछ भटभटेको फग्गीलाइटलाई । हाँस्न थाल्यो कुहिरोको बैँश सुम्सुम्याएर । कुतकुत्याएछ हुस्सुले पनि उसलाई । दुवै खेल्न थाले लुकामारी । पर्दा खोलेर परपरसम्म चिहाउन खोज्छन् लक्ष्मणदाइका आँखा तर झन् बाक्लो पर्दा हालिदिन्छ कुहिरोले । सडकको नाङ्गो रुपमाथि चिप्लेटी खेल्दाखेल्दै भासिएर फन्फनाउन थाले भटभटेका पाउ एकैठाउँमा । ओर्लेर दुवैभाइ लाग्यौँ तान्ने र ठेल्ने अभियानमा । ठिक त्यहीबेला ताली मार्यो आकाशले र वर्षाउनथाल्यो अमृतधारा । जुत्ताको सत्यनास भयो । लेकाली जुका र भालुकोभन्दा भटभटेमा समस्या आइदेला कि भन्ने त्रास बढ्दैथियो हामीभित्र ।
अन्त्यमा पानी, पात्लेघारी र काँठे कुहिरो तीनवटैले छोडे एकैपटक । तर आश्चर्य के भने– अगाडिको बाटोमा धुलो उडिरहेछ । लागिरहेछन् टन्टलापुर घाम । नियालेर हेर्यौँ, ओभानै छन् चरिरहेका भेडाहरू । खर्किरहेछन् पाखामा गोठालाहरू । छक्क र खुसी एकैसाथ छाउँदैगर्दा एउठा गोठालोले राडी काटेर अष्टकोट बनाएजस्तो देख्यौँ । अझै आँखा तन्काएर हेरेँ मैले । लामा बाउला भएको पुरानो स्वेटरमाथि घुँडामुनिसम्म झुन्डिएको जवारीकोट लगाएजस्तो देखियो । शिरमा ढाकाटोपी छ । पेन्ट र जुत्ता छन् गोडामा ।
भटभटे रोकेर नजिकै बोलायौँ र कुरा खोतल्न थाल्यौँ– “भाइ च्याङ्ग्रा पनि पाल्नुभएको छ कि भेडा मात्रै हो ?
“छैना हाउ दाजु चेङ्ग्रा त । हाम्रोमा भन्दा नि माथि लेकतिर पो सजाउँछ चेङ्ग्रा ।”
“अनि यो नै लेक होइन र भाइ ?
“होइना नि दाजु । माथि टेम्केतिर पो हिउँ पनि खस्छ, चेङ्ग्रा पनि गोठगोठै पाल्छ । यता त तुसारो मात्रै खस्छ । चिसो कम हुने ठाउँमा रोगाउँछ नि चेङ्ग्रा । ऊ त्यो लिम्बुनीडाँडाको शिरमा चाहिँ रामरी पालेको छ है ।”
“होइन, अनि चिसो कम हुन्छ भन्नुहुन्छ फेरि यति मोटो ज्यारिकोट पनि लाउनुभ‘को छ त तपाईँले । कि के भन्छन् यो लुगालाई ?
उनी हाँसे र लुगा देखाउँदै भने– “यसलाई त ‘लुकुनी’ भन्छ दाजु ।”
“ए हो ? अनि तपाईँलाई चाहिँ के भन्छ त गाउँमा ?”
“मलाई चाम्लिङे साइँला भन्छ । नाम चाइँ धनबहादुर चाम्लिङ हो । अलि तल डाँडागाउँमा पर्छ घर ।”
“तपाईँले चराउने भेडालाई चाहिँ के भन्छ ? भालेलाई के भन्छ, पोथीलाई के भन्छ ?”
“भालेलाई साँडे र पोथीलाई भेडी भन्छ ।”
“अनि यो लुकुनी आफैँ बुन्नुहुन्छ ?”
“हामी आफैँ बुन्छ ।”
“कसरी बुन्नुपर्छ ?”
“अफ्ठेरो छ नि बुन्नु । भेडाको ऊन काट्तै रङ छुटाएर बेग्लैबेग्लै थुप्रो लाउँछ । रामरी धोएर सुकाएपछि कोरेसोमा कोरेर नरम बनाउँछ । आजभोलि चाइँ मेसिन पनि पाउँछ । तेस्मै हालेर रुवा बनाउछ र चर्खामा राखेर धागो बनाउँछ । त्यो धागोबाट सासानो डोरी बाटेर तानमा बुन्छ । बुनेका टुक्राहरलाई यसैको धागोले जोड्छ र तातोपानी हाल्दै, रुवा थप्तै खुट्टाले बेस्मारी माडेपछि बाक्लो हुन्छ । अनि घाममा मज्जाले सुकाउनु पर्छ र मत्तै यस्तो लुकुनी बन्छ । यो हामी छोरा मान्छेले लगाउँछ । छोरी मान्छेले चाहिँ चौबन्दीजस्तै बुनेर लाउँछ । बनाउनु गाह्रो लाउनु न्यानो ।”
“नाम चाहिँ किन लुकुनी राखेको रैछ त यसको ?”
