द्वन्द्व मलाई मन पर्थेन । किन्तु अहिले मन परिरहेको छ । म अहिले द्वन्द्वात्मक मूडमा छु । कस्तो अद्भुत द्वन्द्व ! कस्तो अद्भुत अनुभूति ! यस्तो विरोधाभासपूर्ण स्थितिमा एकसाथ म अशान्ति र आनन्द भोग्दैछु । त्यसैले, चुपचाप रहन सकेको छैन । विचलित छु र पनि फेरि त्यसैमा मज्जा आइरहेको छ ।
लाग्छ, मलाई अब शान्त हुन मनपर्ने छैन । चाहन्छु सधैँ यस्तै अशान्त मनस्थितिमा रहन सकूँ जसले मलाई निरन्तर केही सोच्न लगाओस् । सपनामा पनि त्यसले खेदोस् । त्यसरी हमेसा खेदिएर; म खेदिनुको कारण खोज्न चाहन्छु । मेरो विनम्र अनुरोध छ, अझ आह्वान छ मलाई कसैले खेदिदिओस् । अनि पो म गतिशील हुन सक्छु ।
त्यस्तै मेरो अपेक्षा छ म निदाउन लाग्दा लामखुट्टे बनेर कोही आइदिओस् । तब म जाग्नेछु; म जाग्न चाहन्छु । जागेर विचलित हुन चाहन्छु । पूर्व स्थितिबाट डगमगाएर भुइँमा खस्न चाहन्छु । त्यति मात्र होइन, द्वन्द्वात्मक मनस्थितिमा बाँच्न चाहन्छु । त्यसैले, म अशान्त मूडको प्रार्थनामा छु ।
आज मसँग एउटा भिन्न अनुभूति छ, जसमा बुझाइको पृथक धारणा छ । लाग्यो मानिस त्यतिखेर शान्त हुने रहेछ जतिखेर ऊसँग केही प्रश्नै हुँदैन । प्रश्न नहुनाकै कारण ऊ शान्त हुने रहेछ । जब ऊसँग केही प्रश्नहरू हुन्छन् अनि त ऊ शान्त हुन खोजे पनि शान्त हुन नसक्दो रहेछ । आखिर किन त्यसो हुन्छ ? किन हुन्छ भने पूर्व मान्यताबाट ऊ विच्छेद हुन्छ । त्यतिखेर उसको सन्देहले अर्को विचार जन्माउन लागेको हुन्छ । त्यस्तै अर्को सत्य । त्यस्तै अर्को बुझाइ । उसलाई अब उसको अघिको बुझाइले काम नदिने भएको छ ।
म अहिले सन्देहशील मनस्थितिमा छु । प्रश्न गर्न चाहन्छु । यस अघि मैले बालकृष्ण सम (नियमित आकस्मिकता) किन पढिनँ ? समयमै पढ्नुपर्ने रहेछ । पढेको भए आजको दिन मैले पहिल्यै बाँचेको हुने थिएँ । किन्तु बाँचिनँ । हुन त आजको दिन मैले आजै बाँच्नु थियो । आजकै लागि त म जन्मिएको हुँ । यदि आजको दिन पहिल्यै बाँचिसकेको हुन्थेँ भने म अहिले नबाँच्न पनि सक्थेँ । मैले अहिले बाँच्नकै लागि भनेर आजको दिन हिजो नबाँचेको हुँ र आजको लागि भोलि नपर्खिएको हुँ । त्यसैले, म आजै बाँच्नु छ किनकि यहाँ जे हुनु छ आजै हुनु छ । भोलि त केही हुने छैन । छ त केवल मृत्यु । अनन्त मृत्यु । सम्पूर्णको मृत्यु । त्यसैले भोलि नआउँदै उसको मृत्यु पनि आजै हुने गर्छ । भोलि त उसलाई निमेषभर पनि अनुमति छैन । जति छ आजकै निम्ति कबुल गरेर ऊ आएको छ ।
त्यसो हो भने हिजो नगरेको कामप्रति किन पश्चात्ताप ? त्यो काम त उसले आज गर्नु छ । त्यसैका लागि ऊ पर्खिएको छ र त बाँच्न पाएको छ । वास्तवमा उसले कुनै पनि काम गरेँ या गरिनँ भन्नु छैन । उसले जे गर्छ, त्यो गर्नु नै छ र जे गर्दैन त्यो गर्नुपर्ने छैन । त्यसो भए किन गर्ने ? जस्तो मानौँ कि ऊ गरीब हुनु छ भने धनी हुन किन प्रयास गर्ने ? ऊ जस्तो हुनु छ त्यस्तै हुन प्रयास गर्दै जानेछ । आखिर उसलाई गरीब हुन कसैले लगाएको त होइन नि र पनि फेरि ऊ गरीब भइरहेको छ ! त्यस्तै, उसलाई धनी हुनु कसैले भन्ने छैन । मूर्ख, धूर्त, अज्ञानी हुनु पनि कसैले भन्ने छैन र पनि ऊ त्यही भइरहेको हुन्छ । नराम्रो हुनु उसको अपेक्षा होइन र पनि किन त्यही भइरहेछ ? आखिर जसरी होस् चाहेको त उसले राम्रै बन्नका लागि हो, परन्तु किन त्यसो हुँदैन ?
