हो, प्रेम विवाह नै भन्नुपर्यो । कुरा के भने मेरी पूर्वपरिचित एउटी महिला थिइन् । जहिले पनि मलाई ‘अब त विवाह गर्नुपर्यो’ भनेर जिस्काई रहन्थिन् । हुन त म पनि विवाह गर्न तयार नै थिएँ । एकप्रकारले ‘क्रोनिक ब्याचलर’ भने पनि हुने खालको । नेपालको वर्तमान स्थितिमा विवाह नगरी ३२ वर्ष पुग्नु सानोतिनो कुरा होइन । म निक्चर कालो रङको मान्छे, जात पनि अलि साने खालको । तर स्नातकसम्म पढिसकेकाले टोल छिमेकमा मेरो राम्री इज्जत थियो । एउटा ठीकैको जागिर पनि थियो । जागिर पनि खाएर अविवाहित रहन कसले दिने ?

तिनै भद्र महिला लगातार धाइरहन थालिन् ।

“रुद्र ! तिमीले भनेजस्तो शीलस्वभावकी एउटी केटी मेरो हातमा छे, विवाह गर्ने भए भनिहाल । अर्काको हात परिसकेपछि फेरि कुरा गर्न पाइन नि !’

‘हुन्छ भाउजू ! हजुरले ठीक छ भनेपछि मैले के हेर्नुपर्ला र ?’ सोझो मनले भनेँ मैले ।

एक दिन भाउजू नयाँ आकर्षक योजना लिएर आउनुभयो । ‘रुद्र भाइ ! मैले केटीलाई तिम्रो बारे सबै कुरा बताइदिएकी छु । केटीको उमेर पनि ३० वर्ष, तिमीहरूको रुचि पनि मिल्छ, दुवै जना बी. ए. पास । उसको त नामै रुचि, ऊ विराटनगरमा बस्छे । तिमी भोलि ने यहाँबाट विराटनगर उढ । विमानस्थलमा ऊ आफै तिमीलाई लिन भाउँछे । २-४ दिन उतै बस र निर्णय गरेर आऊ । केटी सुन्दरी छे, तिमी मक्ख पर्नेछौ ।’

मलाई लाग्यो हेरिहालूँ न त । सहुलियतमा एउटा विमानको टिकट मिलाएर विराटनगर गएँ म । नभन्दै विमानस्थलमा एउटी राम्रो आइमाईले मलाई ‘नमस्ते सर !’ भनी । मैले सोचें, यही हुनुपर्छ रुचि । नामअनुसारको पहिरन पनि थियो उसको । हलुका गुलाफी रङको सारी, त्यस्तै-यस्तै ब्लाउज यही रङको ओठको रङ र नङ । मलाई त ऊ देख्नासाथ मन पर्यो ।

रुचिको घरमा म ज्वाइँ जस्तै भएर बसें । मजस्तो अलि सानो जातको, नेवारमा पति पानी नचल्ने जस्तो मान्छेलाई उनीहरूको व्यवहार निकै राम्रो लाग्यो । मैले बुझ्न सकिनँ, किन यस्तो भएको हो ? रुचिमा के कमी छ र विवाहका लागि उसका आफन्तहरू आत्तिएका ? मलाई त केही थाहा भएन तर लाग्यो यस्ती केटी उम्काउन हुन्न । मैले ‘हुन्छ’ भनिदिएँ । विराटनगरबाट सोझै भाउजूलाई ट्रङ्गलमा स्वीकृतिका केही सुन्दर वाक्यहरू बोलेर म काठमाडौं फर्कें । जसलाई तपाईहरू ‘प्रेम’ भन्नुहुन्छ त्यस्तो केही होइन । त्यही एक-दुईपल्ट जोगवनी सिनेमा हेर्न गइयो । कहिलेकाहीं हात छोइयो होला । दुई चारवटा औपचारिक कुराकानी भए होलान्, त्यही भयो प्रेम ।

रुचिका आमा, बा दुवैले हामी दुईका बीच प्रेम भएकोले विवाह नगरी नहुने, जातपात नहेरेको कुरा गर्न थाले । मलाई पनि केको अप्ठ्यारो पर्यो र भनिदिएँ- ‘यस्तो प्रेम विवाहमा म त ससुरालीबाट केही लिन्नँ, खालि वरमाला भए पुग्छ मलाई त ।’ हुन पनि त्यस्तै भयो । सात दिन भित्रमै उनीहरू आए र स्वयम्भूमा विवाह भयो हाम्रो । मैले एउटा चार आनाको औंठी लगाइदिएर काम चलाएँ । साह्रै थोरै खर्चमा शुभ-विवाह सम्पन्न भयो ।