“खै त्यो त थापाएन हउ दाजु हाम्ले । हाम्रो बाजेबोजुहरू पुनी यसै भन्थ्यो । तर यसले जाडोबट पनि लुकाउँछ, पानीबट पनि लुकाउँछ र पो लुकुनी भनेको हो कि ?”
चाम्लिँगे साइँलाका चोटिला कुरा सुन्दा नै जीउमा न्यानो छायो । बुन्दा झन्झटिलो, हेर्दा राडी ओढेजस्तो देखिए पनि स्थानीय उत्पादन ‘लुकुनी’ सदाबहार लेकाली जाडो छल्न बहुतै कामकाजी पहिरन रहेछ ।
धनकुमारसँग बिदा भएर हामी सरासर ओरालो झर्यौँ । करिब १० किमी. कच्चीबाटो ओर्लेपछि कालोपत्रेले छुन थाल्यो । नाङ्गिएका भन्दा पनि ठेकेदारसँगको झगडाले कालो पोशाक लाउनै पाएको रहेनछ बाटोले । निकै तल होर्लेपछि सडककिनारामा बसेर फूलतरुल केलाउने रैनी दिदीहरू लक्ष्मण दाइले सोध्नुभयो–
“यता कतै चिया खाने दोकान पाइन्छ दिदी ?
एउटी महिलाले अर्कीलाई सोधिन्– हैना, चिया बेच्ने दोकान त सुनेकै हो, चिया खाने दोकान पनि हुँदोरैछ माइली ?
सबैजना गलल्ल हाँसे । हामी पनि हास्यौँ । अर्की महिलाले फेरि सोधिन– “तातो कि चिसो हाउ भाइ ?”
“चिसो त नखाउँ हउ दिदी । तातो मात्रै खान खोजेको अहिले ।”
अर्की एकजना महिला उठेर चोरीऔँलोले देखाउँदै भनिन्– “ऊ त्यो लिम्बुनीडाँडामुनि लहरेचौतारो छ । चौतारामाथि सानो बजार छ । हो तै बजारमा बेच्छ चिया । एताउँधो त चिसो चिया मत्तै बेच्छ भाइ ।”
दिदीहरूलाई धन्यवाद दिएर अघि बढ्यौँ । ठिक ६ मिनेटमा पुग्यौँ “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ९, निर्मलीडाँडामा । त्यहाँको ‘पेलुङ मासु पसल एण्ड खाजाघर’ मा मैले सोधेँ–
“बैनी नास्ता पाइन्छ ?”
“चाउचाउ उमाले मात्रै हो, अरु नास्ता त छैन दाजु ।”
“चिया बिस्कुट ?”
“बिस्कुट छैन दाजु । चिया चाहिँ बनाइदिन्छु । ऊ परको दोकानमा पाउँछ बिस्कुट ।”
लक्ष्मण दाइ बिस्कुट किन्न जानुभयो । म चाहिँ तल खोलाबाट उक्लिेको पुरानो मूलबाटो नियाल्न थालेँ । दायाबायाँ लहरै उभिएका धेरै थान बरपीपल देखिए । तिनका फेदमा भत्किँदैगरेका चौताराहरू देखिए । उहिले युवराज महेन्द्र त्यही मूलबाटो भएर हिँडेका, लहरे चौतारोमा सुस्ताएका, पेलुङ गाउँमा बास बसेर जनताका दुखसुख बुझेका कुरा सुनाउनु भयो छेउको मुढामा बस्नुभएकी बुढी हजुरआमाले । त्यस्तो इतिहास बोकेर उभिएका ती धरोहरहरूलाई मोबाइलमा कैद गर्न थालेँ म । मेरो पछाडि बाटोछेउमा एउटा भालुकुकुरको छाउरो केटाकेटीसँग जिस्किँदै थियो पहिले । त्यो बच्चो सुटुक्क आएर मेरो खुट्टासँग पनि जिस्कन थालेछ, मैले थाहै पाइँन । पछाडि फर्कँदा त उसका मसिना दाँतले रेनकोटको सुरुवाललाई चाल्नी बनाइदिएछ । बदमासी गरेपछि आफैँ भाग्यो बाटोपारितिर । चाल्नु बनेको रेनकोट देखेर अँध्यारो बनेछ मेरो अनुहार । बिस्कुट लिएर आउँदै गरेका लक्ष्मण दाइ मेरो गति र छाउराको दौड एकैचोटि देखेर खुम्रीपर्दै हाँस्न थाले । म निल्ल परिरहेँ ।