निश्चय नै म नराम्रो हुँ भनेर ऊ जन्मिएको हुँदै होइन तर पनि ऊ त्यही भइरहेछ । उसको अपेक्षाअनुसार हुन्थ्यो भने सम्पूर्ण परिस्थिति उसको अनुकूल चल्ने थियो । किन्तु चल्दैन । किनकि उसले नचाहे पनि ऊ त्यही हुनुछ, जस्तो हुनका लागि ऊ आएको छ । ऊ जस्तो बन्नु छ र जस्तो उसले बाँच्नु छ त्यसै अनुरूप उसको मन बुद्धि निर्माण हुँदै जाने होला शायद । मानिलिऊँ ऊ चोर बन्नु छैन भने चोर मनोवृत्ति उसलाई कसरी आउँछ ? यदि आउँछ भने पनि त्यतिखेर आउँछ जतिखेर उसले चोर्नु छ । यहाँ हरेक कुरा त्यसबखत घट्छ जसबखत त्यो घट्नु नै छ । त्यस बाहेक अरू बेला न त्यो अघि घट्छ न पछि नै । जेहोस् त्यो घट्दा नियमसंगत तरिकाले घट्छ । तर कहिले घट्छ निश्चित छैन । तर घट्छ, तथापि नियम विपरीत भने होइन ।
म अहिले गम्भीर सोचमा छु । निकै पहिलेदेखि पढ्ने इच्छा राखेको ‘नियमित आकस्मिकता’ आज आएर पढ्न लाग्दा म यसखालको विचार निर्माणमा छु । त्यसो त निर्माण पनि के भन्नु र ? शब्दान्तरमा प्रस्तुत विचार ‘नियमित आकस्मिकता’कै प्रतिविम्बित धारणा हो ।
कहिलेकाहीँ थाहा भइरहेको कुरा पनि थाहा नभएझैँ किन हुने गर्छ ? अनि कहिले थाहा नपाउँदा नपाउँदै पनि थाहा पाएझैँ लाग्ने कस्तो भ्रान्ति ? यथार्थ एउटा छ, बुझाई फेरि अर्कै । यस्तैमा म एउटा जटिल अनुभूति गर्न पुग्छु जुन आवश्यक लाग्दैन । सामान्य कुरामा पनि किन यस्तो कठिन बुझाई ? जीवनमा इच्छाइएका सप्पै कुरा पूरा हुनुपर्छ भन्ने छैन । त्यसो त पूरा पनि हुँदैन र पनि पूरा हुनुपर्छझैँ लाग्ने कस्तो हट ? त्यसैले त अपेक्षा राख्नु र पूर्ति हुनु भिन्न कुरा हुन् भन्ने बिर्सिएँछु र विस्मित छु ।
त्यसो त मसँग कुन ठूलो इच्छा थियो र नै ? साधारण इच्छा न हो । त्यो तत्कालै पूरा हुन सक्थ्यो तर भएन । मैले तत्परता देखाइनँ । किनकि मसँग अरू विकल्प थिए । लाग्यो विकल्प हुनु भन्दा नहुनु बेस रहेछ । जब हिँड्ने मार्ग सप्पै बन्द भएर कहीँ टाढा एउटा साँघुरो छिँड देखिन्छ, त्यतिखेर लक्ष्यप्राप्तिको तीक्ष्णता दोब्बर हुने रहेछ । किनकि ऊ बाध्य छ त्यो मार्ग भएर अघि बढ्न जब कि उसको अर्को छनोट हुँदैन । त्यतिखेर उसको सम्पूर्ण शक्ति अर्जुन दृष्टि भएर त्यहाँ पुग्न एकीकृत हुनेछ । बाटोमा हिँड्दै जाँदा जति वैकल्पिक मार्गहरू भेटिन्छन् त्यति नै लक्ष्यशक्ति विखण्डित हुँदै जाने रहेछ । अनि त लाग्यो जीवनका सारा ढोका बन्द भइदिऊन् । तब ठूल्ठूला पर्खाल ढाल्ने सामर्थ्य जन्मिनेछ । यतिसम्म कि, त्यसले साम्राज्य समेत ढाल्दिन सक्नेछ ।
अतीत स्मृतिसँगै अहिले मलाई लागेको छ, यदि मसँग अरू धेरै किताब हुन्थेनन् भने ‘नियमित आकस्मिकता’ मैले पहिल्यै पढिसकेको हुने थिएँ । समयमै इच्छाले पूर्णता पाएको भए यतिखेर यी यस्ता प्रसङ्ग उब्जिने थिएनन् । तर होइन, पक्कै उब्जिने थिए । किनकि यो उब्जिनु नै थियो । आकस्मिकताका समले यही भनेका छन् ।
