रहरहरूलाई थन्काएर अपूर्णतामै जिन्दगी बिताउनुपर्ने नायकको बाध्यता सिसिफसको कथासँग साम्य देखिन्छ । विसङ्गतिभित्र अस्तित्वको खोजी गरिरहेको पात्रको केन्द्रीय भूमिका रहेको यस उपन्यासमा प्रेमको शक्तिको गाथा गाइएको छ ।

“यन्त्रले कति अनाथ र परनिर्भर बनाउँदैछ मानवलाई । आफ्नी प्राण प्यारी उन्नतिको फोन नम्बर मुखाग्र छैन… यन्त्रको परनिर्भरतामा आत्मविश्वास पनि गुमाइसकेको छु” (अनायोजित, पृ.७८) ।

एस शङ्करको लेखन तथा निर्देशनमा रजनीकान्तले अभिनय गरेको हिन्दी चलचित्र रोबोटले जसरी पूँजीवाद, भौतिकता र यान्त्रिकताले गाँज्दै गएको मानवसमुदायमाथि मानवनिर्मित यन्त्रकै हालीमुहालीलाई प्रतिबिम्बित गरेको छ त्यसरी नै स्काभेटरले गरेको आन्दोलन र सुनाएको फैसलाबाट व्यर्थ सजाय भोगिरहेको नायकको कथालाई लिएर आएको उपन्यास हो : अनिता पन्थीको अनायोजित । यस उपन्यासले मानवसमुदायमाथि यन्त्रहरूको बिगबिगी र नियन्त्रण एवम् त्यसले गुम्दै गएको संवेदनालाई देखाएको छ । प्रकृतिको हितका लागि मानवले जस्तै गम्भीर भएर नसोच्ने मानवनिर्मित यन्त्रहरू प्रकृतिका विनाशक मात्र नभएर मानवकै दुस्मनका रूपमा देखापरेका छन् । मानव हित र जटिल कार्यका सहयोगीका रूपमा यन्त्रको विकास गरिरहेको मानव आफैँ तिनको दासी बन्दै गएको वर्तमान युगको चित्रण यसले मार्मिक रूपमा गरेको छ ।

यन्त्रको विकास नै आज मानवको विनाशको कारक बनिरहेको स्थिति छ । मोबाइल, ल्यापटप, स्मार्ट वाच, सिसी टिभीलगायतका विद्युतीय यन्त्रको निर्माणले मान्छेलाई कसरी नियन्त्रित गरिरहेको छ ? तिनको साथ र सहयोगविना एक कदम अगि बढ्न नसक्ने स्थिति कसरी सिर्जना भइरहेको छ ? मानवीय सम्बन्ध र प्रेममाथि कसरी यन्त्रले हालीमुहाली गरिरहेको छ ? मनमा सजाइएकी प्रेमिकाको यादले जीवन काटिरहेको प्रयास जस्ता पात्रले प्रेमिकाको फोन नम्बरसम्म सम्झन नसक्दा सम्पर्कविहीन भएर जीवनभर तड्पनुपर्दाको पीडा कस्तो होला ? भन्ने सन्दर्भहरूलाई पन्थीको यस उपन्यासमा चित्रण गरिएको छ ।

अनायोजित

मानिस स्वभावैले जीवनमा सहज पथको निर्माणमा अग्रसर हुने प्राणी हो । ठूलाठूला कलकारखाना, सडक निर्माणका आयोजनादेखि घरायसी कामकाजमा प्रयोग गरिने मेसिनरी सामानको उत्पादनमा जोडतोडका साथ लागिरहेको आधुनिक युगमा मान्छे यन्त्रलाई कजाएर आफू सुखभोग गर्ने लक्ष्यमा केन्द्रित छ । हुँदाहुँदा सन्तान उत्पादनजस्तो कार्यमा समेत यन्त्रलाई जिम्मा दिने प्रविधिको विकास भइरहेको छ । यस्तो स्थितिमा मानवीय संवेदनामाथि उल्टै हुन सक्ने असर, मानवताको दहन र आफैँले आफ्नो अन्त्यको मार्ग कोरिरहेको सन्दर्भप्रति कसैको चासो देखिँदैन । यही तथ्य उपन्यासको केन्द्रीय कथ्य बनेर आएको छ । उन्नतिको प्रेममा मग्न प्रयासको जीवनटार र चिहान डाँडाजस्ता काल्पनिक स्थानमा भएको प्रवेश र त्यहाँ उसले पाएको सजायँ यसैको परिणति हो । स्वैरकाल्पनिक कथा निर्माण गरेर भए पनि आधुनिकीकरणका नाममा मानव दिनानुदिन कसरी आविष्कारकै नियन्त्रणमा फस्दै गइरहेको छ भन्ने सन्दर्भतर्फ लेखकको ध्यान खिचिएको छ ।

