घटना १-
बैशाखको महिना थियो, म भर्खर एस एल सी परिक्षा दिएर खालि बसेको थिएँ, नतिजा आएको थिएन। खालि समय अनि भर्खर चढ्न थालेको सोह्र वर्षे कुरकुरे वैंशमा सम्पूर्ण संसार आफ्नै हो जस्तो लाग्थ्यो। प्यान्टको पछाडि एउटा सानो काईयों हालेर जुल्फी लर्काएर केटीहरूलाई प्रभाव पार्ने र उनीहरूलाई आकर्षित गर्ने नै हामीजस्ता अल्लारेको मुख्य ध्याउन्न हुन्थ्यो । त्यो दिन म साथीसँग सिनेमा हेर्न बजार गएको थिएँ। हामीसँगै पढेका दुई जना केटीहरू पनि सिनेमा हेर्न हलतिर जाँदै थिए। मेरो मन सिनेमामा भन्दा ती केटीहरूमा केन्द्रित थियो। उनीहरू हामी भन्दा अगाडि थिए, हामी उनीहरूलाई पछ्याउँदै थियौं। उनीहरूलाई पनि त्यो कुरो थाहा थियो। हामीले पछ्याउन छोड्यौं कि भनेर उनीहरूले फर्केर हेर्थे अनि लाज मानेर अगाडि बढ्थे। उनीहरू पनि हामीले उनीहरूलाई पछ्याउन् भन्नेमा थिए। बाटोमा ठूलोबुवासँग जम्का भेट भयो। म नदेखेको जस्तो गरेर भाग्न खोज्दै थिए, उहाँले च्याप्प पाखुरामा समातेरे मेरो नामै किटाएर बोलाए पछि मैले भाग्ने मौका पाएन। ठूलो बुवालाई भेटेपछि ढोग्नु परिहाल्यो। हातमा ढोगेर काम चलिहाल्छ कि भनेर अलिकति मुन्टो नुहुराएको मात्र के थिएँ उहाँले कपडाका जुत्ता फुकालेर आफ्नो नाङ्गो दाहिने खुट्टो निकालिहाल्नु भयो। म बिच बजारको धुलाम्य सडकमै बाध्य भएर बैसाखको गर्मीमा पसिना आएका ठूलो बुवा गन्हाउने खुट्टामा आफ्नो निधार लगाउन बाध्य भएँ। धन्न बुढाले नङ चाहिँ काट्नु भएको रहेछ र निधार घोचिनबाट चाहिँ बचियो। मेरो दुर्भाग्य, त्यही बेला केटीहरूले फर्केर हेरे र खितिती हाँसे। मलाई ती केटीहरू र आफ्नो साथीको अगाडि आफ्नो इज्जत गए जस्तो लाग्यो।
घटना २-
मेरो बिहेको दोस्रो दिन । बजारको एउटा होटलमा हामीले बिहे भोजको आयोजना गरेका थियौँ । भर्खर भर्खर होटलमा भोज दिने चलन चलेको थियो । मेरी श्रीमती र म भोजमा आउने पाहुनाहरूलाई स्वागत गर्न मूल प्रवेशद्वारमा उभिएका थियौं । आफ्ना मान्यजनहरू आउँदा ढोग्नै पर्यो। मेरा फूफूहरू, दिदीहरू आउँदा मेरी श्रीमतीले हरेक पटक भुइँसम्म नै निहुरिएर ढोग्ने गर्न थालिन्। मलाई अप्ठ्यारो लाग्न थाल्यो तर ‘नढोग’ भन्ने आँट ममा थिएन। उनलाई त झन् अप्ठ्यारो मात्र हैन थकाइ नै लाग्ने स्थिति आयो। त्यसरी आफ्नी नव दुलही एक एक मिनटेमा भुइँसम्म निहुरिएर दोगेको देख्दा मलाई ढोग्ने चलन कस्ले चलायो होला भनेर रिस उठ्यो। मामाले पनि हाम्रो असजिलोलाई नियालिरहनुभएको रहेछ। अनि मामा आएर जो आए पनि सबैलाई नमस्ते गर्ने सल्लाह दिनुभयो। त्यसपछि हामी दुवैले सबैलाई नमस्ते गरेर स्वागत गर्न थाल्यौं, धेरै राहात मिल्यो।
