मध्याह्नको समय । म पैदल हिँड्दै हुन्छु । झोलामा छाता छ यद्यपि ओढ्न होस् आउँदैन । सूर्यको ओजस्विताले आँत खराएको समेत चाल पाउँदिनँ । भीडका मानिसलाई पन्छाउँदै, उछिन्दै अघि बढ्ने जोसमा म के सोच्दै छु ? कस्तो अनुभूत गर्दै छु भन्ने पनि सम्झना रहँदैन । वरपरको दृश्यमा दृष्टि रोकिएको छैन । दृष्टि टाढा टाढा पुगेको पनि थाहा पाउँदिनँ । यी आँखाले केही देख्दै हुनुपर्छ । केही हेर्दै गरेको हुनुपर्छ । फेरि सम्झिने प्रयास गर्छु । अहँ स्मृतिमा केही आउँदैन ।

साङ्ला फुटुङ् हुँदै बालाजुबाट आएको गाडी सासा पार्टी प्यालेसअगाडि रोकिएको छ । म त्यसैमा चढ्न खोज्छु । मलाई घण्टाघर पुग्नु परेको छ । यात्रु खचाखच छन् । सिट पाउनु नपाउनुको वास्ता लाग्दैन । त्यहीँ त  पुग्ने हो मनले भन्छ  । प्यासेजको डण्डीमा झुण्डिएर जान पनि सकिन्थ्यो । तर गाडी चढिनँ । देख्दैमा उकुसमुकुस लाग्यो । बरु हिँडेरै जान सरल हुन्छ भनेर ठमेल हुँदै असन निस्किएँ ।

यतिखेर म त्रिचन्द्र कलेजको नजिक पुग्दै छु । ठ्याक्कै कहाँनेर भने जमल हुँदै यता नारायणहिटी मोडिने र भद्रकालीतिर जाने चोकअगाडि छु । थोरै अघिल्तिर दायाँपट्टि प्रज्ञा–प्रतिष्ठान जाने अर्को बाटो फाटिएको छ । म ठीक त्यसैको सम्मुखमा छु  । प्रचण्ड घामले तातिएको बेला एकाएक सुखद अनुभूति हुन्छ । एउटा मानिसले मलाई त्यहीँ पर्खिन भनेको छ ।

मध्याह्नको रापमा शीतलता प्रिय छ । मानिसहरूको आवागमन अविच्छिन्न छ ।  तिनीहरूलाई हेरेर समय  बिताउने मैले निश्चय गरेँ । केही मान्छेहरू मेरो निकट रोकिन्छन् । केहीबेर पछि ती हिँड्छन् पनि । तिनीहरू को हुन् म चिन्दिनँ ।  मछेउ आएर किन रोकिएका हुन् ? त्यस किसिमको अवस्थितिले म विस्मित हुन्छु । कोही त निर्निमेष मलाई हेर्दै रहेका हुन्छन् । परन्तु म चासो दिन्नँ । तिनीहरूलाई महत्त्व दिएको छैन । बरु सोच्न लागेँ, तिनीहरू किन रोकिएका छन् ? स्वैच्छिक हो या अरू केही कारण छ ? या त म आफैँ कारण बन्दै पो छु कि ? कतै मलाई देखेर त होइन ? एक चोटि आफूलाई सतर्क भएर हेर्छु । हतारमा वस्त्र उल्टोपाल्टो लगाएँ कि ? गोडामा हलपाटे चप्पल हुन पनि सक्छ, पाइन्टको चेन बिग्रियो कि ? सर्टको टाँक फुस्किन के बेर ? धेरै चोटि त्यस्तो भएको छ । हरेक उमेर समूहका मान्छेले दृष्टि दिँदा आवक् भएँ । सम्पूर्णको ध्यान खिच्ने ममा त्यस्तो आकर्षण के थियो ? अकारण त्यसै हेरेका थिएनन् ।