भनसुन गरेर एउटा हवाईजहाज संस्थानमा जागिरे पनि भई रुचि । ऊ आफैं स्मार्ट । मान्छेलाई हात लिन त सबैले ऊसित सिके हुन्छ । कार्यालय राम्रै पाई र थोरै समयमा श्राफ्नो रवाफ पनि राखी त्यहाँ उसले ।

० ० ० ०

विस्तारै हाम्रो झगडा सुरु भयो । विस्तारै ऊ मबाट टाढिंदै गई । आफ्नो कार्यालयको निर्देशकसँग ऊ बराबर घर आउने-जाने गर्न थाली । कैयौं पाइलट, को-पाइलटसँग बसउठ हुन थाल्यो उसको । अन्त्यमा त्यो झगडा बढ्दै गएर कैयौं महिनासम्म हाम्रो बोलचालसम्म हुन छाड्यो । उसले भित्रभित्रै मलाई घृणा गर्न लागेको जस्तो मलाई लाग्यो ।

यौनचाहिं आखिर तृप्ति हुनु नै थियो । ऊ मलाई जति नै घृणा गरे पनि करिब महिना दिनजतिमा यौनावेगले तात्तिएर मेरो पलङमा सुत्न भाउँथी । त्यसको भोलिपल्टदेखि नै ऊ मलाई घृणा गर्न थाल्थी । शेक्सपियरले कति लेखेका पनि छन्- ‘आइ लभ एण्ड आई हेट ।’

मेरो काम चलिरहेकै थियो । मेरो कुनै गुनासो पनि थिएन । यसरी निश्चित समयमा एउटा छोरो जन्म्यो अभिषेक र त्यसकै एक वर्षपछि छोरी अभिधा । दुवैलाई बोडिङमा भर्ना गरिदियौं हामीले । दुवै युनिफर्ममा ठाँटिएर स्कूल गएको म हेरिरहन्थें । मलाई लाग्थ्यो, पारिवारिक सुख भनेको यही हो । मैले जिन्दगीसँग धेरै गुनासो गर्न हुन्न । मेरा दुई आँखासरह थिए तिनीहरू ।

तर रुचिको दिनचर्यामा भने निकै ठूलो परिवर्तन आउन थाल्यो । ऊ धेरैजसो बाहिर नै रात बिताउन थाली । पाइलटहरूसँग लागेर कहिले बैङ्कक, कहिले हङकङ र कहिले बम्बई दिल्लीमा रात बित्न थाल्यो उसको । बिहान घरमा आउँदा पनि ऊ रक्सी लागेर लर्खराउंदै ट्याक्सीबाट ओर्लिन्थी र दिनभर सुत्तथी । मैले नै छोराछोरीलाई ख्वाएर पठाउनुपर्थ्यो । तिनीहरूलाई असाध्य माया पनि गर्थें म ।

तर यो क्रम ज्यादै बढ्न थालेपछि हाम्रा बीच वाक्युद्ध सुरु भयो । मलाई पनि अति नै जङ चलेर आउन थाल्यो, मैले स्पष्ट भनिदिएँ- ‘यो घरमा बस्न मन छैन भने उतै बसे पनि हुन्छ, यहाँ आउन पर्दैन । म आफ्ना छोराछोरीसँग एक्लै बसुँला ।’

ऊ चुप लाग्थी र मलाई जीउ सुम्पेर सन्तुष्ट पार्थी । म फेरि चुप लाग्थें ।

एक दिन भनी- ‘मैले यो सब ओ. टी. परिवारकै लागि गरेको । यस्तो थोत्रो घरमा कति बस्ने ? तिमी पनि आफ्नो अफिसबाट जे जति पैसा आउँछ निकाल । मसँग पनि १-२ लाख छ । महाराजगन्जमा नयाँ बङ्गला बनाउनुपर्छ ।’

मलाई असाध्य राम्रो लाग्यो उसको यो विचार । अफिसबाट सञ्चयकोष, घर-सापटी सब निकालेर करिब दुई लाख उसको हातमा राखिदिएँ । रुचि आफै घर बनाउन थाली । एउटा ठीकको राम्रो बङ्गलामा हामी सर्यौं । यसरी हाम्रो प्रगतिको द्योतक थियो त्यो नयाँ घर- आधुनिक डिजाइनको नयाँ उत्कर्ष ।

तर नयाँ घरमा सरेपछि झन् हाम्रा बीच ठ्याम्मै सम्झौता हुन सकेन । ऊ आफ्ना ‘यार’हरू लिएर घरमै आउन थाली र मध्यरातसम्म त्यहाँ हो-हल्ला, पार्टी जम्न थाल्यो । म एउटा कोठामा ढोका लगाएर पढेर बसिरहन्थे, ऊ भने आफ्ना अफिसका साथीहरूको स्वागत-सत्कारमा जुटिरहन्थी ।