आज नयाँ वर्ष (२०८३) को पहिलो दिन । उफ् ! समय बितेको बित्यै छ तीव्र गतिमा । त्यस गतिसँगै सुस्तरी प्रतिनिमेष म मर्दै गइरहेको छु । समयले मार्दै लगिरहेको छ । हरेक पल मृत्युको नजिक पुर्याउँदैछ । तर त्यसमा कुनै आपत्ति छैन । आखिर जन्मिएको मर्नकै लागि न हो । म चाहन्छु जीवन र मृत्युलाई एकसाथ बोध गर्न सकूँ ।
एउटा संयोग नै भन्नुपर्छ, नयाँ वर्षका दिन बालकृष्ण समलाई पढ्नु । यो संयोग एकदम मन परिरहेको छ । अघि कुनै यस्तो किताब मैले पढेको रहेनछु जसले मलाई प्रश्नात्मक बनाओस् । विचारको आँधीमा हुत्याइदिओस् । सोचाइलाई फेरबदल गरिदिओस् । एउटा वैचारिक कृति पढेपछिको आनन्द यस्तो पो हुने रहेछ । मभित्र विचारका, प्रश्नका, जिज्ञासाका लहर उठेका छन् । खाँदा, बस्दा, उठ्दा पनि म विचारोत्तेजक स्थितिमा छु । त्यसबाट मुक्त हुने प्रयास गर्छु तर सक्दिनँ । हुन त मुक्ति किन चाहियो र ? यसैमा आनन्द आइरहेको छ जसले उँग्न दिएको छैन । भित्रभित्रै विचलनको हुरी चलेको छ । यतिखेर म आफ्नो वास्तविक स्वभाव थाहा पाउँदैछु; मलाई प्रश्नहरू मनपर्ने रहेछन् । जागृत गराउने त प्रश्नले नै हो ।
यस पहिले पढेका प्रायः पुस्तकले मलाई उत्तर दिन सिकाएका थिए । जवाफ दिन सिपालु बनाएका थिए । लाग्थ्यो, ती किताबले मलाई ज्ञानी बनाउँदै लगेका छन् । शान्त हुन सिकाएका छन् । आज्ञाकारी बनाएका छन् । किन्तु ‘नियमित आकस्मिकता’ले मलाई त्यसको ठीक विपरीत स्थितिमा पुर्याइदियो । अब म ज्ञानी हुँदिनँ, आज्ञाकारी बन्दिनँ र शान्त पनि । मलाई त्यसो हुनु छैन । एउटा पुस्तक पढिसकेपछिको उपलब्धि त्यसमा छैन जसले स्थिरतामा लगेर टुङ्ग्याइदिओस् । गतिहीनतामा छोडिदिओस् ।
पुस्तक अध्ययनमा यस्तो भिन्न अनुभूति कहिल्यै भएको थिएन । समाधिमा पुगेका योगी सन्यासीको आनन्दभन्दा पनि अझ उत्कृष्ट खालको आनन्द अहिले अनुभव गर्दैछु । किन्तु मेरो यस आनन्दमा मौनता छैन । बरु प्रश्न, प्रतिप्रश्न र काल्पनिकताको संसार छ । मसँग यतिखेर विविध अनुत्तरित उत्सुकताहरू छन् । यस्तै अनेक ऊहापोहबीच डा. गोविन्दराज भट्टराईलाई फोन गर्छु र आफ्नो अवस्था सुनाउँछु । त्यसै बखत उहाँले भू–गर्भशास्त्री डा. तारानिधि भट्टराईको नाम लिनुभयो । त्यसरी तारानिधि दाजुको नाम सम्झाइदिँदा म खुशी भएँ । त्यसो त उहाँले डा. तारानिधिको नाम नसम्झाएको भए पनि सम्झिरहेकै हुन्थेँ । तथापि अहिले सम्झिरहेको थिइनँ । बेला बखत फोनमा हाम्रो कुराकानी भइरहन्छ । उहाँको त्यो शालीनता र बुद्धिजीवी व्यक्तित्व प्रशंसनीय लाग्छ । म उहाँको विनयशीलताबाट ज्यादा प्रभावित छु । उहाँसँग जोडिएका मेरा केही अतीत स्मृति छन् ।
तारानिधि दाजुले सन्ध्याको समय दिनु भएको छ । म त्यही सन्ध्याको पर्खाइमा छु । यसबीचमा मित्र लक्ष्मण वियोगीलाई कल गरेँ । ‘नियमित आकस्मिकता’ हिजो उनैले दिएका थिए । बालाजु नयाँबजारस्थित थकाली भान्छाघर दाउरामा हामी भेट भएका थियौँ ।
मित्र वियोगीले ‘नियमित आकस्मिकता’ नपढेका हुँदा हुन्; म अहिले उनलाई फोन गरिरहेको हुने थिइनँ । उनलाई ‘नियमित आकस्मिकता’ कस्तो लाग्यो म त्यो जान्न चाहन्छु । ‘यस पुस्तकप्रति उनका के कस्ता विचार छन् ? र प्रश्न छन् कि छैनन् ?’ मैले सोधेँ ‘अनि उनका मत विमत के छन् ?’