निश्चय मेरो रूप सौन्दर्यले त्यसरी तानिएको हुनुपर्छ । म अलिकति अभिमानी हुन लागेँ । त्यसै निमेष अहङ्कार जस्तो केही भाव पैदा भयो । त्यसो त अरूको दृष्टि खिच्ने सुन्दरता मसँग कहाँ थियो र ? तर केही असन्तुष्टि थिएन । जे छु म ठीक छु । म  जन्मिन बाँकी नै छु, मेरो रूप सौन्दर्य कुँद्न बाँकी नै छ  । भोलि असल कर्मले नै मलाई जन्माउने छ । म विश्वस्त छु । त्यो रूप रङ्ग आकार आफैँले निर्धारण म गर्ने छु । बुवाले भन्नु भएको फेरि सम्झिएँ, आमाको कोखबाट प्राप्त जन्म त केवल यस धर्तीमा ओर्लिने पहिलो खुड्किलो हो । अरू जन्म हुन बाँकी नै छ ।  जन्मिँदैमा कोही पनि वास्तविक मानिस भएको हुँदैन । त्यो त एउटा स्वरूप मात्रै हो । त्यसपछिको अर्को जन्म त्यो तिम्रै हातमा छ । जन्मिने नजन्मिने पनि तिमीमै निर्भर छ । प्रायः मानिसहरू न जन्मिएरै मृत भइरहेका हुन्छन् । थोरैले मात्र आफूलाई जन्माएका हुन्छन् । बुद्ध पनि आरम्भमा बुद्ध थिएनन् । वाल्मीकि त झन् डाँकु भए । फुर्कामा बसेर हाँगो काट्ने कालीदास बडो मूर्ख थिए । महात्मा गान्धी पढ्नमा लठुवा थिए । आइन्स्टाइन, ग्यालिलियो, कार्लमार्क्स सबै सबै पछि जन्मिएका हुन् । गार्गी पनि पछि नै जन्मिएकी हुन् । मानिसको चोला पाउँदैमा ऊ किमार्थ मानिस भएको हुँदैन, ।”

समय निकै उष्ण थियो । त्यो उष्णतासँगै म अतीत स्मृतिमा पुग्छु । पातलो चेक सर्ट लगाएको त्यस दिन म लमजुङदेखि शहर आउँदै थिएँ । काठमाडौँ शहर । गाडी अतिशय वेगमा थियो । सिट सम्पूर्ण भरिएका थिए । बेलाबेला लोकल यात्रु देख्दा ड्राइभर खलासी लोभिन्थे । ब्रेक हान्थे । म निद्राबाट ब्युँझँदै फेरि निदाउँदै हुन्थे । धार्के आइपुग्न लागेछ । केही प्यासेन्जर हुर्हुर भित्र पसे । त्यसै मध्येको एउटा किशोर मेरो नजिक उभिएको छ । थाहा पाउँछु उसले मलाई हेर्दै रहेछ । ती आँखा मेरो देहमा टाँसिएका थिए । त्यो हेराइले मलाई केही असहज बनाउन खोज्थ्यो, त्यसै क्षण म फेरि निदाइहाल्दो रहेछु । यदि निदाएकी हुँदैनथेँ भने मैले उसलाई निश्चय केही भनेको हुने थिएँ, किन हेरेको त्यसरी ? तिम्रो त्यो हेराइले मलाई असहज भयो” या त भन्थेँ “त्यस किसिमले निर्निमेष दृष्टि दिनु किञ्चित जाती कुरा होइन ।”

नौबिसेमा खाजा खान गाडीले रोक्यो । त्यसअघि म निद्रामै थिएँ । अचानक मोटर रोकिएर अगाडि हुत्तियो ।  यात्रुहरू उछिट्टिएर अघिल्तिरको सिटमा ठोकिए । कहालिएको स्वरमा कोही कराउँदै गरेको सुनेँ । म झस्याङ्ग हुन्छु । सिटबाट हुत्तिएर प्यासेजमा लड्न लागे छु । त्यसबखत अघिको युवकले मलाई दुर्घटना हुनबाट बचायो । बलियोसँग उसले मेरो पाखुरा समाएको थियो । म सम्हालिएर ठीक तरिकाले बसेँ । उसलाई धन्यवाद दिन बाँकी नै थियो । तीव्र गतिमा अकस्मात् ब्रेक लगाउँदा यस्तै हुने गर्छ । केटो उभिरहेकै छ, शायद उसले मबाट कृतज्ञता खोज्दै थियो ।

एक चोटि मैले उसलाई हेर्न खोजेँ । उसले मलाई हेर्न जति सजिलो थियो, त्यति मलाई थिएन । साइडमा उभिएको मान्छेलाई हेर्न कोल्टे फर्किनुपर्छ । टाउको उठाउनु पर्छ । सिटमा ढल्किएको आफूलाई सिधा बनाएँ । त्यसै बेला देख्छु मेरो अगाडिको भाग खुल्लै रहेछ । माथिका दुइटा टाँक खुस्किए छन्  । सेतो ब्राले  छोपिएका वक्षस्थल निसङ्कोच थिए । उन्मुक्त हुन चाहन्थे । तिनलाई कुनै शरम थिएन । लज्जा यो देहमा होइन मनमा उत्पन्न हुने केवल एउटा  भाव रहेछ । अघिसम्म मलाई केही ग्लानि थिएन । जब केही वस्त्र उदाङ्गिएको थाहा पाउँछु अनि लज्जित हुन्छु । थाहा नपाउँदा पनि अवस्था त आखिर उही थियो नि !