बिस्तारै उसका आँखामा मप्रति अथाह घृणा देख्न थालें । त्यो घृणा यति प्रबल थियो कि म उसको आँखा र ओठतिर हेरेर भित्रभित्रै थर्र काम्दथें । मैले आजसम्म कुनै स्वास्नीमान्छेको आँखामा त्यति प्रबल घृणा देख्न सकेको थिइनँ । पहिला-पहिला महिना दुई महिनामा मेरो पलङमा आफै घुस्रेर मेरो यौनावेग शान्त तुल्याउने रुचि अब पटक्कै आउन छोडी । मेरो मन पनि एकदम तर्सन थाल्यो । मेरो मानसिकता पनि एकदमै बिग्रेर गयो र म पनि पूर्णतया अल्कोहलको संसारमा हामफाल्न थालें । म विवश थिएँ आफूलाई रक्सीको कालो धागोमा होमेर भुल्याइरहन ।

रुचिको आँखाको प्रचण्ड घृणाबाट भित्रभित्रै मलाई के लाग्न थाल्यो भने एक दिन जरुर उसले मेरो हत्या गर्नेछे । छोरो अभिषेक र छोरी अभिधा भने बैङ्कक, हङकङका नयाँ-नयाँ लुगा लगाएर भिडियो गेम खेलेर प्रसन्न र सुखी जीवन बिताइरहेका थिए । यता म भने सधैं आफूलाई त्यो हत्याबाट कसरी जोगाउने भन्ने उपाय मात्र सोच्न थालें ।

हाम्रो यो शीतयुद्ध निकै दिन चल्यो । रात पर्यो कि म त्रसित हुन पुग्थेँ । यदि मैले ढोकाको चुकुल लगाइनँ भने मेरो हत्या हुनेछ भन्ने कुरामा यतिसम्म विश्वस्त हुन्थे कि राति उठेर धेरैपल्ट ढोकाको छेस्किनी छामिरहन्थे । बिहान उठेर मलाई बचाउने छेस्किनी हो भन्ने लाग्दथ्यो र म एक्कासि भावविह्वल भएर त्यही छेस्किनी तिर हेरेर बसिरहन्थे । त्यसलाई सुमसुम्याइरहन्थेँ र त्यो बिग्रेको छ-छैन दिनभर ढोका लगाएर जाँचिरहन्थे ।

राति सुतिरहेकै बेला कहिलेकाहीं के लाग्थ्यो भने आज मैले ढोकाको छेस्किनी लगाउन नै बिर्सेछु, अब फेला परियो । अनि म झटपट उठेर छेस्किनी लगाउन दौडन्थें र अँध्यारोमै छेस्किनी छामिरहन्थें र ढुक्क हुन्थें ।

अनि एक दिन त्यसरी नै ढोकाको छेस्किनी बलियोसँग लगाउने कोसिस गर्दागर्दै छेस्किनी नै भाँचियो । अब बाहिरबाट अलिकति धकेल्यो कि ढोका खोलिने भयो । रात परेपछि आफूलाई मर्नबाट जोगाउन असम्भवजस्तै देख्न थालें मैले । यदि केही गरी उसले अथवा कुनै उसका मान्छेले मार्न झट्ट आउन नसक्ने गर्न म एउटा ठूलो गह्रुङ्गो कुर्सी ढोकामा अड्याइदिन्थे । यसो गर्दा अलिकति भए पनि बच्न सकिन्छ भन्ने सोचाइमा डुबिरहन्थे । यस्तो बेला ओछ्यानको वरपर गलेबन्दी या यस्तै केही चीज छ कि भनेर म खोजिरहन्थें र त्यस्तो चीज पाइएमा झ्यालबाट बाहिर फालिदिन्थें ।

बिस्तारै मलाई के लाग्न थाल्यो भने उसले मलाई मफलरले बेरेर मार्न सक्छे अथवा भान्छाबाट ल्याएर चुलेसीले रेट्न सक्छे । त्यसैले ती सारा चीज नभेट्ने गरी लुकाइसकेपछि मात्र म कोठामा पसेर ढोका ढप्काउँथे र रातभरि सतर्क रहेर सुत्ने गर्थें । धेरैजसो आफैले दाह्री काट्न राखेको ब्लेडबाट आफूलाई जोगाउन पुराना ब्लेडहरू खोजिरहन्थें, म जम्मा गरेर बाहिर फाल्न । धेरै दिन यसरी बिते । रुचि आाफ्नै पाराले त्यो घरभरि जीवन बिताइरहेकी थिई मानौं म त्यहाँ कहीं कतै थिइनँ । मानौं मेरो त्यहाँ कुनै अस्तित्व छैन । अब यस्तो परम्परा जसरी भए पनि भत्काउनैपर्छ भन्ने मलाई लाग्न थाल्यो । यसरी डराएर कहिले सम्म बाँच्ने मैले ?

