हरेक शनिबारझैँ यस पटक पनि हामीले संसारभरका प्रख्यात र अद्भूत चित्रकलाका बारेमा चर्चा गरिरहेका छाैँ । यसअघि हामीले संसारका त्यस्ता विरलाकोटीमा पर्ने अद्भूत नौ वटा पेन्टिङका बारेमा चर्चा गरिसक्याैँ । यस पटक हामी चर्चा गर्दैछौँ, द गार्डेन अफ अर्थली डिलाइट्स चित्रका बारेमा । सन् १५०० ताका बनाइएको यो चित्रको उचाई २२० बाई ३८९ सेमी छ । स्पेनको म्याड्रिडस्थित प्राडोमा रहेको यो चित्रलाई हेरोनिमस बोसले बनाएका हुन् ।
यो चित्रकलाको विशेषता के छ भने यो एक मान्छेको उचाईभन्दा केही अग्लो छ । फराकिलो पनि उस्तै ! अनि त्यहाँ जुन दृश्य अंकित गरिएको छ, त्यो दृश्य अझ अद्भूत छ । यही अद्भूत दृश्यले यसलाई संसारकै उम्दा चित्रमध्ये एकका रूपमा उभ्याउँछ ।
चित्रमा केही मानव छन्, केही राक्षस (शैतान) । दुई वटा बाहिरी प्यानलमध्ये एकमा इभको सिर्जन र अर्कोमा नरकका दृश्य कुँदिएका छन् । मध्य प्यानलमा भने सुस्वादु बगैँचाभित्र स्वच्छन्द यौन क्रियाकलापहरू भइरहेका छन् । हुन त यो चित्रले क्रिश्चियन विश्वासलाई नै अभिव्यक्त गरेको छ, जुन त्यो बेलाको चित्रको विशेषता नै हुने गरेको छ । देब्रे प्यानलमा बाइबलको कथामध्ये एक संसारकै पहिलो मानव एडमलाई उसकी स्त्री इभसँग जिसस क्राइष्टले भेट गराइदिएको वा उनीहरूबीच चिनजान गराइदिएको प्रसंग उतारिएको छ ।
जब ईश्वरले एडमलाई सिर्जना गरे, एक्लो भएकाले ऊ निकै दुःखी थियो । उसको जीवनमा इभको आगमनले उल्लासपूर्ण अवस्था आउनेछ भनेर जिससले यी दुईको भेट गराइदिएको प्रसंग देब्रे प्यानलमा चित्रांकित गरिएको हो ।
दाहिनेतिरको प्यानलमा भने नरकका विविध आयामलाई उतारिएको छ । स्वाभाविक रूपमा नरकले त्यसको डरलाग्दो पक्षलाई नै उजागर गरेको छ ।
कलाविज्ञहरू भन्छन्, यो चित्रले जे देखाउन खोजेको छ, त्यसका बारेमा अनेकन् किसिमका व्याख्याहरू गर्न सकिन्छ । हुन पनि अनेकन् व्याख्याहरू इन्टरनेटमा पढ्न पाइन्छ पनि ।
यो चित्र कुनै चर्चका लागि भन्दा पनि बोसले आफ्ना मालिक हेन्ड्रिकका लागि बनाएको चित्र थियो । त्यो बेला प्यानलहरूमा चित्र बनाउने शैली निकै चल्तीमा थियो । तसर्थ बोसले पनि त्यसै गरे भन्न सकिन्छ ।
नरकको जुन दृश्य उनले कुँदेका छन्, त्यसले अहिले पनि सर्वसाधारणलाई कँपाउन सक्ने कला समीक्षक लउरिन्डा डिक्सनले एकताका भनेकी थिइन् ।
को हुन् हेरोनिमस बोस ?
सन् १४५० मा बेल्जियम तथा नेदरल्यान्डको सीमाक्षेत्रमा जन्मिएका बोसको शहर यतिबेला भने नेदरल्यान्डमा पर्छ । उनी हेर्टोजेनबोस भन्ने ठाउँमा जन्मिएका थिए । यही ठाउँको नामबाट उनको थर कायम भएको देखिन्छ । उनी आफ्नो जन्मस्थानमा नै एउटा राम्रो कलाकारको रूपमा परिचय जमाइसकेका थिए । त्यो बेला उनको जनमस्थान सांस्कृतिक केन्द्रका रूपमा विकसित भइसकेको थियो ।
उनको मृत्यु १५१६ मा हुँदा उनका कलाकृतिहरूको धूम यति मच्चिएको थियो कि उनका सिर्जना आफ्नो घर वा देशमा भित्र्याउन धेरै लालायित हुन्थे । शायद यही कारणले पनि उनका सिर्जनाहरू स्पेन, फ्लोरेन्सदेखि रोम र नेदरल्यान्डसम्म छरिएका छन् ।
१६ औँ शताब्दीमा उनी एक प्रभावशाली चित्रकारका रूपमा प्रख्यात भइसकेका थिए । तर उनको मृत्युको केही समयपछि नै उनी विस्मृतिमा पुगे । उनलाई कला जगतले बिर्सियो । सन् १९०० ताका उनका बारेमा रूचि पुनः जागृत भएर आयो । जसै कला मर्मज्ञ, जिज्ञासु र विज्ञहरूले पुराना कलालाई हेर्दै नयाँ बुझाई पस्कन थाले, उनका चित्रले बेग्लै आयाम बोकेको महसुस गर्न थालियो ।
उनका चित्रमा के हेर्ने ?