त्यसपछि त मैले केटाको मुखमा हेर्ने आँट गर्नै सकिनँ । आभार व्यक्त गर्न त झन् कसरी सक्थेँ र ? उसले अघिदेखि मलाई हेर्नुको कारण थाहा पाएर म थप शिथिल भएँ । हमेसा लठ्याइरहने निद्रासँग क्रुद्ध भएँ । त्यसैले त बेहोस भएकी थिएँ । आफैँलाई सम्हाल्ने मेसो  नपाउने गरी ।

त्यो केटाको दृष्टिमा अवश्य मेरो पुनः पुनः इज्जत हरिएको थियो । उसका अपलक दृष्टि अहेतु ममा खन्निएका थिएनन् । म निद्रामा छँदा झन् कति निशङ्कोच दृष्टिले हेर्यो होला ? अरू देख्नेले कति हेरे ? कसरी हेरेँकुन तरिकाले हेरे ? कस्तो कल्पना गरे ? मेरो वरिपरि कोही केटी मान्छे हुँदा हुन् भन्ने थिएँ, तपाईँको सर्टको बटम खुस्किएको छ । केटा मान्छेले त्यसो भन्न पनि अप्ठ्यारो, भन्न सकेन । बस् हेरिरह्यो ।

अहिले मलाई त्यही सन्देह छ । त्यस्तै केही भएको हुनुपर्छ । मोबाइल निकालेँ, क्यामेरा अन गरेर आफूलाई हेरेँ ।  निःसन्देह भएँ म सामान्य अवस्थामा छु । ढुक्क लाग्यो । त्यस्तो उल्टापाल्टी केही भएको छैन । ब्रा, वक्षस्थल त्यस्तो केही देखिने छैन । आज टिसर्ट लगाएकी छु ।  लज्जित हुनु पर्ने त्यस्तो केही कमजोरी छैन भन्ने जानेपछि म केही शान्त भएँ । फुटपाथका बटुवाले मलाई हेर्न छोडेका थिएनन् । शायद म बसेको ठाउँ उचित थिएन कि ?

पातलो छादनले सूर्यलाई केही छेकेको छ । छिर्केमिर्के छायाका बीचमा अनेक आकृति बनेका छन्, जस्तो कल्पना ग¥यो त्यस्तै खालको । सूर्यका किरण चेपबाट छिरेका छन् । रेखा कोरिएका छन् । गहिरो छहारी नभए पनि उत्ताप खडेरीमा  त्यतिको सियाँल ठिकै थियो । 

अचानक मलाई समय बोध हुन्छ । वसन्त ऋतुले शिरीष फुलाउँदै रहेछ । त्यही शिरीषको फेदमुनि म थिएँ । एकछिन सुस्ताउन मानिसहरू रोकिएको कारण पनि थाहा पाएँ । मसँग अब किञ्चित सन्देह थिएन । आकाशमा हेर्छु, ममाथि फूलै फूलको छादन थियो । स–साना, नीला पत्रदलहरू । कति हाँगाबाट उच्छेदन भएका, कति उच्छेदन हुने तयारीका । कति फुल्दै गरेका, कति फक्रिसकेका । अस्ति फेसबुकमा विवेकले एउटा भिडियो नै बनाएर हालेको थियो । भद्रकाली नजिकै उता शहिद गेट जाने सडक किनारमा फुलेको शिरीष हुनुपर्छ त्यो ।