यस्ता घटनाहरू हामीमध्ये धेरैको जीवनमा घटेका हुन सक्छन् किनभने मान्यजनहरूलाई ढोग्नु नेपाली समाजको एउटा अभिन्न संस्कृति र पहिचान हो। त्यसैले त नेपालीमा एउटा भनाइ नै छ- मान्छे भेटे ढोगा ढोग, कुकुर भेटे टोका टोक। यसबाट पनि नेपाली संस्कृतिमा ढोगको महत्व कति छ भन्ने प्रष्ट हुन्छ । जुनसुकै भेटघाटमा पनि सबभन्दा पहिले गर्नुपर्ने काम भनेको ढोग्नु हो, चाहे त्यो नमस्कार होस् या साष्टाङग दण्डवत् नै किन नहोस्।
सामान्य रूपमा भन्दा ढोग्नु भनेको अभिवादनको प्रक्रिया मात्र हो जुन कुरो अन्य धर्म र संस्कृतिमा पनि पाइन्छ। भेटपछि अभिवादन गर्नु एउटा सभ्य समाजको परिचायक पनि हो। कसैले हात मिलाएर अभिवादन गर्छन् भने कसैले गाला मिलाएर। तर जे गरे पनि जसरी गरे पनि त्यो अभिवादन नै हो। तर हिन्दु धर्म र संस्कृतिमा ढोग्नु भनेको अभिवादन गर्नु मात्र नभई यसको धार्मिक महत्व पनि छ। ढोग्नु भनेको अभिवादनको साथसाथै आदर र इज्जत गर्नु पनि हो। त्यसैले त नमस्कार जस्तो सामान्य अभिवादनमा पनि शिर निहुराएर ढोग्ने मान्छेले ढोगिने मान्छे प्रति आदर दर्शाउँछ। अनि यदि ढोगिने मान्छे ढोग्ने मान्छेको मान्यजन छ भने ढोगेपछि आशिर्वाद दिनु ढोगिने मान्छेको कर्तव्य पनि हुन्छ।
हिन्दु समाजमा धेरै थरिको ढोगहरू प्रचलनमा छन्। समुदाय अनुसार भिन्न भिन्न ठाउँमा भिन्न भिन्न किसिमले ढोग्ने चलन छ। यसमा पनि खास गरेर तिन थरिका ढोगहरू विशेष प्रचलनमा छन्।
सबभन्दा उच्च श्रेणीको ढोग साष्टांग दण्डवत् हो। यो ढोगमा अष्ट अङ्ग अर्थात् शिर, हात, गोडा, हृदय, आँखा, तिघ्रा, वचन र मन सबैलाईलाई दण्ड अर्थात् लठ्ठी जस्तै सिधा पारेर लम्पसार गरेर ढोग्ने गरिन्छ। पूज्य व्यक्ति वा देवी देवतालाई मात्रै लट्ठीजस्तै भुइँमा लम्पसार परेर आठवटै अङ्गले भुईँ छुने गरी हात जोडेर गरिने यो प्रणाम हिन्दु धर्मको एक विशिष्ट प्रणाम हो। अहिले धेरै बाहुन क्षेत्रीको परिवारमा केटाहरूको हकमा आफ्ना बाबु तर्फका अधिकांश मान्यजनहरूलाई खुट्टामा ढोग्ने चलन थियो र अझैं पनि त्यो चलन गाउँतिर व्याप्त छ। त्यस्तै विवाह भएर गए पछि केटीले आफ्नो लोग्ने र सासूलाई पनि खुट्टामा ढोग्ने चलन छ। तर त्यो हाम्रो संस्कृतिको विकृति हो। हाम्रो धार्मिक मान्यता अनुसार देवी देवता बाहेक पूजनीय व्यक्ति भनेका आफ्ना बाबु आमा र गुरु हुन्। पहिले जस्तो