चित्रको देब्रे पाटोमा हेर्दा ईश्वरले एडम र इभलाई प्रथम परिचय गराइरहेको देखिन्छ । जब ईश्वरले संसार बनाउँदै थिए, त्यसको अन्तिम दिन अर्थात् छैटौँ दिनमा एडमलाई बनाएका थिए । एक्लो एडम निराश देखियो । ऊ निदाएको मौका छोपेर ईश्वरले उसको ढाडको हड्डी निकाले र स्त्री जन्माए । पहिलो स्त्रीको नाउँ इभ (हब्बा) राखियो । ईश्वरले एडम र इभलाई मिलाए र सुखीपूर्वक रहनू भनी आशीर्वाद दिए । यही घटनालाई यो दृश्यमा देखाउने प्रयास गरिएको छ ।
यस चित्रमा एडम र इभको ठीकमाथि जीवनको मूलस्रोत (फाउन्टेन अफ लाइफ) देखाइएको छ । यसका विविध अर्थ लगाउन सकिन्छ । विविध किसिमका जनावर मात्र होइन, पशुपक्षीहरू पनि यहाँ देख्न सकिन्छ । तिनलाई मिहिन ढंगले बोसले बनाएका छन् ।
त्यसभन्दा माथि युनिकर्न लगायतका पशुहरूले तलाउमा पानी पिइरहेको देख्न सकिन्छ । ईश्वरले एडम र इभका लागि बनाइदिएको इडनको बगैँचामा यी मस्तका र दुर्लभ जनावरहरू पानी पिउने गरेको दृश्यांकन बोसले गरेका छन् । खासगरी घोडाजस्तो तर निधारमा चुच्चो सिङ निस्किएको युनिकर्नलाई पवित्रताको संकेत मानिन्छ ।
बीचको प्यानलमा रमाइरहेका, उत्सव मनाइरहेका मानिसहरूको दृश्य छ । जहाँ नग्न नृत्यमा मग्नहरू छन् । थरिथरिका जनावरमाथि चढेका उनीहरू आफैँआफैँमा मग्न तिनको दृश्य, रमाइलोलाई बोसले बडो गज्जबले उतारेका छन् ।
मध्यचित्रको एउटा भागमा एउटा तलाउमा नग्नस्त्रीहरू नुहाइरहेको देखिन्छ । तिनलाई वरिपरि पारेर पुरूषहरू विविध किसिमका जनावरमा चढेर रमाइलो गरिरहेका छन् । यसलाई यौनिकताको तलाउ नामकरण गरिएको छ । उत्ताउला पुरूषहरू तिनीहरूसँग झुम्मिनका लागि विभिन्न जनावरहरूलाई वशमा पारी वरिपरि घुमिरहेका छन् । यो जीवनको स्रोतको ठीक विपरीत यौनिकताको तलाउमा मानिसको आकर्षणले तिनलाई नरक लैजानसक्नेतर्फ इंगित गरिएको छ ।
अर्को प्यानलमा रहेको वृक्ष-मानव पनि कम रोचक छैन । यो केही भागमा मानव छ, केही भागमा अण्डा छ र अर्को भाग वृक्ष छ । केहीले यस मानव आकृतिलाई बोसको आफ्नै प्रतिकृति मानेका छन् ।
यस्तै चित्रमा ठूलो आकृतिको स्ट्रबेरीलाई उचालिरहेका नग्न मानवाकृति देखिन्छ । त्यस्तै अर्को कुनामा फूलमा आकर्षित भएको एउटा पुतलीलाई पनि देख्न सकिन्छ ।
समग्रमा दैहिक लोभ र त्यसमा मग्न रहने मानवीय प्रवृत्तिले मानिसलाई नरकमा धकेल्छ भन्ने सन्देश दिन यो चित्र समग्रमा सफल छ ।
यति प्रभावशाली चित्र कोर्नु पनि कुनै चानचुने कुरा होइन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