नीलो, सेतो, प्याजी त्यस्तै मिसिएको कुन रङ्गको भनूँ । जे भने पनि बुझ्नुस् त्यो शिरीषको फूल थियो । त्यो फूल देखेर मलाई पारिजातको सम्झना हुन्छ । उनको प्रिय फूल, केवल उनकै उद्यनमा  फुल्नु पर्ने होइन ? झर्दै गरेका पत्रदलसँग सोध्छु ‘ए … फूलहरू ! तिमी !! … यहाँ किन फुल्यौ ? उतिखेरकी सकम्बरी तिम्रै फेदमा घण्टौँ हराउँथी । ‘फूल आफ्नै लागि फुल्छ र आफ्नै लागि झर्छ भमराको चोट सहन होइन’ ऊ त्यही भन्ने गर्थी । उपयोग विहीन फूलको अस्तित्व नै उसलाई सार्थक लाग्ने गर्थ्यो । एक किसिमले ऊ उपयोगिताको सिद्धान्त विरोधी थिई । त्यसैले त ऊ निस्सार थिई, शून्य थिई । सुयोगवीरको एकै चुम्बनले ऊ क्लान्त भई । अस्तित्वको लागि बाँच्ने प्रयास गर्दागर्दै ऊ निस्सारतामा विलीन भई ।

त्यस्तै विलीन हुँदै थिए भुइँमा झरेका ती पत्रदलहरू । सानो चोट, सुस्त गतिको हावा पनि तिनले सहन सकेका थिएनन् । बुरुबुरु तल खस्दै थिए । सकम्बरीले ठीकै भनी, भमरा त तिनले किञ्चित सहन सक्ने थिएनन् । ती आफ्नै लागि मात्र फुलेका थिए, मुस्कुराएका थिए । अरूको ध्यान खिच्ने शोख तिनमा थोरै पनि थिएन । त्यसैले त त्यो ढकमक्क फुलेको रुखलाई कसैले हेर्ने फुर्सद निकालेन । त्यो गुलाफको रुख होस् त मानिसहरू कति धेरै झुम्मिने थिए । फोटो खिच्ने थिए, सेल्फी लिने थिए ।

सकम्बरी त्यहीँ कतै हुनुपर्छ । त्यो उसैको लागि फुलेको थियो । ती पत्रदलले उसैलाई खोजिरहेका थिए । बूढो सिपाही पनि त्यहीँ आएको होस् । आसक्त दृष्टिले सकम्बरीलाई चियाइरहेको—ऊ एक चुम्बनको लागि तड्पिरहेको होस् । त्यसैको प्रतीक्षामा अनुकूल समय उसले पर्खिरहेको हुनुपर्छ ।

शिरीषको फूल देखेर अघिका दिनमा, म यसरी भावात्मक गहिराइमा डुबेकी थिइनँ, जति अहिले डुब्दै छु या भनौँ पारिजात र शिरीषको फूलप्रति यति श्रद्धावान् भएछु कि म आत्म–विस्मृतिमा पुगेँ । ठाउँ ठाउँमा देखिएका ती फूलैफूलका छादनले म दिग्भ्रमित हुन्छु । उनी स्वयं पारिजात फुलेकी हुन् या शिरीष म छुट्याउन सक्दिनँ । त्यो नीलो छहारीमा मैले उनैलाई भेटेँ । उनी भाव शून्य मुद्रामा थिइन् । अझ विरागी नै भनौँ । अब उनलाई हर्ष–बिस्मात, मान–मर्यादा केही केहीले आसक्त बनाउने छैन ।

सुख्खा बतास, कङ्क्रिटले बञ्जर भूमि त्यस्तै उत्ताप गर्मी सहेर पनि फुल्न जानेका शिरीषका फूललाई देख्दा त्यो सौन्दर्यमा मैले पारिजातकै जीवन भेट्टाएँ । हेर्छु जताजतै उनै फक्राएकी छन् । शिरीषले पारिजातलाई अमर बनायो या परिजातले शिरीषलाई अमर बनाइन् ? मैले भन्न सकिरहेको छैन । दुवैले दुवैलाई अमर बनाए शायद । उनैको सम्झनामा वर्षेनी शिरीष फुल्ने गर्छ ।

जबसम्म शिरीष यस धर्तीमा रहिरहन्छ हो त्यस बखतसम्म पारिजात फुलिरहने छिन् । त्यो छहारीले अनायास मलाई यति कुरा सोच्ने बनायो । मैले कहिल्यै त्यसरी सोचेकी थिइनँ जसरी अहिले म सोच्दै छु । थाहा पाएँ यो पारिजात फुल्ने याम रहेछ । सकम्बरी ब्युँझिने बिहान रहेछ । सुयोगवीर त्यही चुम्बनको लागि धाउँदै छ ।

यता सोच्दै रहेछु म जन्मिन बाँकी नै छु ।  त्यही छहारीमा बसेर कल्पना गर्दै रहेछु जन्मिन बाँकी रहेको आफूलाई कसरी जन्माउने भनेर । तर थाहा छैन म जन्मिन्छु कि जन्मिन्नँ; … !