पेलुङदेखि दिक्तेलसम्मका अधिकांश बारीहरू बसाइँ सरिसकेछन् । खेतको साम्राज्य चलिरहेको थियो । हिउँदे बालीले ढाकेका खेतहरू रहरलाग्दा देखिन्थे । खोला, खोल्सी र जरुवाहरूले चैते खडेरीको सातो बोलाउँदा रहेछन् । ‘भुलभुले दुधकुण्ड देउधाम’ त्यसको एउटा नमूना रहेछ ।
हामीले कोसौँ टाढादेखि नियालिरहेका प्लास्टिकका टलेलजस्ता सेता बस्तुहरू एउटै मूलबाट उम्रेको विशाल पानी खसिरहेका लहरे धारा र कृतृम झरनाहरू रहेछन् । तेर्सोबाटोमै भटभटे छोडेर कान्ला उक्लियौँ र जरुवा, कुण्ड तथा मूर्तिको दर्शन गर्यौँ । मूलमा केही फरक प्रकृतिका माछा थिए । कुण्डको पानीमुनि आकारले अलि सानो तर काठमाडौँ बुढानिलकण्ठकै स्वरुपको, शेषनागमाथि सुतेका विष्णु भगवान्को मूर्ति थियो । पूजाआजा पनि चल्ने यो ऐतिहासिक पुरातात्विक महत्त्वको स्थानलाई नगरपालिकाले धार्मिक पर्यटकीय महत्त्वको क्षेत्र घोषणा गरी लगानी बढाउँदै रहेछ ।
त्यो रोमाञ्चक दृश्यलाई आँखामा कैद गरेर अघि बढ्यौँ । घरहरू बाक्लिन थाले । होटल, रेस्टुरेन्ट र गेष्ट हाउसका साइनबोर्डहरू देखिन थाले । नियाल्दा दिक्तेलसँगै जोडिएको अल्छेढुङ्गा नजिक पुगिसकेका रहेछौँ । क्षणभरमा दिक्तेल बजार प्रवेशद्वारबाट ओरालो झर्यौँ । यो ठाउँलाई रत्नपार्क जिरो पोइन्ट भनिँदोरहेछ ।
बजारको सरसफाइ देख्तै प्रफुल्लित भयो मन । उत्तर–दक्षिण ढल्केर सुतेको पहाडको घाँटीलाई छपक्कै ढाकेर बसेको बजार । अघिल्लो साल मात्र ढलान गरेर बिचैबिच हिँडाइएको धुलोरहित एकनासको चौडा बाटो । तोकिएको निश्चित समय बाहेक चारपाङ्ग्रे निषेधित क्षेत्र । तीनपाङ्ग्रेले पनि नियमले बाँधिएर चल्नु पर्ने । पार्किङ निषेधित । आफ्नो घर सडक आफैँ सफा गर्नुपर्ने । कुहिने फोहोर छुट्याएर आफैँ व्यवस्थापन गर्नुपर्ने । नकुहिनेलाई नगरपालिकाको गाडीमा आफैँ हालिदिनु पर्ने जस्ता नियमहरूले हरेक व्यक्तिलाई सचेत र सक्रिय बनाएको पाइयो ।
यस्तो हुँदा व्यापारमा त पक्कै असर छ जस्तो लाग्यो तर बाटो एउटा मात्रै भएको हुँदा ग्राहकहरू कतै छरिन नपाउने, सवारीसाधन कतै राखेर पनि चाहिएको सामान खरिद गर्न आउनै पर्ने वाध्यता भएका कारण व्यापारमा कुनै असर नपरेको देखियो ।
बजार घुम्दै हामी तल, स.मावि., बेसक्याम्प, त्रिवेणीचोकहुँदै हाटडाँडासम्म पुग्यौँ । दिक्तेललाई अझै एकै नजरमा कैद गर्न कालीमन्दिरतिर उक्लिने बाटो थोरै माथिसम्म चढ्यौँ । च्यादरका छाना ओढेका अधिकांश घरहरूलाई कङ्क्रिड ओढेका थोरै घरहरूले ओझेल पार्न खोज्दै गरेको देखियो ।