बालकृष्ण समप्रति मेरा केही विपर्यास धारणा रहेका छन् । त्यसो त म विज्ञानको विद्यार्थी होइन र पनि मेरा आफ्नै दृष्टिकोण छन् । अनि कतिपय ठाउँमा विमतका स्वर पनि । मेरो पठन अनुभूतिमा वियोगीले भने, ‘यसमा स्रष्टाले व्यापक अध्ययनको सार खिचेका रहेछन् । किताब बडो विश्लेषणीय लाग्यो । आफूलाई लागेका कतिपय कुरा मैले त्यहीँ किताबमा लेखेको छु ।’
हुन पनि उनले किताबको खाली ठाउँ सप्पै केके लेखेर भरेका रहेछन् । तर मैले त्यसमा ध्यान दिइनँ । कुनै पनि पुस्तक पढ्नु अघि त्यस पुस्तकमा लेखिएका कुरा म खासै पढ्दिनँ । स्वतन्त्र पठनमा त्यसले बाधा गर्छ । हुन त त्यसलाई बाधा भन्न नमिल्ला । प्रभाव भन्नु ठीक होला । म त्यसरी अरूबाट प्रभावित हुन चाहन्नँ । आफैँ आफ्ना धारणा बनाउन चाहन्छु ।
सन्तुलित विचारका एक दार्शनिक स्रष्टा; जसलाई पढ्नु अघि आफूमा एक पात्रता निर्माण गर्नुपर्ने रहेछ । तर मैले निर्माण नगरी पढेँ । त्यसो हुँदा कति कुराको भेउ पाउन सकिनँ । बस् नबुझी नबुझी पढेँ । मेरो बुझाइमा अहिलेसम्म पढेका लेखकहरूमध्ये सम मात्रै एक त्यस्ता लेखक हुन् जसले ज्ञान र विज्ञानका दुई विपरीत पाटालाई समदृष्टिकोणले हेर्न सकेका छन् । यदि उनी विज्ञानका विद्यार्थी हुन्थेनन् भने एकतर्फी विचारका हुन सक्थे ।
हाम्रा प्रायः लेखकहरू एकपक्षीय बुझाइले कुप्रिएर एकको समर्थनमा अर्कोको विरोध गर्न लाग्छन् । मानौँ विरोध गरेनन् भने पनि उपेक्षात्मक दृष्टिका हुन्छन् । अज्ञानताका कारण ऊ त्यसरी उपेक्षात्मक दृष्टि राख्न पुग्छ । यदि त्यसो गरेनछ भने पनि उदासीन भइदिन्छ । त्यस्तो उदासीनतामा ऊ कदापि न्यायिक दृष्टिकोणको हुन सक्दैन । हाम्रोमा विज्ञानको कुरा गर्नेहरू ज्ञानलाई बेकम्मा देख्छन्, त्यस्तै ज्ञानका कुरा गर्नेहरू विज्ञानदेखि भड्किन्छन् । त्यसैले, विरोध र समर्थनका दुई किनारामा उभिएर एकको उपस्थितिमा अर्कोको अनुपस्थिति रुचाउँछन् ।
त्यसो त उसले ज्ञानको विरोध गरोस् या विज्ञानको । उसले विरोध गर्दैमा त्यसको अस्तित्व विलीन हुने होइन । बरु ऊ आफैँ स्रष्टा अस्तित्वबाट पश्चगामी हुन सक्छ । त्यससँगै पाठक प्रियता गुमाउन सक्छ । त्यति मात्र होइन, ऊ अग्राह्य हुन सक्छ । त्यसबाट बच्न उसले एकचोटि आफूलाई बुझ्ने धृष्टता गरोस् । त्यतिखेर उसले थाहा पाउने छ, उसलाई न ज्ञान मात्र भएर पुग्छ न विज्ञान । किन्तु उसले थाहा पाउनु नपाउनु त्यो अलग कुरा । तर उसले ज्ञान र विज्ञान सँगसँगै बाँचेको हुन्छ । जस्तो उसको मानव शरीर आफैँमा एउटा विज्ञान हो । त्यो शरीर सम्पूर्ण रूपले विज्ञानसम्मत चलेको छ, अर्थात् सिस्टममा । श्वासप्रश्वासदेखि पाचन प्रक्रिया सप्पै सप्पै त्यसरी चलेको छ । यतिसम्म कि उसले सोच्ने विचारको प्रक्रिया नै हेरौँ न त्यो कति जटिल छ, कति विज्ञानसम्मत । त्यसको अध्ययन गर्ने हो भने शायद एउटा जीवनले नभ्याउला । भ्याए पनि कति रहस्यहरू अधूरै रहलान् ।
कहिलेकाहीँ अकस्मात् म आश्चर्यचकित हुन्छु । आफूले फेरिरहेको श्वास सम्झिँदा मात्रै पनि त्यसो हुन्छ । हामीले फेर्ने श्वास सामान्य लाग्दालाग्दै पनि कति जटिल कुरा छ । यस वायुमण्डलमा कति थरी ग्यास होलान् । हाइड्रोजन, नाइट्रोजन, कार्वनडाइअक्साइड यस्ता अनेक ग्यासबीच नाकले कसरी अक्सिजन फिल्टर गरेर लिन सकेको ? के तपाईंले कहिल्यै सोच्नु भएको छ ? हेर्नु त हामीले फेर्ने श्वासको प्रक्रियामा कति ठूलो विज्ञान छ । यसरी प्रतिनिमेष विज्ञान बाँच्दाबाँच्दै हामी विज्ञानसँग किन भड्किने गर्छौं ?
त्यस्तै, हाम्रो शरीरमा विज्ञान मात्रै छैन, ज्ञान उतिकै छ जसलाई विज्ञानले अर्थ्याउन सकेको छैन । जस्तो हामीसँग माया, दया, करुणा, भावना संवेदना केके थोक छ । अझ ठूलो कुरा त मन, बुद्धि र चेतना छ । त्यसभन्दा अझ पर प्राणतत्व छ जुन कि हामी जन्मिनुभन्दा अघि कहाँ थियो र मृत्युपछि कहाँ रहनेछ ? आखिर सृष्टिको कुरा सृष्टिदेखि बाहिर, ब्रह्माण्डदेखि पर रहन सक्दैन । उसो भए त्यो कहाँ रहन्छ ? यहाँ हरेक कुराको अस्तित्व सृष्टिमै छ विलीनता पनि सृष्टिमै । एकचोटि सोचौँ त हामी जन्मिनु अघि हाम्रो अस्तित्व थियो कि थिएन ? थियो भने कहाँ थियो ? यदि थिएन भने अचानक कहाँदेखि आयौँ ? यसरी आउन केही न केही माध्यम त अवश्य हुनु पर्ला नि ? विनामाध्यम, विनाकारण यहाँ केही कुरा घट्न सम्भव छैन । तथापि कारण नदेख्दैमा कारण कहाँ हराउँछ र ?
