स्वास्थ्यका लागि हो योग साधना गर्नुपर्दछ
शरीर मन जोडेर ध्यानमा रम्नुपर्दछ
तनको मनको मैलो फाल्न योग सघाउँछ
दिलाई ज्ञानविज्ञान स्वस्थ भाव जगाउँछ ।

रोग हुन्छ निको आफैँ निरोगी बन्न सक्तछौँ
स्वस्थ छौँ जो हिजोआज सधैँका स्वस्थ बन्दछौँ
फुर्ती बढ्छ अझै जोस बढ्छ जाँगर आँतमा
उन्नति चौगुणा बढ्छ कर्मका गुण आँटमा ।

मांशपेसी सबै जोर्नी चल्नुपर्छ निरन्तर
विधिको ध्यानको ज्ञान हुनुपर्छ बरोबर
पूर्ण व्यायाममा निष्ठा नियमित भएपछि
कुण्डली खुल्दछन् सारा योग पूर्ण गरेपछि ।

गर्न जो जति जे सक्छ त्यति नै गर्नुपर्दछ
बगाई प्रेमका धारा स्नेहले जोड्नुपर्दछ
नसकी नसकी जम्मै गर्नुहुन्न दिनैभर
फाइदा उत्ति नै हुन्छ दिए देन निरन्तर ।

जति छन् देशमा राम्रा साधना केन्द्र उत्तम
बनाउन् राष्ट्र उज्याला घामझैँ मन हर्दम
सारा संसारका योगीजनको मन चिन्तन
एक हुन् ठान्दछौँ हामी योग हो दिव्य दर्शन ।

(कवि न्यौपाने साहित्य कला सङ्गम, दमकका अध्यक्ष हुनुहुन्छ ।)