गुरुकुलमा गएर एउटा मात्रै गुरुबाट शिक्षा प्राप्त गर्ने चलन अब कतै पनि छैन त्यसैले गुरु पूजनीय हुँदाहुँदै पनि आफूलाई पढाउने सबै गुरुहरूलाई साष्टांग दण्डवत अहिलेको परिस्थितिमा व्यवहारिक पनि छैन, त्यसैले अहिले भगवान र आफ्ना आमाबाबु मात्र यो ढोगका योग्य हुन्। तर समय र परिस्थतिले साष्टांग दण्डवतलाई जथाभावी प्रयोग गर्न मात्र सिकाएन यसको स्वरूप पनि बदलिदियो। बाबु आमा र देवीदेवता बाहेक अरूलाई पनि साष्टांग दण्डवत् गर्न थालियो र पछि गएर त्यसैको रूपमा परिवर्तन आएर खुट्टामा ढोग्ने चलन प्रचलनमा आयो। आजभोलि कसैले पनि लम्पसार परेर ढोग्ने गर्दैन। आजभोलि धेरैजसोले खुट्टालाई निधारमा तानेर ढोग्ने या हातले खुट्टाको स्पर्श गर्ने गर्छन् तर दुवै साष्टांग दण्डवत्का स्वरूप हुन्।
दोश्रो श्रेणीको ढोग हातमा ढोग्नु हो। हुन त कुनै पनि हिन्दु शास्त्रमा किटानी गरेर हातमा ढोग्ने परम्पराको वर्णन गरेको पाइँदैन तर पनि हाम्रो समाजमा धेरै पहिले देखि नै हातमा ढोग्ने चलन रहिआएको छ। सायद सजिलोको लागि समाजले यो ढोगलाई आफै चलन चल्तीमा ल्याएको हुनुपर्छ। त्यसैले नेपाली समाजमा हातमा ढोग्ने ढोगलाई साष्टांग दण्डवत पछिको दोश्रो दर्जाको ढोग भन्न सकिन्छ। खुट्टामा ढोगिने मान्यजनहरू बाहेक प्राय: सबैजसो मान्यजनहरूलाई यो ढोगबाट अभिवादन गरिन्छ। केटाहरूको सन्दर्भमा आमाको परिवार तर्फका अधिकांश मान्यजनहरूलाई हातमा ढोगीन्छ जसमा मावली हजुरबा, मावली हजुरआमा, मामा, माइजु आदि पर्छन्। त्यो बाहेक सामान्य नाता पर्नेहरूलाई पनि ढोग गर्ने चलन छ। यो ढोग अन्तर्गत कसैले हात निधारमा राखेर ढोग्छन् भने कसैले हात शिर माथि राखेर ढोग्छन् र आशिर्वाद लिन्छन्।
अर्को चलनचल्तीको ढोग नमस्कार हो। हुन त शास्त्र अनुसार नमस्कारलाई पनि निकै उच्चस्तरको अभिवादन भनेर वर्णन गरिएको छ तर नेपाली समाजमा अहिले यो एउटा सामान्य अभिवादनको रूपमा प्रचलनमा छ। खुट्टामा ढोग्ने र हातमा ढोग्ने व्यक्तिहरू बाहेक अरू सबैलाई नमस्कार गर्ने गरिन्छ। नमस्कार या नमस्ते संस्कृत शब्दबाट आएका हुन्। हिन्दू शाश्त्रिय मान्यता अनुसार हरेक व्यक्तिको आत्मामा इश्वर रहेको हुन्छ। त्यसैले नमस्कार गर्नु भनेको नमस्कार गर्ने व्यक्तिले नमस्कार खाने व्यक्तिलाई इश्वरको रूप मानेर उनलाई प्रणाम गरेको हुन्छ। नमस्कारको प्रयोग मान्यजनहरूमा मात्र नभई आफू जस्तै समान स्तरका र आफू भन्दा तल्लोस्तरका व्यक्तिहरूमा पनि गर्न सकिन्छ। यो ढोग मात्र नभई अभिवादन पनि हो। नमस्कार गर्दा अन्य ढोगहरूमा जस्तो ढोगिने व्यक्तिले ढोग्ने व्यक्तिलाई आशिर्वाद दिनु नै पर्छ भन्ने छैन। नमस्कारका अन्य रूपमा पहिले पहिले ‘दलित’ हरूले ‘बिस्ट’ लाई गर्ने ‘जदौ’ र अहिले निकै चलन चल्तीमा रहेको ‘दर्शन’ पनि पर्छन्।