त्यस्तै, एकचोटि पुनः सोच्नूस् त के यो जीवन हामीले इच्छाएर पाएको हो ? होइन नि ! नइच्छाएरै हामीले जीवन पाएका छौँ । त्यस्तै, कति कुरा इच्छाएर पनि किन पाइरहेका हुँदैनौँ ? आखिर पाउनु पर्ने हो नि ? इच्छा आफ्नै हातमा छ र जीवन पनि । तर किन पाइरहेका हुँदैनौँ ? यी यस्ता कुरा कति जटिल छन्; विज्ञानभन्दा जटिल । यहाँ प्रत्येक व्यक्ति आफैँमा कति ठूलो रहस्य बोकेर बाँचेको छ । त्यस्तै कति ठूलो विज्ञान । तर दुःखको कुरा, ज्ञान र विज्ञानको यस्तो अनन्तता बाँचेर पनि ज्ञानहीन, विज्ञानविहीन ऊ कसरी हुन सकेको ?
यसैबीच कम्तीमा उसले सम पढोस् । अझ ‘नियमित आकस्मिकता’ पढोस्, यसले उसको चिन्तन सन्तुलित गर्न सक्छ । सम भन्छन् सृष्टिको हरेक कुरा विज्ञानसम्मत घट्छ अनि जति घट्छ त्यो सम्भव भएकै कारण घट्छ । असम्भव कुरा केही घटिरहेको हुँदैन र जति घट्छ नियमबद्ध घट्छ, किन्तु कतिखेर घट्छ थाहा हुँदैन । तर घट्छ । निश्चय नै घट्छ, तथापि आकस्मिक तरिकाले घट्छ । सृष्टि आरम्भ भएदेखि यसरी नै हरेक कुरा नियमसंगत तर आकस्मिक तरिकाले घट्दै आएको छ ।
अहिले मेरो लेखनको उद्देश्य ‘नियमित आकस्मिकता’को पठन प्रतिक्रिया या समीक्षा त्यस्तो केहीसँग सम्बन्धित छैन । हुन त फेरि लेखन त्यसैको केन्द्रीयतामा निकट रहेको छ । म यसमा केही सन्देहका कुरा गर्न चाहन्छु । एक दुईवटा सन्देहका कुरा । त्यसैमध्ये एउटा सन्दर्भ छ शून्य आकाशको । लेखकले कहीँ भनेका छन्, “सजीव र निर्जीव हामी श्रेणीविभाजन गर्दछौँ तर भिन्न विकसित लक्षणहरूसिवाय जीव र निर्जीवको बीचमा सीमा हाल्ने कुनै स्पष्ट साधन छैन, कुनै सीमा हालिहालौँ भने पनि त्यो कहाँनेर हाल्ने, त्यसको साँधी छैन । वास्तवमा जीवन के हो ?— मन; मन के हो ?— गति । यो विद्युत—चुम्बकीय मूलतङ्खवदेखि लिएर समाधिवाला ऋषिसम्म विद्यमान छ, तसर्थ यस हिसाबले जीव र निर्जीव छुट्यायौँ भने हामी केवल शून्य आकाशलाई निर्जीव र त्यसदेखि भिन्न वस्तुलाई जीव भन्न सक्तछौँ । आइन्स्टाइनले पनि भनेका छन्—वेग विश्वव्यापी छ (पृ–११) ।”
शुरुमै म स्पष्ट हुन चाहन्छु, समका विचारसँग सहमत हुनु नहुनुसँग मेरो दृष्टिकोण रहेको हुने छैन । त्यसो हुँदा खण्डन गर्नपट्टि म लाग्दिनँ । बस् आफ्नो स्वतन्त्र बुझाइ राख्न चाहन्छु । समले भनेका छन् सजीवता र निर्जीवताका आधारहरू अस्पष्ट छन् । त्यसो हुँदा सजीव र निर्जीवका पहिचान पनि कठिन छन् । उनले जीवनसँग मन र गतिशीलता जोडेर सजीव र निर्जीवका कुरा उठाएका छन् । जस्तो, जीवनसँग मन छ त्यसैले गतिशील छ । अनि गतिशीलतासँग मन छ, त्यसैले जीवन छ । ऊ सजीव छ र त ऊसँग जीवन छ । अझ यसरी पनि भन्न सकिन्छ ऊसँग जीवन छ, त्यसैले ऊ सजीव छ । गतिशील छ । किनकि ऊसँग मन छ ।
यसरी मन र गतिबाट सजीव निर्जीव पर्गेल्ने हो भने एककोषीय प्राणी तथा अमिबा, ब्याक्टेरियादेखि लिएर वनस्पति जगतलाई के भन्ने ? निर्जीव ? के उसो भए तीसँग जीवन छैन ? त्यस्तै, समले शून्य आकाशलाई निर्जीव भन्दै गर्दा यहीँनेर मेरो प्रश्न छ; यदि आकाश निर्जीव हुँदो हो भने के हामी सजीव हुन सम्भव थियो ? पृथ्वीमा जीवन के सम्भव थियो ? शून्य आकाश निर्जीव हुँदा निर्जीवतामा जीवन कसरी रहन सक्छ ? त्यसो त आकाश शून्य कहाँ छ र ? हामीले नदेखेको कति कुरा छ त्यहाँ ।
लाग्छ चराचर जगत्, सारा सृष्टि यही शून्यता (आकाश)मा बाँच्दै आएको छ । सम्पूर्ण सृष्टिको सार यही शून्यता र यसकै अनन्तताको व्याप्ति लाग्छ । यस शून्यताबीच पृथ्वीको, प्राणी जगतको, तारा नक्षत्रको अस्तित्व कति पो होला र ? हाम्रो पृथ्वी यही शून्यतामा झुण्डिएको छ । सम्पूर्ण सृष्टि शून्यतामा झुण्डिएको छ । सम्पूर्ण कुरा यसैमा अवस्थित छ ।
सोझो सामान्य बुझाई राख्दा पृथ्वी कुनै एक धरातलमा अडिएको लाग्छ । कीटपतङ्ग, यावत प्राणीदेखि वनस्पति जगत् त्यसैको सतहमा छ भन्ने लाग्छ । त्यसदेखि मुनि अनन्त गहिराइ छ । सबभन्दा मुनि पृथ्वीको पीँध छ । आखिर हाम्रो बुझाइ यही होइन त ? हेर्नू त सत्य कति फरक ? कति अगम्य ?