नायक प्रयास र नायिका उन्नतिको प्रेम कथालाई केन्द्रीय कथ्य बनाइएको यस उपन्यासमा फोनबाटै प्रेम शुरु भएर फोन सम्पर्कविहीन हुँदा टाढिनु पनि यन्त्रकौ दासी हुनु हो । यसमा ग्रामीण जीवनको शान्त र सुन्दर परिवेशदेखि सहरिया कोलाहलमय परिवेश र कुरूपताको समेत चित्रण गरिएको छ । गाउँबाट शहर पसेको युवाको शैक्षिक गतिविधि तथा कलेजमा राजनीतिले पारेको प्रभाव पनि सङ्क्षिप्त रूपमा यसमा आएका छन् । म पात्र अर्थात् प्रथम पुरुष समाख्याताका अनुभूति, भोगाइ र संवेदनालाई सरल ढङ्गमा समेटिएको यस उपन्यासमा पूर्वदीप्ति शैलीको प्रयोग गरिएको छ । एउटै अनुच्छेदभित्र पनि कतै भूत तथा कतै अभूतकालीन क्रियापदको प्रयोगले पाठकलाई अलमलाएको भने पक्कै छ ।

जम्मा १४९ पेजको पुस्तकमा ७५ पेजसम्म प्रयास र उन्नतिबीचको प्रेमसम्बन्ध, उतारचढाव, भौतिक भन्दा आत्मिक प्रेमप्रतिको मोह अभिव्यक्त भएका छन् । यसपछि भने कथा अलग विषयतिर मोडिएको छ । अभौतिक प्रेमको सुवासमा मग्न भइरहेका पाठकलाई एक्कासि आएको यन्त्रको कहानी र त्यसले उब्जाएको सङ्कटले चिन्ताग्रस्त तुल्याउँछ । शुरुमा त मिष्ठान्न भोजनमा खुर्सानी टोकेजस्तो अनुभूति पनि हुन सक्छ । तर आधुनिकीकरणका नाममा यन्त्रले मानिसमाथि जमाएको हैकम र अभिमानको उत्कर्षतालाई यसले प्रस्ट पारको छ । आज मान्छेले गर्ने कार्य यन्त्रले गरिदिँदा सहज र छिटो त भएको पक्कै हो तर यसले उल्टै मानिसलाई कब्जामा लिन थालेपछि र मानिसका शारीरिक एवम् मानसिक शक्तिलाई क्षीण पार्दै गरेको स्थितिप्रति प्रश्नचिह्न खडा गरेको छ । यति मात्र होइन, यन्त्रशालाको न्यायाधीशले यन्त्रकै पक्ष लिएर मानवमाथि थोपरेको अपराध र त्यसको सजायमा चिहानडाँडा एक्लै खनेर बाटो विस्तार गर्नुपर्ने बाध्यतामा परेको प्रयासको आजीवनको श्रमले मानवमाथि यन्त्रको हस्तक्षेपलाई प्रस्ट पारेको छ भने निर्दोष प्रकृतिलाई जताततै डामेर, खोपेर, खनेर घाउ नै घाउ पारी विनाश गरेपछि प्रत्येक वर्ष पहिरिएर चिहानडाँडाले पुर्याएको क्षतिका माध्यमबाट प्रकृति तथा पर्यावरणको रक्षामा मानवको दायित्वप्रति सचेत गराएको छ ।

रहरहरूलाई थन्काएर अपूर्णतामै जिन्दगी बिताउनुपर्ने नायकको बाध्यता सिसिफसको कथासँग साम्य देखिन्छ । विसङ्गतिभित्र अस्तित्वको खोजी गरिरहेको पात्रको केन्द्रीय भूमिका रहेको यस उपन्यासमा प्रेमको शक्तिको गाथा गाइएको छ । प्रेमिकाको याद र लक्ष्यपूर्तिका लागि प्रेमले डोर्याएको सुन्दर मार्गको चित्रण यसमा पाइन्छ । उन्नतिको अभौतिक प्रेममा डुबेको प्रयासको जीवन नै केवल लक्ष्यमा प्रयासरत हुने क्रममै सकिएको सन्दर्भले काम र नाममा सार्थकता देखिएको छ ।

शिक्षा आर्जनका शिलशिलामा भरतपुर र काठमाडौँ प्रवेश गरेको नायक लमजुङ पुगेको र गुल्मी, स्याङ्जा, बाग्लुङ र पर्वत पनि बाढी पहिरोले क्षति पुगेको सन्दर्भको वर्णनले नेपालका वास्तविक स्थानलाई परिवेशका रूपमा यस उपन्यासले समेटेको देखिन्छ । यस्तै स्वैरकाल्पनिक स्थानका रूपमा जीवनटार र चिहानडाँडाका परिवेश आएका छन् । सपना र भ्रमका पक्षहरू पनि उपन्यासमा अटेका छन् । नायकका तन्द्रावस्थाका घटनाको वर्णनसमेत यसभित्र भेटिन्छ ।

यस उपन्यासमा प्रयास, प्रयासका बाबुआमा तथा बहिनी शुष्मा, उन्नति, उसका बाबुआमा, आर्जन, उसकी प्रेमिका, सुमित्रा, सुधीर, बिनिता, विक्रम आदित्य, बालाजस्ता पात्रको उपस्थिति पाइन्छ । यसमा मुख्य भूमिकामा देखिएका पात्र प्रयास र उन्नति नै हुन् र यिनकै केन्द्रीयतामा कथा अघि बढेको छ । अन्य पात्रहरू त्यति सक्रिय छैनन् । सहयोगीका रूपमा मात्र आएका छन् । यसमा न्यून पात्रको उपस्थिति देखिन्छ ।