त्यसपछि बस्न खानका लागि सफा र मितव्ययी होटलको खोजी गर्दै फर्कियौँ बजारतिरै । एकजना प्रहरी भाइले होटल रुपाकोटको नाम दिए । त्यो संवाद सुनिरहेका अर्का भाइले “त्यस्तो महङ्गो ज्यानमारा होटलमा नजानोस्, बुकीटाट बनाउँछ त्यसले” भने । केही होटल बुझ्यौँ पनि । सस्ता तर सुविधा नभएका । त्यसपछि सिधै रुपाकोट पुग्यौँ । रु. १२००/– मा तातोचिसो सबै व्यवस्था भएको, अलगअलग बेड भएको, काउन्टरछेउमै भनेजस्तो कोठा भेटेपछि खुसीसाथ झोला बिसायौँ र तातोपानी पिएर फेरि बजारतिरै निक्लियौँ ।
दिक्तेल निकै चिसो ठाउँ रहेछ । न लामखुट्टेको टोकाइ न घामको पोलाइ । न बाढीको कटान न पहिरोको त्राहिमाम् । स्याउँस्वाउँ जुका लाग्ने लेक पनि होइन, हिउँ पर्ने नाघी पनि होइन । न रुखो पाखो न नाङ्गो डाँडो । बस्न खानका लागि स्वर्गीय आनन्दको ठाउँ । तर सामग्रीहरू चाहिँ तुलनात्मकरुपमा केही महङ्गो । फलफूल दमकभन्दा दोब्बर पैसा तिरेर किनेपछि अनुसन्धान गर्न करै लाग्यो ।
महङ्गो हुनुमा एउटा कारण ढुवानी समस्या र दोस्रो कारण व्यापारीहरूको मनोमानी रहेछ । तराईसँग दिक्तेलको सिधा सम्पर्कबाटो छैन । उदयपुरको गाइघाटबाट हलेसीछेउ निस्कने बाटो पनि ठुला गाडी चल्न सक्नेगरी पूरा भइसकेको रहेनछ । प्रायजसो मालबाहक गाडीहरू बर्दिबासदेखि खुर्कोट, घुर्मी, हिलेपानी, महादेवस्थान हुँदै दिक्तेल आइपुग्ने र निश्चित सामान मात्रै ल्याइने हुँदा ल्याएको सामान राम्रो मूल्य लिएर बेच्ने गर्दारहेछन् व्यापारीले । भोजपुरसम्म इटहरी धरान धनकुटा हुँदै जाने, ओखलढुङ्गातिर पनि कटारी घुर्मी हुँदै वा खुर्कोट हिलेपानी हुँदै उक्लिने तर दिक्तेल चाहिँ बिचमा एक्लै छोडिने हुँदा यसका लागि भाग छुट्याएर माग अनुसारको निश्चित बस्तु मात्रै बोक्नुपर्ने रहेछ ।
हामी एउटा पुस्तक पसलमा पुग्यौँ । पसले दाजुसँग चिनजान भयो । उहाँ मोरङ लालभित्ती घर भए पनि दिक्तेल बजाभित्रको सरस्वती माविमा शिक्षण गर्दै व्यापार पनि गर्नुहुँदो रहेछ । मैले खोटाङमै बसेर सिर्जनामा रमाउनुहुने कोही साहित्यकारहरू चिन्नुहुन्छ भनेर सोधेँ । उहाँले कवि रामविक्रम .थापाको नाम लिनु भयो र फोन नम्बर पनि दिनुभयो । उहाँ पनि लालभित्तीकै हुनुहुँदोरहेछ । मैले फोन गरेँ र भोलिपल्ट बिहान भेट गर्न जाने निधो गरेँ । त्यसपछि जुत्ता पसल, कपडा पसल, फलफूल पसलमा छिर्यौँ । अधिकांश व्यापारीहरू तराईतिरै घर भएका पहाडेमूलका मानिसहरू रहेछन् । रुपाकोट होटलका मालिक चाहिँ होटल व्यवसायी सङ्घ खोटाङका अध्यक्ष पनि रहेछन् ।
दिक्तेल बजारलाई विभिन्न कोणबाट नियाल्दै भोलिपल्ट गरिने हलेशी दर्शनका लागि आवश्यक सामग्री खरिद गर्यौँ । होटल फर्केर मिठो साकाहारी भोजन गर्यौँ । विस्तारामा पल्टिनुअघि मात्रै रेनकोट खोलेर जनतसाथ राख्यौँ । साना तर न्याना धुस्सामाथि बाक्ला सिरक काप्यौँ र आनन्दले निदायौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