हामीलाई लाग्छ आकाश जहिल्यै माथि हुने गर्छ । पृथ्वीमाथि आकाश छ । आकाश भन्ने कुरा जहिल्यै शिरमाथि हुने गर्छ । तर विशाल आकाश माथि मात्रै कहाँ ? तल पनि त उतिकै रहेछ । हामीमुनि अर्थात् पृथ्वीमुनि पनि आकाशको विशालता रहेछ । शून्य आकाशमा कुनै एउटा डल्लोझैँ लाग्ने पृथ्वी कसरी थामिएको होला ? एकचोटि मलाई पृथ्वीमुनिको आकाश हेर्ने रहर छ । त्यसैबेला लाग्छ पूर्वीय दर्शनले मान्दै आएको पौराणिक भूगोल (अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पाताल) को मान्यता यताकतै सत्य हुन सक्छ जुन हामीलाई थाहा नभएको होस् । आफूलाई थाहा नभएको कुरा सत्य नलागे पनि त्यो सत्य हुन सक्छ । आखिर हामीलाई कति नै के पो थाहा छ र ? विराट अगम्यतामा जति थाहा हुन्छ, त्यो कण बराबर पनि नहुन सक्छ ।
विज्ञानले पत्ता लगाइसकेको कुरा विश्वास गर्न त हामीलाई अझै मुश्किल परिरहेको छ भने पूर्वीय वाङ्मयले बताएको रहस्यमा पुग्न अझ कति युग पर्खिनु पर्ला ? जस्तो एउटा दृष्टान्त नै लिऊँ न—चारैतिर आकाशले घेरिएको पृथ्वी शून्यको अनन्तताबीच कुनै एक बिन्दुमा तुन्द्रुङ्ङ झुण्डिएको छ । के हाम्रो सामान्य जनजीवनमा त्यो सत्य लाग्छ ? नलागे पनि सत्य त फेरि सत्य नै छ । हामीले विश्वास गरौँ या नगरौँ, त्यसले केही अर्थ राख्दैन ।
म फेरि अघिकै प्रसङ्गमा फर्किन चाहन्छु; आकाश निर्जीव छैन भन्ने प्रसङ्गमा । हुन पनि आकाश कसरी निर्जीव हुन सक्छ ? यदि निर्जीव हुन्थ्यो भने जीवनदायी तङ्खव कसरी रहन सक्थ्यो ? आकाश स्वयंको जीवन यहाँ होला नहोला त्यो अर्कै कुरा । शायद आकाशको पनि जीवन होला । सजीव निर्जीव आखिर जसको पनि जीवन त जीवनै छ । लाग्छ ढुङ्गाको पनि जीवन छ र अस्तित्व पनि । त्यसैले, उसको आयु छ । जुन कुराको आयु र अस्तित्व छ त्यसको जीवन पनि छ । किन्तु अहिले त्यतातिर नजाऊँ । तर कुरा के भने जीवनका लागि चाहिने हाइड्रोजन, नाइट्रोजन, कार्बनडाइअक्साइड, अक्सिजनजस्ता अनेक तङ्खव यही आकाशमा छन् । यी यस्तै कुराले आकाश जीवित छ र जीवन रहेको छ । भनेपछि शब्दान्तरमा आकाश आफैँमा जीवित छ र जीवित तङ्खव गतिशील छ ।
त्यस्तै अर्को कुरा खगोलशास्त्रीका अनुसार हाम्रो ब्रह्माण्डको कुल प्रतिशत मध्ये ९५ भाग अदृश्य पदार्थहरूले बनेको छ । पच्चीस प्रतिशत डार्क म्याटर, सत्तरी प्रतिशत डार्क इनर्जी र जम्मा पाँच प्रतिशत सामान्य पदार्थ रहेको छ । त्यसो हो भने ती अदृश्य डार्क म्याटर र डार्क इनर्जी कहाँ रहेका छन् ? यही अनन्त शून्यताबीच कतै ? होइन त ? उसो भए यो सब कुरा रहेको आकाश कसरी निर्जीव हुन सक्ला ? सजीव भएर नै त डार्क म्याटर, डार्क इनर्जीजस्ता अदृश्य कुरा शून्यतामा चलायमान भएका होलान् । जस्तो, पृथ्वी सजीव छ न सजीवताको अपार सम्भावना रहेको छ । त्यस्तै, आकाश सजीव हुनाकै कारण सजीवताको गतिशीलता कायम रहेको हुनुपर्छ । अवश्य !