मिथकीय सन्दर्भहरूको प्रयोग अधिक गरिएको छ । आइन्स्टाइन, हेलन केलर, सुकरात, अरस्तु, महाकवि देवकोटा, शिशिर योगी, विश्वामित्र र मेनका, अल्बेयर कामु, रोमियो जुलियट, भीष्म, कर्ण आदिको नाम विभिन्न सन्दर्भमा उल्लेख गरिएको छ । विशेषतः लेखकको आकर्षण महाकवि देवकोटाप्रति देखिन्छ । देवकोटाको मुनामदनका पात्रसँग यस उपन्यासको नायकको तुलना गर्दा होस् (पृ. ११२) वा विभिन्न सन्दर्भलाई कोड गर्दा होस् (उद्देश्य के लिनु उडी छुनु चन्द्र एक, कुन मन्दिरमा जान्छौ यात्री) यसमा देवकोटाले बढी नै स्थान पाएका छन् । यसपछि भने नायकलाई भीष्म र कर्णको नयाँ रूप मात्र होइन यस युगको भीष्म नै भएको आरोप गर्दै महाभारतप्रतिको झुकाव र प्रभाव अभिव्यक्त भएको छ ।

प्रकृतिको पूजकका रूपमा आफूलाई दाबी गरिरहेको नायकका माध्यमबाट पर्यावरणीय चेतनाका साथमा विविध उत्तरआधुनिकतावादी चेतनालाई यस उपन्यासमा प्रस्तुत गरिएको छ । सत्य प्राय व्यक्ति सापेक्ष हुने रहेछ (पृ.३०) भन्ने बहुलअर्थसम्बन्धी उत्तरआधुनिक चेतनासँगै उपन्यासभित्र नायक र नायिकाले उपन्यास लेख्दै गरेको सन्दर्भको चर्चाले आख्यानभित्र आख्यानको चर्चा गरिने अधिआख्यानात्मक प्रवृत्ति पनि यसमा पाइन्छ । यस्तै उपन्यासभित्रै पाठकलाई गरिएको सम्बोधन, प्रयासलाई न्याय नदिएको लेखकका रूपमा रहँदा पाठकले प्रतिक्रिया दिन पाउने स्वतन्त्रताको अभिव्यक्ति (पृ.१२६) जस्ता तथ्यले पनि सोही प्रवृत्तिलाई प्रश्रय दिएको छ ।

यस उपन्यासमा भीडको सुनामी, गुलाफका बीच उन्यूको रोदन आदि विभिन्न रोचक बिम्बहरूको प्रयोग गरिएको छ तर पुरुष पात्रको चित्रणमा ‘वाणले घायल भएकी हरिणी जस्तै’ (पृ. ३५) भन्नु लैङ्गिक हिसाबले असान्दर्भिक बन्न पुगेको छ । यसमा स्काभेटरसँगको संवाद र यन्त्रशालाको न्यायाधीशको निर्णय एवम् पत्र लेखनले यन्त्रको मानविकीकरणलाई द्योतन गरेको छ भने पवनसँगको वार्तालापले प्रकृतिको मानविकीकरणलाई देखाएको छ । शहर र गाउँबीचमा विभेद हट्दै गएर यन्त्र तथा उपकरणहरूले समान स्तरमा पुर्याइसकेको सन्दर्भमार्फत विश्वग्रामीकरणको अवस्थालाई पनि उपन्यासले समेटेको छ ।

प्रेमको अमरतालाई केन्द्रीय विषय बनाएर अघि बढ्दै गरेको उपन्यासमा विषयगत विविधता र फरक सन्दर्भले आधाआधी पृष्ठ खर्चिए पनि त्यसलाई प्रेमकै सूत्रमा उन्ने प्रयत्नबाट विफल नहुनु उपन्यासकारको शक्ति हो । यसमा पर्यावरणीय चेतना र यान्त्रीकरणका विषयलाई केन्द्रमा राखेर लेखिएको भए समयसान्दर्भिक एवम् थप महत्त्वपूर्ण कृतिका रूपमा दरिने यसको सम्भावना प्रबल देखिन्छ । तर पहिलो उपन्यास लेखनमै लेखकीय शैली, विषयको उठान तथा बैठान परिष्कृत बन्न पुगेको छ । प्रेमको प्रसङ्ग तथा उपन्यास लेखनयोजनाका प्रसङ्गमा भएका अधिक पुनरावृत्ति हटाएर वर्णविन्यास एवम् वाक्यगठन र क्रियाका कालमा एकरूपता ल्याउनतर्फ आगामी संस्करणमा लेखकको ध्यान जान सके परिष्कृत उपन्यासका रूपमा यसलाई पाठकले ग्रहण गर्ने अवसर मिल्ने देखिन्छ । आगामी दिनमा लेखकको सफल सिर्जनशीलताको शुभेच्छा छ ।