मैले निकै मेहनतसाथ पढेँ र स्नातक पास गरेँ । अब त गजबको जागिर पाइन्छ भन्ने मिथ्या आश गरेँ । परन्तु जब हरेक प्रयासमा असफल भएपछि म गलत प्रमाणित भएँ, घर परिवार र समाज जताकतै ‘हुतीहारा’ भनेर अपमानित भएँ ।
विदेश जाऊँ भने धन पनि थिएन । त्यसो त मलाई विदेश पलायन हुने मन पनि थिएन । देशमै केही गर्छु भनेर मनमनै भनेको थिएँ । मलाई लाग्थ्यो म देशकै सेवाको लागि बनेको थिएँ । जागिर नपाए अरू केही व्यवसाय गर्छु भनेर व्यवसाय दर्ता गर्न अनेक कार्यालय धाएँ । जागिर खोज्ने भन्दा कैयौँ गुणा दु:ख व्यवसाय दर्ता गर्ने प्रक्रियामा पाएँ । यताबाट उता, उताबाट यता भकुण्डो सरी हिर्काइएँ । अन्तमा यो कागज पुगेन र त्यो कागज पुगेन भनेर व्यवसायका लागि अनुमति पत्र नदिएर फर्काइएँ ।
मलाई लघुताभाष र उदासिनताले छोयो । आफ्नो अवस्था देख्दा पल पल हृदय रोयो । तर म के नै पो गर्न सक्थेँ ? न त सजिलै मर्न सक्थेँ ।
हिम्मत हारेर धेरै दिन मैले निराशा, निरुपाय र अनिश्चिततामा बिताएँ । अन्तमा एक दिन जबर्जस्ती आफ्नो मनलाई बुद्धिले जिताएँ । बुद्धिले यो समाजमा कामयाबी हुने एउटा गतिलो उपाय देखायो । मेरो खाली मस्तिष्कमा सुन्दर भविष्यको योजना लेखायो ।
मसँगै पढेको तर बीचमै छोडेको एक जनाले निकै प्रगति गरेको थियो । प्रगति गर्न ऊ जस्तै हुनुपर्छ भन्ने सबैलाई परेको थियो । खासमा ऊ पहिले शहरको टोले गुण्डा थियो । ऊसँग बदमास केटाहरूको सानो झुण्ड थियो । बिस्तारै उसले आफ्नो अपराध बढाउँदै गयो । गुण्डागर्दीबाट आर्जित द्रव्य नेता र पार्टीलाई चढाउँदै गयो । जति धेरै अपराध गर्यो उति नै उसको शान र शक्ति बढ्यो । उसका चेला मात्र हैन पार्टीका कार्यकर्ता पङ्क्तिमा पनि उसको मान र भक्ति बढ्यो । छिट्टै उसको शक्ति, क्षेत्र र देशभरि नै छायो । उसले पार्टीबाट चुनावको टिकट पनि पायो । ऊ हाम्रो समाजले परिभाषित गरेको ठूलो र सफल मान्छे भयो । उसको सफलताका सामु मेरो नैतिकता, इमानदारीता र पढाइ सबै बाफ सरी उडेर गए ।
समाजको नजरमा सफल बन्न अब मसँग एउटा मात्र उपाय बाँकी रह्यो । त्यही उपायले कैयौँ दिन मेरो दिमाग हाँकिरह्यो । धेरै सोच विचार गरेर अनि मैले निर्णय लिएँ । मैले पनि समाजले स्वीकार गरेको प्रगति पथमा लम्कन अनैतिकताको विष पिएँ ।
आफ्नो निर्णय सुनाउँदै मैले आमालाई भने– आमा अब म प्रगति पथमा लम्कन चाहन्छु । गुण्डा बनेर देश र समाजमा चम्कन चाहन्छु !
शरुमा त मेरो कुराले आमाको अविश्वासको हाँसो फुट्यो । तर मेरो मुहारमा छाएको गम्भीरता देखेपछि उहाँको हृदयमा भयङ्कर ज्वारभाटा छुट्यो ।
मैले आफ्नो गम्भीरता बढाउँदै थपेँ– आमा म चोर बन्न चाहन्छु, डाँका बन्न चाहन्छु । अपराधी बन्न चाहन्छु, भ्रष्ट बन्न चाहन्छु । अनैतिक बन्न चाहन्छु, तस्कर बन्न चाहन्छु । आफ्ना विरोधीका शिर फोर्न चाहन्छु । आफ्नो भाग्यको गोरेटो आफैँ कोर्न चाहन्छु !
मेरा सबै कुरा सुनेर एकछिन त आमा बक्क पर्नुभयो । मेरो दिमागको समस्या हो कि आफ्नो कानको समस्या हो, अकमक्क पर्नु भयो । लघु मौनता तोड्दै आमाले भन्नुभयो– आशा थियो छोरो पढेर ज्ञानी बन्ला, सर्व मानी बन्ला । परिवार र कुलको इज्जत राख्ला । देश र समाज सेवाको भाव उसमा जाग्ला । तर आज किन यस्तो कुरा गर्छस् ? गुण्डा बनेर मेरो दश धारा दुधको ऋण कसरी पूरा गर्छस् ? सोचेर काम गर्नुपर्छ बाबु ! विचारहरूमा हुनुपर्छ काबू !