म आफ्नो पुरानो टोलमा गएँ र आफ्ना केही आफन्तहरुलाई लिएर फर्कें । उनीहरूलाई मैले आाफ्नी स्वास्नीका विषयमा यावत् कुराहरू बताएको थिएँ । मेरो अब एउटै इच्छा के थियो भने संवाद हुनुपर्यो, एउटा निर्क्योल हुनुपर्यो । यसरी कहिलेसम्म बस्ने मैले ?

१५-२० जना भद्रभलादमीको बीचमा हाम्रो चर्को वार्तालाप सुरु भयो । मैले भनें- “रुचि ! तिम्रो र मेरो रुचि बेग्लाबेग्लै छ । हामी एकै ठाउँ बस्न अब असम्भव छ । मलाई तिमीसँग बस्दा जहिले पनि आफ्नो हत्या हुन्छ कि भन्ने डर लागिरहन्छ । आजसम्म तिमीले जे-जति चर्तिकला देखायौ त्यसका लागि ‘क्षमा’ भने र मैले क्षमा नै दिएँ भने त्यो ‘क्षमा’ शब्दको अपमान हुन्छ । अब तिमी नै निर्णय गर हामीले के गर्ने ?’

उसले अत्यन्त संयत्त भएर मतिर हेर्दै नहेरी भनी, ‘यी दुवै छोराछोरी तिम्रा होइनन् । उनीहरू तिमीसँग बस्न तयार पनि छैनन् । यो घर पनि तिम्रो होइन । तिमी यहाँ किन बसिरहेको ? तिमी जहाँ जान मन लाग्छ जाऊ ।’

म त झसङ्ग भएँ । जुन केटाकेटीलाई हुर्काउन मैले रात भनिनँ, जुन केटाकेटीलाई ज्वरो आएमा मैले रातभरि बोकेरै अस्पताल पुर्याएँ, जुन केटाकेटीका लागि म बाँचिरहें, जसको चोखो माया र स्नेहमा आाफूलाई भुलिरहें, या संसारलाई भुलिरहें, त्यही मेरो होइन भने अब यो ससारमा के चाहिं मेरो हो त ? तर मलाई रुचिको भनाइमा अलिकति पनि विश्वास लागेन । यो खालि केटाकेटीको मायाले गर्दा मलाई तिनीहरूबाट अलग गर्न उसले चाल चलेकी हो । म जुरुक्क उठें, छोराछोरी दुवैलाई भित्र कोठाबाट बोकेर बाहिर ल्याएँ र म्वाइँ खान थालें । दुवै जना मेरो अँगालोबाट फुत्कन निकै बल गर्न लागे र दुवैले घृणाले मलाई मुखभरि थुके । दुवैलाई के थाह भैसकेको रहेछ भने उनीहरूको पूर्ण सुरक्षा र सुख आमासँग लाग्नुमा नै छ । आमाले जस्तो अधुनातन जीवन म कदापि दिन सक्दिनँ ।

दुवैले एकै स्वरले भने- ‘यस्तो पागल बूढोसँग को बस्छ ! हामी आमासँग बस्ने ।’

ओहो ! म त श्रहिलेसम्म खालि यिनीहरूलाई स्याहार गर्ने एउटा बूढो, पुरानो नोकर मात्र रहेछु । मेरो हैसियत त्योभन्दा बढी केही रहेनछ । रुचिले प्रस्टै भनी, “तिमीलाई नराम्रो लाग्ला तर सुन । यी दुवै तिम्रा कोही होइनन्, यी त क्याप्टेन पी. आर. सरका केटाकेटी हुन् । एक दिन तिमीलाई सारा कुरा भनुँला भनेकी थिएँ, अहिले उपयुक्त मौका पनि आयो । म फेरि भन्छु, तिमी यहाँ किन बसिरहेको ? तिम्रो यहाँ के छ र ! तिमी यहाँ के पर्खेर बसिरहेको ?’

हो त म त्यहाँ के पर्खेर बसिरहेको ? मेरो यहाँ को छ र ? भन्ने नै मलाई लागिरह्यो ।

त्यसपछि म आफ्नै पुरानो भत्किन लागेको घरमा फर्कें र एक्लै बाँचिरहें ।

अहिले पनि त्यो प्रेम-विवाह सम्झेर मलाई असह्य दु:ख लाग्छ र कसैले स्पष्ट गरेर मधुरो आवाजमा भनिरहेझैं लाग्छ सम्झाइरहेझैं लाग्छ – ‘तिमी यहाँ किन बसिरहेको ? तिम्रो यहाँ को छ र ?’

(शैलेन्द्र साकारको कथासंग्रह ‘रामायण र अरू कथाहरू’बाट)