समका प्रायः सिर्जनाले बौद्धिक प्राज्ञिक पठनको अपेक्षा राख्ने हुँदा ती अपेक्षाकृत दुरूह छन् । बोधको स्थितिमा पुगे पनि नपुगे पनि मलाई यस्तै दुरूहता मनपर्छ । कहीँकतै नबुझेरै हुन सक्छ उनका भनाइप्रति विश्वस्त हुन सक्दिनँ । त्यसै मध्ये विश्वस्त हुन नसकेको अर्को प्रसङ्ग छ । उनी एक ठाउँ भन्छन्, “… हाम्रो पुर्खा एपबाट जन्मेको होइन, त्यसबाट विकास भएको हो । फेरि हाम्रो प्रत्येक अङ्गमा विकास भएको छैन, शारीरिक बलमा अझ हामी उसभन्दा टङ्चिएका छौँ, पुच्छरहीन ठूलो एपवानर गुरिल्ला चिम्पानजीहरू धेरै बलिया हुन्छन्, मुख्यतः हाम्रो मानसिक बलमा विशेष विकास भएको छ । त्यसैले, यस्तो भन्न सकिन्छ—नर वानरविशेषले पारेको फुल होइन, ती शाखा–मृगविशेषरूप शाखामा फुलेको फूल हो (पृ–१९) ।”
सानै स्कूले उमेरदेखि हामीलाई यही पढाइयो; मानिस बाँदरको विकसित रूप हो । आज पनि यही पढाइ भइरहेको छ । तर मैले अझ पनि बुझ्न सकिरहेको छैन । हामी कसरी बाँदरबाट विकसित भयौँ ? बाँदर कसरी मानिस भयो ? यसरी मानिस बाँदरको विकसित रूप हो भनिरहँदा अन्य बाँकी बाँदर चाहिँ किन मानिस हुन सकेनन् र बाँदरकै रूपमा रहे ? विकासको क्रममा ती पनि मानिस हुनुपर्ने होइन ? त्यस्तै, फेरि अर्को प्रश्न डार्विनको विकासवादी सिद्धान्तअनुसार बाँदरको विकसित रूप मानिस हो भन्दै गर्दा; यही क्रममा भोलि मानिसको विकसित रूप के हुने ? केही त हुनु पर्ला नि ? होइन त ? उसो भए पछिको मानव कस्तो हुने ?
अनि अर्को कुरा डार्विनको सिद्धान्तले मानिस बाँदरको परिवर्तित रूप हो त भन्यो नै । उनको त्यो विकासवादी सिद्धान्त अन्य प्राणीमा भने किन लागू हुन सकेन ? के त्यो विकास क्रमको सिद्धान्त बाँदरको लागि मात्रै थियो ? के सृष्टिको नियम कुनै एक जीवको लागि मात्र हुन सक्छ ? के त्यसो हुन सक्ला ? प्रकृतिको नियम सबैमा समान रूपले लागू हुनु पर्ने होइन ? वृद्धि, विकास र परिर्वनजस्ता कुरा हरेक प्राणीको साझा विशेषता होइन र ? जस्तो भोक, तिर्खा, निद्रा, भय, त्रास, जैविक इच्छा र जिजीविषाजस्ता कुरा प्रत्येकमा समान हुने गर्छन् ।
सृष्टिका अन्य प्राणीले चाहिँ विकास क्रममा बाँदरले जसरी रूप फेर्न किन सकेनन् ? सक्नुपर्ने हो नि ? आखिर तिनीहरू पनि विकासको गतिमा उन्नत हुँदै जानुपर्ने होइन ? किन गएनन् ? यस्तो सन्देह मडारिँदै गर्दा म पुनः रोकिन्छु । अन्त्यमा, समले भनेका छन्, “…कहिले सब मनुष्यजाति सबै दिशाबाट उक्ली सत्यको उज्यालो शिखरमा भेट गर्न सक्लान् ? अब चाँडो नभए पनि दश लाख वर्षपछि वानरबाट मनुष्यको विकास भएजस्तै मनुष्यबाट देवता विकास हुन सक्छ (पृ–१५१) ।”
के कुनै दिन समले भनेजस्तो अवस्था घट्ला ? मनुष्य विकसित हुँदै गएर देवता बन्ला ? त्यसका लागि त अहिल्यैदेखि केही सम्भावनाहरू देखिँदै जानुपर्ने हो । तर त्यस्तो छाँटकाँट केही देखिँदैन । दुःखको कुरा, मानिस त अझ मानिस हुन पनि सकिरहेको छैन । ऊ मानिस हुन छोड्दैछ । त्यसैले, ऊ कठोर हुँदै गएको छ । संवेदनाहीन बन्दै गएको छ । यही सिलसिलामा डार्विनको विकासवादी सिद्धान्तले कतै विपर्यास गति लिने त होइन ? विकासको उल्टो गतिमा आजको मानिस फेरि बाँदरकै स्थितिमा पुग्यो भने के हुन्छ ? लाग्छ, मानिस त्यही (अविकसित) अवस्थामा पुग्न अभ्यास गर्दैछ ।
तर एकछिनको लागि मानिलिऊँ मानिस देवता हुँदैछ । त्यतिखेर विकासको क्रममा अन्य प्राणी चाहिँ के हुने ? मानिस ? लाग्छ मानिस हुन आवश्यक छैन । ऊ कुन आदरयोग्य प्राणी हुन सकेको छ र ? बरु अरू केही थोक बनून् किन्तु मानिस कदापि नबनून् । अन्य प्राणी पनि मानिस भए भने सृष्टिको अवस्था कस्तो रहला ? कुन रूपमा खल्बलिएला ? जेहोस् विकासवादी सिद्धान्त अनुरूप केही न केही त हुनै पर्यो । उन्नत प्रक्रियामा जानै पर्यो । उसो भए मानिस देवता हुँदै गर्दा मानिस चाहिँ को हुन्छ होला ? के तपाईं यसबारे सोच्दै हुनुहुन्छ ? हुनुहुन्छ भने के सोच्दै हुनुहुन्छ ? मानिसको विकल्पमा मानिसै होस् भन्ने चाहनुहुन्छ कि अरू केही ?