आमाको चिन्ता देख्दा मेरो आत्मा रोयो । उहाँको कुराले मन पनि छोयो । तर यो समाजमा बाँच्न, आफ्ना सपना साँच्न, सोझो र इमानदार भएर नहुने रहेछ, स्वार्थ र शक्तिको माद लागेको समाजलाई इमानदारीताले नछुने रहेछ ।
अनि मैले आमालाई सम्झाउँदै भने– आमा, पढेर यहाँ केही काम छैन । दाम पनि छैन, नाम पनि छैन । गुण्डालाई हेर्नुस् त– ऊसँग धन छ, ऊसँग जन छ, जताकतै उसकै शान छ, जहाँ गए पनि उसकै मान छ ।
मेरो कुरा सुनेर आमाको बोली बन्द भयो । शायद उहाँको मन र मस्तिष्क दुवै मन्द भयो । आमाको मौनतालाई उपयोग गर्दै मैले आफ्ना बाँकी कुरा सुनाएँ । आमाका नजरमा हेर्न नसकी नत शिर गरी फेरि गुनगुनाएँ– फेरि अर्को निर्वाचन घर दैलोमै आइसकेको छ । उसको मुहारमा प्रसन्नता छाइसकेको छ । उसको भावभङ्गी र चुरीफुरी देख्दा मलाई लाग्छ उसले पार्टीबाट टिकट पनि पाइसकेको छ । ऊसँग गुण्डागर्दी गरेर कमाएको कालो धन छ । त्यो धनलाई चुनाव जित्नमा खर्च गर्ने मन छ । चुनाव जित्न उसले साम, दाम दण्ड भेद र सबै अस्त्र अनि शस्त्र प्रयोग गर्नेछ । हरेक घर, गाउँ, टोल र शहरमा पैसा छर्नेछ । जताकतै ऊ नै छाइरहेको छ । जन जनले उसकै भक्ति गीत गाइरहेको छ । जनता उसैको साथमा छ । नेताहरूको आशीर्वाद उसको माथमा छ । चुनाव जितेर ऊ भोलि मन्त्री बन्ला, मैले उसको जय जय गर्नु पर्ला । उसको चाकरी गर्नु पर्ला नत्र हर दिन त्रासमा मर्नु पर्ला । यहाँ जति धेरै अनपढ, जति धेरै गफाडी, त्यति ठूलो राजनीतिक पद हुन्छ । जति धेरै दुष्ट, जति धेरै मूर्ख उति नै अग्लो सामाजिक कद हुन्छ । जो जति धेरै तुच्छ बोल्छ समाजले उसलाई नै त्यति धेरै उच्च ठान्छ । त्यसैले आमा मलाई स्कूलमा तालाबन्दी गर्न दिनुहोस्, शिक्षकलाई कालो मोसो दल्न दिनुहोस्, आगजनी गर्न दिनुहोस्, हडताल गर्न दिनुहोस्, बन्द गर्न दिनुहोस् । मलाई बलात्कारी बन्न दिनुहोस्, जनता ठग्ने सहकारी बन्न दिनुहोस् । यो देशमा न्यायको किनबेच हुन्छ आमा । मलाई न्याय किन्न दिनुहोस्, न्याय बेच्न दिनुहोस्, गोली ठोक्न दिनुहोस्, हत्यारालाई शिरमा बोक्न दिनुहोस् । स्वतन्त्र र नैतिकवानहरू विष पिउन बाध्य हुन्छन् यहाँ आमा । मलाई स्वतन्त्रता रोक्न दिनुहोस्, दासता बोक्न दिनुहोस्, निर्लज्ज ढाँट्न दिनुहोस्, नेताका चरण चाट्न दिनुहोस्, जनताका शिर काट्न दिनुहोस् । यति नगरी यहाँ कसरी बाँच्न सकिन्छ र आमा ? यति नगरे यहाँ इज्जत नै कहाँ छ र आमा ? त्यसैले आमा, मलाई बाँच्न दिनुहोस्, इज्जतका साथ हाँस्न दिनुहोस् !
यति भनेर मैले घर छोडेँ । नैतिकता र इमानदारीलाई आमासँगै छोडी गुण्डासँग नाता जोडेँ । अब म पनि ठूलो मान्छे बन्नेछु । समाजलाई “मलाई अब सम्मान गर” भन्नेछु । म नेताको घरदैलो धाउनेछु । मैले पनि अब आउने चुनावमा टिकट पाउनेछु । म अनि मन्त्री बन्नेछु, भ्रष्ट्राचार गरेको पैसा दिनदिनै गन्नेछु । यो देशमा सफल बन्ने यही मात्र एक बाटो रहेछ । दानवलाई पुज्ने यहाँको माटो रहेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० माघ २०८२, मंगलवार 