समाजका अन्य चलन र संस्कृतिमा भएका परिवर्रनजस्तै समय र परिस्थितिअनुसार ढोग्ने या अभिवादन गर्ने तरिकाहरूमा पनि परिवर्तन हुँदै गएका छन् । हुनु पनि पर्छ । परिवर्तन प्रकृतिको शाश्वत नियम हो । अरू सबै अभिवादनहरू स्वीकार्य नै भए पनि आमा बुवा बाहेक अरूहरूलाई जहाँ भेटे पनि खुट्टामा ढोग्ने चलन चाहिँ अलि अव्यवहारिक नै हो। त्यसैले अरू चलनलाई जस्तै ढोगको चलनलाई पनि समय सापेक्ष र व्यवहारिक बनाउनुपर्छ। अहिले समय र मानिसको सोचमा धेरै परिवर्तन भैसकेको छ। यदि परिवर्तन हुँदैनथ्यो भने आज पनि कसैले मैले भोगेको जस्तै असजिलो पनि भोग्नु पर्ने हुन्थ्यो। अहिले युवा वर्गहरूमा नमस्कार भन्दा पनि हात मिलाउने चलन बढ्दै गएको छ भने सभ्रान्त वर्गहरूमा अँगालो हालेर अभिवादन गर्ने चलन पनि बढ्दै छ। तर कोभिडको महामारी शुरु भएसँगै नमस्कार नै सबभन्दा राम्रो अभिवादन हो भन्ने तथ्य संसारभरि नै फैलदै गएको छ।
तर भूमण्डलिकरणको प्रभाव र बाह्य संस्कृतिको प्रभावले अहिले नेपाली समाजमा ढोगहरू प्राय: दुई थरिका मात्रै हुन थालेका छन्- हातको ढोग र नमस्कार। बाउ आमा हुन् या सासु ससुरा या अन्य मान्यजन प्राय: सबैलाई हात मै ढोग्न थालिएको छ भने अरू सबैलाई नमस्कार। तर यो निकै राम्रो कुरो पनि हो। यसले हाम्रो संस्कृति जोगाउनुको साथसाथै नयाँ परिस्थिति अनुसार ढोग पनि परिमार्जन गरेर व्यवहारिक पनि बनाएको छ।
हुन त संस्कृतिको जगेर्ना गर्ने भनेर अहिले पनि नाम चलेका केही ठूला व्यक्तिहरूले आफ्नी श्रीमतीलाई खुट्टामा ढोगाएर समाजिक संजालका भित्ता पनि रंगाएका उदाहरणहरू पनि छन् तर अधिकांशले चाहिँ अहिले हातमा ढोग्ने संस्कृतिलाई नै अंगाल्न थालेको प्रतित हुन्छ जुन अवश्य पनि सबैलाई सजिलो हुने र संस्कृति पनि जोगिने सजिलो बाटो हो।
साष्टाङ्ग दण्डवत्को अस्तित्वलाई जोगाउन घरमा भएको बेला मातापितालाई खुट्टामा ढोग्न सकिन्छ, तर अरूहरूलाई चाहे घरमा होस् या बाटोमा, केटाले होस् या केटीले होस्, मान्यजनहरू सबैलाई हातमा ढोग्ने र अरू सबैलाई नमस्कार गर्ने संस्कृतिलाई बढावा दिनु नै व्यवहारिक, समय सापेक्ष, स्वस्थ र सबैको लागि स्वीकार्य चलन हुनसक्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।