‘नियमित आकस्मिकता’मा यस्तै केही अरू पनि सन्देह छन् जुन यसमा समेट्न सक्छु जस्तो लागेन । अब बाँकी अर्को आलेखमा तर यसैबीच एउटा सानो सन्देह अट्छ कि जस्तो लाग्यो । कुरा के भने समले भनेका छन्, “शरीरको सजीव अंशलाई प्रोटोप्लाज्म र निर्जीव अंशलाई क्रिप्टोप्लाज्म भन्छन् । हाड, रौँ, नङ क्रिप्टोप्लाज्म हुन् … (पृ–१३) ।”
विज्ञानले यसो भन्दै गर्दा, अर्थात् समले भन्दै गर्दा एउटा कठिन जिज्ञासा के भने नङ र रौँ कसरी निर्जीव हुन सके ? जसको निरन्तर वृद्धि, विकार र गतिशीलता छ भने त्यो कसरी निर्जीव हुन सक्छ ? या त दुखाइ हुने र नहुने आधारमा त्यसो भनिएको हो कि ? उसो हो भने हड्डी कसरी निर्जीव भयो जसलाई एउटा सानो चोट लाग्दा पनि धेरै दुख्ने गर्छ । त्यति मात्र होइन शरीरको सम्पूर्ण संरचना उसैमा थामिएको छ । छाला, मासु र रगतभन्दा पनि अझ कोमल, अझ संवेदनशील पदार्थ त्यही हड्डीभित्र रहेको हुन्छ । यति हुँदाहुँदै हड्डी कसरी निर्जीव हुन सक्यो ? निर्जीव हो भने भाँचिएपछि किन जोडिन सक्छ ? औषधि विज्ञानले त्यसरी जोड्दै आएको छ ।
अहो प्रकृति साँच्चै कति अद्भुत ! हेर्दा साधारण लाग्ने कुरा पनि मानिसको विवेकले भेट्न नसक्ने कति अगम्य ? जस्तो, “सुन्तलाको बीजमा सुन्तला हुँदैन केवल अरू तङ्खवहरूलाई चुस्तै सङ्ग्रह गर्दै बढ्दै सुन्तलासम्म हुने शक्तिपुञ्ज त्यसमा रुमल्लिएर रहेको हुन्छ (पृ–१४) ।”
हेर्नू त प्रकृतिको साधारणतामा पनि एउटा जीवनले बुझेरै नभ्याउने कति रहस्यहरू ! त्यो कोमलताभित्र विकसित भएको बीजको आवरण कसरी कठोर हुन सक्यो ? फेरि त्यो कठोरताभित्र कोमलता जसमा एउटा सिङ्गो रुख र फलका अनन्त सम्भावनाहरू कसरी अटेका होलान् ?
मैले दिउँसैदेखि पर्खिएको सन्ध्या अब शुरु भएको छ । डा. तारानिधि दाजुलाई फोन गरेँ । कुतुहलताहरू मुखमुखमा बुझो लागेर बसेका छन् । दाजुलाई ती सप्पै एक्कैचोटि सुनाऊँजस्तो हुन्छ । मैले आफ्नो जिज्ञासा ढुङ्गाबाट शुरु गरेँ ।
विज्ञानका अप्ठ्यारा कुरालाई पनि सरल तरिकाले बुझाउन सक्ने दाजुको कला बडो प्रशंसनीय रहेछ । सृष्टिको आरम्भमा ढुङ्गाको उत्पत्ति कसरी भयो र माटोको स्रोत के हो भन्ने विषयमा हामीले झण्डै सवा घण्टा बोलेछौँ ।
मसँग उत्सुकता नै उत्सुकताको भीड छ । बाँकी कुरा अर्को भेटमा गर्ने गरी फोन रोक्यौँ । त्यस भेटमा मेरा जिज्ञाससँग सम्बन्धित उहाँले एक पुस्तक उपहार गर्छु भन्नु भएको छ । विज्ञान कथासँग सम्बन्धित उहाँको पुस्तक ।
अब अर्को भौतिक भेटमा मेरो शुरुको जिज्ञासा हुनेछ—कालीगण्डकीमा पाइने शिला जीवाष्मबाट बनेको भनिन्छ । के त्यो विज्ञानसम्मत सत्य हो ? उसो हो भने कालीगण्डकी बाहेक अन्य ठाउँ (नदी) मा त्यस किसिमको शिला भेटिन्छ भेटिँदैन ? भेटिँदैन भने कालीगण्डकीमै किन भेटिने गर्छ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










